बेलायतमा तेह्रथुमका विपन्न बालबालिकालाई सहयोग जुटाउँदै सोलिसिटर भट्टराई

लन्डन- बेलायतस्थित नेपाली सोलिसिटर दीपक भट्टराईले तेह्रथुमको विकट गाउंका विपन्न बालबालिकाको लागि १० लाख रुपैयाको कोष जुटाउने परोपकारी अभियान शुरु गरेका छन्। ब्रिटेन नेपाल लयर्स एशोसिएसनका अध्यक्षसमेत रहेका सोलिसिटर भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मस्थानका विपन्न बालबालिकाको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि कोष संकलन अभियान थालेका हुन्। तेह्रथुम जिल्लाको अथराई गाउँपालिकाअन्तर्गत पर्ने दुर्गम गाउँ ह्वाकुका विपन्न […]

Mar 19, 2025 - 16:04
 0
बेलायतमा तेह्रथुमका विपन्न बालबालिकालाई सहयोग जुटाउँदै सोलिसिटर भट्टराई

लन्डन- बेलायतस्थित नेपाली सोलिसिटर दीपक भट्टराईले तेह्रथुमको विकट गाउंका विपन्न बालबालिकाको लागि १० लाख रुपैयाको कोष जुटाउने परोपकारी अभियान शुरु गरेका छन्।

ब्रिटेन नेपाल लयर्स एशोसिएसनका अध्यक्षसमेत रहेका सोलिसिटर भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मस्थानका विपन्न बालबालिकाको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि कोष संकलन अभियान थालेका हुन्।

तेह्रथुम जिल्लाको अथराई गाउँपालिकाअन्तर्गत पर्ने दुर्गम गाउँ ह्वाकुका विपन्न परिवारका विद्यार्थीहरुका लागि सहयोग जुटाउने लक्ष्य सोलिसिटर भट्टराईको छ। दश लाख रुपिया (करिब ६ हजार पाउण्ड) संकलन गर्ने लक्ष्यसहित उनले ‘जस्ट गिभिङ्ग’ को पेजमा सहयोगको अपील गर्दै रकम संकलन शुरु गरिसकेका छन्।

संकलित कोषबाट उक्त ठाउँका विपन्न बालबालिकाको लागि एक अक्षयकोष स्थापना गर्ने सोलिसिटर भट्टराईको योजना छ। सोही कोषको ब्याजबाट प्राप्त हुने रकमबाट हरेक वर्ष स्थानीय विपन्न विद्यार्थीहलाई सहयोग वितरण गरिनेछ।

‘यो त्यही ठाउँ थियो जहाँ म जन्मिएँ, हुर्किएँ । अनि प्राथमिक र माध्यमिक तहको शिक्षा हासिल गरें। मेरो हृदयमा यसको विशेष स्थान छ भन्ने कुरामा कुनै आश्चर्य छैन। मेरो बाल्यकालका धेरै गौरवशाली, सुन्दर सम्झनाहरू छन्’, आफ्नो अपीलमा भट्टराईले भनेका छन्, ‘हरेक बिहान ओछ्यानबाट आँखा खोल्दा तपाईंले कञ्चनजङ्घा (विश्वको तेस्रो अग्लो शिखर) पर्वतको दृश्य देख्न सक्नुहुन्छ। हरियाली, खोला, नदी र धान र अलैंचीको बगैंचाले भरिएको उत्कृष्ट पहाडी दृश्य र वरपरको वातावरणको साथ, तपाईंले पृथ्वीमा स्वर्ग महसुस गर्न सक्नुहुन्छ।’

सोही सुन्दर ठाउँमा चरम गरिबीबाट गुज्रिरहेका स्थानीयहरुको पीडाबाट प्रभावित बनेर आफूले सहयोगको अभियान शुरु गरेको भट्टराईले बताएका छन् ।

‘मैले चरम गरिबीबाट पीडित बालबालिका र परिवारहरूको पीडा देखेको छु। भोकमरी र स्वास्थ्य सेवाको अभावमा मरिरहेका शिशुहरू र बालबालिकाहरू देखेको छु। उनीहरूका परिवारहरूले बिहान र साँझ खाना उपलब्ध गराउन असमर्थ थिए। जसकारण बालबालिकाहरू कुपोषणबाट पीडित बन्ने गरेका थिए। विद्यालयमा दिनभरि कुनै खाना पाउँदैनथिए’, उनी भन्छन्, ‘यो नेपालको बैंकमा जम्मा गरिने केही पैसा उठाउने अत्यन्तै सानो प्रयास हो। प्राप्त ब्याजबाट, गाउँका विद्यालयहरूमा पढ्ने सबैभन्दा गरिब बालबालिकाहरूले वार्षिक अनुदानबाट लाभ उठाउनेछन्।’

सोलिसिटर भट्टराईले विपन्न बालबालिकाको लागि केही सहयोग जुटाउने आफ्नो अभियानमा बेलायतवासी सबै नेपालीहरुबाट साथ, सहयोगको अपेक्षा राखेका छन्।

विपन्न बालबालिकाको लागि सोलिसिटर भट्टराईले शुरु गरेको अभियानमा सहयोग गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register