इजरायली प्रधानमन्त्री नेतान्याहु संकटमा, गठबन्धन छाड्दै मुख्य साझेदार दल

काठमाडौं । गाजासँगको युद्ध निर्णायक मोडमा पुगिरहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धन सरकारमा संकट आइपरेको छ । गठबन्धनको मुख्य साझेदार दल युनाइटेड टोराह जुडाइज्मले सरकार छाड्ने घोषणा गरेको हो । धार्मिक यहुदी समुदायको प्रतिनिधित्व गर्ने उक्त अल्ट्रा-अर्थोडक्स पार्टीका दुई पक्षमध्ये डिगेल हातोराले एक विज्ञप्ति जारी गर्दै “यहुदी धर्मशास्त्र अध्ययन गर्ने छात्रहरूको स्थितिको […]

Jul 15, 2025 - 11:38
 0
इजरायली प्रधानमन्त्री नेतान्याहु संकटमा, गठबन्धन छाड्दै मुख्य साझेदार दल

काठमाडौं । गाजासँगको युद्ध निर्णायक मोडमा पुगिरहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धन सरकारमा संकट आइपरेको छ । गठबन्धनको मुख्य साझेदार दल युनाइटेड टोराह जुडाइज्मले सरकार छाड्ने घोषणा गरेको हो ।

धार्मिक यहुदी समुदायको प्रतिनिधित्व गर्ने उक्त अल्ट्रा-अर्थोडक्स पार्टीका दुई पक्षमध्ये डिगेल हातोराले एक विज्ञप्ति जारी गर्दै “यहुदी धर्मशास्त्र अध्ययन गर्ने छात्रहरूको स्थितिको ग्यारेन्टी गर्ने वाचा सरकारबाट पटकपटक उल्लंघन गरियो । त्यसैले हामीले गठबन्धन र सरकार दुवैबाट बाहिरिने निर्णय गरेका छौं,” भनेको छ ।

विवादको मूल कारण भनेको सेना भर्तीसम्बन्धी कानुन हो । इजरायलमा अधिकांश यहुदी नागरिकका लागि सैनिक सेवा अनिवार्य छ, तर अल्ट्रा-ओर्थोडक्स समुदायका छात्रहरूलाई लामो समयदेखि छुट दिइँदै आएको छ । तर, युद्धकालमा जनशक्ति माग बढेसँगै यसबारे असन्तुष्टि चुलिएको छ । प्रस्तावित नयाँ विधेयक युटिजेले चाहेको जति छुटको प्रत्याभूति नगर्ने भन्दै उसले आपत्ति जनाउँदै आएको छ ।

यस पार्टीले लामो समयदेखि इजरायली राजनीतिमा किङमेकरको भूमिका खेल्दै आएको छ । तर, पार्टीको बहिर्गमन औपचारिक रूपमा लागू हुन ४८ घण्टाको समय लाग्ने भएकाले नेतान्याहुसँग अझै वार्ताको ढोका खुला छ ।

यति बेला इजरायल र हमासबीच २१ महिनादेखिको युद्ध अन्त्य गर्ने विषयमा इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा युद्धविरामको वार्ता चलिरहेको छ । तर, प्रमुख अड्चन भनेको युद्धविरामको सर्तमा हमास बाँकी रहेसम्म युद्ध अन्त्य हुन नहुने भन्ने नेतान्याहुको अतिवादी सहयोगी दलहरूको अडान हो ।

युटिजे बाहिरिएसँगै नेतान्याहु नेतृत्वको गठबन्धन अझै कायम रहनेछ, तर बहुमत निकै कमजोर हुनेछ । अब सरकारले अझ धेरै अतिदक्षिणपन्थी दलहरूमा भर पर्नुपर्नेछ, जसले युद्धविरामको वार्ता असफल बनाउन सक्ने जोखिम छ ।

लिकुड पार्टीका मन्त्री मिकी जोहारले समाधानको आशा व्यक्त गरेका छन् । तर, यहूदी जननीति संस्थाका उपाध्यक्ष शुकी फ्राइडम्यानका अनुसार पार्टी र सरकारबीचको दूरी यति धेरै छ कि ४८ घण्टाभित्र सहमति जुटाउने सम्भावना न्यून देखिन्छ ।

हाल संसद् विघटन गरेर चुनावमा जाने प्रस्ताव विपक्षबाट चाल्न सकिने अवस्था तत्काल छैन । संसदीय प्रक्रियाअनुसार त्यसका लागि वर्षको अन्त्यसम्म कुर्नुपर्ने हुन्छ । आगामी महिनामा सुरु हुने संसदको ग्रीष्म अवकाशसमेत नेतान्याहुलाई नयाँ सम्झौताको प्रयास गर्न समय दिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register