शरणार्थी प्रकरणमा निर्दोष फसाउने, दोषीलाई उम्काउने प्रयत्न भइरहेको छ : केपी ओली
काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले भुटानी शरणार्थीको व्यवस्थापनमा आफूले धेरै काम गरेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले भुटानी शरणार्थीलाई आफूले अमेरिका पठाउन काम गरेकोमा केही व्यक्तिले भुटानी शरणार्थीलाई अमेरिका पठाउने केपी ओली रहेछ, त्यसलाई किन नसमातेको भनेर हल्ला चलाएका बताउनुभयो । एक लाख भुटानी शरणार्थीहरू आफ्नै पहलमा अमेरिका गएका उहाँले प्रष्ट पार्नुभयो ।
एक लाख भुटानीलाई अमेरिका पठाएपछि भएको कार्यक्रममा अझै केही हजार भुटानी बाँकी रहेकाले के गर्ने भन्ने छलफल हुँदा सकेसम्म उनीहरूलाई भुटान नै फर्काउनु पर्ने र त्यो सम्भव नभए तेस्रो मुलुकमा पठाउने सुझाव आफूले दिएको उहाँले बताउनुभयो । ती मानिसहरूलाई पठाउँदा केही नेपाली नक्कली शरणार्थीको नाममा अमेरिका गएका भन्ने कुरा अहिले खुलेको ओलीले बताउनुभयो ।
त्यति बेलै सो घटनामा संलग्न मानिसका विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको र उनीहरूलाई सामसुम पारेर छाडिएको ओलीले बताउनुभयो । त्यति बेला सरकारमा हुनेहरूले किन कारबाही नगरेको भन्दै उहाँले प्रश्न गर्नुभयो ?
अमेरिका पठाउने लिष्टमा रहेको भुटानी अनुपस्थित भएपछि ९ सय ७५ जना नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाउने काम भएको बताउँदै ओलीले अहिलेको घटना कसैले गरेर होइन थेग्न नसकेर आफैँ बाहिर आएको बताउनुभयो । त्यसैले यो काम हामीले गरेको भन्ने र जस नलिन सरकारलाई आग्रह गर्नुभयो । ‘कोही पनि दोषी छुट्नु हुँदैन, तर अहिले निर्दोष फसाउने प्रयत्न हुँदै छ, दोषीलाई उम्काउने प्रयत्न भइरहेको छ’, उहाँले भन्नुभयो ।
तीन दलका नेताहरू पटक पटक बस्दा सन्देह भएको भनि गरिएका हल्लाको उहाँले आलोचना गर्नुभयो । देश र संसद्को बारेमा छलफल गर्दा समेत शंका गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘बाघ भोकै मर्छ तर घाँस खाँदैन’ भन्दै ओलीले आफू त्यस्तै बाघ भएको बताउनुभयो ।
राजनीतिक अभिष्ट पूरा गर्नको लागि कसैलाई फसाउने र कसैलाई उम्काउने काम नगर्न उहाँले आग्रह गर्नुभयो । सबै खालका भ्रष्टाचारका घटनामा छानबिन गर्न नेकपा एमाले साथ दिन तयार रहेको उहाँले बताउनुभयो ।
अहिले समातिएका मानिसहरूसँग कसरी बयान लिइँदै छ भन्ने एमालेले हेरिरहेको उहाँले बताउनुभयो । उहाँले गल्ती गर्ने तर्फ सरकारलाई नजान आग्रह गर्नुभयो ।
What's Your Reaction?






