गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, यसको द‍ृढतापूर्वक पक्षपोषण गर्नुपर्छ : केपी ओली

May 29, 2023 - 08:40
 0
गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, यसको द‍ृढतापूर्वक पक्षपोषण गर्नुपर्छ : केपी ओली
गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, यसको द‍ृढतापूर्वक पक्षपोषण गर्नुपर्छ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता समेत भएकाे बताउनुभएकाे छ ।

१६औं गणतन्त्र दिवसकाे अवसरमा साेमबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत रहेकाे उल्लेख गर्नुभएकाे छ । 

गणतन्त्रलाई अभ्यासद्वारा लाेकप्रिय बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सन्देशमा लेख्नुभएकाे छ - 'यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् ।' 

लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर  गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने जिम्मेवारी आफूहरु सामु रहेकाे अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

गणतन्त्र दिवस नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिवस तथा नेपाली जनताको उल्लासपूर्ण पर्वको दिन पनि रहेकाे उहाँले उल्लेख गर्नुएकाे छ । गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव पन भएकाे अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

जनता वास्तविक अर्थमा सार्वभौम बनेको आजकाे दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएकाे उहाँले स्मरण गर्नुभएकाे छ । 'हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर संघर्ष गरेको राज्य सञ्चालनमा रहेको बंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो, सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो'- अध्यक्ष ओलीले लेख्नुभएकाे छ ।

गणतन्त्रमा आम जनताले राज्य सञ्चालक माथी प्रश्न उठाउने संवैधानिक अधिकार पाएको पनि उहाँले उल्लेख गर्नुभएकाे छ । अध्यक्ष ओलीले लेख्नुभएकाे छ - 'आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ, अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन, तिनलाई सच्याउनुपर्छ, त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नुपर्छ, तर नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनुहुन्न ।'

मिथ्या प्रचारले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउने ठहर गर्दै उहाँले लेख्नुभएकाे छ - 'गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रूर दमन, जनताका अधिकारहरुमाथिका बन्देज र हुकुम नै कानुन हुने परिपाटी सही थियो भन्ने होइन, त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन ।'

अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्र मार्फत राज्यस्रोतमाथिको हालीमुहाली गुमेकाहरुबाट ‘लोकतान्त्रिक व्यवस्थामा वेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएका भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ - '२००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीहरुले यसको तथ्यसंगत खण्डन गर्नुपर्दछ, शासनाधिकार एउटा बंशमा हुन्थ्यो, उसको बोली कानुन हुन्थ्यो, राज्यस्रोतमा उसले चाहेजसरी मनमौजी गर्थ्याे, गणतन्त्रमा जस्तो त्यसबारे प्रश्न उठाउने अधिकार जनतालाई हुँदैनथ्यो, जनताका मुख बन्द गरेर देखाइने सुशासन सुशासन थिएन, हुकुमी बन्देजले खडा गरेको मूर्दाशान्ति थियो ।'

नेपाल जनताले लडेर ल्याएकाे यस प्रणालीलाई द‍ृढतापूर्वक पक्षपोषण गर्नुपर्ने अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ - 'तसर्थ हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको यस प्रणालीको द‍ृढतापूर्वक पक्षपोषण गर्नुपर्छ, मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन सक्दैन, यसमा हामी सबै स्पष्ट हुनुपर्दछ ।'

यस्ताे छ केपी ओलीकाे शुभकामना :

आज हामी १५औं गणतन्त्र दिवस मनाइरहेका छौं । यो नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिवस हो । नेपाली जनताको उल्लासपूर्ण पर्वको दिन हो ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । जन्मसिद्ध श्रेष्ठताको सामन्ती प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु ।

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर संघर्ष गरेको राज्य सञ्चालनमा रहेको बंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो । सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो ।

मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो । लोकले छानेका प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको आरम्भ भएको थियो। इतिहासमा नेपाल गणराज्य नै थियो, जहाँ जनताले शासक चुन्ने गरेका थिए। लिगलिगकोटमा दौड जितेर राजा हुने विधिलाई हामी यसै रुपमा बुझ्न सक्दछौं ।

भौतिक बलले राज्यको निर्माण र सुरक्षा गर्ने त्यस समयमा राजा चुन्ने विधिहरु पनि तात्कालीन समय अनुरुपका नै थिए। तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु भयो। यसै व्यवस्था अन्तर्गत नेपालमा शाह बंशमा आधारित शासन सत्ता अढाइ सय वर्षसम्म चल्यो । त्यस अवधिभित्र पनि राणा बंशले १०४ वर्ष प्रत्यक्ष शासन गर्‍याे । यस्तो बंशीय र हुकुमी शासनलाई प्रत्यक्ष नभोगेको आजको पुस्ताले सामन्ती राजतन्त्रभित्र हुने कपटपूर्ण खेल, हत्याकाण्डहरुबाट गद्दि हत्याउने, राज्य टुक्र्याएर भाइभाइबीच अंशवण्डा गर्ने र जनताका अधिकार खोसेर शासन थोपर्ने परिघटनाहरुलाई इतिहासमा मात्र अध्ययन गर्न पाएको छ । त्यस निरंकुश तन्त्रलाई हामीले २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट अन्त्य गर्यौं‍ र एक बंशीय एकाधिकारको प्रणाली तोडेर जनताको शासन स्थापित गर्‍यौं ।

अहिले हामी स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने खुला समाजमा छौं । आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ । अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन। त्रुटि भएका छन्, तिनलाई सच्याउनुपर्छ । त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ। तर, नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनुहुन्न ।

यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ। गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रूर दमन, जनताका अधिकारहरुमाथिका बन्देज र हुकुम नै कानुन हुने परिपाटी सही थियो भन्ने होइन । त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइ न।

अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्र मार्फत राज्यस्रोतमाथिको हालीमुहाली गुमेकाहरुबाट ‘लोकतान्त्रिक व्यवस्थामा वेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएका छन् । २००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीहरुले यसको तथ्यसंगत खण्डन गर्नु पर्दछ। शासनाधिकार एउटा बंशमा हुन्थ्यो, उसको बोली कानुन हुन्थ्यो, राज्यस्रोतमा उसले चाहेजसरी मनमौजी गथ्र्यो, गणतन्त्रमा जस्तो त्यसबारे प्रश्न उठाउने अधिकार जनतालाई हुँदैनथ्यो। जनताका मुख बन्द गरेर देखाइने सुशासन सुशासन थिएन, हुकुमी बन्देजले खडा गरेको मूर्दाशान्ति थियो। तसर्थ हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको यस प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नु पर्छ। मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन सक्दैन। यसमा हामी सबै स्पष्ट हुनु पर्दछ।

नेपालमा गणतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो। यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनु पर्छ, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्। लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्नेछ । गणतन्त्र दिवसको यस अवसरमा म सबैलाई त्यसका लागि अग्रसर हुन हार्दिक आह्वान गर्दछु । सबैमा धेरैधेरै शुभकामना ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1