पङ्गेनी परिवारमा शोकको शृङ्खला : सिर्जनाको प्रेरक सङ्घर्ष, पत्नी र दुई छोराको वियोगमा छट्पटाउँदै मीनराज

सिर्जनाको समर्पणले एउटा गहिरो सन्देश दिएको छ—‘प्रेम भनेको केवल खुसीका दिनमा साथ दिनु होइन, सङ्घर्षका दिनमा साथ नछोड्नु पनि हो । केही वर्षअघि श्रीमती र चारमहिनाअघि कान्छो छोरा गुमाएका मीनराजमाथि समयले फेरि एकपटक चोट दिएको छ ।

Dec 22, 2024 - 12:50
 0
पङ्गेनी परिवारमा शोकको शृङ्खला : सिर्जनाको प्रेरक सङ्घर्ष, पत्नी र दुई छोराको वियोगमा छट्पटाउँदै मीनराज

काठमाडौं । श्रीमान विवेक पङ्गेनीको निधन भएपछि जीवनसङ्गिनी सिर्जना एक्लिएकी छन् । सामाजिक सञ्जालमा सबैका प्रिय जोडी विवेक र सिर्जना पङ्गेनीको कथा प्रेम र सङ्घर्षको प्रतिक नै बनेको थियो ।

टिकटकबाट सबैका प्रिय बनेका यी दुईका प्रेम र समर्पणका क्षणले धेरैलाई छोएको थियो । तर, गत शुक्रबार विवेकले यो धर्ती छाडेपछि सिर्जनाको मात्र होइन, पङ्गेनी परिवारकै सपना उजाडिएका छन् ।

सिर्जनाको सिउँदो पुछिएको मात्र छैन, उनको परिवार एकपछि अर्को वियोगले थलिएको छ । श्रीमान गुमाएर सिर्जना एक्लिएकी छन् तर, यो मात्र उनको पीडाको कथा होइन ।

केही वर्षअघि विवेककी आमाको निधन, चार महिनाअघि भाइको मृत्यु, र अहिले स्वयं विवेकको वियोगले पङ्गेनी परिवार धारावाहिक शोकमा डुबेको छ ।

***

बर्दियाको बढैयाताल गाउँपालिका वडा ५ राजपुर मैनापोखरका उनीहरू पछिल्लो समय अमेरिकामा थिए । विवेक, जो ब्रेन क्यान्सरसँग जुधिरहेका थिए, उनलाई नयाँ जीवन दिन श्रीमती सिर्जनाले आफ्नो जीवन अर्पण गरिरहेकी थिइन् ।

विवेक उपचाररत थिए, सिर्जनाको लागि युद्धभूमि बनेको थियो अमेरिकी भूमि । गम्भीर रोग क्यान्सरसँग जुधिरहेका भए पनि श्रीमान् मुस्कुराइरहुन् भन्ने सिर्जनाको अथक प्रयास जारी रहन्थ्यो ।

बिरामी श्रीमान विवेकप्रतिको सिर्जनाको समर्पण सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । विवेकले जति शारीरिक पीडा सहनुपर्‍यो, सिर्जनाले त्यति नै मनको पीडा सहँदै सङ्घर्ष गरिन् ।

२०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्न अमेरिका पुगेका थिए विवेक । सुखसयलसँग बढिरहेको उनको जीवनको कथा त्यतिखेर मोडियो, जब अमेरिका पुगेको पाँच महिनामै आमाको निधन भयो ।

आमा गुमाएको शोकमा उनी नेपाल फर्किए । काजकिरिया सकेर फर्किन लाग्दा आफैँलाई क्यान्सर भएको थाहा भयो । त्यो पनि, चौथो चरणको ब्रेन क्यान्सर । उतै उपचार गर्ने भन्दै अमेरिका लागे । अमेरिका पुगेपछि विवेकको जीवनसँगको संघर्ष झन् कठिन बन्न थाल्यो ।

तर, यो मात्र पर्याप्त थिएन । विवेकको परिवारमाथि अर्को बज्रपात पर्‍यो । गत दशैंअघि मात्र विवेकका भाइ विपिन सडक दुर्घटनामा परेर बिते । यति छोटो समयको अन्तरालमा दुःखले थिचिएका सिर्जना र उनको परिवारले फेरि विवेकलाई गुमाउनुपर्‍यो ।

श्रीमानको उपचार खर्चको लागि सिर्जना केही काम गर्थिन् । तर, श्रीमानको स्याहार पनि गर्नुपर्ने हुँदा धेरै समय दिन सक्ने थिइनन् । त्यसैले सिर्जनाले विवेकको उपचारका लागि सामाजिक सञ्जालमा सहयोग मागिन् । विश्वभर छरिएर रहेका नेपालीले सहयोगको हात अघि बढाए ।

क्यान्सरको गम्भीर अवस्थाका बाबजुद सिर्जनाले विवेकलाई हरपल प्रेरित गरिरहिन् । श्रीमान मुस्कुराएको देख्न उनले आफ्ना दुःख लुकाइन । सिर्जनाको यो प्रयासले धेरैलाई प्रेरणा दियो । विवेकसँगका उनका भिडिओ, जसमा दुवै जनाको मुस्कान र सङ्घर्ष देखिन्थ्यो, सामाजिक सञ्जालमा निकै चर्चित बने ।

विवेकको निधनपछि सिर्जना एक्लो बनेकी छन् । तर, उनलाई नआत्तिन र जीवनलाई अगाडि बढाउन समाजले आग्रह गरिरहेको छ । प्रेम र सङ्घर्षको यो कथा धेरैका लागि प्रेरणा बनेको छ ।

सिर्जनाको समर्पणले एउटा गहिरो सन्देश दिएको छ—‘प्रेम भनेको केवल खुसीका दिनमा साथ दिनु होइन, सङ्घर्षका दिनमा साथ नछोड्नु पनि हो ।’

***

मृतक विवेकका बुबा ५६ वर्षिय मीनराज जो अहिले अमेरिका पुगेका छन् । केही वर्षअघि श्रीमती र चारमहिनाअघि कान्छो छोरा गुमाएका मीनराजमाथि समयले फेरि एक पटक चोट दिएको छ ।

विवेकको निधनपछि उनको पार्थिव शरीर लिन अमेरिका पुगेका मीनराजलाई घरमा कान्छी बुहारी र नाति पनि सम्हाल्नुपर्ने छ ।

परिवारको मूलीको रूपमा उनीमाथि अहिले छोरा गुमाएको पीडाले थिचिएर बुहारीलाई सान्त्वना दिनुपर्ने मात्रै होइन नातिको भविष्यको चिन्ता लिँदै आफूमाथि भर पर्ने सबैलाई सम्हाल्नु परिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register