आहारा र बासस्थानका हिसाबले उपयुक्त कोशीमा बढिरहेछ बाघ फर्काउने पहल

काठमाडौं । २०७३ साल माघको पहिलो साता कोशीटप्पुबाट १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज लैजाने तयारी भयो । कोशीमा मात्र पाइने अर्ना चितवन लैजाने तयारीपछि कोशीटप्पुका स्थानीयहरू विरोधमा उत्रिएका थिए । स्थानीय कुर्वान मन्सुरीको नेतृत्वमा सङ्घर्ष समिति बनाएरै अर्ना स्थानान्तरण गर्न नदिन दबाब दिइयो । चितवनमा अर्ना लगे कोशी आउने पर्यटक घट्ने तर्क सङ्घर्ष समितिको […]

Apr 14, 2025 - 10:10
 0
आहारा र बासस्थानका हिसाबले उपयुक्त कोशीमा बढिरहेछ बाघ फर्काउने पहल

काठमाडौं । २०७३ साल माघको पहिलो साता कोशीटप्पुबाट १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज लैजाने तयारी भयो । कोशीमा मात्र पाइने अर्ना चितवन लैजाने तयारीपछि कोशीटप्पुका स्थानीयहरू विरोधमा उत्रिएका थिए ।

स्थानीय कुर्वान मन्सुरीको नेतृत्वमा सङ्घर्ष समिति बनाएरै अर्ना स्थानान्तरण गर्न नदिन दबाब दिइयो । चितवनमा अर्ना लगे कोशी आउने पर्यटक घट्ने तर्क सङ्घर्ष समितिको थियो । अर्नालाई चितवन लैजान नदिन उनीहरू अडिग थिए ।

यता राष्ट्रिय निकुञ्च तथा वन्यजन्तु संरक्षण विभाग भने अर्ना स्थानान्तरणको पक्षमा थियो । कोशी क्षेत्रमा ठूलो बाढी आउँदा वा रोगले अर्नाको अस्तित्व सङ्कटको जोखिम रहेको विभागको बुझाइ थियो । वंश विस्तारका लागि चितवनमा अर्ना स्थान्तरणको पक्षमा रहेको विभागलाई स्थानीयलाई दुई कुरामा आश्वस्त बनायो । पहिलो, अर्ना लगेपछि गैँडा ल्याउने । दोस्रो, कोशीमा पाटे बाघ पुनः स्थापनाको पहल गर्ने ।

विभागको आश्वासनपछि स्थानीयहरूले आफ्ना सङ्घर्षका कार्यक्रम स्थगित गरे । सङ्घर्ष समितिका संयोजक कुर्वान मन्सुरी विगत सम्झिँदै भन्छन्, “अर्ना लैजान लिखित सम्झौता भएको थिएन । अर्ना लगेबापत कोशीले गैँडा, बाघ जरायोजस्ता जनावर ल्याउने कुरा भएको थियो । बाघको विषयमा पनि छलफल भएको थियो । त्यसको लागि थप अध्ययन गर्ने कुरा भएको हो ।”

स्थानीयहरूले सशर्त अनुमति दिएसँगै कोशीबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा अर्ना चितवन पुर्‍याइयो । पदमपुरमा इन्क्लोजर बनाएर राखिएका १५ अर्नामध्ये अहिले एउटा पनि छैन । कतिलाई बाघले मार्‍यो । कति बाढीमा बगे । केही रोग लागेर मरे ।

चितवन पुर्‍याइएका सबै अर्ना मरेसँगै विभागले कोशीमा गैँडा ल्याउने तयारी गर्‍यो । स्थानीयसँग भएको सहमतिको सात वर्षपछि २०८० असोजमा दुई गैँडा कोशी पठाइयो ।

‘पुष्पा’ र ‘अञ्जलि’ नाम गरेका किशोरी दुई गैँडाहरू आरक्षको पश्चिम क्षेत्रमा रहेको ‘पथरी पोस्ट’ क्षेत्रमा छन् । दुई पोथी गैँडा ल्याएपछि प्रजननका लागि एक भाले गैँडा पनि ल्याइएको थियो । दुई पोथीसँग प्रजनन् गराउन ल्याइएको ‘मेघौली’ नामको किशोर गैँडालाई पुनः चितवन नै फर्काइयो ।

स्थानान्तरणको लागि चितवनबाट कोशीसम्म पुर्‍याउँदा ट्रकभित्र चोट लागेपछि मेघौलीलाई उपचारको लागि चितवन फर्काइएको थियो ।

पाटे बाघ कहिले ?

बागमती नदी कटेर बाघ पूर्व नलाग्ने संरक्षणकर्मीहरूको दाबी एक महिनाअघि गलत साबित भयो । कोशी नदीको किनारमा रहेको सप्तरी जिल्लाको फत्तेपुर भन्ने ठाउँमा पाटे बाघ देखियो ।

आरक्षको मध्यवर्ती क्षेत्र नजिक पर्ने ‘फत्तेपुर’ क्षेत्रमा पाटे बाघ देखिएपछि कोशी टप्पुमा गैडापछी पाटे बाघको सम्भाव्यताको बारेमा बहस सुरु भएको छ । गएको फागुन १९ मा कोशी किनारमै बाघ भेटिएपछि ‘बागमती पूर्व पनि बाघको लागी उपयुक्त वातावरण’ भएको बहस संरक्षणकर्मीहरूले गरिरहेका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामदेव चौधरी बाघ देखिनुले राम्रो जैविक विविधता रहेको पुष्टी भएको बताउँछन् । “गैँडा भर्खर-भर्खर कोशीटप्पुमा ल्याइएको छ । हामीले केही समय अगाडी बाघ पनि भेट्यौँ । यो हाम्रो लागी ठूलो उपलब्धि हो,” चौधरीले भने, “कोशी पाटे बाघको लागि उपयुक्त छ भन्ने सङ्केत दिएको छ ।”

रुसको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा भएको अन्तर्राष्ट्रिय बाघ मञ्चमा नेपालले २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । विश्वमञ्चमा गरेको प्रतिबद्धता नेपालले झण्डै तेब्बर बनाएर पूरा गर्‍यो ।

सन् २००९ मा एक सय २१ बाट २०२२ मा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । बाघको सङ्ख्या बढेपछि बाघको ‘मुभमेन्ट’ फैलिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बताउँछन् । वरिष्ठ इकोलोजिस्ट आचार्यका अनुसार कोशीमा देखिएको पाटे बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट पुगेको अनुमान गरिएको छ ।

पर्सामा बाघको सङ्ख्या बढ्दै गएकाले नयाँ क्षेत्र खोज्दै कोशीसम्म पुगेको हुनसक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ट इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । “बागमती नदीको आसपाससम्म बाघ देखिएकै हो । त्यही बाघ सप्तरीसम्म आयो होला भन्ने प्रारम्भिक अनुमान हाम्रो हो,” आचार्य भन्छन्, “त्यसैले चुरे फेदी हुँदै सप्तरीसम्म बाघ पुगेको जस्तो देखिन्छ ।”

सन् २००९ मा पर्सामा जम्मा ४ वटा बाघ रेकर्ड गरिएकोमा २०२२ सम्म आइपुग्दा बाघको सङ्ख्या ४१ वटा पुगेको  थियो । कोशीमा सन् १९७० अघिको दशकसम्म बाघको उपस्थिति थियो । तर, १९७० को दशकपछि भने कोशीमा बाघ देखिन छोडेको कोशीटप्पु वन्यजन्तु आरक्ष बिस्तारको लागि गरिएको वातावरण परीक्षण प्रतिवेदनमा भनिएको छ ।

कोशी किनारका बस्तीहरू प्रकाशपुर, मधुवन, चक्रघट्टीको क्षेत्रमा बाघ देख्ने पुराना स्थानीय अझै रहेका छन् । मानबहादुर मगर २००७ साल देखि कोशीटप्पुको किनारमा रहेको वराहक्षेत्र नगरपालिकाको प्रकाशपुरमा छन्  । उनलाई अझैसम्म पाटे बाघ बाट जोगिएर खेती गरेको स्मरण छ ।

आरक्ष विस्तारको उद्देश्यले सन् २०१७ मा प्रारम्भिक वातावरण परीक्षणले कोशी क्षेत्रमा बाघ स्थानान्तरण गर्न सकिनेसमेत उल्लेख गरेको थियो ।

आरक्ष विस्तार गर्दै बाघ स्थानान्तरण गर्नुपर्ने तर्क संरक्षणकर्मीहरूमा सुरु भएको छ । वन्यजन्तु संरक्षणमा लामो समयदेखि काम गरिरहेका वन्यजन्तुका जानकार डाक्टर हेमसागर बराल कोशी टप्पुलाई विस्तार गरेर बाघको दिगो व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कुल १७५ वर्ग किलोमिटरमा फैलिएको आरक्ष क्षेत्रलाई ३१९ वर्ग किलोमिटर पुर्‍याउने अध्ययन गरेको थियो । हालको कोशी ब्यारेजदेखि चतराको कोशी पुलसम्म आरक्ष बनाउने अध्ययन विभागको थियो ।

विभागले गरेको अध्ययनको आधारमा आरक्ष विस्तार गरेर कोशीमा बाघको लागी उपयुक्त वातावरण बनाउनु पर्ने बराल बताउँछन् । “कोशीलाई चुरेसँग जोड्नलाई आरक्ष बिस्तारको आवश्यकता टड्कारो हो,” बराल भन्छन्, “चुरेसँग आरक्ष जोडियो भने बाघको लागि उपयुक्त वासस्थान बन्छ कोशी । यसले पर्यटकको सङ्ख्यालाई पनि बढाउँछ ।”

हप्तामा एउटा सिकार भए बाघलाई पुग्छ । एउटा बाघको लागि वर्षमा ५० शिकारले पुग्ने भएकाले आहाराको हिसाबले कोशी क्षेत्र बाघको लागि उपयुक्त स्थान हुने तर्क वन्यजन्तुकर्मीहरूको छ । कोशीमा अन्य ठूला सिकारी जनावर नभएको र आरक्षभर घरपालुवा जनवारहरुको उपस्थिति भएकाले बाघको लागि पर्याप्त सिकार हुने स्थानीय कुर्वान मन्सुरी बताउँछन् ।

स्थानीयहरूले आरक्ष क्षेत्रमा घरपालुवा जनवारलाई छोड्छन् ।  तिनै चौपायाले आरक्षको घासेमैदान ओगट्ने गरेका छन् । जसले गर्दा अर्नाको प्राकृतिक वासस्थान जोखिममा पर्दै गएको छ । “आरक्षले पनि जङ्गलभित्र रहेका घरपालुवा नियन्त्रण गर्न सकेको छैन । घाँसे मैदान सखाप बन्दै गएको छ । त्यसैको लागि भए पनि बाघको आवश्यकता देखिएको छ,” मन्सुरी बताउँछन् ।

कोशीमा मात्र होइन, कोशी टप्पु नजिक रहेको उदयपुरको त्रियुगा वन बाघको वासस्थानका लागि उपयुक्त रहेको बराल सम्झिन्छन् । डिसेम्बर २०१८ मा जेड एस एल नेपालले ‘त्रियुगा बनमा बाघका लागि वासस्थान दिगोपन मूल्याङ्कन प्रतिवेदन’ प्रकाशित गरेको थियो । जसमा त्रियुगा जङ्गल बाघका लागि उपयुक्त हुने जनाएको थियो । विभागका अनुसार सुरूवाती चरणमा पाँच पोथी र दुई भाले ल्याएर वंश विस्तारका लागि कोशीमा छोड्न सकिन्छ ।

द्वन्द्वको चिन्ता

सन् २०२४ को कोप सम्मेलनपछि समीक्षा बैठकमा प्रधानमन्त्री केपी ओलीले बाघको प्रसङ्ग निकाल्दै गम्भीर अभिव्यक्ति दिए । ओलीको अभिव्यक्तिले नेपाली संरक्षणकर्मीहरूलाई तरङ्गित बनाएको थियो । ओलीले नेपालले बाघको सङ्ख्या झन्डै तेब्बर पारेको भन्दै बाघलाई निश्चित सङ्ख्यामा झार्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

“जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हेर्नुपर्छ । यत्रो सानो देशमा साढे तीन सयभन्दा बढी बाघ ? हामीले पनि चाहिने खालका काम गर्नुपर्छ, बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ,” ओलीले भनेका थिए ।

ओलीको यो अभिव्यक्तिपछि बाघको सङ्ख्या कति राख्नेमा निकै चर्चा चल्यो । जनसङ्ख्या र भूगोलको हिसाबमा बाघको उपस्थिति कति हुनुपर्छ भनेर नयाँ किसिमको बहस सृजना भएको थियो ।

कोशीमा समेत बाघ ल्याउने विषयमा पनि पक्ष विपक्षको बहस चल्ने देखिन्छ । कतिपयले बाघ ल्याएपछि पर्यटक समेत बढ्ने भएकाले बाघको ल्याउनुपर्ने वकालत गर्दै छन् । कतिपय स्थानीयहरू मानव वन्यजन्तु द्वन्द्व बढ्न सक्ने भन्दै सरकारलाई खबरदारी गर्दै आएका छन् ।

शिकारी जनावर स्थानान्तरण गर्दा स्थानीयहरुको आवाजलाई ख्याल गर्नुपर्ने संरक्षणकर्मी चक्र तिम्सिना बताउँछन् कोशी क्षेत्रमा पथ-प्रदर्शकको काम गर्दै आएका तिम्सिना भन्छन्, “जनावारहरु स्थानान्तरण गर्ने विषयमा ख्याल गर्नुपर्छ । स्थानीयको आवाजको सम्बोधन हुनुपर्छ ।”

विश्व वन्यजन्तु कोष नेपालमा वन्यजन्तु विज्ञ शशाङ्क पौडेल पारिस्थितिक प्रणालीसँगै स्थानीय समुदायको भावना समेट्नुपर्ने बताउँछन् । उनको अनुसार ठूला शिकारी जनावरको स्थानान्तरण गर्दा पारिस्थितिक प्रणालीमा बहुतै ध्यान दिनुपर्छ । “प्राकृतिक रूपमा पानीको उपलब्धता, क्षेत्रफल, आहारा प्रजाति लगायतको कुरामा ध्यान दिनुपर्छ । त्योसँगै स्थानीयहरुको भावनाको सम्बोधन समेत आवश्यक छ,” पौडेलले भने, “कहिलेकाहीँ पारिस्थितिक प्रणाली राम्रो हुनसक्छ । तर, प्रणाली राम्रो भएको ठाउँमा नजिक मानवीय छाप धेरै पनि हुनसक्छ । त्यसलाई ख्याल गर्नुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register