चितवनका सिमसार क्षेत्रमा भेटिए ५५ प्रजातिका चरा

काठमाडौं । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका […]

Jan 12, 2025 - 05:45
 0
चितवनका सिमसार क्षेत्रमा भेटिए ५५ प्रजातिका चरा

काठमाडौं । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् ।

बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् ।

गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।

यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो ।

बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए । तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए ।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए । सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् ।

यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।

सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उनले बताए । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको सङ्ख्या उस्तैउस्तै छ”, बिडारीले भने ।

प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ ।

नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो ।

चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उनले बताए । त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register