संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं । अध्यादेश विवादपछि अन्ततः आज (शुक्रबार) सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । सत्तारुढ दल र प्रतिपक्षी दुवैले यसको तयारी गरिसकेका छन् । सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने […]

Jan 31, 2025 - 07:22
 0
संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं । अध्यादेश विवादपछि अन्ततः आज (शुक्रबार) सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।

सत्तारुढ दल र प्रतिपक्षी दुवैले यसको तयारी गरिसकेका छन् । सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश लगायतका विषयमा चर्को आवाज उठाउने तयारी गरेको छ । यसबीच उसले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीले अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौँ । नियमावलीअनुसार सूचना दर्ता गर्नेछौँ ।’

अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको माओवादी केन्द्रको निष्कर्ष छ । छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने सरकारको अभिव्यक्ति जनतालाई भ्रममा राख्नका लागि मात्र भएको प्रमुख सचेतक पाण्डे बताउँछन् ।

यस्तै, सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पनि बैठकमा छलफल भएको छ । उनले भने, ‘त्यो विधेयकमा सजायबारे छलफल भएको छ । अहिले राष्ट्रियसभामा भएकोले हामी त्यसलाई केल्याएर निर्णय गर्नेछौँ ।’

प्रमुख प्रतिपक्षी दलको हैसियतले संसद् बैठकलाई थप प्रभावकारी कसरी बनाउने विषयमा छलफल भएको पाण्डेले बताए । ‘संसदमा सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय बैठकले निर्णय गरेको छ,’ उनले थपे ।

यस्तै माओवादी केन्द्रसँगै संसद्‌का अन्य विपक्षी दलहरूले पनि सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले शुक्रबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशविरुद्ध उभिने निर्णय गरेको हो ।

विपक्षीले विरोधको तयारी गरिहँदा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने टसमस नहुने देखिएको छ । नेपाली काङ्ग्रेसलगायत सबै सत्तारुढ दलको साथ पाएपछि एमाले हौसिएको हो ।

यसअघि अध्यादेशको पक्षमा वकालत गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले विशेषगरी प्रमुख माओवादी केन्द्रले पूर्वाग्रही ढङ्गले सरकारको विरोध गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट हटेको पीडा अहिले माओवादी केन्द्रले पोखिरहेको उनले टिप्पणी गरे । सरकारले संविधान बमोजिम नै अध्यादेश ल्याएकाले यसको विरोधको कुनै तुक नभएको उनले स्पष्ट पारे ।

मुख्य सचेतक बर्तौलाले माओवादी केन्द्रलाई विगतमा आफूले ल्याएको अध्यादेश सम्झन पनि आग्रह गरे । संसद्मा बहुमत पुर्याएर अध्यादेश फिर्ता गराउन उनले विपक्षीलाई चुनौतीसमेत दिए ।

‘अध्यादेश संविधानबमोजिम ल्याइएको हो । प्रतिस्थापन विधेयक ल्याएर सुधार गरिने ठाउँ प्रशस्तै छ । यो जान्दाजान्दै उहाँहरूले केही विषय नपाएर राजनीतिक मसला बनाउनु भएको छ,’ केही दिनअघि नेपालभ्युजसँगको कुराकानीमा उनले भनेका थिए, ‘बहुमत पुर्याएर अध्यादेशलाई संसद्बाट फिर्ता गराए त भइहाल्यो नि !’

आफूहरू प्रतिपक्षीका विरोधबीच संसद्मा सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने मुख्य सचेतक बर्तौलाले बताए । उनका अनुसार आजको बैठकमा सबै अध्यादेश पेस हुनेछन् । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

‘अध्यादेश पेस भएपछि त्यसलाई परिपक्क हुन केही समय लाग्छ । यसर्थ २२ गते सबै अध्यादेश निर्णायार्थ पेस हुने कार्यतालिका राखिएको हो । सोही दिन सबै अध्यादेश स्वीकृत हुने काम हुन्छ,’ उनले भने ।

सरकारले संसद् अधिवेशन रोकेर एकपछि अर्को अध्यादेश ल्याएपछि प्रतिपक्षी आक्रोशित बनेका थिए । यसपछि सरकारले ढिलोगरी (विगतका अभ्यासभन्दा करिब एक महिनाभन्दा बढी समयपछि) माघ १८ का लागि संसद् अधिवेशन बोलाएको हो ।

संसद्‌मा सुरुदेखि नै सरकारविरुद्ध खनिने प्रतिपक्षीको तयारी, काङ्ग्रेसको साथले एमाले टसमस नहुने

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register