उत्पादन केन्द्रित आर्थिक पुनर्जागरण

नेपाली अर्थतन्त्रको समस्याको चुरोमा तत्कालीन अवस्थाका गल्तीहरू भन्दा पनि गहिरो संरचनात्मक उल्झन छ । यसको समाधान अल्पकालीन यन्त्रहरूको माध्यमबाट होइन, गहन नीतिगत सुधार र योजनाबद्ध लक्ष्यबाट आउनु पर्छ । त्यसका लागि तीन पक्षको विश्लेषण सान्दर्भिक हुन सक्छ ।

Feb 6, 2025 - 10:39
 0
उत्पादन केन्द्रित आर्थिक पुनर्जागरण

पछिल्लो समय नेपाली बैङ्किङ क्षेत्र एउटा खोँचमा फसेको छ । उच्च मात्रामा तरलता बढेकाले मौद्रिक नीतिमार्फत ब्याजदर न्यूनीकरण गरियो, तर ऋणको माग बढ्न सकेन । खराब ऋणको हिस्सा बढ्दै गयो, गैरबैङ्किङ सम्पत्ति थुप्रिँदै गयो, भएको तरलताको बैङ्कहरूले पनि फाइदा लिन पाएनन् । तरलताको सदुपयोग गर्दै उपभोक्ताले नयाँ उद्यम सुरु गर्नुपर्ने, बैङ्कहरू हतोत्साहित नहुँदै ऋण उपलब्धताका दायरा बढाउनु पर्ने, अनि अर्थतन्त्र सिँचित हुँदै जानुपर्ने अवस्थामा उपभोक्ता सङ्कुचित र वित्तीय संस्थाहरू सशक्त हुनुपर्ने अवस्था बनेको छ ।

यस्तो अवस्था सिर्जना हुनुका पछाडि बैङ्किङ प्रणाली र मौद्रिक नीतिका आआफ्ना, तत्कालीन गल्तीहरू त छन् नै, तर हाम्रो अर्थतन्त्रको गहिरो संरचनात्मक समस्या पनि यसको दृष्टान्तमा छ – उत्पादन विमुख अर्थतन्त्र ।

पृष्ठभूमि

१९९० को दशकमा चीन, भारत, ब्राजिललगायत धेरै विकासोन्मुख देशले उदार अर्थव्यवस्था अवलम्बन गर्दै गर्दा नेपालमा पनि बहुदलको पुनर्स्थापना र आर्थिक उदारीकरणको आगमन भयो । निजी क्षेत्रको विकासका लागि प्रकाश चन्द्र लोहनी, महेश आचार्य र रामशरण महतलगायत तत्कालीन अर्थमन्त्रीहरूले खुला अर्थतन्त्रको नीति अनुसरण गरे। तर, न्यून औद्योगिकीकरण भएको, पुँजीको पहुँच निश्चित परिवारमा मात्र रहेको, र नीतिगत कामकारबाहीमा आम जनसङ्ख्याको न्यून चासो भएको तत्कालीन अवस्थामा निजीकरण र उदारीकरणको वाञ्छित तथा अवाञ्छित लाभ सीमित समूहले मात्र लिन सक्यो । 

निजी क्षेत्रको उपस्थिति बाक्लिँदै जाँदा र गार्मेन्टलगायतका उद्योगलाई विश्व व्यापार सङ्गठन WTO मार्फत प्राप्त व्यापार सुविधाले गर्दा छोटो समयमा नै उद्योग तथा उत्पादन क्षेत्रको अर्थतन्त्रमा हिस्सा बढ्यो (१९९० मा ५% बाट २००१ मा ९%)। यसकै जगमा निर्यात पनि बढ्न थाल्यो । तर, आर्थिक उदारीकरणका लागि आवश्यक क्रमिक नीतिगत सुधारमा दिगोपन नहुनु, गृहयुद्धको चपेटामा राजनीतिक अनिश्चितता बढ्नु, र निजी क्षेत्रका ठूला खेलाडीले एकाधिकारको बाटो खोज्ने क्रममा आयात केन्द्रित व्यापारले गति लिन थाल्यो ।

विश्व व्यापार तीव्र हुँदै गइरहेको र नेपालमा धेरै उपभोग्य सामान भित्रिनै बाँकी रहेको अवस्थामा उदारीकरण र भूमण्डलीकरणको पृष्ठभूमिमा “उद्यम / उद्योग” भन्दा आयातकेन्द्रित “व्यापार / व्यवसाय” फस्टाउन थाल्यो । अर्थप्रणालीमा “प्रोत्साहन” (Incentive) को प्रक्रिया विभिन्न चरणमा भङ्ग भयो : व्यापारी समूहलाई आयातमै एकाधिकार जमाउने सुविधा हुँदा आन्तरिक उत्पादनको जोखिम लिने प्रोत्साहन रहेन ।

उपभोक्तालाई व्यापारले सिर्जना गरेको छनोट सुविधाले गर्दा आन्तरिक उत्पादनकै पछि लाग्नु पर्ने बाध्यता रहेन । अनि राज्यलाई आयातमार्फत सिर्जना हुने राजस्व र आयातकर्तासँगको सौहार्द्रपूर्ण सम्बन्धले आन्तरिक उद्योगलाई जोड दिनुपर्ने प्रोत्साहन रहेन । १९९० र २००० का दशकमा वैदेशिक रोजगारी तीव्र हुन थाल्यो र विप्रेषण भित्रिने क्रम बढ्यो । फलतः आजसम्म पनि कायम रहेको बलियो चक्रको सिर्जना भयो – विप्रेषणको जगमा मध्यम वर्गको उदय, मध्यम वर्गको उपभोग क्षमताको आधारमा आयात विस्तार, अनि आयातमार्फत राजस्वकेन्द्रित राष्ट्रिय अर्थस्रोत

वर्तमान अवस्था

विश्वभर प्रायः समाजको आर्थिक विकासको क्रममा सुरुमा कृषि क्षेत्रबाट श्रमशक्ति बाहिरिने, त्यसको ठूलो हिस्सा औद्योगिक क्षेत्रमा जाने, अनि विकासको तीव्र गति सँगै सेवा क्षेत्रको विस्तार हुने र सोही क्षेत्रले अधिक श्रमशक्ति लिने चलन हो । तर, नेपालमा कृषि क्षेत्रबाट श्रमशक्ति बाहिर निस्किदै गर्दा औद्योगिक क्षेत्रमा त्यसलाई समेट्ने (Absorb गर्ने) संरचना विकास भएन । कमजोर औद्योगिक र सेवा क्षेत्रले गर्दा श्रम शक्ति त पलायन हुँदै गयो नै, तर सँगसँगै उनीहरूले भित्र्याउने गरेको विप्रेषण पनि (आयात मार्फत) पलायन जस्तै हुन पुगेको छ ।

एकातर्फ आयातकेन्द्रित व्यापार र एकाधिकारको रसमा निजी क्षेत्रको ठूलो वर्ग रमाउँदै गर्दा देशभित्र उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य वृद्धि हुन सकेन भने हाम्रो औद्योगिक क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पनि गुमाउनु परेको छ । अर्कोतर्फ राजस्व हालका लागि “Ceiling” आसपास रहेको सङ्केतले ऋणको भार र विकासका साधारण काममासमेत स्रोत सुनिश्चितताको लागि चुनौती थपिदै गएको छ ।

बैकहरूमा निक्षेप खचाखच छ, तर विगतका वर्षमा घरजग्गा र सेयर मार्केट जस्ता प्रत्यक्ष उत्पादनसँग नजोडिएका क्षेत्रमा फसेका कारण कर्जा विस्तारमा कडाइ गर्नुपर्ने बाध्यतामा बैङ्किङ क्षेत्र छ भने उत्पादन क्षेत्रको कमजोर आधार यथावत रहँदा कुल माग पनि खुम्चिएको अवस्था छ । श्रमशक्तिको उल्लेख्य तप्का देश बाहिर छ, बाहिरिने क्रम बढ्दो छ । अर्थतन्त्रको समस्या समाधान गर्न जनाउ घण्टी बजेको धेरै नै भइसकेको छ।

अबको बाटो

नेपाली अर्थतन्त्रको समस्याको चुरोमा तत्कालीन अवस्थाका गल्तीहरू भन्दा पनि गहिरो संरचनात्मक उल्झन छ । यसको समाधान अल्पकालीन यन्त्रहरूको माध्यमबाट होइन, गहन नीतिगत सुधार र योजनाबद्ध लक्ष्यबाट आउनु पर्छ । त्यसका लागि यी तीन पक्षको विश्लेषण सान्दर्भिक हुन सक्छ ।

बलियो बजार संयन्त्र विकास गर्ने

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आयातको हिस्सा ३० वर्षमा दोब्बर बढेको छ । उक्त अनुपात १९९० मा २१ प्रतिशत रहेकोमा २०२२ मा ४२ प्रतिशतसम्म पुगेको छ । हुन त भूमण्डलीकरणले गर्दा हाम्रो मात्र नभएर विश्वभर प्रायः विकासोन्मुख मुलुकहरूमा आयात बढेकै छ । तर, हाम्रो सन्दर्भमा देशलाई “कृषि प्रधान मुलुक” को परिचय दिँदै गर्दा पनि चामल, तेल, दाल, गेडागुडी जस्ता दैनिक उपभोग्य सामान पनि उल्लेख्य मात्रामा आयात गर्नु परेको छ। कतिपय वस्तु / सेवाको हकमा आन्तरिक माग धान्न हाम्रो उत्पादन पर्याप्त छैन भने कतिपय उत्पादन बजारसम्म पुग्न पाएको छैन ।

भर्खर १-२ सिजन भयो जुम्लाको स्याउ, सर्लाहीको आँप, अनि मकवानपुरको किवी बोटमै कुहिन नपरेको । भर्खर भर्खरै हो कास्की पर्वतको जेठो बूढो चामल, रुकुमको राजमा, अनि दोलखाको सिमी घरको भकारीमा थन्किन नपरेको । यसले के जनाउँछ भने आन्तरिक बजार संयन्त्र (B2B, B2C,र C2C च्यानलहरू) लाई सशक्त बनाउने हो भने आन्तरिक उत्पादन र उपभोग दुवै बढ्ने निश्चित छ । यसले उत्पादकलाई आम्दानीको स्रोत, बजारलाई लोकल उत्पादनको स्वाद, अनि व्यवसायीलाई घरेलु उत्पादन ब्रान्डिङ गर्ने अवसर दिन्छ । कृषिजन्य उत्पादनमा मात्र होइन, कपडा, औजार, फूल जस्ता “Niche” वस्तुहरूको क्षेत्रमा लघु उद्यमी (Micro-Entrepreneurs) हरू सिर्जना हुँदै जान्छन् । अचार, वैवाहिक पहिरन, अर्गानिक खाद्य आदिमा देखिएका नयाँ ससाना घरेलु ब्रान्ड नै यसको अनुपम उदाहरण हुन् ।

सेवा क्षेत्रलाई जोड दिने

अघिल्लो दशकमा कृषिबाट बाहिरिँदै गरेको श्रम बजारलाई उद्योगमा लगाउन त सकिएन नै, अहिले तयार भैरहेको दक्ष जनशक्तिलाई देश भित्रै रोजगार दिने गरी सेवा क्षेत्रको पनि विकास गर्न सकिएन । भलै कि पर्यटन र IT (विज्ञान तथा प्रविधि) मा हामीलाई स्पष्ट तुलनात्मक लाभ छ । सगरमाथादेखि लुम्बिनीसम्म, बर्दियादेखि चुम भ्यालीसम्मको मनोरम प्रकृति एउटै सानो भौगोलिक क्षेत्रमा अन्त बिरलै पाइन्छ । तर, हामीले यति अद्वितीय पर्यटकीय स्थलको “Premium” लिन त परै जाओस् कठिनले १०-१२ लाख त्यो पनि धेरै त ‘बजेट’ पर्यटक भित्र्याउन सकेका छौँ ।

नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रचारका लागि “Repurpose” गर्दै नेपालको मार्केटिङ र ब्रान्डिङमा रणनीतिक योजना लागू गर्ने, अनि लक्जरी पर्यटनलाई जोड दिने हो भने बल्ल हाम्रो पर्यटन आयमा उल्लेख्य वृद्धि हुन सक्छ । हाम्रो छिमेकी भुटानले यस्तै अवधारणामा अन्तर्राष्ट्रिय पर्यटकबाट दिगो विकास शुल्क (Sustainable Development Fee) उठाउँदै आएको छ र वार्षिक अर्बौँ रकम कमाउन सफल भएको छ । हामीले पनि पर्यटनलाई सङ्ख्याको आधारमा मात्र होइन “Value” का आधारमा विकास गर्नुपर्छ ।

पछिल्लो समय नेपालबाट पनि विश्वमै उदाउँदै गरेको विज्ञान प्रविधिको क्षेत्रमा जबर्जस्त भूमिका खेल्नसक्ने दक्ष जनशक्ति छ भन्ने सन्देश IT क्षेत्रले दिएको छ । विदेशी विनिमय भित्र्याउने देखि नेपालमै पनि उच्च मध्यम वर्गीय स्टाटस दिने रोजगारी IT क्षेत्रले दिएको छ । यस क्षेत्रप्रति उदार हुँदै लगानी, स्रोत, र अन्तर्राष्ट्रिय बजारीकरणमा सरकारले यथोचित पहल गर्ने हो भने यो नेपाली अर्थतन्त्रको नयाँ मेरुदण्ड बन्न सक्छ । यसैपनि भूराजनीति दुई ध्रुवबाट बहु ध्रुवतर्फ लम्किदै गर्दा क्षेत्रीय शक्ति केन्द्रहरूसँग वस्तु निर्यातभन्दा सेवा निर्यातमा प्रतिस्पर्धा गर्नु हाम्रा लागि आर्थिक हिसाबले दिगो र योग्य ठहरिने छ ।

डायस्पोरा केन्द्रित उत्पादन बढाउने

नेपाली अर्थतन्त्रमा अहिल्यै पनि विविध तरिकाले आफ्नो योगदान दिइरहेको नेपाली डायस्पोरा आउँदा दशकमा आर्थिक रूपमा झनै सान्दर्भिक हुँदै जानेछन् । कुल जनसङ्ख्याको २५% भन्दा बढी रहेको यो समूह नेपालका लागि विप्रेषण, प्राविधिक सहयोग, र लगानीका लागि उपयोगी त पक्कै हो, सँगै विश्वभर छरिएको यो समाज आफैँमा नेपाली उत्पादनको सुनिश्चित बजार पनि हो । प्रायः नियमित आय, आफ्नै उत्पादन कम, र नेपाली अस्तित्वप्रति झुकावका कारण डायस्पोरा विशुद्ध नेपाली, उच्च कोटिका वस्तुको बजार बन्न सक्छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन ४० अर्ब डलर हाराहारी रहँदा नेपाली डायस्पोराको कुल आय झन्डै ३५ अर्ब अमेरिकी डलर रहेको तथ्यले देखाउँछ । आर्थिक सामर्थ्यको हिसाबले अहिले नै झन्डै नेपालको आन्तरिक कुल गार्हस्थ्य उत्पादनको आकारमा रहेको डायस्पोरा अर्थतन्त्र नेपालको आन्तरिकभन्दा ठूलो बजार बन्न सक्छ । उच्चकोटिका उत्पादन निर्यातमा नेपाललाई उकास्ने यन्त्र नै यही तप्का बन्ने बलियो आधार छ । यसले नेपालको जनशक्ति पलायनलाई अभिशाप नभएर वरदान साबित गर्न सक्छ ।

अन्त्यमा, नेपाली राजनीतिक-समाजिक वृत्तमा पुँजीवादविरुद्ध समाजवादको होडबाजी चलिरहन्छ । सामाजिक सञ्जालमा पनि ‘समृद्धि’ को बहसको निहुँ पारि आशा र निराशाका व्यापारी अनि गणतन्त्र र राजतन्त्रका पुजारीबीच तँछाडमछाड चलिरहन्छ । तर, यी सबै खालका व्यापारी/पुजारीलाई मूर्त विषयवस्तुको बहसमा लैजाने हो भने नेपालको सन्दर्भमा समृद्धि, समाजवाद र पुँजीवाद जसरी व्याख्या गरेपनि, नेपाली अर्थतन्त्रले पुग्नै पर्ने गन्तव्य साझा छ : उत्पादन केन्द्रित – बजार, रोजगारी, आय र राष्ट्रिय अर्थस्रोत । 

(अर्थशास्त्री रेग्मी हाल स्वीट्जरल्याण्डको ज्युरिकमा छन् ) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register