‘दलित लाइभ्स म्याटर’ भनिरहेका प्रदीप

काठमाडौं । पवित्र कार्य महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास लगाउनेजस्तो अपवित्र र निन्दनीय घटना घटेको खबरले सामाजिक सञ्जालदेखि संसद्सम्म तरङ्गित छ । महिना दिन पनि नबितेको अर्को हृदयविदारक घटना पनि ताजै छ । सिरहाकै भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिङ्कु सदाले बलात्कारजस्तो जघन्य अपराध भोगेको दुई दिनपछि पञ्चायती समाजले थोपरेको पीडामा परेर […]

Mar 21, 2025 - 11:33
 0
‘दलित लाइभ्स म्याटर’ भनिरहेका प्रदीप

काठमाडौं । पवित्र कार्य महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास लगाउनेजस्तो अपवित्र र निन्दनीय घटना घटेको खबरले सामाजिक सञ्जालदेखि संसद्सम्म तरङ्गित छ ।

महिना दिन पनि नबितेको अर्को हृदयविदारक घटना पनि ताजै छ । सिरहाकै भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिङ्कु सदाले बलात्कारजस्तो जघन्य अपराध भोगेको दुई दिनपछि पञ्चायती समाजले थोपरेको पीडामा परेर जीवन गुमाउनुपरेको ।

त्यही सेरोफेरोमा सिङ्गो मानव समाजलाई लज्जित तुल्याउने अर्को घटना पनि घटेको थियो, फागुन ३ गते सुदूरपश्चिम प्रदेशको बैतडीमा । बैतडीको अङडेगाडका शिक्षक प्रकाश दमाईंले दलित भएकै कारण ६१ वर्षीया आमाको मृत्युपछि घाटसम्म पुर्‍याइदिने मलामी नपाएर दिनभर आगनमा शव कुरेर बस्नुपरेको ।

यी हुन्, सार्वजनिक भएका केही खबरहरू । जो सञ्चारमाध्यममा समाचार बनेर प्रकाशित भएपछि मात्रै चर्चामा आएका छन् । तर, समाजमा आँखाले नदेखिएका र देखेर पनि अनदेखा गरिएका अनगिन्ति घटनाहरूको थुप्रो छ । जहाँ कथित दलित भएकै कारण भोग्नु परेको हजारौँ वर्ष लामो विभेदको शृङ्खला जिउँदो छ । जहाँ दलितको सीप चलेको छ, श्रम चलेको छ, ज्ञान चलेको छ । तर, चलेको छैन उसले छोएको पानी । चलेको छैन, उसले टेकेको माटो । कोही मान्छे भएर पनि मान्छे हुन पाइरहेको छैन, मान्छे भएर पनि बाँच्न पाइरहेको छैन ।

यसले मानव समाजमा मान्छेकै जीवनको औचित्यमाथि प्रश्न उठाइरहेको छ । यो बह्माण्डमा हरेक जीवको अस्तित्व स्वीकार छ तर, मान्छेबाट मान्छेमाथि नै हुने विभेदको शृङ्खला कायम छ । मान्छेले मान्छेसँगै मानव जीवनको अर्थ खोज्नु पर्ने कहालीलाग्दो अवस्था यो डिजिटल युगमा पनि विद्यमान छ । हजारौँ वर्ष लामो विभेदको यही शृङ्खला चिनाउने र तोड्ने प्रयासस्वरुप एउटा अभियान चलिरहेको छ, ‘दलित लाइभ्स म्याटर’ । दलित समुदायको जीवनले यो दुनियाँमा अर्थ राख्छ है भनेर यो अभियानलाई हाँकिरहेका छन्, अभियन्ता प्रदीप परियार । उनीसँगै उभिएको छ, दलित अधिकारकर्मीहरूको ठूलो पङ्क्ति ।

आफैँले जीवनमा भोग्नुपरेको विभेदले अभियन्ता बनेका उनी दशकौंदेखि यही दलित समुदायलाई विभेदको भट्टीबाट कसरी मुक्ति मिल्छ भनेर अनवरत लागि परेका छन् । कहिले रेडियोमा कार्यक्रम बनाएर, कहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएर त कहिले सञ्जाल निर्माण गरेर ।

२०७७ सालको जेठ १० गते रुकुम पश्चिममा अन्तरजातीय विवाह गर्ने प्रयास भएकै कारण नवराज विक र उनका पाँच जना साथीहरूको हत्या भयो । त्यही घटनापछि प्रदीपलगायत अभियन्ताहरूको पहलमा सुरु भएको थियो, ‘दलित लाइभ्स म्याटर’ अभियान । यो अभियानले टेलिभिजनमा ‘काष्ट कन्भर्शेशन’ गर्नेदेखि सडकका भित्ता रङ्ग्याएर ‘पेन्ट द रेभोलुसन’मार्फत जातीय विभेदविरुद्ध आवाज उठाउने प्रयास गरिरहेको छ ।

रेडियोमा आइपुगेका ती नौ हजार चिट्ठी

पढाइमा अब्बल थिए, प्रदीप परियार । उनी ‘अप्सनल म्याथ’का विद्यार्थी थिए । कक्षा ८ मा पढ्दा उनी कथित माथिल्लो जातका शिक्षकको घरमै गएर ट्युसन पढ्थे । कक्षाका सबै साथीहरू शिक्षकको घरभित्र बसेर पढ्न पाउँथे । पढाइमा अब्बल भए पनि प्रदीप दैलोभित्र टेक्न पाउँदैन थिए । त्यो उनलाई स्मरण भएको जीवनमा पहिलोपटक अनुभव भएको विभेदको घटना थियो ।

‘झरी परेको दिन थियो । म भिज्दै ट्युसन पढ्न पुगेँ । सबै साथिभाइ कोठाभित्र थिए तर, पानीले भिजेको म ढोका बाहिरै थिएँ,’ उनी सम्झिन्छन् । यही घटनाले प्रदीपको बाल मस्तिष्कमा जात व्यवस्थाको कहिल्यै नमेटिने घाउका रेखाहरू कोर्‍यो । ‘मेरो मन मस्तिष्कमा विद्रोह ल्याउने पहिलो घटना यही भयो । त्यसअघि गाउँघरमा छुवाछुतलाई सामान्य रूपमा चलिआएको कुरा हो भन्ने गरिन्थ्यो,’ प्रदीपलाई पनि त्यस्तै लाग्थ्यो ।
उनलाई झस्काउने अर्को घटना छ, त्यही बेलाको ।

दूरीले राजधानी काठमाडौंबाट टाढा छैन, प्रदीपको घर सिन्धुलीदेखि । दूरीले नजिकै भएपनि २०५० सालको आसपासतिर सिधा सडक नहुँदा सिन्धुलीको खुर्कोट टाढै थियो, काठमाडौं । सिन्धुलीबाट महोत्तरी ओर्लेर पूर्वपश्चिम राजमार्ग हुँदै काठमाडौं आउन झण्डै १८ देखि २० घण्टाको यात्रा गर्नुपर्थ्यो ।

त्यतिबेलाका चर्चित नेता थिए, गोल्छे सार्की । गोल्छे सार्कीलाई भाषण गराउन भनेर सिन्धुलीको खुर्कोट पुर्‍याइएको थियो । काठमाडौंबाट खुर्कोट पुगेका चर्चित नेतालाई हेर्ने मान्छेहरूको घुइँचो लाग्यो । कम्युनिस्ट नेता ऋषिराज देवकोटा र प्रदीपको जन्मथलो एउटै गाउँ हो । देवकोटाको गाउँ भएकाले वर्गिय मुक्तिको नारा लगाउने कम्युनिस्टहरू उल्लेखनीय थिए, त्यो गाउँमा ।

तर, दिनभर गोल्छे सार्कीलाई हेर्न र भाषण सुन्न भूमिएको बस्ती साँझ परेपछि भने तितरबितर भयो । गोल्छे सार्कीलाई कथित उपल्लो जातको कसैले पनि घरमा बास नदिने भए । प्रदीपलाई सम्झना भएसम्म ‘उहाँलाई लिएर जाने नेताले पनि घरमा बसाउनु भएन ।’

प्रदीपलाई लाग्यो, ‘मान्छे जतिसुकै ठूलो भए पनि त्यो दलित हो भने कुनै न कुनै रूपमा अस्वीकार हुँदोरहेछ ।’

हजुरबुवाले गरिरहेको पुर्ख्यौली पेशाबाट सिलाइकटाइ भएपनि प्रदीपका बुवाले सरकारी हुलाकमा खरीदार हुँदै नायब सुब्बासम्म जागिर गर्ने अवसर पाएका थिए । बुवाले हुलाकमा काम गरेकै कारण प्रदीपले केही अखबार र पुस्तक पढ्ने अवसर प्राप्त गरेका थिए ।

२०५५ सालतिर प्रदीप उच्च शिक्षा पढ्न काठमाडौं आए । काठमाडौं आएपछि जातकै कारण भोगेको विभेद आफूमा मात्रै सीमित छैन भन्ने उनलाई महसुस भयो । त्यसको माध्यम बन्यो – रेडियो कार्यक्रम ‘दलित जागरण’ ।

दलित सेवा सङ्घले रेडियो नेपालबाट प्रसारण हुने उक्त कार्यक्रम २०५८ को मङ्सिरदेखि प्रदीपलाई चलाउने अवसर मिल्यो । रेडियो कार्यक्रमका लागि देशभरबाट चिट्ठी आउन थाले । ती चिट्ठीमा मन्दिर छिर्न नदिएको, आफ्नै बचत रहेको सहकारीले दूध नकिनिदिएको, स्कूलमा पानी छोएकै कारण विभेद भएकोजस्ता घटना उल्लेख भएका हुन्थे । उनले त्यो कार्यक्रम चलाउने अवधिमा देशभरबाट ९ हजारभन्दा चिट्ठी प्राप्त गरे ।

ती चिट्ठीहरूले प्रदीपको मस्तिष्कमा चलेको विद्रोहको आगोलाई थप तेज बनायो । उनी देश देशभर घुम्न थाले । मान्छेलाई भेट्न थाले । कुराहरू सुन्न थाले ।

त्यसपछि उनी एकपछि अर्को युवा र दलितका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका छन् । नेपालको युवा नीति बनाउने कार्यदलमा ‘युथ भिजन २०२५’ बनाउने काम गरे । संविधान बनाउने क्रममा सिमान्तकृत दलित समुदायको मुद्दालाई समेट्न सकिन्छ भनेर नेपाल नीति केन्द्र स्थापना गरेर दलित, महिला, मधेसीका मुद्दा के हुनसक्छन् भनेर काम गरे ।

त्यसपछि भूकम्प आयो, संविधान बन्यो, मधेसमा विद्रोह भयो । केही समय टिमोरलिस्टे, म्यानमार, सोमालिया जस्ता देशका युवाका लागि नीति बनाउने प्रक्रियामा पनि प्रदीपले काम गरे । अन्तर्राष्ट्रिय रूपमा संसारका सबै देशका युवाहरूको समावेशीताको मुद्दा कसरी उठाउन सकिन्छ भनेर २०१४ मा सम्पन्न ‘ग्लोबल फोरम इन युथ पोलिसिज’ मा काम गरे । संयुक्त राष्ट्र सङ्घले द्वन्द्वग्रस्त देशहरूमा युवाको भूमिकालाई लिएर युथ, पिस, सेक्युरिटी रिजोलुसन् पास गर्‍यो । त्यसमा पनि उनले समावेशीताको प्रस्पेक्टिभबाट योगदान गरे ।

यो क्षेत्रमा करिब एक दशक काम गरेपछि उनलाई अब समुदायमा काम गर्नुपर्छ भन्ने लाग्यो । विशेष गरेर कोभिड-१९ को समयमा रुकुम घटना भयो । उक्त घटनाका क्रममा समाज र राज्य दुवैबाट दलितलाई न्याय पाउन सजिलो छैन भन्ने अनुभव उनलाई भयो । त्यो घटनापछि प्रदीपलगायत अभियन्ताहरू सडकमा आउने प्रयास गरे । र, त्यहीँबाट ‘दलित लाइभ्स म्याटर’ अभियान सुरु भयो ।

राज्य नै गर्दैन संवेदनशील व्यवहार

कोरोना कहरको समयमा २०७७ साल जेठ १० गते रुकुममा नवराज विकसहित पाँच जनाको हत्या भयो । लकडाउनको बेला भएकाले मास्क लगाएरै अधिकारकर्मीहरू आन्दोलनमा उत्रिए । तर, यो घटनाका बारेमा मान्छेहरू बोलेनन् । प्रदीपलाई लाग्यो, ‘जात व्यवस्थाका कारण पाँच पाँच जना युवाको हत्या हुँदा पनि समाजले संवेदशिलता देखाएन ।’

प्रदीप अन्य अभियन्तासहित नवराजको गाउँ पुगे । पीडित परिवारको न्यायका लागि अहोरात्र खटिए । जात व्यवस्थाकै कारण नवराज विकको हत्या भएको भन्दै उनले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयलाई पत्र लेखे । उनलाई रुकुम घटनाले पाठ सिकायो, ‘राज्य यस्ता घटनामा संवेदनशील नहुने रहेछ, नागरिक समाज पनि विभाजित हुँदोरहेछ ।’

‘नागरिक समाज पनि जात व्यवस्थाको कुरा आएपछि विभाजित हुने रहेछ । यस्तो घटनापछि पीडित परिवारलाई सहयोग गर्ने संयन्त्रको अभाव रहेछ,’ उनी भन्छन् ।

यस्ता घटनामा राज्यकै विभिन्न अङ्गबाट हुने लापरबाही उनले अनुभव गरे । ‘पहिलो, घटनाका प्रत्यक्षदर्शी वा पत्रकारले घटना कसरी बाहिर ल्याउँछन् । दोस्रो, मानव अधिकारकर्मीले तथ्य कसरी सार्वजनिक गर्छन् । तेस्रो, प्रहरी उसले उजुरी दर्ता कसरी गर्छ । चौथो, सरकारी वकिलको कार्यालयले प्रमण सङ्कलन र मुद्दा अभियोजनमा कति संवेदनशीलता देखाउँछ,’ उनको निष्कर्ष छ ।

यसको पछिल्लो उदाहरण सिरहाको नवराजपुरकी रिङ्कु सदाको बलात्कारपछि हत्या भएको घटनालाई उनी उदाहरणका रूपमा लिन्छन् ।

रिङ्कु सदाको बलात्कार र हत्याको घटना गाउँमै पञ्चायत बसेर मिलापत्र गरियो । यो घटनापछि रिङ्कुको घर पुगेर फर्किएका परियार भन्छन्, ‘बलात्कार र शङ्कास्पद मृत्युजस्तो अपराधमा पनि राज्यले गम्भीरता नदेखाएको घटना हो यो ।’

सिरहाको लाहान बजारबाट रिङ्कु सदाको घर १ घण्टाको दूरीमा छ । सडक पिच छ । माघ २७ गते बलात्कारको घटना भयो । मधेसको धेरैजसो दलितको घरमा आधाभूत शौचालय नभएकाले राति शौच गर्न बाहिर जानुपर्छ । राति शौच गर्न गएको बेलामा तीन जना युवाले उनलाई बलात्कार गर्छन् । त्यसको भोलिपल्ट त्यहाँ भद्र भलाद्मी भनिएका मान्छेहरूको पञ्चायती बस्छ ।  रिङ्कुलाई अगाडि राखेर गरिएको पञ्चायती भोलिपल्ट पुनः बस्छ । उनीहरू १ लाख ५० हजारमा कुरा मिलाउने सहमति हुन्छ । पञ्चायती बसेको पनि भत्ता चाहिन्छ भनेर २० हजार रुपैयाँ छुट्याइन्छ । दोस्रो दिन पनि उनीमाथि बेइज्जती गर्ने काम हुन्छ । त्यो भइसकेपछि उनले आत्महत्या गरेको भनिएको छ ।

तर, घरमै भेट्न पुगेका प्रदीपलाई रिङ्कु सदाको आमाले आशङ्का व्यक्त गरेकी छन् । ‘आत्महत्या गरेको भए मेरो घर बाहिरबाट कसरी छेस्किनी लाग्यो भनेर सोध्नु भयो । त्यो गम्भीर प्रश्न हो,’ प्रदीप भन्छन्, ‘तर, राज्यले त्यो एङ्गलबाट अनुसन्धान नै गरेको देखिँदैन ।’

यो घटनाबारे अध्ययन गरेर फर्किएपछि प्रदीपले यस्ता पीडितका लागि २१ मार्च (चैत ८) बाट ‘मार्च टू जस्टिस’ अभियान सुरु गरेका छन् । एक सय दिनसम्म चल्ने यो अभियानले रिंकु सदा जसरी अनाहकमा ज्यान गुमाउनु परेकाहरूलाई न्याय दिलाउन दबाब दिनेछ ।

साथै, सार्वजनिक नै नहुने विभेदका यस्ता घटना सार्वजनिक गर्ने र पीडितको न्याय प्रक्रियामा सहजीकरणका लागि प्रदीपले देशभरका ७५३ वटै स्थानीय तहमा दुई जना युवा रहने गरी युवाहरूको सञ्जाल ‘डिग्नीटी डिफेण्डर’ तयार गर्दैछन् ।

जात व्यवस्थासँग लड्न युवाको खोजी

प्रदीपको अनुभवमा पछिल्लो समय युवा जमात जात व्यवस्थाको विरोधमा छ । अन्तरजातीय विवाह बढ्नु र गैरदलित युवाहरू दलित आन्दोलनमा जोडिनुलाई उनी यसको उदाहरणका रूपमा लिन्छन् ।

अहिलेको युवा पुस्ता जात व्यवस्थाको विरोधी भएपनि बेलाबेला आरक्षणको विरोध गरिरहेको उनले नजिकबाट नियालिरहेका छन् । उनीहरूबाट हुने आरक्षणको विरोधलाई प्रदीपले मुलुकमा प्राप्त हुने अवसरको अभावका रूपमा बुझेका छन् । ‘मुलुकमा अवसर भनेको सरकारी जागिर मात्र छ, त्यसले धान्दैन,’ उनी भन्छन् ।

त्यसैले प्रदीपको अनुभवमा आरक्षणको व्यवस्था किन सुरु गरिएको हो भनेर नयाँ पुस्तालाई बुझाउन आवश्यक छ । उनी भन्छन्, ‘कुनै समय नेपालमा कानुनै बनाएर दलित, महिला, जनजाती र मधेसीमाथि विभेद भएको थियो । आरक्षण, त्यही विभेदको क्षतिपूर्ति हो भनेर युवाहरूलाई बुझाउनुपर्छ ।’

उसो त नेपालमा लागू गरिएको आरक्षणको आधार नै गलत भएको उनको भनाइ छ । ‘सांसद हुनका लागि खस आर्यको कोटा सबैभन्दा माथि छ । तर, हुनुपर्ने त दलित, महिला वा मधेसीको थियो नि !’ अर्थात् आरक्षणमा सबैभन्दा माथि राखिनुपर्ने सबैभन्दा तल रहेको समुदाय हो । यस कारण पनि आरक्षण र समावेशिताको विषय युवाहरुलाई बुझाउनुपर्ने आवश्यकता प्रदीपले महसुस गरेका छन् ।

पछिल्लो समय जात व्यवस्थाले निम्त्याउने विभेदको स्वरुप पनि परिवर्तन भएको छ । तर, तीन हजार वर्ष पुरानो जात व्यवस्था समाजमा कुनै न कुनै रुपमा जरा गाडेर बसेको छ । आजभोली डिजिटल संसार, विशेषगरी सामाजिक सञ्जालमा हुने जातीय विभेदलाई पनि प्रदीपले अनुभव गरेका छन् ।

दलित आन्दोलन विभिन्न तह र तप्कामा देखिए पनि यो एकिकृत हुन नसेको प्रदीपको बुझाइ छ । ‘दलित आन्दोलनका धेरै मान्छे विभिन्न राजनीतिक पार्टीमा छन् । राजनीतिक दलका आ–आफ्ना स्वार्थ छन् । त्यसले दलित आन्दोलन एकीकृत हुन नसकेको देखिन्छ,’ उनी भन्छन् । तर पनि जात व्यवस्था विरुद्धको यो लडाईंलाई अघि बढाउन र नयाँ सम्भावना खोजीमा प्रदीप निरन्तर लागि परेकै छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register