‘माउन्ट एभरेष्ट’ नाममा १६८ वर्षअघि नै प्रश्न गरेका थिए बेलायतीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा पुगेर सगरमाथालाई ‘Mount Everest’ (माउण्ट एभरेष्ट) भन्न नहुने दाबी गरे । कोशी प्रदेशले बुधबारदेखि सुरु गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले सगरमाथालाई माउन्ट एभेरेष्ट भन्न नहुने तर्क गरे । ‘एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण यो नक्कली नाम हो, बिल्कुल नक्कली नाम हो । […]

May 1, 2025 - 14:34
 0
‘माउन्ट एभरेष्ट’ नाममा १६८ वर्षअघि नै प्रश्न गरेका थिए बेलायतीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा पुगेर सगरमाथालाई ‘Mount Everest’ (माउण्ट एभरेष्ट) भन्न नहुने दाबी गरे ।

कोशी प्रदेशले बुधबारदेखि सुरु गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले सगरमाथालाई माउन्ट एभेरेष्ट भन्न नहुने तर्क गरे ।

‘एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण यो नक्कली नाम हो, बिल्कुल नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नु पर्छ । त्यसैले सगरमाथा इज सगरमाथा,’ प्रधानमन्त्री ओलीले भने । ‘सगरमाथा इज सगरमाथा’ भनेकै शैलीमा ओलीले केही वर्ष पहिले पनि सगरमाथालाई ‘Mount Everest’ भन्न नहुने बताएका थिए ।

नामको विवाद

विश्वको सर्वोच्च शिखर सगरमाथा ‘माउन्ट एभरेष्ट’ र ‘झोमोलोङ्मा’ नामले पनि चिनिन्छ । अंग्रेजी भाषीहरूले यसलाई ‘माउन्ट एभरेष्ट’ भन्ने गरेका छन् । यो हिमालको नाम ‘माउन्ट एभरेष्ट’ सन् १८५७ मा राखिएको हो । यो नाम राखेको हो, बेलायतको रोयल जियोग्राफिकल सोसाइटीले ।

रोयल जियोग्राफिकल सोसाईटीले जर्ज एभरेष्टको नामबाट एभरेष्ट सापटी लिएर सगरमाथाको नामाकरण गरेको थियो । जर्ज एभरेष्ट तत्कालिन बिट्रिश इण्डियाको सर्भे विभागका प्रमुख थिए । जर्जले सन् १९४० देखि हिमालको उचाई नाप्न सुरु गरे । सन् १९५० मा सगरमाथा हिमालको उचाई पत्ता लाग्यो । त्यतिखेर सगरमाथाको उचाई थियो ८ हजार ८३९ दशमल ८ मिटर ।

सगरमाथाको उचाई पत्ता लाग्दासम्म जर्ज एभरेष्ट भारतबाट सरुवा भएर बेलायत गइसकेका थिए । उनको स्थानमा आएका थिए, एन्ड्रयु स्कट वफ । र, सगरमाथाको उचाई नाप्ने काममा सामेल थिए भारतीय गणितज्ञ राधाकृष्ण सिग्दर ।

बेलायतीहरूका अनुसार सगरमाथाको उचाई पत्ता लाग्दासम्म यसको कुनै औपचारिक नाम थिएन । उनीहरूले यसलाई सुरुमा ‘पिक बी’ भन्ने गरेका थिए । र, पछि यसलाई एक्स भि (पन्धौं चुली) भन्न थाले ।

सगरमाथा संसारकै अग्लो हिमाल भएको थाहा भएपछि बेलायतीहरूले यसको नामाकरण गर्न सुरु गरे ।

सन् १९५६ मा भारतबाट एन्ड्रयु स्कट वफले आफू समेत सामेल भएर उचाई पत्ता लगाएको हिमालको नाम आफ्ना पूर्व हाकिम जर्ज एभरेष्टको सम्मानमा राख्नुपर्ने सुझाए ।

इतिहासकार चित्तरञ्जन नेपालीको किताब ‘नेपाल–चीन सिमाना–सन्धि’ अनुसार एन्ड्रयुको प्रस्ताव अुनसार सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ राख्नु हुँदैन भनेर जियोग्राफिकल सोसाइटीमा पत्र पनि पुगेको थियो ।

नेपालीको किताबमा लेखिएको छ, ‘त्यस बखत नेपालमा धेरै वर्षसम्म बसिसकेका ब्रिटिश रेजिडेन्ट विद्वान् ब्रायन हाज्सनले नेपालमा यस चुचुरोलाई ‘देवढुङ्गा’ भन्ने हुनाले यसको स्थानीय नाम छँदाछँदै अर्को नयाँ नामाकरण गर्न मिल्दैन भनी विरोधपत्र पठाए ।’

जियोग्राफिकल सोसाइटीले सन् १८५७ को मे ११ मा सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नै राख्ने निर्णय गर्‍यो । नेपाली लेख्छन, ‘ई.सं. १८५७ साल, मे ११ का दिन रोयल जियोग्राफिकल सोसाइटी लण्डनमा बहस हुँदा स्वयं जर्ज एभरेष्ट पनि बैठकमा उपस्थित रहेकोले यसमा अन्यथा निर्णय दिन शायद सोसाइटीलाई अप्ठेरो पर्यो होला र यसको नाम ‘माउन्ट एभरेष्ट’ नै राख्ने निर्णय गरियो ।’

यसपछि सगरमाथा ‘माउन्ट एभरेष्ट’ कहलिन थाल्यो । आजसम्म सगरमाथा माउन्ट एभरेष्टकै रूपमा परिचित छ । ‘त्यसबेला (१८५७) देखि ब्रिटिश तथा ब्रिटिशद्वारा प्रभावित समस्त संघ/संस्था वा सरकारहरूद्वारा प्रकाशित अधिकांश मानचित्र वा नक्साहरूमा यस चुचुरोलाई ‘माउन्ट एभरेष्ट’ भनेरै लेखिन थान्यो,’ नेपाली लेख्छन्, ‘पछि अन्य पाश्चात्य एवं पूर्वीय देशहरूमा समेत यसको यही अंग्रेजी नाम ज्यादा रूपमा प्रचलित हुन गयो ।’

२०७७ को पुसमा नेपाल आइपुगेका जि न्यूजका सम्पादक (हाल दुरदर्शन) सुधिर चौधरीले त ‘माउन्ट एभरेष्ट र सगरमाथा दुवै नाम खारेज गर्न भनेका थिए । सगरमाथाको उचाई पत्ता लगाउने भारतीय गणितज्ञ राधाकृष्ण सिग्दरको नाममा सगरमाथाको नाम फेर्नुपर्ने तर्क उनले गरेका थिए ।

सगरमाथा आधार शिविर पुगेका चौधरीले त्यतिखेर सगरमाथाको नाम फेर्नुपर्ने तर्क दिँदै भनेका थिए, ‘जर्ज एभरेस्टको नामबाट माउन्ट एभरेस्ट नामाकरण गरिएको हो । तर, जर्ज एभरेस्ट आफैं कहिल्यै पनि सगरमाथा आरोहण गरेनन् । सगरमाथाको उचाई मापन गर्ने व्यक्ति त हाम्रै भारतका राधाकृष्ण सिक्दर हुन् ।’

यस्तो तर्क गर्नुअघि उनले प्रधानमन्त्री निवास बालुवाटारमा त्यतीबेला समेत प्रधानमन्त्री रहेका केपी ओलीको अन्तवार्ता समेत लिएका थिए ।

जर्ज एभरेष्टको नामबाट सगरमाथको नाम राखिए पनि उनले न त सगरमाथा आरोहण गरेका थिए न सगरमाथा नै देखेका थिए ।

अनि भयो सगरमाथा

बेलायतीहरूले ‘माउन्ट एभरेष्ट’ नाम राखे पनि नेपालमा भने यो सगरमाथाका नामले परिचित थियो । सगरमाथा आसपासका शेर्पाहरूले भने यसलाई ‘झोमोलुङ्मा’ भन्ने गर्थे । ‘माउन्ट एभरेष्ट’को सगरमाथा नामबारे सबैभन्दा पहिला विस्तृत रूपमा लेखेका थिए इतिहासकार बाबुराम आचार्यले । वि.स १९९५ को पुस महिनाको शारदा पत्रिकामा आचार्यले ‘सगरमाथा या झ्यामोलोङ्मा’ शिषर्कको लेखमा यसको नेपाली नाम सगरमाथा नै हुनुपर्ने तर्क गरेका थिए । उनका अनुसार ‘सगर’को अर्थ आसमान वा स्वर्ग र ‘माथ’को अर्थ कपाल हुने हुँदा सगरमाथाको अर्थ ‘आसमानसम्म पुगेको शिर’ हुन्छ ।

वि.स २०१६ को फागुनमा तत्कालिन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा गए । यो भ्रमणबाट फर्केपछि कोइरालाले ‘सगरमाथामाथि चीनले पनि दाबी गरेको छ’ भनेर भने । ग्रिष्मबहादुर देवकोटाको राजनीतिक दर्पण किताबमा उल्लेख भए अनुसार कोइरालाले भनेका थिए, ‘मतभेद भएका सीमावर्ती इलाकामा चीनले दाबी गरेको माउन्ट एभरेष्ट पनि छ । सगरमाथा उनीहरु (चीन) आफ्नो हो भन्दछन् ।’

प्रधानमन्त्रीले नै यसो भनेपछि यो विषयले ठूलो राजनीतिक रूप लियो । सडकदेखि सदनसम्म यस विषयमा बहस हुन थाल्यो । यो बहस सेलाउन नपाउँदै २०१७ को वैशाख १० मा तत्कालीन चीनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल आए । उनी नेपालबाट फर्केपछि सम्झौता अनुसार २०१७ जेठ १६ गते नेपाल चीन संयुक्त सीमा आयोग तयार भयो । नेपालबा यो टोलीको नेतृत्वकर्ता थिए, मेजर जनरल पद्मबहादुर खत्री । इतिहासकार नेपालीका अनुसार बेलायतीहरूले ‘माउन्ट एभरेष्ट’ भनेको हिमाललाई नेपालले पहिलोपटक औपचारिक रूपमा सगरमाथा भनेर नेपाल चीनबीच भएको सन्धीपत्रमा उल्लेख गरेको हो ।

किन सगरमाथा ?

प्रधानमन्त्री ओली भन्ने गर्छन्, ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम किन राखियो ? त्यो बुझि नसक्नु छ । न उनी चढेका हुन् । न उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन ।’

२०८१ को वैशाखमा बाबुराम आचार्य स्मृति प्रतिष्ठानको एउटा कार्यक्रममा सहभागिहरूले सगरमाथाको अंग्रेजी नाम पनि ‘SAGARMATHA’ नै राख्नुपर्ने सुझाएका थिए । प्रधानमन्त्री ओलीले त बारम्बार ‘माउन्ट एभरेष्ट’ नाम फेक भएको दाबी गर्ने गरेका छन् । नेपाली नामसँग मोह हुनेहरूलाई ‘माउन्ट एभरेष्ट’ नाम चित्त बुझेको छैन ।

इतिहासकार नेपाली त सगरमाथा नामलाई बेवास्ता गरेर बेलायतीले नेपालको अस्तित्वलाई नै अस्वीकार गरेको दाबी गर्छन् । ‘सर्वप्रथम सर्वेक्षण गरी उचाइसम्म पत्ता लगाएको कारणबाट नेपालको शिरताज शिखरको अंग्रेजी नामाकरण हुनु त्यस बखत ब्रिटिश साम्राज्यवादी शक्तिले नेपाल जस्तो सानो राष्ट्रहरूको स्वतन्त्र अस्तित्वलाई मान्यता दिन नखोजेको एक उदाहरण हो भनेमा शायद अत्युक्ति हुनेछैन होला,’ नेपालीले लेखेका छन् ।

सगरमाथको नाम ‘माउन्ट एभरेष्ट’ राख्नेबेला नेपालले विरोध नगरेकोमा चित्त दुःखाउँदै नेपालीले लेखेका छन्, ‘यस विषय तत्कालीन नेपालका अधिकारीहरूबाट कुनै प्रकारको विरोध भैराखेको नदेखिएको हुनाले यसलाई तिनीहरूको ब्रिटिश शक्तिको सामु नेपाली राष्ट्रियता प्रतिको मर्यादाको धरमरता भनेमा ज्यादती नहोला ।’

सगरमाथालाई जे नामले चिनेपनि आजका मीतिसम्म यो विश्वकै अग्लो हिमाल हो । इण्डियन र तिब्बतीय टेक्टोनिक प्लेटको जुधाईका कारण सगरमाथको उचाई भने निरन्तर बढ्दो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register