‘टोटल चेन्ज’

त्यसो भए अब हुन्छ के त ? नेपालमा सम्पूर्ण परिवर्तन (टोटल चेन्ज) को व्यापक सम्भावना देखिन्छ र त्यो पनि संवैधानिक दायराबाट । नेपालको राजनीतिक क्षितिजमा एउटा नयाँ राजनीतिक बनौट (पोलिटिकल ल्याण्डस्केप) बन्न सक्ने सम्पूर्ण सम्भावना देखिन्छ ।

Jun 16, 2025 - 06:05
 0
‘टोटल चेन्ज’

टोटल चेन्ज – (पूर्ण परिवर्तन) भन्न सजिलो, तर हुन वा गर्न बहुत गाह्रो कुरा हो । फेरि पनि परिवर्तन नभई नहुने शाश्वत सत्य पनि हो । हुँदैन, हुँदै हुँदैन, हुनै सक्दैन भन्दाभन्दै पनि ठूलठूला परिवर्तनहरू भएका छन् । र, यथास्थिति हमेसा पराजित भएका छन् । उम्लिने बिन्दु (ब्वाइलिङ प्वाइन्ट) आएपछि परिवर्तनलाई बडेबडे महावीरहरूले पनि इतिहासमा रोक्न सकेको देखिएको छैन ।

सवाल ब्वाइलिङ प्वाइन्टकै हो । तर, प्रश्न उठ्छ, राजावादीहरूले फागुनदेखि जेठसम्म लगातार चार महिना यत्रो जोडबल गरे, खै जनता सडकमा किन आएनन् ? जबकि, उनीहरूसँग भारतीय संस्थापनको र संघ संस्थाहरूको समेत सदाशयता थियो भनियो । र, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक सहयोगसमेत थियो ।

यहाँनेर नेपाली मनको कुरा बुझ्नु आवश्यक छ । नेपाली मन परिवर्तन चाहन्छ, तर प्रतिगमन चाहँदैन भन्ने कुरा स्पष्ट छ । बरु राजावादीहरू आफू प्रस्ट थिएनन्, रनभुल्लमा थिए । उनीहरू के चाहन्थे बिलकुल प्रस्ट थिएन । जस्तो कि : सक्रिय राजा वा संवैधानिक राजा वा सांस्कृतिक राजा वा बालक राजा । अथवा गणतन्त्र होइन भने त्यसपछिको बाटो (रोडम्याप) के ? संघीयता कि एकात्मकता ? समावेशी नेपाल कि एकल जातिवादी नेपाल ? हिन्दु राष्ट्र हो भने अरू अल्पसङ्ख्यकलाई सम्बोधन गरिने तौरतरिका (मोडालिटी) के ?

राजावादीहरूले भेउ नै पाउन सकेनन् कि नेपाल एकल जातिवादी राष्ट्रवादबाट ईन्द्रधनुषी राष्ट्रवादको चरणमा प्रवेश गरिसकेको छ । ‘बस्नेतको ढाल र पाण्डेको तरबार’ बाट बनेको मुलुक भन्ने खालको बुझाइ अब असान्दर्भिक खुसफहमी मात्र रहन गएको कुरा राजावादीहरूले बुझ्नै सकेनन् । बरु यही कुरा केपी ओलीले राम्ररी बुझेको देखिन्छ । त्यसैले एक समय बयल गाडाको उपमा दिएर नथाक्ने उनले राजावादीहरूलाई वास्तविक औकात देखाइदिए ।

तर, यहाँ दुईवटा कुराको चर्चा महत्त्वपूर्ण देखिन्छ । एउटा, नेपालको सार्वभौमसत्ता र अर्को भारतको सुरक्षा चिन्ता । जसले जे भने पनि संघीयता र समावेशिता भन्नु नै सार्वभौमसत्ताको विभाजन हो । यस मानेमा नेपालको सार्वभौमसत्ता जो कि राजदरबारमा कैद थियो, २०७२ को संविधानपछि जनताहरूमा वितरित भैसकेको छ । व्यवहारमा जतिसुकै नियन्त्रित संघीयता भन्नुस् र गर्नुस्, तर सिद्धान्तत: यो देशको सार्वभौमिकता विभाजित भएकै हो ।

सार्वभौमसत्ता के हो ? सरल रूपमा बुझ्ने हो भने निर्णय गर्ने क्षमता वा तागत न हो । आज नेपालमा ७६१ वटा सरकारहरू छन्, जो आफ्नो अधिकार र दायराहरू दाबी गरेर बसेका छन् । यो अधिकारको लडाइँ (टग अफ वार) र सङ्क्रमण लामो जान्छ । यो वास्तविकतालाई अनदेखा गरेर वा नकारेर (नेगेट) अब कुनै पनि राजनीति अगाडि बढ्न सक्दैन । राजावादीहरू यहाँ चुकेको देखिन्छ । राजेन्द्र लिङदेन, जगमान गुरुङ वा कृष्ण यादवहरूको नकारात्मक भाषणको भरमा जनजाति, मधेसी वा अन्य उत्पीडित जनसङ्ख्यालाई सहमत गराउन सकिने भ्रम राजावादीहरूले पालेको देखियो । जुन अत्यन्त सतही आकलन थियो ।

अर्को महत्त्वपूर्ण कुरा हो, भारतको सुरक्षा चिन्ता । अनेक जोरजामका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भारत आज रक्षात्मक देखिएको छ । त्यसउपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार आक्रामकताले भारतको रणनीतिक स्वायत्तता (स्ट्राटेजिक अटोनोमी) पहिलोपल्ट खतरामा परेको छ ।

नेपालमा एउटा स्याल हुइया बराबर चलिरहन्छ कि भारतले नेपाललाई सिक्किम बनाउँछ । वास्तवमा यो बेकारको कुरा राजावादी विश्लेषक, चिन्तक र एकल जातिवादी कुलीन तप्काहरूले नै उठाइ रहन्छन् । यथार्थ के हो भने भारत आफ्नै भूभाग पीओके (पाकिस्तान अकुपाइड कश्मीर) पनि लिन चाहँदैन, र सक्दैन भने नेपाल वा बङ्गलादेशका भूभाग लिएर नयाँ युद्ध मोर्चा खडा गर्न सक्दैन । यो चरणबाट समय निकै अगाडि निस्किसक्यो । यहाँ भारत मात्र छैन, चीन पनि छ, अमेरिका पनि छ र विश्व बन्धुत्व पनि छ । नेपाल आफ्नो रणनीतिक स्वायत्तता प्रयोग गरेर निर्णयहरू लिन सक्छ र सबैबाट फाइदा उठाउन सक्ने अवस्थितिमा छ ।

तर, राजावादीहरू सधैँ त्रासको राजनीति (फियर मोंगरिङ्ग) गर्छन् भन्ने कुरामा भारतीय संस्थापन सचेत भएको देखिन्छ । नेपालमा अति राष्ट्रवादको ज्वरो पनि राजावादी अभिमुखीकरणमा हुर्के बढेका तत्त्वहरूले भारतलाई नै देखाएर सिर्जना गर्दो रहेछन् भन्ने कुराको पनि लामो नजिर छ । इतिहासमा चाइना कार्डको प्रयोग पनि सबभन्दा बढी राजाहरूले नै गरेका छन् । भावनाभन्दा पनि संस्थागत ज्ञान र विवेक (इन्सटिच्युसनल मेमोरी) मा जाने सङ्केतसँगै राजावादीहरूको भारतमाथिको आड र भरोसा अन्ततः गुमेको देखिन्छ ।

राजावादीहरू आन्तरिक र बाह्य रूपमा एक्लिएर अन्तिम प्रयासपछि समापनतिर गएको देखिन्छ । राजेन्द्र लिङदेनले वर्षा (मनसुन) लाई कारण देखाएर राजावादी आन्दोलनको समापन गर्नू कुनै संयोग वा आकस्मिकता होइन । बरु यो वास्तविकता र बाध्यता हो ।

यसरी राजावादीहरू आन्तरिक र बाह्य रूपमा एक्लिएर अन्तिम प्रयासपछि समापनतिर गएको देखिन्छ । राजेन्द्र लिङदेनले वर्षा (मनसुन) लाई कारण देखाएर राजावादी आन्दोलनको समापन गर्नू कुनै संयोग वा आकस्मिकता होइन । बरु यो वास्तविकता र बाध्यता हो ।

अब प्रश्न उठ्छ, के त्यसो भए सधैँ भरिलाई आन्दोलनहरूको समापन भयो त ? यथास्थिति जारी रहने भयो त ? यसको सरल उत्तर छ, एकदमै होइन । राजावादी आन्दोलनको समापनपछि परिस्थितिको एउटा नयाँ, तर अव्यक्त उद्घोष छ । त्यो हो नयाँ आन्दोलन र उथलपुथलको घोषणा । त्यो नयाँ आन्दोलन र उथलपुथल परिवर्तनका लागि हुने देखिन्छ । जुन उम्लिने बिन्दु (ब्वाइलिङ प्वाइन्ट) को प्रतीक्षा नेपाली राजनीतिमा भइरहेको छ, त्यो अब कुनै पनि बेला घट्न सक्छ । सवाल वाहक को होला भन्ने देखिन्छ । तर, यति कुरा त प्रस्ट नै छ कि ती पुराना शक्तिहरू हुने छैनन् । चाहे ती कांग्रेस, एमाले, माओवादी हुन् वा चाहे ती राजावादी हुन् ।

आधारभूत कुरा के भने आममानिस कांग्रेस, एमाले र माओवादीका संसदीय चाल, चेहरा र चरित्रबाट वाक्क दिक्क भइसकेका छन् । सत्ता र शक्तिको लेउ लागेर यी बडेमानका सवारीहरू गतिहीन भइसकेका छन् । भ्रष्टाचार, बेथिति र असक्षमताको बोझले यिनीहरू थिलथिलो भइसकेका छन् ।

आममानिसले धेरै ठूलठूला सिद्धान्तका बखेडा चाहेका छैनन् । सुशासन, विकास, समृद्धिका लफ्फाजी पनि चाहेका छैनन् । बडेबडे सपना र नैतिक शिक्षा, आचरण पनि चाहेका छैनन् । सबैलाई थाहा छ, आजको दुनियाँमा यो यस्तै हो । चाहेका एउटै कुरा हुन्, गतिशीलता । अफसोस के भने पुराना दल र शक्तिहरूसँग यति भारी (ब्यागेज) छन् कि यिनीहरू अब गतिशील हुनै सक्दैनन् ।

अर्को कुरा हरेक कुराको समय सीमा पनि हुन्छ । पुराना दल र नेतृत्वहरू म्याद नाघेका (डेट एक्सपायर्ड) औषधिजस्तो पनि भएका छन् । प्रकृतिमा कोही र केही पनि अजर, अमर, अविनाशी हुँदैनन् । एक छिनअघि सम्राट छु भन्ने अनुभूत गरिरहेका मनुवा एक छिनपछि केही पनि होइन भन्ने हुनसक्छ । आज असम्भव देखिरहेका कुरा भोलिपल्ट अर्कै संसार, अर्कै सूर्योदय भएको घट्नाको साक्षी नेपालीहरू नै छन् । तसर्थ, कसैले पनि अमरत्व र विशिष्टताको भ्रम पाल्नु बेकारको कुरा हो ।

त्यसो भए अब हुन्छ के त ? नेपालमा सम्पूर्ण परिवर्तन (टोटल चेन्ज) को व्यापक सम्भावना देखिन्छ र त्यो पनि संवैधानिक दायराबाट । नेपालको राजनीतिक क्षितिजमा एउटा नयाँ राजनीतिक बनोट (पोलिटिकल ल्याण्डस्केप) बन्न सक्ने सम्पूर्ण सम्भावना देखिन्छ । त्यो कसरी भने कांग्रेस, एमाले वा माओवादी कसैले एक्लै वा मिलेर पनि संविधान संशोधन गर्ने प्राधिकार र हैसियत राख्दैनन् । यही सत्ता गठबन्धन वा यिनै दलमध्येका अन्य समीकरणमा कनीकुथी यिनै सरकारहरू २०८४ सम्म जान सक्छन् । यिनले नै चुनाव पनि गराउन सक्छन् । सँगसँगै अनेक जालझेल पनि गरिरहन्छन् । तर, यो यस्तो दलदल भइसक्यो अब जति जति गडबड गर्‍यो, यिनीहरू झन्झन् फस्दै जान्छन् ।

हो, यही हो दुई वर्षको सङ्क्रमणकालीन समय (विन्डो पिरियड) । जसमा पुराना दल र शक्तिहरूको क्षयीकरण निरन्तर चलिरहन्छ । नयाँ नयाँ सामाजिक र राजनीतिक आन्दोलनहरू प्रवेश (इमर्ज) गर्छन् र अन्ततः नयाँ राजनीतिक दलहरूको जन्म हुन्छ । जो वैधानिक चुनाव लड्न तयार भएर बसिरहेको हुनसक्छ । यसलाई कंशको अत्याचारबाट मुक्ति दिलाउन कृष्णको जन्मसँग पनि तुलना गर्न सकिन्छ । यदा यदा हि धर्मस्य ग्लानी भवती…

राजावादी आन्दोलनको समापनसँगै एउटा कुरा प्रस्ट भएको छ कि अब गणतन्त्र नै नेपालको अन्तिम व्यवस्थापकीय ढाँचा (फ्रेम) रहन गएको छ । राजावादी आन्दोलनले वैधानिक चुनावसम्मका लागि एउटा शून्यता, अराजकता, अव्यवस्था र अनिश्चितता छोडिदिएको छ । यस्तै अनिश्चितता र गन्जागोलमा हो नयाँ नयाँ नायक (हिरो) र खलनायक (भिलेन) हरू जन्मिने । तर, यो अवस्थामा नायकहरूभन्दा पनि महत्त्वपूर्ण भूमिका चरित्र नायक (क्यारेक्टर हिरो) को हुन्छ । जसको काम नायकहरूलाई सहजीकरण गर्ने र वातावरणलाई सुखद समापनतिर लैजाने हुन्छ ।

एक वाक्यमा भन्नुपर्दा नेपालमा अहिले एउटा जयप्रकाश नारायणको खाँचो छ, जसले भनोस्- टोटल चेन्ज !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register