‘जनताको जीवन जोगाउने काममा पर्याप्त बजेट दिनुपर्छ’

सांसदहरूको मुख्य भूमिका कानुन निर्माण गर्ने हो । जनतालाई हामीले  हाम्रो विधायकी भूमिका बुझाएका छैनौँ । हामीले नै हाम्रो भूमिका र सीमितताबारे जनतालाई नबुझाउँदा उनीहरू पनि  हाम्रो मूल्यांकन कानुन निर्माणका आधारमा गर्दैनन् । हाम्रो मूल्यांकन आयोजना निर्माणका आधारमा हुन्छन् । कहाँ कति बाटो कसको पहलमा बन्यो, कसको पहलमा सिँचाइ बन्यो, कसले गर्दा धारा बन्यो भन्ने […]

May 24, 2025 - 04:08
 0
‘जनताको जीवन जोगाउने काममा पर्याप्त बजेट दिनुपर्छ’

सांसदहरूको मुख्य भूमिका कानुन निर्माण गर्ने हो । जनतालाई हामीले  हाम्रो विधायकी भूमिका बुझाएका छैनौँ । हामीले नै हाम्रो भूमिका र सीमितताबारे जनतालाई नबुझाउँदा उनीहरू पनि  हाम्रो मूल्यांकन कानुन निर्माणका आधारमा गर्दैनन् । हाम्रो मूल्यांकन आयोजना निर्माणका आधारमा हुन्छन् । कहाँ कति बाटो कसको पहलमा बन्यो, कसको पहलमा सिँचाइ बन्यो, कसले गर्दा धारा बन्यो भन्ने कुरा जनताले नियालिरहेका हुन्छन् ।

सांसदहरूले चुनाव लड्दादेखिन नै जनतामा विकासे सपना बाँडिरहेका हुन्छन् । प्रत्यक्ष चुनाव लड्नेले विकासे आयोजनाका सूची नै बनाएर प्रचारप्रसार गर्छन् । समानुपातिक सूचीमा सांसद बन्ने अपेक्षा राखेकाहरूले पनि तीनै विकासे आयोजनाबारे प्रचारबाजी गर्छन् । जनताले हामीलाई कानुनी सुधारका कुरा खासै सोध्दा पनि सोध्दासोध्नैनन् । हामी पनि संसदबाट हामीले गरेका कानुनी सुधार जनतालाई बुझाउँदैनौँ ।  यो कारणले जनताले सांसदहरूसँगै विकासे बजेटको आस गर्छन् ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार मुलुकमा छ । विकासका लागि तीनै तहका सरकारको आ-आफ्नो भूमिका हुन्छ । जनता सिधै सांसदसँग विकासका लागि बजेटको माग गर्छन् । उनीहरूलाई सांसदले नै बजेट ल्याउने भान परेको छ । बजेट सांसदले ल्याउने होइन सरकारले हो । बजेटमा आफ्ना आधार क्षेत्रका जनताका माग सम्बोधनका लागि हामीले संसदबाट पनि आवाज उठाइरहेका हुन्छौँ । आफ्नो क्षेत्रमा आवश्यक कुराहरूको सम्बोधनका लागि संसदमा बोल्छौँ, सरकारलाई घचघच्याउँछौँ । हामीले कति दबाब दियौँ वा ध्यानाकर्षण गरायौँ भन्ने चासो जनतालाई हुँदैन । उनीहरूले सांसदको मूल्यांकन विकासे आयोजनाबाटै गरिरहेका हुन्छन् । त्यसैले हामी सांसदलाई पनि बजेटको बेला निकै दबाब हुन्छ ।

आफ्ना क्षेत्रका जनताका माग सम्बोधन गर्न तारन्तार सिंहदरबार धाइरहनुपर्छ । म पनि जनताले माग गरेका आयोजना बजेटमा परोस् भन्नका लागि नियमित सिंहदरबार धाएँ ।  आयोजनाका सूची लिएर सिधै अर्थमन्त्रीकोमा गएँ । आयोजनाका क्षेत्राधिकार फरक-फरक मन्त्रालयमा हुँदोरहेछ । बजेटको कुरा सिधै अर्थमन्त्रीलाई भनेपछि भइहाल्छ नि भन्ने लागेर म सिधै अर्थमन्त्रीलाई भेट्न गएँ । उहाँले सहज रूपमा भेट पनि दिनुभयो । उहाँले मैले नबुझेका विषय बुझाइदिनुभयो । शहरी विकास मन्त्रालयमा गएर आयोजना प्रवृष्ट गराउन भन्नुभयो । मेरो अलमल बुझेर हुनसक्छ उहाँ आफूले नै त्यसमा सहजीकरण गरिदिनुभयो।

हामीलाई १ करोड बराबरको पाँचवटा आयोजना सिफारिस गर्न भनिन्छ । मेरो विचारमा त्यसभन्दा तल्लो बजेटका आयोजना पनि सिफारिस गर्न दिनुपर्छ । कहीँ २०-२५ लाखको आवश्यकता हुन्छ तर सीमा तोकिदिएका कारणले हामीले सिफारिस गर्न मिल्दैन । आयोजना सिफारिसमा पनि समानता हुनुपर्छ । प्रभावशाली सांसद भएका क्षेत्रमा धेरै  बजेट परेका पनि दृष्टान्त भेटिन्छन् । विकासमा विभेद नहुनेगरी बजेट विनियोजन हुनुपर्छ । कहीँ विकासै विकास कहीँ अविकास न्यायोचित हुँदैन ।

बजेट माग हुँदैमा त्यसमा परिहाल्छ भन्ने ग्यारेन्टी हुँदैन । आयोजनाका प्राथामिकता, सांसदका सीमितता र सरकारको बाध्यताबारे सांसदहरूले पनि जनतालाई बुझाउन सक्नुपर्छ।

यसपटक मैले राप्ति नदीमा तटबन्दका लागि बजेट माग गरेको छु । बाँकेका डुडुवा, बेताहानीमा बर्सेनि २००० हजारभन्दा बढी मानिसहरू बाढीका कारण प्रभावित भइरहेका छन् । राप्ती सोनारी गाउँपालिका पनि उत्तिकै जोखिमा हुन्छ । नारैनापुर गाउँपालिका पनि पीडित छ । त्यसैले राप्ती नदीमा दरिलो  तटबन्दका लागि बजेट माग गरेको छु । जनताको जीवन जोगाउने काममा सरकारले पर्याप्त बजेट दिनुपर्छ ।

सिक्टा सिँचाइ आयोजनाका लागि पनि पर्याप्त बजेट उपलब्ध गराउन मैले ध्यानाकर्षण गराएको छु । त्यसबाहेक बाटो र मस्जिद निर्माणमा मैले बजेट माग गरेको छु ।  नेपालगञ्ज-२१ मा र जानकी गाउँपालिका-४ मा मस्जिदका लागि बजेट माग गरेको हुँ । यस्तै, मलंसा पूर्व चौकदेखि दक्षिण तेरियापुर जोड्ने बाटोका लागि र गंगाराम पूर्व र लुलियापूर्व जोड्ने बाटो बनाउन मैले बजेट माग गरेको छु ।

बजेट विनियोजन गर्दा मुलुकको आर्थिक भारलाई समेत ख्याल गरेर विनियोजन गर्नुपर्छ। हाम्रो राष्ट्रिय ढुकुटीको सीमिततालाई पनि ख्याल गरेर बजेट आउनुपर्छ । विकासमा कतै पछि पर्ने, कतै बजेट छरिरहने परिपाटी अन्त्य हुनुपर्छ ।

संसदमा बजेटबारेको छलफलमा हामीले सुधारका लागि कुरा राखिरहेका हुन्छौँ । हामीले बोल्दैमा सबै कुरा सम्बोधन पनि हुँदैनन् । बजेट माग हुँदैमा त्यसमा परिहाल्छ भन्ने ग्यारेन्टी हुँदैन । आयोजनाका प्राथामिकता, सांसदका सीमितता र सरकारको बाध्यताबारे सांसदहरूले पनि जनतालाई बुझाउन सक्नुपर्छ।

अहिले निर्वाचन क्षेत्र कोषको विषयमा बहस पनि भइरहेको छ । जनप्रतिनिधि जनतासँग दिनानुदिन ठोक्किने भएकाले उनीहरूका आवश्यकता सम्बोधनका लागि कोषको आवश्यकता पनि छ । अर्कोतर्फ यो कोषका कारण सांसदहरू पनि बदनाम भइरहेको परिस्थिति छ । कोषका विकृति विसंगित सुधारको प्रयत्न गर्नुपर्छ । सुधार्न सकिएन भने आयोजना छनोट र सिफारिसमा सांसदहरूको भूमिका प्रभावकारी बनाउनुपर्छ ।

(काङ्ग्रेस समानुपातिक सांसद जावेदा खातुनसँग गरिएको कुराकानीमा आधारित)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register