लन्डनमा मनाइयो माउन्ट एभरेष्ट डे, हरि बुढामगरले सुनाए प्रेरणादायी कथा

लन्डन- लन्डनको ब्ल्याकहिथस्थित लोकप्रिय रेष्टुरेन्ट एभरेष्ट इनमा विहिबार बेलुका फरक माहोल बन्यो। केही नेपालीसहित धेरै बेलायती समुदायका विशिष्ट व्यक्तित्वहरुको जमघट। तर चर्चा सर्वोच्च शिखर सगरमाथा र किर्तिमानी आरोही पूर्व गोर्खा हरि बुढामगरको साहसिक जीवनकथाको। माउन्ट एभरेष्ट डेको अवसर पारेर एभरेष्ट इन ग्रुपले विगत १५ वर्षदेखि गर्दै आएको वार्षिक कार्यक्रम थियो। नेपालप्रेमी बेलायती र नेपाली समुदायका […]

May 30, 2025 - 14:19
 0
लन्डनमा मनाइयो माउन्ट एभरेष्ट डे, हरि बुढामगरले सुनाए प्रेरणादायी कथा

लन्डन- लन्डनको ब्ल्याकहिथस्थित लोकप्रिय रेष्टुरेन्ट एभरेष्ट इनमा विहिबार बेलुका फरक माहोल बन्यो। केही नेपालीसहित धेरै बेलायती समुदायका विशिष्ट व्यक्तित्वहरुको जमघट। तर चर्चा सर्वोच्च शिखर सगरमाथा र किर्तिमानी आरोही पूर्व गोर्खा हरि बुढामगरको साहसिक जीवनकथाको।

माउन्ट एभरेष्ट डेको अवसर पारेर एभरेष्ट इन ग्रुपले विगत १५ वर्षदेखि गर्दै आएको वार्षिक कार्यक्रम थियो। नेपालप्रेमी बेलायती र नेपाली समुदायका विशिष्ट व्यक्तित्वसमेतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख आकर्षण थिए किर्तीमानी पर्वतारोही पूर्व गोर्खा सैनिक हरि बुढामगर ।

बेलायती सेनामा सेवाका क्रममा सन् २०१० मा अफगानिस्तानमा एम्बुसमा परी दुवै खुट्टा गुमाएका हरिले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरे। दुवै खुट्टाबिना सगरमाथा सफल आरोहण गर्ने दुर्लभ विश्व किर्तीमान उनले बनाए । हरिले आफ्नो अदम्य साहस र हिम्मतका कथाहरु सुनाइरहंदा उनको सम्मानमा कार्यक्रमका सहभागीहरुले बजाइरहेका ताली रोकिएनन् ।

‘जीवनमा आरोह, अवरोहरु भइरहन्छन् । वाधा र चुनौतीहरु पनि आउँछन् । अब त सबै सिद्धियो कि भन्ने मोडहरुसम्म पनि आउन सक्छन्। तर जति नै कठिन समयमा पनि अगाडि बढ्ने बाटो पूर्ण बन्द हुंदैन । आफूभित्र विश्वास, हिम्मत र सकारात्मक उर्जा राख्न सकियो भने अवश्य पनि चाहेको ठाउँसम्म पुग्न र देखेको सपना पूरा गर्न सकिन्छ’, हरिले आफ्नो जीवनभोगाइको महत्वपूर्ण सिकाइलाई सारांशमा सुनाए।

विगतमा अचानक दुवै खुट्टा गुमाउँदा स्वीकार गर्नै नसकेकोदेखि तनाव र चिन्ता भगाउन अल्कोहोलिक बनेको र निराशाको उत्कर्षमा जीवन नै त्याग्ने सोचसम्म पुगेको क्षणहरु बुढामगरले सम्झिएका थिए।

कठिन समयमा पनि आफूलाई सम्हालेर अगाडि बढ्दा असम्भव कार्य समेत सम्भव पार्न सकिने अनुभव उनले सुनाए।

आफ्नो सबै कर्मलाई अपांगताको क्षेत्रमा जागरण ल्याउनमा समर्पित गरेका हरिले विभिन्न पाँच महादेशका सर्वोच्च हिमालहरुको आरोहण पूरा गरिसकेका छन् र अब बाँकी दुई महादेशका सर्वोच्च हिमाल पनि आरोहण तयारीमा छन् ।

कार्यक्रममा स्थानीय लुइसम बरोकी मेयर ब्रेन्डा डेक्रेसले हरि बुढामगरको जीवनकथाले जस्तोसुकै चुनौतीहरु आएपनि त्यसलाई सामना गर्न सम्भव छ भन्ने प्रेरणा दिएको बताइन्।

लुइसम बरोकी स्पिकर ज्याक पासकडले सामन्यतः हरेक क्षेत्रमा फरक क्षमता हुनेहरुलाई थप चुनौतीहरु आइपर्ने बताउँदै पूर्व गोर्खा बुढामगरले तीनै चुनौतीहरु सामना गर्दै सगरमाथाको सफल आरोहण गर्न सकेकोमा खुशी व्यक्त गरिन्। बेलायती राजा चार्ल्स तृतीयका लागि किंग्स गार्ड पूर्व गोर्खा लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चाले हरि बुढामगरलाई सम्पूर्ण गोर्खा तथा नेपालीहरुको गौरवका रुपमा प्रशंसा गरे।

एभरेष्ट इनका निर्देशक यादव भण्डारीले कार्यक्रममा सहभागिताका लागि हरि बुढामगरसहित सबै विशिष्ट अतिथिलाई धन्यवाद दिए।

खाना, संस्कृति र सामुदायिक कार्यहरुमार्फत् बेलायतमा नेपाललाई प्रवर्द्धन गर्ने कोशिसमा एभरेष्ट इन ग्रुपले दिपावली, एभरेष्ट डे, नेपाली नयाँ वर्षसहितका थुप्रै अवसरलाई बेलायती समुदायको सहभागितामा मनाउंदै आएको सुनाए। बेलायत तथा नेपाल दुवैतिर स्थानीय समुदायहरुको सहयोगमा विभिन्न परोपकारी कार्यहरु समेत सञ्चालन गरिंदै आएको भण्डारीले बताए ।

सन् १९५३ को मे २९ तारिखमा संसारको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुग्यो । नेपालका तेञ्जिङ शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले संयुक्त रुपमा रचेको सोही इतिहासलाई सम्झिंदै हरेक वर्ष मे २९ लाई माउन्ट एभरेष्ट डेका रुपमा मनाइने गरिन्छ।

बेलायतमा एभरेष्ट इन ग्रुपले पनि विगत डेढ दशकदेखि आफ्ना सबै शाखामा माउन्ट एभरेष्ट डे विशेष कार्यक्रम गरेर नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएको छ।

एभरेष्ट इनकै पहलमा हालसम्म झण्डै ५ सय बेलायतीहरुले नेपाल भ्रमण गरिसकेको निर्देशक यादव भण्डारी सम्झिन्छन् । उनीहरुमध्ये कतिले हिमाल आरोहण नै गरेका छन् भने धेरै विभिन्न मनोरम क्षेत्रहरु घुम्ने र पदयात्रामा रमाउने गरेका छन्। बेलायतीहरुलाई आकर्षित गर्ने मनसायले रेष्टुरेन्ट परिसरमा पनि नेपालको प्राकृतिक सुन्दरता झल्काउने तस्विर, पेन्टिङ र काष्ठकलाहरु सजाइएको छ।

कार्यक्रमका अतिथिहरुलाई एभरेष्ट इन रेष्टुरेन्टले मौलिक परिकारसहितको ६ कोर्स नेपाली भोजन सर्भ गरेको थियो ।

तस्विरहरु: कुशल श्रेष्ठ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register