उदयपुर सिमेन्ट उद्योगलाई सवा दुई अर्ब आवश्यक

उदयपुर ।  सरकारीस्तरको नेपालको सबेभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेिस्थत गैडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगलाई यतिबेला २ अर्ब २५ करोड रुपैयाँ आवश्यक भएको छ । २०४४ सालमा स्थापना भएर २०४९ कार्तिकदेखि गैडाछाप सिमेन्ट उत्पादन शुरु गरेको र दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता रहेको भए पनि […]

May 30, 2025 - 16:07
 0
उदयपुर सिमेन्ट उद्योगलाई सवा दुई अर्ब आवश्यक

उदयपुर ।

 सरकारीस्तरको नेपालको सबेभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेिस्थत गैडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगलाई यतिबेला २ अर्ब २५ करोड रुपैयाँ आवश्यक भएको छ ।

२०४४ सालमा स्थापना भएर २०४९ कार्तिकदेखि गैडाछाप सिमेन्ट उत्पादन शुरु गरेको र दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता रहेको भए पनि पूर्ण क्षमतामा सञ्चालन हुन प्राविधिक समस्या भएको छ । कोइला खरिदमा नै आर्थिक समस्या व्यहोर्दै आएको उद्योगमा प्रशासनिक, प्राविधिक, लेखा  र अन्य सबै तहका गरी जम्मा ६३५ जनाको दरबन्दी रहेकोमा पछि केही दरबन्दी कटौती गरेर करिब ५ सय कर्मचारी बाँकी रहेकोमा कतिपय अनिवार्य अवकासमा गएको, कतिपयले राजिनामा दिएको हुँदा हाल २१६ जना कर्मचारीहरुबाट उद्योग संचालनमा रहेको छ ।

उद्योगले विद्युत् महशुल बुझाउन, अवकाश प्राप्त कर्मचारीहरुको सेवा सुविधा भुक्तानी दिन, ५ महिनादेखिको तलब भत्ता उपलब्ध गराउन, कोइलाको भुक्तानी गर्न विभिन्न पाटीहरु तथा अन्य आवश्यक कामको भुक्तानीका लागि कुल २ अर्ब २५ करोड तत्काल आवश्यक रहेको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले बताउनु भएको छ ।

नेपालमा उत्पादित सिमेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट र गुणस्तरीय गैडा छाप सिमेन्ट रहेकोमा हाल बजारमा विभिन्न नाम र ब्रान्डका सिमेन्टले बजार लिएपछि गैडा छाप सिमेन्टको बजार घट्दै गएको छ ।

उद्योगका महाप्रबन्धक साहले अहिले उद्योगको मूल समस्या भनेको आर्थिक नै हो । चालु खर्च नहुँदा कच्चा पदार्थ ल्याउन नसकेकोले उद्योगको उत्पादन नभएको र चालु खर्च व्यवस्थापन हुने हो भने अहिले पनि उद्योग राम्रोसँग सञ्चालन हुने बताए ।

उनले १२ दिन उद्योग सञ्चालन गर्दा ९० हजार बोरा सिमेन्ट उत्पादन गरेको र उत्पादित सिमेन्ट बजारमा लगको तर बजारमा विगतको जस्तो र सोचे अनुसारको बिक्री नभएको बताए ।

गुणस्तरको हिसाबले गैडाछाप सिमेन्ट सबैभन्दा अब्बल रहेको छ । हाल पनि गुणस्तरमा १ नम्बरमा नै रहेको तर बजारमा निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा धेरै भएको छ । नीजि क्षेत्रका सिमेन्ट उत्पादक कम्पनिले मुल्य घटाएर बजारमा ल्याउँदा र प्रतिस्पर्धा गर्न नसक्दा बिक्री वितरणमा समस्या भएको निमित्त महाप्रबन्धक साहले बताए ।

उद्योगका प्राविधिक महाशाखाका प्रमुख इन्जिनियर हरि अधिकारीले उद्योगमा खर्चको अभावका कारण मेसिनहरु मर्मत सम्भार गर्न नसकेको जानकारी दिँदै बजेटको व्यवस्थापन भएमा मेसिन मर्मत सम्भार गरेर चलाउने बताए ।

मेसिनरी पार्ट पुर्जाहरु कतिपय ३० वर्ष पुरानो भएकोले समय समयमा मर्मत संभार गर्नु पर्ने हुन्छ । कतिपय मेसिनरी पार्ट पुर्जा भारतबाट मगाइने र कतिपय बाहिरबाट ल्याउनु पर्ने हुन्छ, पुराना पार्ट पुर्जा फेर्न र मर्मत गर्न चालु पुँजीकै समस्या रहेको प्राविधिक प्रमुख अधिकारीको भनाई रहेको छ ।

उद्योगको प्लान्ट तथा मेसिन मर्मत सम्भार गरेर उत्पादन क्षमता बढाउनकालागि उद्योग मन्त्रालयसँग . ५५ करोडको माग गरेकोले उक्त रकम आएमा मेसिन मर्मत सम्भार र उत्पादन क्षमता बढाउन र उद्योगको अवस्थालाई पहिलेको झैँ अवस्थामा ल्याउन सकिने उद्योगका प्राविधिक प्रमुख अधिकारीको दावी छ ।

निमित्त महाप्रबन्धक साहले लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदका विषयमा अध्यक्ष नहुँदा काममा समस्या भएको र अध्यक्ष पद राजनीतिक नियुक्ति गरिने हो । यो मन्त्रालयले नियुक्ति गर्ने भएकोले यसबारेमा मन्त्रालयलाई नै जानकारी हुने जानकारी दिदै कतिपय कुराहरु मन्त्रालय अन्तर्गत हुने भएकोले नीति नियमका आधारमा हुने बताए । 

उद्योग संघीय सरकार मातहतको उद्योग भएकोले सरकारी तहबाट नै मन्त्रालयले नियमानुसार स्थानीय तहलाई दिन मिल्छ भने स्थानीय तह मार्फत सञ्चालन गर्दा राम्रो हुने बताउँदै साहले सिमेन्ट उत्पादनकालागि खानी विभागले आवश्यक पर्ने चुनढुंगा उत्खनन गर्ने अधिकार दिएको तर बिक्री गर्ने अधिकार नदिएको बताए । उद्योगले क्लिंकर उत्पादन गरेर सिमेन्ट बिक्री गर्नु पर्ने र अहिले खानीको नवीकरण म्याद सकिएकोले खारेजीमा परेको हुँदा पुनः नवीकरण गर्ने तयारीमा रहेको जानकारी दिँदै साहले बताए ।

उद्योगका प्रशासन महाशाखा प्रमुख रविचन्द्र पौडेलले बजारमा प्रतिस्पर्धा भनेको गुणसस्तरमा हो । गैडाछाप सिमेन्टको गुणस्तर नेपालका अन्य उद्योगबाट उत्पादित सिमेन्टले प्रतिस्पर्धा गर्न सक्दैन र सिमेन्ट उत्पादनमा लाइमस्टोनको भूमिका महत्वपूर्ण हुने भएकोले त्यो गुणस्तरको लायमस्टोन हामीसँग छ । गुणस्तर नै बजारमा प्रतिष्पर्धाको आधार हो र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन दिएर निजी क्षेत्रको उत्पादनलाई पछि पार्दै आएको बताए ।

उद्योगको आर्थिक वर्ष २०७९। ०८० को लेखा परीक्षण सकिएको र त्यसको प्रतिवेदन महालेखाले तयार पार्दै गरेको अवस्था रहेको छ भने महालेखाले औल्याएका वेरुजुहरु फछ्र्यौट गर्नकालागि सम्बन्धित पक्षलाई ताकेता गर्नुका साथै कार्यालयगत वेरुजुहरु आवश्यक कागजात पुरा गरेर प्रक्रिया अनुसार क्रमशः फछ्र्यौट गर्दे जाने बताए  ।

महालेखाले बेरुजुमा देखिएका केही कुराहरु रकमहरु, पेश्कीहरु, विल भर्पाइका कुराहरुमा ताकेता गर्ने गरेकोले त्यसलाई व्यक्तिगत रुपमा ताकेता गरेर फछ्र्यौट गर्ने गरेको प्रशासन महाशाखा प्रमुख पौडेलले बताए । 

सरकारले पुर्व सचिव रामेश्वर खनालको नेतृत्वमा सरकारी संस्थानहरुको अवस्था बुझ्न गठित समितिले दिएको प्रतिवेदनमा सरकारी दुई सिमेन्ट उद्योगलाई एकिरकण गरेर सञ्चालन गर्न सुझाव दिएको भए पनि दुई उद्योग फरक ठाउँमा भएको र उत्पादन प्रकृति एउटै भएका कारण एकीकरण गरेर सञ्चालन गर्न सुझाव दिए पनि संभव नहुने उदयपुर सिमेन्ट उद्योग श्रोतले जनाएको छ ,।

उद्योगको कारखाना रहेको क्षेत्रमा २५ विघाभन्दा बढी जग्गा रहेको र चुनढुंगा खानी भएको ठाउँमा खानी क्षेत्रमा ५४५ हेक्टर जग्गा रहेको जानकारी र्दिदै निमित्त महाप्रबन्धक साहले चुनढुंगा करिब दुईसय वर्षकालागि पुग्ने अवस्थामा रहेको र यहाँको चुनढुंगाले जापानमा शिशा उत्पादन हुने भए पनि नेपालमा सिमेन्ट उत्पादनमा मात्र प्रयोग हुने गरेको बताए ।

 उद्योगले १० मेगवाट क्षमताको विद्युत् उत्पादनकालागि लाइन लिएको र उत्पादन भए पनि नभए पनि १० मेगावाटको विद्युत् महशुल रु न्युनतम १२ लाख तिर्नु पर्ने हुन्छ । विद्युत् प्राधिकरणले उद्योगको २४ करोड विद्युत् महशुलको हिसाव मिलान गर्नु पर्नेमा नगरेकोले दायित्व बढेको जानकारी दिँदै साहले करिब ४४ करोड रुपैयाँ विद्युत् प्राधिकरणलाई भुक्तानी दिन बाँकी रहेको बताए ।

हाल उत्पादन गरिएको सिमेन्ट बिक्री गरेर कोइला खरिद गर्ने, कर्मचारीहरुको ५ महिनादेखिको तलब दिने, अवकाश पाएका पूर्व कर्मचारीहरको सेवा सुविधा उपलब्ध गराउने, साना साना विल भुक्तानी गर्ने, केही रकम विद्युतको महशुल बुझाउने लगायतका दायित्वहरु फछ्यौट गर्दै जाने योेजना रहेको प्रशासन महाशाखा प्रमुख पौडेलले बताए ।

तीन वर्षदेखि अवकासमा गएका, राजिनामा दिएका पूर्व कर्मचारीहरु ११४ जना रहेको र उनीहरुलाई करिब ७० करोडको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको उद्योगका लेखा प्रमुख सि.ए गोपाल बस्यालले बताए ।

उद्योगबाट अवकाश पाएर पनि सेवा सुविधाको रकम नपाउँदा बिरामी भएकाहरु लक्ष्मीनारायण चौधरी, चन्द्रकान्त चौधरी, हरिकुमार दाहाल, देवीप्रसाद बजगाईको र अशोक कुमार चौधरीको आर्थिक अभावले उपचार नै गराउन नपाई ज्यान गएको छ । ज्यान गुमानेहरु मध्ये कोही मुटु रोगी, कोही मृगौला सम्बन्धी, कोही सुगर प्रेसर, कोही अल्सर क्यान्सर जस्ता भयानक रोगले थलिएर उपचार नपाई ज्यान गुमाउन पुगेका छन् । 

कतिपय अवकाश प्राप्त कर्मचारीहरु अहिले पनि उपचाररत रहेको र उनीहरुलाइ आर्थिक समस्याले गाँजेको छ । हालको अवस्थामा उदयपुर सिमेन्ट उद्योग आफैँ बिरामी भएकोले पहिले उद्योगको उपचार गर्न आवश्यक रहेको छ । तर पनि उद्योगको क्षमताले भ्याएसम्म विरामी भएका अवकाश प्राप्त र बहालवाला सबैलाई सहयोग गरिरहेको जानकारी दिँदै प्रशासन महाशाखा प्रमुख पौडेलले हेम कुमार दाहाल, रामेश्वर कानु लगायतका बिरामीहरुलाई उपचार कोषबाट उपचार खर्च उपलब्ध गराएको बताए ।

उद्योगबाट २ वर्ष अघि अवकाश पाएका वरिष्ठ अधिकृत कुबेर कान्त काफ्लेले आफू पनि मुटुको बिरामी रहेको र नियमित रुपमा औषधी सेवन गर्नुका साथै मुटु परिक्षण गराई रहनु परेको बताउँदै उपचरकालागि आर्थिक समस्या हुने गरेको बताए । 

 काफ्लेले उद्योगले २०८१ असार मसान्तसम्ममा अवकाश पाएका कर्मचारीहरुको सेवा सुविधाको हिसाव गरेको र करिब ६४ करोड भुक्तानी गर्नु पर्ने देखिएकोले पालैपालो गरेर पहिले अवकाश भएकालाई प्राथमिकतामा राखेर क्रमशः सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register