‘झोले’ बन्नुमा एमालेको गौरव

काठमाडौं । ‘झोले’ शब्द यतिखेर फेसबुकमा ‘पपुलर’ छ । एक्समा ‘झोले’ शब्दको बाढी छ । राजनीतिक दल र नेतालाई आँखा चिम्लेर समर्थन गर्नेहरूलाई हियाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘झोले’ भन्ने गर्थे । दल र नेताको पिछलग्गु हुनेहरूले ‘झोले’ सम्बोधन पाउँथे । तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनी सम्बद्ध एमाले र्पाीका नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले […]

Jun 3, 2025 - 13:26
 0
‘झोले’ बन्नुमा एमालेको गौरव

काठमाडौं । ‘झोले’ शब्द यतिखेर फेसबुकमा ‘पपुलर’ छ । एक्समा ‘झोले’ शब्दको बाढी छ । राजनीतिक दल र नेतालाई आँखा चिम्लेर समर्थन गर्नेहरूलाई हियाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘झोले’ भन्ने गर्थे । दल र नेताको पिछलग्गु हुनेहरूले ‘झोले’ सम्बोधन पाउँथे ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनी सम्बद्ध एमाले र्पाीका नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्दै पोस्टर हालेपछि ‘झोले’ शब्द ‘टक अफ द टाउन’ भएको छ ।

प्रज्ञा प्रतिष्ठानको शब्दकोशले झोले शब्दलाई ‘अर्काको झोला बोक्ने । झोल भएकोः रसदार । झोला भिरेर हिँड्ने’ भनेर अथ्र्याएको छ । तर, झोले शब्दले यतिखेर शाब्दिक अर्थ गुमाएर राजनीतिक अर्थ ग्रहण गरिसकेको छ । लेखक तथा विश्लेषक झलक सुवेदीले अनलाइनखबरमा प्रकाशित लेखमा झोले शब्दलाई, ‘पार्टीमा वैचारिक बहस नगर्ने, अरूले गर्न चाहे पनि रोक्न खोज्ने र नेतृत्वका जुनसुकै आदेश र निर्णयहरूलाई विना प्रश्न स्वीकार गर्ने कार्यकर्ता,’का रूपमा अथ्र्याएका छन् ।

नेता र दलका सबै प्रकारका गतिविधिको समर्थन गर्नेलाई कटाक्ष गर्न र हियाउन प्रयोग भइरहेको ‘झोले’ शब्दलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक वृत्तमा औपचारिक रूपमा प्रवेश गराएका छन् । अध्यता नविन तिवारीका अनुसार झोले शब्दले दिने नकारात्मक भावलाई सकारात्मक बनाउन खोजेका हुन् ओलीले । ‘तर, यसले झन ब्याक फायर भएको छ, ओलीलाई,’ उनी भन्छन् ।

राजनीतिक दल र नेताको आँखा चिम्लेर समर्थन गर्नेहरूलाई जनाउन झोले शब्द कहिलेबाट प्रयोग भयो ठ्याक्कै भन्न सकिँदैन । तर, २०७९ मा काठमाडौं महानगरमा मेयर बालेन, धरान उप–महानगरमा हर्क साम्पाङको जित र रास्वपाको स्थापनापछि यीनका समर्थकले पुराना दलका समर्थकलाई हियाउन ‘झोले’ शब्द प्रयोग गर्न थाले । पछिल्लो समय राजावदी समूह र राजा फर्काउन सडकमा ओर्लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एमाले, माओवादी, कांग्रेसका समर्थकलाई ‘झोले’ शब्दले सम्बोधन गर्दियो ।

यसैको झोंकमा ओलीले आफैँलाई झोले करार गर्दिए । र, उनले आफैँलाई झोले करार गर्दा राजावादी र पुराना राजनीतिक दलको आलोचना गर्नेलाई जवाफ फर्काउने प्रयत्न गरेका छन् ।

फेसबुकमा पोस्ट गरिएको झोले पोस्टरमा उनले लेखेका छन, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौं गुणा उत्तम चरित्र हो ।’

पोस्टरको क्याप्सनमा उनले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ ।’

‘बालेन र हर्क अनि उनीहरूका समर्थकले पुराना राजनीतिक दल र कार्यकर्तामाथि प्रहार गरिरहेको झोले शब्दलाई रास्वपाले मासमा स्थापित गरेको हो,’ सामाजिक सञ्जाल प्रयोगकर्ता विश्वदिप लामिछाने भन्छन् ।

एमालेकै नेता–कार्यकर्तालाई मन नपरेको झोले

कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमा खेपिरहने झोलेको अपमानको भार कम गराउन एमाले अध्यक्ष ओली नै मैदानमा उत्रिएपछि एमाले नेता, कार्यकर्ताहरूले पनि ‘म झोले’का पोस्टर छ्यापछ्यापती बनाए । तर, ओलीले आफैँले आफैँलाई झोले करार गरे पनि एमालेका कतिपय सांसदलाई चित्त बुझेको छैन । आफ्नो फोटोसहित ‘म झोले हो’ लेखिएको पोस्टर फेसबुक, इन्स्टाग्राम र एक्समा पोस्ट गरेकी एक सांसदले अनौपचारिक गफगाफमा भनिन्, ‘बाध्यताले पोस्ट गरेको नि !’

निलम्बित एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सीना प्रश्न गर्छिन्– एमालेलाई झोलेको नयाँ पहिचान किन चाहियो ? एमालेले झोले शब्दलाई ‘ग्लोरीफाइ’ गर्न खोजेको बताउँदै उनी भन्छिन्, ‘झोलेको जति ग्लोरीफाइ गरेपनि झोले हुन राम्रो मानिदैन । एमालेलाई झोले भन्न नयाँ पहिचान किन चाहियो ?’

सामाजिक सञ्जाल एक्समा सरोज पोखरेल लेख्छन, ‘अरुले झोले भनेर वाक्क पार्नुभन्दा आफैँले आफूलाई ‘म झोले हुँ’ भन्यो, आनन्द ! टण्टै साफ !’

प्रतिनिधिसभाको आँगनमा २० जेठमा एमाले सांसद गोकुल बास्कोटालाई पत्रकाहरूले ‘झोले पोस्टर शेयर किन नगरेको’ भन्दै प्रश्न गरेपछि बास्कोटाले प्रतिप्रश्न गरे, ‘म झोले हो ?’

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई त ‘म झोले हो’ पोस्टरको अर्थ पनि थाह छैन । उनी भन्छिन्, ‘फेसबुक हेर्दा त म झोले हुँ भन्ने पोस्टर देखेँ । पार्टी पदाधिकारीका नेताहरूको पनि तस्वीर देखेपछि के रहेछ यो भनेर अचम्मित भएँ । नेताहरूले नै शेयर गरेको देख्दा पार्टीको कुनै निर्देशन पो हो कि भन्ने पनि लाग्यो ।’

यद्यपी एमालेका कतिपय नेताहरू भने झोले बुन्नलाई आफ्नो गौरव ठानिरहेकाछन् । एमालेका उपमहासचिवले आफूलाई ‘झोले’ करार गर्दै गौरवान्वीत महसुस गरेको दाबी गरेकाछन् । आफूले विचारको झोला बोकेको दाबी गर्दै उनले भनेकाछन्, ‘सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’
एमाले सचिव योगेश भट्टराईले त झोले हुने कि गुलाम हुने छनौट गर्न सुझाएकाछन् । झोलामा विचार, सपना, इतिहास बोकेको हुँदा आफ्नो उपनाम झोले भएको दाबी गर्दे भट्टराईले अप्सन दिएकाछन्, ‘तपाई नै रोज्नुहोस झोले हुने की गुलाम ?’

मोदीको नक्कल

यता सामाजिक सञ्जालमा भने ओलीको ‘म झोले हो’ अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मै चौकिदार’ अभियानबाट प्रभावित भएको दाबी गरिरहेका छन् । सन् २०१९ को चुनावताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारतको चौकिदार भएको दाबी गरेका थिए । त्यसपछि प्रतिस्पर्धी दल भारतीय कांग्रेसले ‘चौकिदार ही चोर’ भन्दै नरेन्द्र मोदीमाथि कटाक्ष गरेको थियो ।

अध्यता नविन तिवारी भने ओलीले मोदीको नक्कल नै गरेको भए पनि सही तरिकाले नक्कल गर्न नजानेको बताउँछन् । ‘चौकिदारी पेसा हो । रोजगारी हो, र चौकिदार शब्द आफैँमा नराम्रो होइन,’ तिवारी भन्छन्, ‘तर झोले शब्द त नेगेटिभ कनोटेसन दिने शब्द हो । झोले शब्दले त राम्रो अर्थ त दिँदैन ।’

सामाजिक सञ्जाल एक्समा कार्की जी नामका प्रयोगकर्ताले लेखेकाछन्–
‘चौकीदार चोर है
झोले भ्रष्टचारी है !!’

ओलीको ‘झोले’ मोहमाथि टिप्पणी गर्दै श्रीकृष्ण न्यौपाने नामका प्रयोगकर्ताले एक्समा लेखेका छन् –

‘कार्यकर्ताले राजनेता बनाएका थिए
तर
उहाँलाई बा हुन मन लाग्यो
अहिले आफूलाई झोले हुँ भन्नु हुन्छ
अब
झेली हुँ भन्न मात्र बाँकी छ ।’

राजनीतिक कटाक्षका शब्द

राजनीतिक दल, नेतामाथि यसरी शाब्दीक प्रहार भएको यो पहिलोपटक भने होइन । कुनै समय ‘तेरो घरमा कांग्रेस पसोस’ भन्ने गालीका रूपमा स्थापित थियो । २०१७ देखि २०३६ सम्म राजनीतिक दल, नेता, कार्यकर्तालाई अराष्ट्रिय तत्व (अत) भन्ने गरिन्थ्यो ।

पञ्चायत समर्थकलाई ‘मण्डले’ भन्ने गरिन्थ्यो । आज पनि राजावादीहरूलाई ‘मण्डले’ उपमा दिइन्छ । २०४६ को सेरोफेरोमा ‘माले, मसाल र मण्डले एकै हुन्’ भनेर आलोचना गर्ने गरिन्थ्यो ।

अहिले पनि सामाजिक सञ्जालमा माओवादी नेता कार्यकर्तालाई ‘गुरिल्ला’को उपमा दिइन्छ । कांग्रेसका कार्यकर्ता, समर्थकलाई दक्षिण भारतीय फिल्म बाहुबलको एक पात्र ‘कटप्पा’को नामले पुकार्ने गरिन्छ ।

कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा भुटानी शरणार्थीकाण्डमा सामेल भएको हल्ला चलेका बखत, गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरूलाई राणको आलोचना नगरेको भन्दै ‘देवरबाबु’ भन्ने गरिन्थ्यो । आज पनि कांग्रेसका समर्थक, कार्यकर्तालाई ‘देवरबाबु’ भन्ने गरिन्छ । रास्वपा समर्थकहरूलाई हियाउन ‘घण्टे’ ‘सहकारी ठग’को उपमा दिने गरिन्छ ।

एमाले नेता, कार्यकर्ता र समर्थकलाई ‘हनुमान, अरिगांल’ भन्ने गरिन्छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा चलेको आन्दोलनलाई निस्तेज पार्न ओलीले आफ्ना कार्यकर्तालाई ‘अरिगांल’ बन्न निर्देशन दिए । यसपछि एमाले कार्यकर्ता र समर्थक ‘अरिगांल’ कहलिन थाले ।

ओली बारम्बार एमालेलाई ‘पवनपुत्र हनुमान जस्तै शक्तिशाली’ भनिरहन्छन् । ओलीले बारम्बार एमालेलाई हनुमानको शक्तिसँग तुलना गर्न थालेपछि एमालेजनहरू ‘हनुमान’ कहलिन थाले ।

ओलीले एमालेलाई हनुमान भन्दै गरिरहेको दाबी पुष्टि गर्न भनेर युवा संघले आफ्ना कार्यकर्तालाई बाँदरको मुखौटो लगाएर २०७८ मा काठमाडौंको सडकमा उतारेको थियो ।

‘झोले’ ‘चम्चा’ शब्द सबै राजनीतिक दलका कार्यकर्ता, समर्थकलाई हियाउन प्रयोग हुन्थ्यो । तर, यतिखेर ‘झोले’ शब्दलाई एमालेले आफ्नो नयाँ पहिचान बनाउन खोजेको छ । एमालेले फेरिरहने यो नामको पहिचानबाट आजित भएजस्तो गर्दै एक्समा गुरिल्ला नामका प्रयोगकर्ताले लेखेका छन्, ‘कहिले अरिङ्गगाल बन् ,कहिले चिल बन्, कहिले बाघ बन्, कहिले म झोले हुँ भन् । हैन यी एमाले कार्यकर्ता हुन् कि बहुरूपी हुन् । जति खेर जे बन् भन्यो त्यही बन्छन् । चरादेखि जनवारसम्म, अनि कम्युनिस्टदेखि झोलेसम्म ।’

ओलीको सिको गर्दै एमालेजनहरूले म ‘झोले’ हो भन्न थालेपछि पत्रकार तथा अध्ययता लक्ष्मण श्रेष्ठले एक्समा ‘कोही किन झोले होस्’ भन्दै झोले र राजनीतिक कार्यकर्ताबीचको फरक देखाएका छन् ।

‘झोले हुनु भनेको आफ्नो व्यक्तिगत स्वत्व गुमाएर निश्चित लाभका लागि नेतृत्वका सामु समर्पित हुनु हो । झोलेले स्वतन्त्र चिन्तन, तर्क गर्न सक्दैन । प्रश्न उठाउन सक्दैन,’ श्रेष्ठले लेखेका छन् ‘फरक मत र नयाँ विचार प्रस्तुत गर्न सक्दैन । ऊ केवल नेतृत्वले थमाइदिएको पुरानो झोला बोक्छ र कुदिरहन्छ । झोले र नेतृत्वको सम्बन्ध संरक्षक–संरक्षित (प्याट्रोन–क्लाइन्ट) हुन्छ ।’

‘झोले’ हुने एमाले लहरलाई बुझाउन बाइबलको न्यू टेस्टामेन्टको उदाहरण दिन्छन् अध्यता तिवारी । उनी भन्छन्, ‘धर्म प्रचार गर्न जानेहरूलाई जिससले भन्छन्, ‘तिमिहरू प्रचार गर्न जाँदा मजाक बनाइएला, बेइज्जत गरिएला तर, तीमिहरू त्यो मजाक र बेइज्जतमा रमाउनू । किनभने तिमिले धर्म प्रचार गर्‍यौं भने स्वर्गको राज्य तिम्रो हुन्छ ।’ ओलीको सिको गर्दै ‘म पनि झोले’ भन्दै सामाजिक सञ्जालमा पोस्ट्याउनेहरूले ओलीको झोले नै बन्न खोजेको तिवारीको दाबी छ ।

‘झोले’ कहलीने एमाले रहर कहाँ पुगेर थामिन्छ त्यसै भन्न सकिँदैन । तर, गायक शिशिर योगीले ‘साँचो भन्दछु देशका जहर हुन झोले र चम्चाहरू,’ भन्दै गीत गाएको गीत यतिखेर सुन्नु सान्दर्भिक नै होला । राजावादी र झोलेवादी दुवैलाई मान्छे बन्न सुझाव दिएका छन् प्रशान्त लामिछानेले । ‘झोले र राजावादी कहलिन’ दुःख गरिरहेकाहरूलाई सम्झाउँदै लामिछाने लेख्छन्, ‘मान्छेका दुःख अपरम्पार छन् ! एकथरी ‘हामी रैती हुन पाउँ’ भन्दै सडकमा, अर्काथरी ‘हामी झोले हौं’ भन्दै सञ्जालमा ! लौन साथीहरू मान्छे बन्ने प्रयास गर पहिला ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register