शरणार्थी दाबी गर्दै बसेका लाखौंलाई देश निकाला गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशभर शरणार्थी दाबी गर्दै बसेका लाखौँ आप्रवासीहरूको निवेदन खारेज गर्दै उनीहरूलाई तत्काल देश निकाला गर्ने तयारी गरेको छ । यूएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेस (USCIS) ले नयाँ अधिकारसहित यस्तो कदम चालेको सीएनएनले लेखेको छ । यो योजना लागू भएमा करिब दुई लाख पचास हजारभन्दा बढी आप्रवासी प्रभावित हुने […]

Jun 26, 2025 - 06:02
 0
शरणार्थी दाबी गर्दै बसेका लाखौंलाई देश निकाला गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशभर शरणार्थी दाबी गर्दै बसेका लाखौँ आप्रवासीहरूको निवेदन खारेज गर्दै उनीहरूलाई तत्काल देश निकाला गर्ने तयारी गरेको छ ।

यूएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेस (USCIS) ले नयाँ अधिकारसहित यस्तो कदम चालेको सीएनएनले लेखेको छ ।

यो योजना लागू भएमा करिब दुई लाख पचास हजारभन्दा बढी आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ । तीमध्ये धेरैजसो अवैधरुपमा अमेरिका प्रवेश गरेपछि शरणको लागि निवेदन दिने पर्दछन् ।

हाल अमेरिकामा १४ लाखभन्दा बढी शरणार्थी दाबीसम्बन्धी निवेदनहरु USCIS मा विचाराधीन छन् । नयाँ कदमअन्तर्गत धेरै पुराना निवेदन बिना सुनुवाइ खारेज गरिँदैछ, जसले गर्दा उनीहरू छिटो देश निकाला हुन सक्नेछन् ।

USCIS ले परम्परागत रूपमा आप्रवासी लाभ (immigration benefits) दिने निकायको रूपमा काम गर्दै आएको थियो । तर, ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको निर्देशनमा यो संस्था अब कानुनी उल्लंघनमा संलग्न आप्रवासीहरूलाई तुरुन्त निष्कासन गर्न सक्ने अधिकारसहित प्रवर्तनको भूमिकामा परिणत भएको छ ।

यस नीतिबाट प्रभावित हुनेमा धेरैजसो आप्रवासीहरू अमेरिका भित्र भिसा सकिएपछि बसेका, श्रमिक भिसाबाट परिवर्तन भएका वा सीमाबाट अनौपचारिक रूपमा प्रवेश गरेका छन् । उनीहरूमध्ये थुप्रैले वर्षौंदेखि अमेरिकामा कर तिरेर, काम गरेर, समाजमा योगदान दिँदै आएका छन् ।

अमेरिकन सिभिल लिबर्टीज युनियन (ACLU) का अनुसार यस कदमले वर्षौंदेखि अमेरिका बसेर कानुनीरूपमा काम गरिरहेका आप्रवासीहरूलाई गम्भीर जोखिममा पार्नेछ । “शरणका लागि आवेदन दिने हक अमेरिकी र अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको अधिकार हो । यो हक खोस्नु न्यायिक प्रक्रिया र मानव अधिकारको उल्लंघन हो,” ACLU की उप निर्देशक सारा मेहता भन्छिन् ।

संघीय कर्मचारी संघ AFGE का अनुसार आवेदन स्वीकृति नदिइकन निवेदन खारेज गर्ने निर्णय सामान्य प्रक्रियाविरुद्ध हो । “USCIS ले शरणार्थीको निवेदन प्रक्रिया पूरा नगरी खारेज गर्नु अस्वाभाविक र गलत हो,” संघका उपाध्यक्ष माइकल नोलेसले भने ।

शरणार्थी अधिकारका लागि काम गर्ने संस्था ASAP की निर्देशक कोनचिटा क्रूज भन्छिन्, “यी निर्णयहरूले हजारौं परिवार, उनीहरूका रोजगारदाता र तिनीहरू बसोबास गरिरहेका समुदायहरूमा प्रत्यक्ष असर पार्नेछ ।”

हालसम्म यस्ता निवेदन खारेजका सूचना कति व्यक्तिहरूलाई पठाइएको भन्ने स्पष्ट छैन । तर, मानव अधिकारवादीहरू भन्छन्, “यदि यो योजना कार्यान्वयन भयो भने यसले अमेरिकी आप्रवासन नीतिमा ऐतिहासिक मोड ल्याउनेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register