के हो अहिलेको नागरिक अपेक्षा, आम इच्छा र जनादेश ?

देशको आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक हालत कहिल्यै सुधार नहुने, सञ्चारमाध्यममा मात्र ‘यसो हुनुपर्छ वा उसो हुनुपर्छ’ भन्ने आदर्श व्यक्त हुने र ज्ञान पिलाउने’ प्रक्रियाले तिर्खाएको यात्रीलाई मृगमरिचिका देखाएर भुलाएजस्तो झनै ‘चिडचिडाहट’ गर्दो रहेछ । यद्यपि, यस्तो ‘दिक्दारी’ले कुनै निकास दिने अपेक्षा गर्न सकिन्न ।

Jul 3, 2025 - 06:56
 0
के हो अहिलेको नागरिक अपेक्षा, आम इच्छा र जनादेश ?

भँगेराको शरीर बुझ्न लाखौँको पेट चिरेर हेर्नु पर्दैन, एउटा नै काफी हुन्छ । तर, आम मान्छेको मनोविज्ञान कुनै एक व्यक्तिको अभिव्यक्तिबाट बुझ्न सकिँदैन । समाजमा कतिपय यस्ता पात्र र अभिव्यक्ति हुन्छन्, जसका मनसाय र अपेक्षा बुझ्न निक्कै गाह्रो हुन्छ । आम मनोविज्ञानमा त्यसको कत्रो अंश वा स्थान छ भनेर आकलन गर्न त झनै अप्ठ्यारो हुन्छ ।

मानव जीवनको सबैभन्दा ठूलो नियति वा दुर्भाग्य नै यही हो कि हामी एक अर्कालाई बुझ्दाबुझ्दै, बुझाउन खोज्दाखोज्दै सकिन्छौँ । बुझे वा बुझाएको भान वा स्वाङ गर्दागर्दै मर्छौँ । तर, यो उपक्रम छोड्न सक्दैनौँ ।

मान्छेका लागि सबैभन्दा ठूलो रहस्य मान्छे हो । मान्छेका लागि सबैभन्दा ठूलो उत्सुकता, जिज्ञासा वा ‘पजल’ पनि मान्छे नै हो ।

सम्भवतः यही कारण थियो कि रुसो र लँकजस्ता दार्शनिकले ‘आम इच्छा’ (जनरल विल) को सिद्धान्त बनाए । मान्छे जति नै वैयक्तिक जीवन बाँचिरहेको किन नहोस्, निजी जीवनमा जस्तोसुकै हालतमा होस्, हरेक देश, काल र परिस्थितिमा त्यो ‘आम इच्छा’का रूपमा अभिव्यक्त हुन्छ भन्ने विश्वास गरे । कम्तीमा नागरिक आफ्नै हित र स्वार्थ विपरीत खडा हुँदैन भन्ने मान्यतामा यो सिद्धान्त बनेको थियो ।

लोकतान्त्रिक समाजको निर्वाचन परिणाम त्यस्तै एक ‘आम इच्छा’ हो । ‘आम इच्छा’को राजनीतिक तथा कानुनी हैसियतलाई ‘जनादेश’ (म्यान्डेट) भनिन्छ । कुनै दल, नेता, सरकार, राज्य वा कसैले ‘जनादेश’ विपरीत कार्य गर्नु ‘आम इच्छा’ विपरीत हो, त्यो लोकतन्त्रप्रतिको घात र अपराध हो भन्ने तिनको ठहर थियो ।

नेपालमा यो सिद्धान्तले काम गरेको देखिन्न । यहाँ नागरिक अपेक्षा, आम इच्छा र जनादेशसँग कसैलाई मतलब छैन । एक त निर्वाचनलाई प्रभावित गर्ने यति धेरै अन्य औपचारिक, अनौपचारिक संस्था र तत्त्व क्रियाशील छन् । त्यसको परिणाम ‘आम इच्छा’ नै हो कि होइन भन्ने प्रश्न उठाउन सकिन्छ । मानौँ कि त्यो ‘आम इच्छा’बाट सृजित ‘जनादेश’ नै हो भने पनि त्यसको पालना कसैले गरेको देखिन्न ।

फेरि पनि मानिस आ–आफ्नै दाउमा जुवा खेलिरहेका हुन्छन् । आ–आफ्नै घोडाको पक्षमा ‘हुटिङ’ गरिरहेका हुन्छन् । आ–आफ्ना पार्टी र नेताका जस्तासुकै कर्म–कुकर्मको प्रतिरक्षा गरिरहेका हुन्छन् । दलनिष्ठा (पार्टी लोयालिटी), व्यक्तित्व पूजा (पर्सनालिटी–कल्ट) र अन्धसमर्थन (ब्लाइन्ड सपोर्ट) जस्ता प्रवृत्तिको सघनताबीच नागरिक अपेक्षा, ‘आम इच्छा’ र ‘जनादेश’ ले काम गर्न सक्छन् कि सक्दैनन् ? गरे कसरी गर्छन् ? नगरे विकल्प को हो ? यी प्रश्नको उत्तर रुसो र लँकसँग पनि थिएन ।

खासमा आज मान्छे के चाहन्छन् ? कस्तो प्रणाली, प्रवृत्ति, संस्कार र संस्कृति चाहन्छन् ? कस्तो नेता र नेतृत्व चाहन्छन् ? कस्तो शासन–प्रशासन, सरकार र राज्य चाहन्छ ? कस्तो समाज व्यवस्था, अर्थनीति र अर्थतन्त्रको ढाँचा र कस्तो भूराजनीतिक सोच र वैदेशिक सम्बन्ध चाहन्छन् ? यी प्रश्नको उत्तर लोकतन्त्रमा नागरिक अपेक्षा, ‘आम इच्छा’ र ‘जनादेश’ले नै दिनुपर्छ ।

खासमा आज मान्छे के चाहन्छन् ? कस्तो प्रणाली, प्रवृत्ति, संस्कार र संस्कृति चाहन्छन् ? कस्तो नेता र नेतृत्व चाहन्छन् ? कस्तो शासन–प्रशासन, सरकार र राज्य चाहन्छ ? कस्तो समाज व्यवस्था, अर्थनीति र अर्थतन्त्रको ढाँचा र कस्तो भूराजनीतिक सोच र वैदेशिक सम्बन्ध चाहन्छन् ? यी प्रश्नको उत्तर लोकतन्त्रमा नागरिक अपेक्षा, ‘आम इच्छा’ र ‘जनादेश’ले नै दिनुपर्छ । नागरिक आफैले दिनुपर्छ । कुनै व्यक्ति, चिन्तक, नेता वा दलले दिन सक्दैन । दिए पनि स्वीकार्य र दिगो हुँदैन ।

मेरा एक एक्स (पहिलेको ट्वीटर) मित्र छन् — प्रकाश खड्का । भौतिक रूपमा हामी एक अर्कालाई चिन्दैनौँ । कम्तीमा मलाई उनको बसाई, विचार, शिक्षा, राजनीतिक सोच वा यस्तै अन्य पक्ष र पृष्ठभूमि थाहा छैन । ‘भर्चुअल’ दुनियाँमा उनका छोटा विचार र प्रतिक्रिया अलग्गै प्रकारका हुन्छन् । यदाकदा म भ्रमित हुन्छु कि उनका विचारले समाजको कुन, कति र कस्तो अंशलाई प्रतिनिधित्व गर्छन् ?

जस्तो कि गत हप्ता मित्र केशव दाहालले केहीलाई गेजा शर्मा वाग्लेको एक लेख ट्याग गरेका थिए । उनको अपेक्षा थियो कि वैकल्पिक राजनीतिको विमर्शमा वाग्लेको आलेखले मद्दत गर्दछ । त्यसैले उठान भएका विषयमा बहस गरौँ ।

प्रकाश खड्काको यस्तो प्रतिक्रिया आयो — ‘यसमा ट्याग गरिएकाहरूले त सार्थक र वस्तुनिष्ठ बहस गरेको गर्‍यै,  गरेको गर्‍यै,  गरेको गर्‍यै हुनुहुन्छ । लेखेको लेख्यै, लेखेको लेख्यै हुनुहुन्छ, नि होइन र ? कति बहस गर्नु हुन्छ हौ अझैँ ? सल्लाह गर्दागर्दै गाउँ डुबेको कथा जस्तो नहोस् है ।’

यो ‘गरेको गर्‍यै र लेखेको लेख्यै’ भित्र असीमित झर्को छ भन्ने त बुझिन्छ, तर यो बुझ्न गाह्रो छ कि सार्वजनिक विमर्श, ज्ञान उत्पादन, विकास र विस्तार प्रक्रिया अब झर्कोको विषय किन बन्यो ? यो त स्वाभाविक र आवश्यक कर्म मानिन्थ्यो लोकतन्त्रमा । अन्धकारमा लोकतन्त्र मर्छ, सूचना र ज्ञानको विस्तार भइरहनुपर्छ । पारदर्शितामा मात्र सुशासन सम्भव छ भन्ने मान्यता थियो ।

त्यसो भए अब के लेख्न, बोल्न र बहस छलफल गर्न नै छोड्नु पर्ने हो ? त्यसो गर्दा राम्रो परिणाम आउने हो ? वा, के हरेक लेख्ने, बोल्ने मान्छेले पार्टी खोलेर राजनीतिको मैदानमै उत्रिहाल्नु पर्ने हो त ? यस्तै अपेक्षा हो भने कति पार्टी बनाउने ?

पार्टी नै पार्टी ? घरैपिच्छे पार्टी ? व्यक्तिपिच्छे पार्टी ? सीमित र राम्रा दलहरूले नै नागरिक अपेक्षा, आम इच्छा र जनादेशको प्रतिनिधित्व गरुन्, पार्टी बनाउने नौबत र झन्झट धेरैले उठाउन नपरोस् भन्ने बुझाई गलत हो र ?

सार्वजनिक विमर्शले राष्ट्रिय जीवनको भविष्य मार्गदर्शन गर्ने विश्वास गरिन्थ्यो । लेख्नु, बोल्नु, बहस, छलफल गर्नु, विचार–गोष्ठी, सेमिनार गर्नु, कार्यपत्र, अध्ययन–अनुसन्धान प्रतिवेदन गर्नुको उद्देश्य नैर त्यसले समकालीन सत्य उजागर गरोस् र नीति निर्माण गर्दा भविष्यको बाटो मार्गदर्शन गरोस् भन्ने हुन्छ ।

सार्वजनिक विमर्शले राष्ट्रिय जीवनको भविष्य मार्गदर्शन गर्ने विश्वास गरिन्थ्यो । लेख्नु, बोल्नु, बहस, छलफल गर्नु, विचार–गोष्ठी, सेमिनार गर्नु, कार्यपत्र, अध्ययन–अनुसन्धान प्रतिवेदन गर्नुको उद्देश्य नैर त्यसले समकालीन सत्य उजागर गरोस् र नीति निर्माण गर्दा भविष्यको बाटो मार्गदर्शन गरोस् भन्ने हुन्छ ।

लाग्छ — देशमा राजनीतिक, प्रशासनिक नेतृत्वजस्तै ‘प्राज्ञिक अभ्यास, बौद्धिक विमर्श र नैतिक प्रतिरोध’ प्रतिको विश्वास टुट्दै गएको छ । लेख्ने, बोल्ने मानिस समाजका लागि ‘सदाबहार आलोचक’, आफू केही गर्न नसक्ने अरूलाई अर्ती उपदेश दिएर बस्ने ‘गनगने’ साबित हुँदै गएका छन् । ‘ज्ञान, अर्ती–उपदेश धेरै नपिलाऊ, हद भो, उल्टी हुन लाग्यो’ जस्ता प्रतिक्रिया आम हुँदै गएका छन् ।

सम्भवतः यही बुझेर होला हिजोजस्तो लेख्ने, बोल्ने तछाड–मछाड छैन । सार्वजनिक विषयमा लेख्नुभन्दा नलेख्नु, बोल्नुभन्दा नबोल्नु र ‘सेल्फ–सेन्सर्ड’ हुनु धेरैका लागि बुद्धिमत्ता बन्न थालेको छ । समाजको सबैभन्दा ठूलो सूचना र ज्ञानस्रोत अब ‘एक्स सन्देश’ र ‘फेसबुक स्ट्याटस’ भएको छ ।

टीभी ‘टक शो’ सञ्चालक गुनासो गर्दै हुन्छन् — चाहेजस्तो अतिथि नै पाइँदैन । पहिलेपहिले बोलाइदिए हुन्थ्यो भनेर आशा गर्थे, फोन गर्ने बित्तिकै दौडेर आउँथे । कतिले त ‘टक शो’मा देखापर्न सोर्सफोर्स नै लगाउँथे । अब त्यो छैन ।’ ‘बाइट’ दिने र विश्लेषण गरिदिने उपयुक्त पात्र नपाएर संवाददाता भड्किरहेका हुन्छन् ।

प्रविधिको युगमा मूलधार भनिने परम्परागत सञ्चार माध्यम रेडियो, टीभी, छापामाध्यम त संकटमा छन् नै, अनलाइन न्युज पोर्टेल र युट्युब च्यानलको समेत आम्दानीको भरपर्दो स्रोत छैन । अनलाइन जति खुल्छन्, उत्ति नै बन्द हुन्छन् । देशको सुस्त आर्थिक वृद्धि र वित्तीय संकटसँगै विज्ञापन बजार साँघुरिएको छ । संसारका धेरै अनलाइन ‘पेड सस्क्राइबर’को प्रचलनमा गइसके । नेपालमा त्यो पनि छैन ।

अध्ययन सामग्री अब खँदिलो विषय–वस्तु होइन, ‘भाइरल’ सम्भावनाका आधारमा पाठक, श्रोता, दर्शक समक्ष पुग्दछन् । तिनै सामग्री बढी सेयर हुन्छन्, जसमा विवेकसम्मत विश्लेषण कम र भावनात्मक उग्रता बढी हुन्छ । डिजिटल प्लेटफर्ममा सेयर, लाइक, कमेन्ट गर्नु अब मन पर्नु र न पर्नुजस्तो सामान्य वैयक्तिक विषय रहेन । ‘सेलेक्सन बायस’ र ‘पोलिटिकल इन्डोर्समेन्ट’ भइसक्यो । आफ्नो दल वा समूहलाई फाइदा नहुने सामग्री जति नै बलिया, विवेकसम्मत र वस्तुसंगत भए पनि वास्ता नगर्ने प्रचलन आम भइसक्यो ।

यसरी समाज ‘बौद्धिक बेवास्ता’को चरणमा प्रवेश गर्दैछ ।

देशको आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक हालत कहिल्यै सुधार नहुने, सञ्चार माध्यममा मात्र ‘यसो हुनुपर्छ वा उसो हुनुपर्छ’ भन्ने आदर्श व्यक्त हुने र ज्ञान पिलाउने’ प्रक्रियाले तिर्खाएको यात्रीलाई मृगमरिचिका देखाएर भुलाएजस्तो झनै ‘चिडचिडाहट’ गर्दो रहेछ । यद्यपि, यस्तो ‘दिक्दारी’ले कुनै निकास दिने अपेक्षा गर्न सकिन्न ।

देशको आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक हालत कहिल्यै सुधार नहुने, सञ्चार माध्यममा मात्र ‘यसो हुनुपर्छ वा उसो हुनुपर्छ’ भन्ने आदर्श व्यक्त हुने र ज्ञान पिलाउने’ प्रक्रियाले तिर्खाएको यात्रीलाई मृगमरिचिका देखाएर भुलाएजस्तो झनै ‘चिडचिडाहट’ गर्दो रहेछ । यद्यपि, यस्तो ‘दिक्दारी’ले कुनै निकास दिने अपेक्षा गर्न सकिन्न ।

‘बौद्धिक बेवास्ता’ जस्तै ‘नेतृत्व–विरोधाभास’ चर्को छ । देशमा ‘असल मान्छे’ को मानक भिन्नै छ, नेतृत्व र शक्ति अभ्यासको मानक भिन्नै छ । देशभरि धेरैले डा. देवेन्द्रराज पाण्डे, सुशीला कार्की, खगेन्द्र संग्रौला, केदारभक्त माथेमा, भोजराज पोख्रेल, डा. सन्दुक रुइत, कृष्ण खनाल, सीके लाल, सञ्जीव उप्रेती, कृष्ण पहाडी, मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यजस्ता दर्जन बढी नाम दोहोर्‍याउँछन् ।

देशका विभिन्न भागमा पुग्दा धेरैले सोध्ने प्रश्न यिनै हुन्छन् — उहाँहरू अचेल के गर्दै हुनुहुन्छ ? के देशका लागि फेरि एकपटक जुरमुराउनु हुन्न ?

राजनीतिक तथा प्रशासनिक वृत्तभन्दा नागरिक समाज शुद्ध र नैतिक छ भन्ने विश्वास आम रूपमा मरिसकेको छैन । भलै कि, यस्तो सोचका पनि थुप्रै विचलन छन् । ज्ञानेन्द्र शाहको निरंकुश शासनकालमा जनआन्दोलन २०६२–२०६३ को पृष्ठभूमिमा खेलेजस्तो भूमिका गर्न यो वर्ग र वृत्तबाट सम्भव छ कि छैन ? जिज्ञासाको यो पाटो समाजमा अहिलेसम्म मरिसकेको छैन । तर, उनीहरूका आफ्नै सीमा र परिबन्द छन् भनेर आकलन गर्ने कमै छन् ।

हर्क साम्पाङ, बालेन्द्र शाह र कुलमान घिसिङले पार्टी खोल्छन् कि खोल्दैनन् ? खोले कहिले खोल्छन् ? कस्तो पार्टी खोल्छन् ? मिलेर खोल्छन् कि एक्ला एक्लै ? मिलेर खोले के होला ? एक्ला एक्लै खोले के होला ? कुन छिटो बलियो होला ? यीमध्ये कसको पार्टीमा लाग्दा राम्रो होला ? यस्ता प्रश्न सोध्नेहरूको कुनै कमी हुँदैन । यो दौडमा कतिपयले सिने नायक राजेश हमाललाई पनि सम्भाव्य पात्र बनाएर चर्चा गर्छन् । यी महानुभावहरूले आफ्ना सम्भावना र सीमाबारे प्रस्ट पारेका छैनन् ।

ठीक यस्तै लहर २०७० को दशकमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, विवेकशीलका उज्ज्वल थापा, मिलन पाण्डे, रन्जु दर्शना, साझाका रवीन्द्र मिश्र, आदिप्रति थियो । अस्ति भर्खरैसम्म रवि लामिछाने र रास्वपाप्रति थियो । यी उदाहरणले किन काम गरेनन् र फेरि त्यस्तै प्रकृतिको ‘हिरोइज्म’ आए कस्तो निकास देला भन्ने कोणबाट धेरैलाई सोच्न मन छैन ।

यतिखेर कतिपयलाई लागिरहेको छ — ‘करिअर पोलिटिसियन’ बेइमान, अनैतिक र भ्रष्ट छन् । यो बुझाइमा सत्यता छ पनि । तसर्थ, ‘गैरराजनीतिक मान्छे’ आएर राजनीतिको समस्या हल गर्न सक्छन् वा, गर्नुपर्छ भन्ने माग बढ्दो छ । कतै यो चिकित्सकले गरेको शल्यक्रिया असफल भयो, अब प्रहरी इन्स्पेक्टर आएर अस्पताल चलाउनुपर्छ भनेजस्तो अपेक्षा त होइन ? शंका लाग्छ ।

महात्मा गान्धी वा नेल्सन मण्डेला, अब्राहम लिंकन वा फ्रांकलिन डि. रुजबेल्ट, डा. महाथिर मोहम्मद वा लि क्वान यु, पुष्पलाल वा गणेशमान सिंह बीपी कोइराला वा मदन भण्डारी मोडलेको नेतृत्व जन्मिने आशा मानिसले मारिसकेका छन् । यस्तो नेतृत्वलाई आदर्श वा ‘वास्तविक हिरो’ मान्ने पंक्ति दिन प्रतिदिन सानो हुँदै गएजस्तो लाग्छ । ‘इस्टान्ड नुडल्स’ को युगमा नेता र पार्टी पनि मोमो, चाउचाउ र चाउमिनजस्तै चाहिएको छ ।

कथित पढेलेखेका बौद्धिक, कथित ज्ञान–विज्ञान र दर्शन छाँट्ने, सिद्धान्त र विकास प्रारूपको कुरा गर्नेहरू अस्थिर, अवसरवादी, स्वार्थी हुन्छन् भन्ने बुझाइलाई यस बीचका केही उदाहरणले मलजल गर्‍यो । डा. बाबुराम भट्टराई र घनश्याम भुसालको अस्थिरता र असंगत कदम, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ र डा. सीके राउतको ‘हिरोपन्थी’ लाई मान्छेले निराशाजनक दृष्टान्त मान्न थालेका छन् । उनीहरू आफूलाई अझैँ सान्दर्भिक ठानिरहे पनि समाजले मनमनै ‘भिलेन’ बनाई सकेको पत्तो पाइरहेका छैनन् ।

धेरैलाई अहिलेको सबैभन्दा ठूलो समस्या विश्वासको संकट हो भन्ने लाग्छ । कस्ता मान्छे र समूहलाई विश्वास गर्नु उचित हो ? परम्परागत ‘करिअर पोलिटिसियन’, कथित बौद्धिक वा ‘हिरोपन्थी’ ? यो प्रश्नको उत्तर थिग्रिन पाएको छैन ।

धेरैलाई अहिलेको सबैभन्दा ठूलो समस्या विश्वासको संकट हो भन्ने लाग्छ । कस्ता मान्छे र समूहलाई विश्वास गर्नु उचित हो ? परम्परागत ‘करिअर पोलिटिसियन’, कथित बौद्धिक वा ‘हिरोपन्थी’ ? यो प्रश्नको उत्तर थिग्रिन पाएको छैन ।

राजनीतिमा अलिअलि संलग्न हरेकले दुईचारपटक धोका खाएका छन् । तसर्थ, सबैको पहिलो प्रश्न नै यही हुन्छ— फेरि हिजोको जस्तो, फलानाको जस्तो हुँदैन भन्ने के ग्यारेन्टी छ ? यो धर्तीमा कसले कसलाई के ग्यारेन्टी दिन सक्दछ ? सृष्टि र जीवनकै ग्यारेन्टी छैन, राजनीतिकको ग्यारेन्टी कसले कसलाई गर्न सक्छ ? तर, यस्तो कटु उत्तर सुन्न कोही तयार छैनन् । अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भनेजस्तो कोही कसैलाई सजिलै विश्वास गर्न र फेरि धोका खान तयार छैन ।

एक अर्कालाई विश्वास नगरे पहलकदमी र प्रक्रिया अघि बढ्दैन, विश्वास गरे धोका खाने सम्भावनाले मान्छे ‘डरके मारे’ छन् । यो आफैमा ठूलो समस्या हो । कोही कसैलाई विश्वास नगर्न, पहलकदमी नगर्न वा गरिएका पहलकदमीलाई सहयोग नगर्न, अन्यमनस्कतामा बाँच्न अभ्यस्त वा अभिशप्त हुँदै गएका छन् ।

देशमा अहिले जेजस्ता राजनीतिक प्रवृत्तिको जन्म र विस्तार भइरहेको छ, शासन प्रशासनको जेजस्तो गुणस्तरको छ, ती अकारण उत्पन्न भएका होइनन्, नागरिक छनौटकै अंश हुन् । हुन सक्छ— सञ्चार र बौद्धिक क्षेत्रबाट अहिलेका नेता, पार्टी र प्रवृत्तिको जति आलोचना गरिन्छ, आम नागरिकलाई त्यति नै नबिझेको होला ।

विकल्पहीनतामा मतदाताले पुरानै पार्टी र नेता रोजिरहेका छन् वा भोट दिइरहेका छन् भन्नु एक प्रकारको आत्मरति हो । यो विकल्पहीनताको होइन, विकल्पको अति आपूर्ति (ओभर सप्लाई) भइरहेको युग हो ।

विकल्पहीनतामा मतदाताले पुरानै पार्टी र नेता रोजिरहेका छन् वा भोट दिइरहेका छन् भन्नु एक प्रकारको आत्मरति हो । यो विकल्पहीनताको होइन, विकल्पको अति आपूर्ति (ओभर सप्लाई) भइरहेको युग हो । शिक्षा, सञ्चार, ज्ञान प्रविधि, पेसा पोसाक, मान्छे, खानपान वा मनोरञ्जन, अहिले कुनै पनि क्षेत्रमा विकल्पहीनता छैन । बहुदलीय लोकतन्त्र भएको देशको राजनीतिमा विकल्पहीनताको कुरै असान्दर्भिक हो ।

प्रतिनिधिसभामा अहिले १४ वटा दल छन् । निर्वाचन आयोगमा १२१ दल दर्ता छन् । स्वतन्त्र उम्मेदवार उठ्ने वा अभियान गर्ने अधिकार सबैलाई छ । फेरि केको विकल्पहीनता ? बरु ‘विश्वसनीय विकल्प’ को अभाव हुनसक्छ । ‘विश्वसनीय विकल्प’ का लागि पहलकदमी अझै आवश्यक छ ।

राजनीतिमा संसारभरिकै नियम यही हो— जतिसुकै कमजोर, नालायक, बदनाम र परिणामहीन किन नहोस्, त्यतिन्जेल पुरानै सत्ता कायम रहन्छ, जबसम्म ‘प्रतिसत्ता’ को जन्म हुँदैन । सुकेको ठूलो रुख आफै नढलेर आँधी पर्खिएजस्तो पुराना दल र नेतृत्वले पनि ढल्न आँधी पर्खिरहेका हुन सक्छन् ।

प्रकाश खड्काले ठीकै भनेका हुन् — ‘बौद्धिक विमर्श’ले मात्र यो समस्याको हल हुन सक्दैन, ‘एग्रेसिभ एक्टिभिज्म’ चाहिन्छ । ठीक यही जाँगर र तत्परता देशको कथित ‘बौद्धिक तप्का’सँग हुँदैन र मान्छे त्यो आवश्यकताका परिपूर्तिका लागि नयाँनयाँ ‘हिरो’ खोजिरहेका हुन्छन् ।

गाडी जतिसुकै राम्रो वा अत्याधुनिक इन्जिनको किन नहोस् इन्धन र चालक बिना चल्दैन । ठीक त्यसै गरी विचार र सवाल जतिसुकै राम्रा किन नहुन् समर्पित अभियन्ता र आन्दोलन व्यवस्थापन क्षमता विना त्यो अघि बढ्दैन ।

नयाँ राजनीतिक विचार, पहलकदमी र आन्दोलनलाई सुरुमै समाजको तल्लो र उपल्लो वर्गले सहयोग गर्दैन । तल्लो वर्गसँग चाहेर पनि ‘सक्षमता’ हुँदैन, उपल्लो तहलाई त्यस्तो ‘आवश्यकता’ नै हुँदैन । कुनै पनि समाज र कालखण्डमा मध्यम वर्ग नै नयाँ विचार, आन्दोलन र क्रान्तिको आधार बन्छ । उदीयमान सहरिया मध्यम वर्गले जस्ता पात्र र प्रवृत्ति रोजिरहेको छ— त्यो नै आजको निक्कै ठूलो राजनीतिक यथार्थ हो ।

दिगो मध्यम वर्गले ‘नैतिक प्रतिरोध’लाई बढवा दिन्छ । नयाँ, उदीयमान र नाजुक मध्यम वर्गले छिटो परिणामको खोजी गर्छ । देशमा कस्तो राजनीतिक नेतृत्वको उदय हुन्छ भन्ने कुरा मध्यम वर्गका यी दुई धारमध्ये कुन प्रभावी छ भन्ने परीक्षण पनि हो ।

आजको हाम्रो राजनीतिक यथार्थ हाम्रो मध्यम वर्गले प्रत्यक्ष–परोक्ष जस्तो चालक खोजिरहेको छ र जसको गाडीमा इन्धन भरिरहेको छ त्यसैको परिणाम हो ।

कुनै बेला युरोपमा फाँसी र नाजीवादको उदय भएजस्तो राष्ट्रको जीवनमा यस्ता क्षण वा कालखण्ड आउँछन्, जसको मुख्य विशेषता नै भ्रम वा दिशाहीनता बन्न पुग्दछ । नेपालमा आज ठीक त्यस्तै अवस्था पो भएको हो की ? यहाँ अहिले कोही कसैलाई विश्वास गर्दैन । कोही कसैसँग सन्तुष्ट छैन । कोही कसैको प्रयास र पहलकदमीलाई धोका खाने डरले निश्चित साथ दिन सक्दैन ।

यस्तो बेला नागरिक अपेक्षा, आम इच्छा र जनादेशको अर्थ र परिभाषा गर्न सजिलो हुँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register