खेलाडी, प्रशिक्षक र रेफ्रीको भूमिकामा चम्किंदै सञ्जीव

अनेक नेपाली खेलप्रेमीहरू विदेशिएपछि खेलकुदको संसारबाट टाढा जान बाध्य हुन्छन् । जीवनयापनको चुनौतीले गर्दा उनीहरूका सपनाहरू पनि अक्सर ओझेलमा पर्छन् । तर, बारा निजगढका सञ्जीव नेपाली भने ती कथाहरु भन्दा बिल्कुलै फरक छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा रहेको ल्यानकास्टरस्थित ‘एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी’ मा सञ्जीव अहिले दैनिक झन्डै ३ सय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् […]

Jul 21, 2025 - 17:38
 0
खेलाडी, प्रशिक्षक र रेफ्रीको भूमिकामा चम्किंदै सञ्जीव

अनेक नेपाली खेलप्रेमीहरू विदेशिएपछि खेलकुदको संसारबाट टाढा जान बाध्य हुन्छन् । जीवनयापनको चुनौतीले गर्दा उनीहरूका सपनाहरू पनि अक्सर ओझेलमा पर्छन् । तर, बारा निजगढका सञ्जीव नेपाली भने ती कथाहरु भन्दा बिल्कुलै फरक छन् ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा रहेको ल्यानकास्टरस्थित ‘एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी’ मा सञ्जीव अहिले दैनिक झन्डै ३ सय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । विदेशी भूमिमा पनि आफूले मन पराएको पेशालाई निरन्तरता दिन पाउनु उनी आफ्नो ठूलो उपलब्धि मान्छन् । “विदेशमा पनि आफूले रोजेको पेसा अँगाल्न पाउनु सौभाग्य हो,” उनी भन्छन्, “धेरैले चाहँदा चाहँदै पनि यो सम्भव पार्न सक्दैनन ।”

तर, सञ्जीवको परिचय केवल प्रशिक्षकमा मात्र सीमित छैन । उनी आफैँ पनि तेक्वान्दोका अब्बल खेलाडी हुन् । टेक्सास कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले एकल पुम्से र बोर्ड ब्रेकिङ दुवै विधामा स्वर्ण जितेर नेपाली झन्डालाई विदेशी भूमिमा गर्वका साथ फहराएका छन् । मास्टर अल्ट्रा ३३ देखि ४० वर्ष उमेर समूहमा उनले निरन्तर पदक जित्दै आएका छन् । भर्जिनियाको क्यापिटल ओपनदेखि लास भेगास च्याम्पियनसिपसम्म उनको सफलता रोकिएको छैन ।

उनको सफलता यतिमा मात्रै सीमित छैन । उनी हालैका दिनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्री पनि बनेका छन् । टेक्सासको मास्टर्स कप, न्यू जर्सीको कुकिवान कप, भर्जिनिया ओपन, बाल्टिमोरको एभरेष्ट च्याम्पियनसिप र न्यूयोर्क स्टेट तेक्वान्दो च्याम्पियनसिपजस्ता प्रतिस्पर्धामा उनी आधिकारिक रेफ्रीको भूमिकामा देखिएका छन् । यो भूमिका उनले इमान्दारिता र निष्पक्षताको साथ निर्वाह गर्दै आएका छन् । अमेरिका पुगेको वर्षौं भइसक्दा पनि खेलाडी, प्रशिक्षक र रेफ्रीको तीनवटै भूमिकामा उनी अहिले यसरी उत्कृष्ट रूपमा सक्रिय छन् ।

सञ्जीवको संघर्ष र सफलताको कथा केवल अमेरिकासम्म मात्र सीमित छैन । उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानाडा जस्ता देशमा पनि नेपालको प्रतिनिधित्व गरेका छन् । जहाँ पुगे त्यहाँ उनले नेपाली झन्डालाई सम्मानित बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेका छन् ।
अमेरिकी समाजले पनि उनको योगदानको उच्च मूल्याङ्कन गरेको छ । मेरिल्यान्ड राज्यको ‘द सिनेट अफ मेरील्यान्ड’ र न्यू जर्सी सिटीले उनलाई विशेष सम्मानबाट सम्मानित गरेका छन् । सिनेटर काथरिन क्यासमियर र काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त सम्मान सञ्जीवको खेलप्रति समर्पणको पुरस्कार हो ।

विदेशमा रहेर पनि आफ्नो पहिचान गुमाउनु पर्दैन भन्ने ज्वलन्त उदाहरण सञ्जीवको जीवन यात्राले स्पष्ट रूपमा झल्काउँछ । बरु दृढ संकल्प, निरन्तर अभ्यास र समर्पणले विदेश बसाईमा पनि आफ्नो पहिचानलाई अमूर्त बनाउन सकिन्छ भन्ने सन्देश सञ्जीवले दिएको छ । खेलाडी, प्रशिक्षक र रेफ्री तीनवटै महत्वपूर्ण भूमिकामा सक्रिय र समर्पित सञ्जीव जस्ता पात्रहरू वास्तवमै नेपाली खेलकुद जगतले सम्झिनुपर्ने प्रेरणाका उदाहरण हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register