मिथिलाञ्चलमा आज बरसाइत (बटसावित्री) पर्व मनाइँदै

काठमाडौँ । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराल(श्रीमान्को घर) मै मनाउनुपर्छ । बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र र लाउने लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
शुक्रवार आज एकाबिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर ९बट०को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्ने चलन रहेको छ ।
पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रूपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रूपमा वरको जरामा चढाएर सिन्दूरले रगाउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन् ।
आँप र कलश लिएर तीन पटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एक पटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । यसपछि पत्नीले पतिको खुट्टा धोएर चनामृतको रूपमा पिउँछिन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास गरेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।
यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान र स्वच्छ तन मन धनले बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धूमधामसहित यसलाई मनाउने गर्दछन् । नयाँ साडी लगाएर आफ्नो सिउँदोमा सिन्दूर हालेर विधि विधानसहित यस पर्वलाई मनाउने परम्परा रहेको छ । विभिन्न फलफूल, अक्षता, धूप, दीपसहित विवाहित महिला गीत गाउँदै गाउँ बाहिर जहाँ बट वृक्षको अवस्थिति हुन्छ । त्यस ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् ।
पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकका उल्लेख छ । रासस
What's Your Reaction?






