ट्रम्पको शपथ : मानव सभ्यताकै सर्वाधिक बलियो ‘ओलीगार्की’को भय

ट्रम्प प्रशासनकालमा ह्वाइट हाउस वरिपरि १३ अर्बपति हुनेछन् । शास्त्रीय परिभाषा र अभ्यासमा धन र शक्ति सीमित व्यक्तिको हातमा हुनु लोकतन्त्रका लागि हितकर नहुन सक्दछ । ट्रम्पको वरिपरि केन्द्रित अर्बपतिको अखडाले मतदाता मनोविज्ञानमा चलखेल गरेको यथार्थ अस्वीकार गर्न सकिन्न ।

Jan 20, 2025 - 10:27
 0
ट्रम्पको शपथ : मानव सभ्यताकै सर्वाधिक बलियो ‘ओलीगार्की’को भय

काठमाडौं अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सोमबार ४७औं राष्ट्रपतिको पदभार पनि ग्रहण गर्दैछन् । अमेरिकी राष्ट्रपति पदमा यस्तो रेकर्ड बनाउने उनी दोस्रो अपवाद हुन् ।

यहाँ कि दुई कार्यकाल निरन्तर जित्ने कि दोस्रो कार्यकालका लागि पराजित भएर प्रतिस्पर्धामा पुनश्च: नफर्किने अघोषित प्रचलनजस्तो थियो ।

उन्नाइसौँ शताब्दीको उत्तरार्धतिर स्टीफन ग्रोवर क्लिभल्याण्ड यो प्रचलनको पहिलो अपवाद बनेका थिए । क्लिभल्याण्ड सन् १८८४ मा विजयी भएर सन् १८८८ मा हारे । सन् १९९२ मा फेरि जिते । ट्रम्पले सन् २०१६ मा जितेर २०२० मा हारे र २०२४ मा फेरि जिते ।

यी दुई यस्ता अपवाद व्यक्तित्व हुन्, जसले अमेरिकी राष्ट्रपति पदको गणनालाई प्रभावित गरिदिन्छन् । क्लिभल्याण्डलाई २२औं र २४औं राष्ट्रपति भने जस्तै ट्रम्पलाई ४५औं र ४७औं राष्ट्रपति भन्नुपर्ने छ । तर, व्यक्ति गणनाका आधारमा भने अमेरिकामा अहिलेसम्म ४५ जना राष्ट्रपति भएका छन् ।

अमेरिकी राजनीतिमा ट्रम्पले कायम गरेको यो दुर्लभ अभिलेख हो । तर, ट्रम्प दुर्लभ मानिनुका कारण भने यतिमा मात्र सीमित छैनन् । अक्सर दुर्लभ पात्रले दुर्लभ काम गर्छन र त्यस्तै परिणाम दिन्छन् । त्यस्तो परिणाम सुखद् वा दुखद् दुवै हुनसक्छ ।

ट्रम्पले दिन सक्ने अर्को ‘दुर्लभ अभिलेख’ विश्व इतिहासकै सर्वाधिक बलियो ‘ओलीगार्की’ हो । कुनै समाज वा राष्ट्रका सर्वाधिक धनी मान्छेहरूको समूहले राज्य शक्ति कब्जा र शासन गर्ने प्रक्रियालाई ‘ओलीगार्की’ भनिन्छ ।

प्राचीन ग्रिक चिन्तक अरस्तुकै पालादेखि राजनीतिशास्त्रमा ‘ओलीगार्की’को चर्चा पाइन्छ । ‘ओलीगार्की’ अर्थात् ‘कुलीनवर्ग’ वा ‘वित्तीय अल्पतन्त्र’को शासन ।

अमेरिका अब एक लोकतान्त्रिक देश हो कि अल्पलोक्तान्त्रिक ? इज अमेरिका डेमोक्रेसी अर ओलीगार्की ? यो एक रोचक प्रश्न बन्न पुगेको छ ।

न्यूओर्क टाइम्सका एक पाठक माइकल म्याकब्रिअर्टी भन्छन् – हाम्रो लोकतन्त्रलाई जनताद्वारा जनताका लागि जनताको शासन भनिन्थ्यो । अब यसलाई अर्बपतिद्वारा, अर्बपतिका लागि, अर्बपतिको शासन भन्नु उचित हुन्छ ।

म्याकबिअर्टीको यो भनाइले अमेरिकी राजनीति, प्रशासन र अर्थतन्त्र सीमित धनी व्यक्तिको हातमा पुगेको चिन्ता व्यक्त गर्दछ । धेरैलाई यो लाग्दैछ कि अमेरिकामा ‘ओलीगार्की’ दिनप्रतिदिन बलियो हुँदैछ । र, ट्रम्पको दोस्रो कार्यकालमा यो क्रम झनै बलियो हुन सक्दछ ।

ट्रम्पको पहिलो प्रशासनकाललाई राजनीतिशास्त्रीले ‘ओलीगार्की’भन्दा बढी ‘डेमागोजी’का रुपमा हेरेका थिए । ट्रम्पको पहिलो विजयपछि सन् २०१८ मा स्टेफेन लेभेत्स्की र डेनियल जिब्लाटले ‘हाउ डेमोक्रेसिस डाई’ अर्थात् ‘लोकतन्त्रहरू कसरी मर्दैछन्’ भन्ने विश्व चर्चित किताब नै लेखेका थिए ।

‘ट्रम्प डेमागोजी’को पराकाष्ठा सायद सन् २०२१ जनवरी ६ को क्यापिटल हिलको घटना थियो । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई ‘स्टोलन इलेक्सन’ को सङ्ज्ञा दिएर अस्वीकार गरेका थिए । तथापि उनले २०२४ को निर्वाचनबाट ह्वाइट हाउस फर्किने आशावादिता त्यतिखेरै व्यक्त गरेका थिए ।

ट्रम्पको हाइट हाउस फर्किने सपना साकार भएको छ । साथै, उनी एक दृढ इच्छाशक्ति भएका राजनीतिज्ञ हुन् भन्ने फेरि एकपटक पुष्टि भएको छ । ट्रम्प न हिजो सजिलै ह्वाइट हाउस छिरेका थिए न आज सजिलै फर्किएका हुन् ।

राष्ट्रपति पदमा ट्रम्पको फिर्तीलाई रोक्न यावत् प्रयत्न र घेराबन्दी भएकै हुन् । तर, उनले ती सबै अवरोध छिचोले । ट्रम्पको सङ्कल्पशक्ति र सङ्घर्षशीलतालाई कसैले, सायद उनका चर्का आलोचकले पनि कम आँक्न सक्दैनन् ।

सङ्घर्ष र अनुभवले ट्रम्पलाई हिजोकै जस्तो ‘पपुलिस्ट’ रहन नदिएको हुन सक्दछ । चुनावी अभियानमा उनले गरेका वाचा कार्यान्वयन गर्ने उनको अहिलेसम्मको तत्परताले अमेरिकी राजनीतिलाई कुनै दुर्लभ मार्गमा अग्रसर गराएको भान हुन्छ । अमेरिकी राजनीति कुनै दुर्लभ मार्गमा अग्रसर हुँदा विश्व राजनीति पनि धेरै अर्थमा त्यतैतिर घिसारिन बाध्य हुने छ ।

ट्रम्पका राजनीतिक प्रतिस्पर्धी र आलोचक भने उनको दोस्रो कार्यकाललाई ‘मानव सभ्यताकै सर्वाधिक बलियो ओलीगार्की’का रुपमा चित्रण गर्न खोज्दैछन् ।

जस्तो कि राष्ट्रपति जो बाइडनले ओभल अफिसबाट आफ्नो बिदाई भाषणमा भने – आज अमेरिका अतिशय धन, शक्ति र प्रभाव एक ‘अल्पतन्त्र’ मा आकारित हुँदैछ । त्यसले हाम्रो समग्र लोकतन्त्र, स्वतन्त्रता, आधारभूत अधिकार र अघि बढ्नका लागि समान अवसरलाई जोखिममा पार्दछ

भोरर्मेन्ट सिनेटर बर्नी स्यान्डर्स ट्रम्पको अर्थमन्त्रीका रुपमा स्कट बेसेन्टको छनोटलाई अमेरिकामा ‘ओलीगार्की’ निक्कै बलियो भइसकेको थप प्रमाणका रुपमा लिन्छन् । उनी भन्छन् – धनीहरूले धन कसरी कमाए, धनीहरूको गठजोड किन भयो, त्यो भिन्नै कुरा, तर सीमित धनीहरूको हातमा राज्यको शक्ति जान्छ भने त्यो ओलीगार्की नै हो ।

स्यान्डर्सको विचारमा समाजको चौथो अङ्ग मानिने र नागरिकको पक्षबाट निगरानी र पैरवी गर्ने संस्था मानिएको मिडिया पनि अहिले तीन अर्बपतिको हातमा छ । ट्विटरलाई संसारकै सबैभन्दा ठूला धनाढ्य इलोन मस्कले किनेर ‘एक्स’ बनाएका छन् । फेसबूक मार्क जुकरबर्गको हातमा छ । द वासिङ्टन पोष्ट जेफ बेजोसले स्वामित्वमा लिएका छन् ।

राष्ट्रपति ट्रम्प आफैँ एक ठूला अर्बपति हुन् । ट्रम्प टावरदेखि ट्रम्प एअरसम्म उनका व्यवसायको ठूलै साम्राज्य छ । त्यसमाथि उनले आफूभन्दा ठूला अर्बपतिहरूको समर्थन र साथ हासिल गरे । संसारका प्रथम धनाढ्य मस्क छोटो समयमै ट्रम्पका ठूला राजनीतिक सहयोगी र सल्लाहकार बनेका छन् । ट्रम्पले मस्क र विवेक रामास्वामीलाई सरकारमा एक विशेष विभाग नै दिने भएका छन् ।

ट्रम्पले अर्थमन्त्री पदका लागि रोजेका स्कट बेसेन्ट अर्का ठूला अर्बपति हुन् । बेसेन्ट निर्वाचन अभियानमा ट्रम्पका ‘कोष प्रबन्धक’ थिए । मूलधार मिडियादेखि अन्तर्राष्ट्रिय व्यापारसम्म, अन्तरिक्ष उद्योगदेखि सामाजिक सञ्जाल कब्जा जमाएका अर्बपतिहरू ट्रम्प शासनको वरिपरि शक्तिका साथ हुनेछन् ।

बाइडनले ट्रम्पलाई लक्षित गर्दै ओलीगार्कीको आरोप त लगाए तर, उनी आफैँ कम अर्बपतिमैत्री राष्ट्रपति भने थिएनन् । बाइडन प्रशासनकालमा उनको अलोकप्रियताको मुख्य कारण नै श्रमिक वर्गको आयस्तर वृद्धि नहुनु र असन्तुष्टि बढ्नु थियो । सम्भवत: डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस ट्रम्पसँग पराजित हुनुको मुख्य कारण यही थियो ।

अमेरिकामा आर्थिक असमानता अब कुनै मुद्दा नै बाँकी नरहेजस्तो भएको छ । अमेरिकामा उच्च वर्गको १ प्रतिशत जनसङ्ख्यासँग देशको ३१ प्रतिशत सम्पत्तिको स्वामित्व छ भने तल्लो तहका ५० प्रतिशत जनसङ्ख्यासँग २.६ प्रतिशत मात्र सम्पत्तिको स्वामित्व छ ।

१ प्रतिशत जनसङ्ख्याको वार्षिक आय औसत १५ लाख डलर हुँदा ९९ प्रतिशतको ५० हजार डलर मात्र छ । गरिब र धनीबीचको खाडल देखाउने गिनी कोफिसियन्ट करिब ५० प्रतिशत पुगेको छ, जो बितेका ५० वर्ष यताकै सबैभन्दा धेरै हो ।

तसर्थ, ट्रम्पलाई ओलीगार्कीको प्रतिनिधिका रुपमा एक्लो लाञ्छित गर्नु उचित हैन । डेमोक्रेट्सहरूको शासनकालमा पनि आर्थिक असमानता बढेकै थियो । डेमोक्रेट्स राष्ट्रपति मध्यम तथा श्रमिक वर्गप्रति शाब्दिक निष्ठा त देखाउँथे तर, आर्थिक नीतिमा भने त्यसलाई कार्यरूप दिन सक्दैनथे ।

ट्रम्प र उनका अर्बपति सहयोगीहरूको ‘ओलीगार्की’ले बरु आफूहरूलाई पनि उनीहरूजस्तै धनी बन्न सहयोग गर्ला भन्ने न्यून आय भएका श्रमिक र मध्यम वर्गको आशा हुन सक्दछ ।

हिजो यो भनिन्थ्यो कि गरिबले धनीलाई घृणा गर्छन् । ट्रम्पको ह्वाइट हाउस फिर्तीले यो देखाउँछ कि गरिब वर्गले धनीप्रति घृणा मात्रै गर्दैनन्, अपेक्षा पनि गर्दछ । ट्रम्पले आफ्नो अर्बपति यथार्थ न लुकाएका थिए न मस्क लगायतका धनाढ्यहरूको उनीप्रतिको समर्थन नै लुकेको विषय थियो । तथापि ‘ट्रम्प – ओलीगार्की’ मतदाताको छनोटको विषय किन बन्यो ? सम्भवत सोचिनु पर्ने मुख्य विषय यो हो ।

शास्त्रीय परिभाषा र अभ्यासमा धन र शक्ति सीमित व्यक्तिको हातमा हुनु लोकतन्त्रका लागि हितकर नहुन सक्दछ । ट्रम्पको वरिपरि केन्द्रित अर्बपतिको अखडाले मतदाता मनोविज्ञानमा चलखेल गरेको यथार्थ अस्वीकार गर्न सकिन्न । जस्तो कि माथि उल्लेखित द न्यूओर्क टाइम्सका पाठक माइकल म्याकब्रिअर्टी भन्छन् – अमेरिकी लोकतन्त्रको आधार हिजो मतदाताको शक्ति थियो । लाग्छ आज लोकतन्त्रको आधार परिवर्तन भएको छ । नागरिक शक्तिबाट डलरको शक्तिमा रूपान्तरण भएको छ ।

अझ अमेरिकी नागरिकको गुनासो त के पनि देखिन्छ भने यहाँ आर्थिक अल्पतन्त्र मात्र हैन, राजनीतिक शक्तिमा समेत द्विअधिकार (डुयोपोली) भयो । लोकतन्त्रमा दुई दलको शताब्दीऔं लामो नियन्त्रण कति उचित हो ? के लोकतन्त्रको दलीय प्रणाली यस्तै हुनुपर्ने हो ?

राजनीतिशास्त्री ली द्रुतम्यानकाअनुसार अमेरिकी लोकतन्त्रको यो चरित्र ‘दुई दलीयताको दुर्भाग्यचक्र’ जस्तै छ, निर्वाचन प्रणालीमा व्यापक सुधारबाट मात्र यसको अन्त्य हुनु सक्दछ । द्रुतम्यानकाअनुसार राष्ट्रपतीय चुनाव निर्वाचक मण्डलको साटो लोकप्रिय मतको बहुमतबाट र प्रतिनिधि सभाको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीमा रूपान्तरण गर्ने हो भने मात्र अमेरिकी लोकतन्त्रमा ‘द्विदलीयताको दुर्भाग्यचक्र’ अन्त्य सम्भव हुनेछ । तर, यस्तो बहस बौद्धिक तहमै सीमित छ । दुई ठूला दलले संरचनात्मक लाभ पाएको यो प्रणाली सुधार गर्ने संवाहक शक्ति कतै देखिएको छैन ।

द्विदलीयतामा राजनीतिक विकल्पको विस्तार असम्भव हुन्छ । फलस्वरुप लादिएका दुई विकल्पमध्ये एक छान्न नागरिक बाध्य हुन्छन् । यस दृष्टिबाट हेर्दा ट्रम्पको हाइटहाउस फिर्तीको धेरै ठूलो अर्थ खोजिरहनु पर्दैन । यो जुवाको खालमा चित वा पोट भएजस्तो सीमित सम्भाव्यताको संयोग मात्र घटित भएको हुन सक्दछ ।

अल्पतन्त्रको स्वाभाविक नियम हो – आर्थिक अल्पतन्त्र’ हित अनुरूप ‘राजनीतिक अल्पतन्त्र’ कायम हुने गरी सीमित विकल्प अघि सारिन्छ । तीमध्ये एक छनोट गर्न मतदाता बाध्य हुन्छन् । र, ‘सञ्चार अल्पतन्त्र’ ‘आर्थिक अल्पतन्त्र’ र ‘राजनीतिक अल्पतन्त्र’को अघोषित सहयोगी बन्न पुग्दछ । सम्पत्ति र शक्तिको अतिकेन्द्रिकरणले सूचना र सञ्चारलाई प्रत्यक्ष, परोक्ष नियन्त्रण गर्दछ । अन्ततः नागरिकको मस्तिष्क नै ओलीगार्कीले नियन्त्रण गर्दिन्छ ।

न यो ट्रम्पले चाहेर भएको हो, न कमला ह्यारिसले यसलाई अन्त्य गर्न सक्थिन् । यो संरचनात्मक सवाल हो ।

अमेरिकामा राजनीति र आर्थिक अल्पतन्त्रको सम्बन्धबारे शताब्दीऔं लामो मजाक गरिदै आइएको छ – यहाँ राजनीतिक अल्पतन्त्रलाई विजयी गराएर कुर्सीमा राखिन्छ तर, वास्तविक शक्ति आर्थिक अल्पतन्त्रसँग हुन्छ । जो चुनाव जितेर कुर्सीमा बसेको हुन्छ, उ खासमा अरु कुनै अदृष्य शक्तिको छाया हुन्छ । उसले मतदाताको साटो तिनको हितमा काम गर्नुपर्दछ जो चुनावमा नदेखिएरै कुर्सीको वास्तविक विजेता हुन्छन् ।

भनिन्थ्यो, शक्तिको अतिकेन्द्रिकरणले सम्पत्तिको पनि अतिकेन्द्रिकरण हुन्छ । हिजो राजनीतिक अल्पतन्त्रले आर्थिक अल्पतन्त्र सृजना गर्ने भय थियो । आज उल्टो छ । आज आर्थिक अल्पतन्त्रले राजनीतिक अल्पतन्त्रलाई सञ्चालन गर्दैछ । सम्पत्तिको अतिकेन्द्रिकरणले शक्तिको अतिकेन्द्रिकरण गर्दैछ ।

अमेरिकी निर्वाचन अभियानमा चन्दादाताको भूमिका गर्ने मुख्यतः अर्बपति नै हुन्छन् । यसपटकको एक तथ्याङ्कअनुसार १५० अर्बपति परिवारले अमेरिकी चुनावमा २ बिलियन डलर चन्दा दिएका छन् र त्यो झण्डै ७० प्रतिशत हुन्छ ।

मस्क, बेसेन्टजस्तै दोस्रो ट्रम्प प्रशासनकालमा ह्वाइट हाउस वरिपरि १३ अर्बपति हुनेछन् । तसर्थ, ट्रम्पको दोस्रो प्रशासनकाललाई संसारकै सबैभन्दा ठूलो ‘ओलीगार्की’ भनिनु कुनै अस्वाभाविक आरोप भने हैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register