‘ग्लोबल वार्मिङ’ले मानवदेखि वन्यजन्तुसम्म खतरामा : विज्ञको सुझाव– वृक्षारोपण गरौँ, ऊर्जा प्रयोग सुधारौँ

काठमाडाै‌ं । पछिल्लो समय कसरी मौसममा परिवर्तन आइरहेको छ, हामीमध्ये धेरैले पक्कै महसुस गरिरहेका छौँ । पहिले सेतै देखिने हिमाल आजकल काला हुन थालेका छन् । ती हिमालहरू अहिले बन्जर डाँडा जस्तै देखिन्छन् । हिउँ सकिएपछिको हिमाललाई के भन्ने हिमाल कि डाँडा ? यो अहिले अधिकांशको मनमा उठेको प्रश्न हो । त्यसो त आजकल विश्वभर […]

Feb 9, 2025 - 14:18
 0
‘ग्लोबल वार्मिङ’ले मानवदेखि वन्यजन्तुसम्म खतरामा : विज्ञको सुझाव– वृक्षारोपण गरौँ, ऊर्जा प्रयोग सुधारौँ

काठमाडाै‌ं । पछिल्लो समय कसरी मौसममा परिवर्तन आइरहेको छ, हामीमध्ये धेरैले पक्कै महसुस गरिरहेका छौँ । पहिले सेतै देखिने हिमाल आजकल काला हुन थालेका छन् । ती हिमालहरू अहिले बन्जर डाँडा जस्तै देखिन्छन् । हिउँ सकिएपछिको हिमाललाई के भन्ने हिमाल कि डाँडा ? यो अहिले अधिकांशको मनमा उठेको प्रश्न हो ।

त्यसो त आजकल विश्वभर नै जङ्गलमा आगो लाग्ने क्रम बढिरहेको छ । । हरेक वर्ष सयौँ मानिसको मृत्यु भइरहेको छ । जीवजन्तुहरूको वासस्थान पनि घट्दै गएको पाइएको छ । जसका कारण केही जीवजन्तु लोपोन्मुख अवस्थामा छन् । समुद्रको सतह वर्षेनि बढिरहेको छ, फलस्वरुप समुन्द्र नजिकका सहरहरू डुब्ने अवस्थामा छन् । वर्षैपिच्छे ग्लेसियर पग्लिँदै छन्, सकिँदै छन् । यो सबै ग्लोबल वार्मिङ (वैश्विक तापमान वृद्धि)को प्रभाव भएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ ।

के हो ग्लोबल वार्मिङ ?
ग्लोबल वार्मिङ एक यस्तो अवस्था हो जसमा पृथ्वीको सतहको तापक्रम निरन्तर बढ्दै जान्छ । यसका मुख्य कारणहरूमा औद्योगिकीकरण, हरितगृह, ग्यासको उत्सर्जन, वन विनाश र इन्धनको अत्यधिक प्रयोग रहेका छन् । यसले जलवायु परिवर्तनलाई तीव्र बनाउँदै पृथ्वीको प्राकृतिक सन्तुलनमा गम्भीर असर पुर्याइरहेको पाइएको छ । वैज्ञानिक अनुसन्धानअनुसार पृथ्वीको तापमान औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढिरहेको छ, जसले जलवायु परिवर्तनलाई थप गति दिएको छ ।
यस्तै ग्लोबल वार्मिङकै कारण चरम मौसमी परिवर्तनहरू देखा परेका छन् । यसका कारण खडेरी, अत्यधिक वर्षा, बाढी, हावाहुरी, हिँउ पग्लिने, समुद्री सहत बढ्नेजस्ता समस्या हुन्छन् । यी समस्या हामीले प्रत्यक्ष देखेका र भोगेका पनि छौँ ।

हरेक एक लाखमा ४५ जनाको मृत्यु
जर्मनीको अनलाइन तथ्याङ्क तथा डाटा विश्लेषण गर्ने संस्था स्टाटिस्टाको पछिल्लो अध्ययनअनुसार सन् २०९९ सम्ममा जलवायु परिवर्तन विश्वभरि मानिसको मृत्युको प्रमुख कारणहरूमध्ये एक बन्न सक्नेछ । यदि सतहको औसत् तापक्रम औद्योगिक क्रान्ति सुरु हुनुअघिको तापक्रमभन्दा ३.५ डिग्री सेल्सियसले बढेको अवस्थामा वर्षमा जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा प्रति एक लाख जनसङ्ख्यामा करिब ४५ जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । त्यति मात्र होइन अहिलेको समयमा मुटुरोग र स्ट्रोकका कारण हुने मृत्युको सङ्ख्या त्यो समयमा बढी हुनेछन् । यदि जलवायु परिवर्तनलाई नियन्त्रण गर्न आवश्यक कदमहरू चालिएन भने मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

अरु के–के हुन सक्छ प्रभाव ?
ग्लोबल वार्मिङका कारण पृथ्वीमा गहिरो प्रभाव पार्दैछ । जसले मानव जीवन, वन्यजन्तु र प्रकृतिलाई सङ्कटमा पारिरहेको विज्ञहरू बताउँछन् ।

अत्यधिक तापमान वृद्धिले हृदयघात, डिहाइड्रेसन, र श्वासप्रश्वाससम्बन्धी गर्मी कारण हुने रोग र समस्या बढाउनेछ । खेतीयोग्य जमिनको उत्पादनशीलता घट्ने तथा बाढीर खडेरीले खाद्य सुरक्षामा असर पुर्याउने छ । ग्लेसियर पग्लिएर र पानीका मुहान सुक्दै जाँदा पिउने पानीको अभाव बढ्नेछ । समुद्रीआँधी, बाढी, खडेरी तथा जङ्गलमा आगलागीका घटनाहरू बढ्नेछन् ।

ग्लोबल वार्मिङले वन, हिमाली क्षेत्र, मरुभूमिसँगै समुद्रको अवस्थालाई परिवर्तन गरिरहेको छ, जसले जीवजन्तुको बासस्थान बिस्तारै नष्ट गर्नेछ । तापमान वृद्धिका कारण कतिपय प्रजाति अनुकूल हुन नसकी लोप हुने सम्भावना बढ्नेछन् । कार्बन डाइअक्साइडको वृद्धिले समुद्रको अम्लीयता बढाउँछ, जसले माछा तथा अन्य समुद्री जीवहरूको जीवनलाई असर गर्नेछ ।

ग्लोबल वार्मिङका कारण धेरै मानिस आफ्नो बासस्थान छोड्न बाध्य हुनेछन् । समुद्री सतह बढ्दै जानु, खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउनु र प्राकृतिक प्रकोपहरूको संख्यामा वृद्धि हुनु यसका मुख्य लक्षण भएको विज्ञहरू बताउँछन् ।

नेपालमा कस्तो असर ?
नेपाल पनि ग्लोबल वार्मिङको प्रभावबाट अछुतो छैन । केही वर्षयता नेपालले पनि ग्लोवल वार्मिङका कारण धेरै समस्याको सामना गर्नु परेको छ । हुन सक्छ हामीलाई ग्लोबल वर्मिङको प्रभाव प्रत्यक्ष रुपमा परिरहेको छैन । तर केही वर्षमा हामी सबै यसको चपेटामा पर्ने विज्ञहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार नेपालजस्तो विकासोन्मुख देशका लागि यसको असर भयावह रुपमा देखिने छ । माघमा चर्को घाम लाग्नु, फागुनमा फुल्नुपर्ने लालीगुराँस माघमै फुल्नु, वर्षायाममा खडेरी हुनु वा अत्यधिक वर्षा हुनु ग्लोबल वार्मिङका केही देखिने उदाहरण हुन् ।

गत असोजमा नेपालमा लगातार तीन दिन परेको अविरल वर्षाका कम्तीमा २४६ जनाले ज्यान गुमाएका थिए । नेपाल प्रहरीको विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा ठूलो क्षति भएको थियो, जहाँ १४५ जनाले ज्यान गुमाउनु परेको थियो । नेपालमा वर्षेनि यस्ता घटना भइरहेका हुन्छन् । यो सबै पनि ग्लोबल वार्मिङको ज्वलन्त उदाहरण हुन् ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार विश्व तापमान वृद्धि भएका कारण विषम् मौसमी घटनाहरू बढिरहेका छन् । ग्लोबल वार्मिङमा नेपालले नगन्य योगदान गर्दागर्दै पनि मौसमी चक्रमा आएको परिवर्तनले कृषि, विपद्का घटना बढ्नेदेखि लिएर उर्जामासमेत असर गरेको उनी बताउँछिन् । ‘सबैभन्दा राम्रो त विपद्भन्दा अगाडि नै विपद्को जानकारी दिनु हो, हामीले ग्लोबल वार्मिङलाई कम गर्न सक्दैनौँ, तर यसले पार्ने असरको रोकथामका लागि अर्लि वार्मिङ सिस्टमलाई अपडेट गराउन सक्छौँ,’ उनले भनिन्, ‘विपद् आउनुभन्दा अगाडि त्यो ठाउँबाट आफ्नो जिउधनको सुरक्षा गर्न सकियो भने हाम्रा लागि उपलब्धि हो ।’ ग्लोबल वार्मिङले सबैभन्दा बढी निम्न स्तरका परिवार र फिल्डमा काम गर्ने मजदुरहरूलाई बढी प्रभाव पार्ने उनले उल्लेख गरिन् ।

रोकथामका उपाय
वन संरक्षण र वृक्षारोपण नै ग्लोबल वार्मिङ न्यूनीकरण गर्ने प्रमुख उपाय रहेको विज्ञहरू बताउँछन् । वन विनाश रोक्न तथा वृक्षारोपणलाई प्रवद्र्धन सकेमा यसको असर कम हुने उनीहरूको सुझाव छ ।

डब्लूएचओको अनुमानअनुसार सन् २०३० देखि २०५० को बीचमा जलवायु परिवर्तनका कारण कुपोषण, मलेरिया, झाडापखाला र तापघातजस्ता समस्याबाट हरेक वर्ष थप दुई लाख ५० हजार मानिसको मृत्यु हुनसक्छ । विशेषगरी कमजोर स्वास्थ्य पूर्वाधार भएका विकासशील राष्ट्रहरूका लागि यो ठूलो चुनौती बन्ने देखिएको छ ।

जलवायु परिवर्तनको प्रमुख कारकमध्ये जीवाश्म इन्धनको उत्खनन र जलनबाट निस्कने हरितगृह ग्यास उत्सर्जन रहेको छ । यी ग्यासहरूले वायु प्रदूषणलाई पनि गम्भीर असर पुर्याइरहेका छन् । डल्यूएचओका अनुसार यातायात, खाद्य तथा ऊर्जा प्रयोगका नीतिहरूमा सुधार ल्याउन सकेमा जलवायु परिवर्तनको असर घटाउन सकिन्छ ।
विशेषज्ञहरूका अनुसार प्रदूषित ऊर्जा प्रणालीलाई क्रमशः हटाउने, सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्ने, साइकलको प्रयोग तथा हिँड्डुललाई बढाउनेजस्ता उपायले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register