शोकमा छटपटाइरहेको सविनको परिवार, युट्युबेले अनेक प्रश्न सोधेर दिन्छन् झन् पीडा 

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र र अराजक बन्दै गएपछि अलि पर ब्यारिकेट बनाएर बसेका प्रहरीको हुलबाट गोली चल्छ । र, सो गोली लाग्छ, प्रदर्शनकारीकै हुलमा रहेका रातो ज्याकेट लगाएका एक युवालाई । गोली लागेसँगै उनी तत्कालै भुईँमा ढल्छन् । उनको शरीरबाट रगत बग्न थाल्छ । उनी केहीबेर छटपटाउँछन् । तर, उनलाई […]

Apr 1, 2025 - 09:53
 0
शोकमा छटपटाइरहेको सविनको परिवार, युट्युबेले अनेक प्रश्न सोधेर दिन्छन् झन् पीडा 

काठमाडौं चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र र अराजक बन्दै गएपछि अलि पर ब्यारिकेट बनाएर बसेका प्रहरीको हुलबाट गोली चल्छ । र, सो गोली लाग्छ, प्रदर्शनकारीकै हुलमा रहेका रातो ज्याकेट लगाएका एक युवालाई । गोली लागेसँगै उनी तत्कालै भुईँमा ढल्छन् । उनको शरीरबाट रगत बग्न थाल्छ । उनी केहीबेर छटपटाउँछन् । तर, उनलाई तत्काल अस्पताल लगिँदैन । ती युवा थिए, कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन । 

केही प्रदर्शनकारी झन् उग्र भएर प्रहरीमाथि ढुङ्गा, इँटा बर्साउँछन् । कोही सविनको भिडिओ, फोटो लिन थाल्छन् । एकैछिनमा प्रहरीहरु सविन ढलेको स्थानमा आउँछन् र वरपर घेरा बनाएर बस्छन् ।

एक प्रहरीले सविनको श्वास चेक गर्न नाकसम्म हात लैजान्छन् र फेरि घेरा बनाएर बस्छन् । लामो समय बितिसक्दा पनि  सविनलाई अस्पताल लगिँदैन, न प्रहरीले न उनीसँगै भएका प्रदर्शनकारीले ।

अन्त्यमा उनले त्यही प्राण त्याग्छन् । हुल अझ् अग्र बन्दै सरकारी तथा निजी सम्पत्ति जलाउन थाल्छ ।

यता, बिहानै बाइक लिएर ग्यारेज जान्छु भनेर हिँडेका श्रीमान २ बज्दासम्म पनि नफर्किएपछि भविषा महर्जनले फोन गरिन् । तर, लागेन ।

भविषाका अनुसार सविनले ‘काठमाडौं टू हेटौँडा’ सुमो चलाउँथे । सुमोमा केही समस्या आएकाले सविन बिहीबार ग्यारेजमै गाडी छाडेर घर आएका थिए । र, फेरि बिहान सुमो चेक गर्न उनी बाइक लिएर गएका थिए ।

दुईचार पटकसम्म सम्पर्क गर्न खोज्दा पनि फोन नलागेपछि भविषा आफ्नो दैनिकीमा व्यस्त भइन् । पाँच बजेतिर भविषाले सविनलाई फोन गरिन् । फोन उठ्यो, तर सविनको फोनमा अलि अतासिएको स्वरमा अर्कै अपरिचित पुरुष बोले ।

उनले आफूलाई प्रहरीको रूपमा परिचित गराउँदै भविषालाई भने, “तपाईंको मान्छे टिचिङ हस्पिटलमा गम्भीर अवस्थामा छ, छिट्टो आउनुहोस् ।”

भविषाले केही सोच्न, बुझ्न सकिनन् । सुरुमा त पत्यार पनि लागेन, उनलाई । ग्यारेज गएका श्रीमान कसरी हस्पिटलमा पुगे र गम्भीर अवस्थामा छन्, यी सबै उनका लागि पत्याउनै नसकिने कुरा जस्तै भयो ।

नम्बर चेक गरिन् – सविनकै हो । हत्त न पत्त ८ वर्षीया सानी छोरी च्यापेर उनी महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगिन् । जहाँ उनको आँखाले पत्याउनै नसक्ने दृश्य देख्यो । बिहान ग्यारेज गएका श्रीमान त अस्पतालको शव घरमा मृत अवस्थामा छन् । उनको पोस्टमार्टम गरिएको छ ।

अहिले बोल्न सक्ने अवस्थामा नरहेकी भविषा बेलाबेला रुँदै बेहोस हुन्छिन् । यतिबेला सविनको घर मात्र नभएर कीर्तिपुरस्थित गाम्चा गाउँ पूरै शोकमग्न छ । सविनका परिवार-आफन्त मात्र हैन, छिमेकीका आँखासमेत ओभानो छैन । स्वास्थ्य समस्या भएका सविनका बुवालाई छोरा बितेको खबर सुनाइएको छैन ।

भविषालाई सम्हालिरहेकी एक महिलाले भनिन्, “बुवालाई त झन् हामीले केही भनेका छैनौँ, उहाँको मानसिक समस्या छ, तल्लै घरतिर राखेका छौँ । यहाँ आउन दिएका छैनौँ । हाम्रो घरमा किन धेरै मान्छे आएको भनेर सोध्नुहुन्छ ।”

परिवारका अनुसार सविन घरमा कमाउने एक्लो व्यक्ति थिए । गाडी चलाएर परिवार पालिरहेका थिए । भविषासविनको विवाह गरेको ११ वर्ष भयो, ८ वर्षीया छोरी कक्षा दुईमा पढ्छिन् । सानै उमेरमा बुवाको संरक्षण र माया गुमाउनुको पीडा छोरीको आँखामा पनि प्रष्टै देखिन्छ ।

भविषा अर्धचेत अवस्थामा आफूलाई भेट्न र सान्त्वना दिन आएकालाई कहानी सुनाउँछिन् । आफ्नो दु:ख बाँड्ने प्रयास गर्छिन्, फेरि मुर्छा पर्छिन् ।

भविषाका बुवा छोरीको पीडा देखेर आँसु थाम्न सकिरहेका छैनन् । श्रीमानको वियोगमा विक्षिप्‍त भविषालाई मिडिया हुँ भन्दै आएका व्यक्तिले अन्टसन्ट प्रश्न सोधेर झन् पीडा दिन्छन् । 

भविषाका बुवा भन्छन्, “तिम्रो दुलहाले तिमीलाई कहाँकहाँ घुमाउन लगेको थियो । अब ऊ त छैन् उसको के कुरालाई सम्झिन्छौँ भन्दै प्रश्न गर्छन् । घरभित्र पस्दै मनलाग्दी भिडिओ बनाएर खिचेर लैजान्छन् त्यस्तो नि हुन्छ ? मैले त कतिलाई खेदाइसकेको छु ।”

राम्ररी बोल्न समेत नसकिरहेकी भविषालाई झन् पीडा दिने काम मिडियाले गरेको परिवारको भनाइ छ ।

मलिन स्वरमा भविषा आफ्नो वरपर रहेका महिलालाई भन्छिन्, ‘म के बोल्छु के लाइदिन्छन् । तपाईंको श्रीमानसँगको रमाइलो पल सम्झनु न भन्छन्, हामीलाई न्याय दिन भन्दा पनि भ्युजकै लागि मलाई बोल्न लगाइरहेका छन् जस्तो लाग्छ ।’

उनकाअनुसार यति बेला सविनले ‘मर्नुभन्दा तीन मिनेट अगाडि श्रीमतीलाई फोन गरेका थिए, बिहानै घरबाट निस्कँदा म अब फर्किन्न भनेका थिए, भविषाले सरकारसँग क्षतिपूर्तिका लागि ५० लाख मागिन्’ लगायतका हुँदै नभएको र भन्दै नभनेका कुरा युट्युबमा आइरहेका छन् ।

सविनको घरमा यति बेला भीडभाड छ । उनका परिवारलाई भेट्ने र सम्झाउनेको लर्को छ । भविषा कोठाभित्र छिन् । उनलाई भेट्नेहरू सोझै उनको कोठाभित्र पस्छन् । परिवारसँग भेटेर सान्त्वना दिनेको भीडले घर घेरिन्छ ।

नेता, जनप्रतिनिधि, सङ्घ सङ्घठनका मानिस, पार्टीका व्यक्तिहरू दिनहुँ आउने गर्छन् । ‘उहाँहरू आएर यस्तो गर्छौँ, उस्तो गर्छौँ, अब यस्तो गर्नुपर्छ सरकारलाई यसरी दबाब दिनुपर्छ त्यसका लागि हाम्रो पार्टी तपाईंहरूको साथमा छ भन्दै जानुहुन्छ ।’ भविषाका बुबा सुनाउँछन् ।

सविनकी हजुरआमा यतिबेला अस्पतालमा छिन् । नातिको अप्रिय खबर खप्न नसकेर उनी बेहोस भएपछि अस्पताल लगिएको हो । भविषालाई पनि सलाइन पानी चढाएर ल्याएको उनकी बहिनीले बताइन् ।

सविनको शव पाँच दिनदेखि टिचिङ अस्पतालमा छ । परिवारले सविनलाई सरकारले नै मारेकाले शहीद घोषणा गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।

सरकारी पक्षबाट यस विषयमा खासै चासो दिइएको पाइँदैन । भविषा सरकारले हाम्रो घरको मूल खम्बा खोसेकाले परिवारलाई बाँच्ने आधार दिनुपर्ने बताउँछिन् । 

नेपाल सरकारकै संयन्त्रबाट मृत्यु भएका सविनको शवमाथि कतै राजनीति पो हुन्छ की भनेर डराएका छन्, परिवारका सदस्य ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register