बेलायत–नेपाल व्यापार एवं लगानीलाई बढावा दिन दूतावासमा बीएनसीसी इभेन्ट

लन्डन— ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले लन्डनस्थित नेपाली दूतावासमा एक जमघट गरेको छ । उक्त समर सोइरीमा संयुक्त अधिराज्य (यूके) र नेपाल दुवै देशका राजदूत, व्यापारिक नेताहरु र लगानीकर्ता सहभागी थिए । उक्त इभेन्टमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार र सुदृढ पार्न महत्वपूर्ण छलफल भयो । सो कार्यक्रम नेपाल–यूके टेक फोरम २०२५ को पूर्वसन्ध्यामा […]

Jul 5, 2025 - 09:57
 0
बेलायत–नेपाल व्यापार एवं लगानीलाई बढावा दिन दूतावासमा बीएनसीसी इभेन्ट

लन्डन— ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले लन्डनस्थित नेपाली दूतावासमा एक जमघट गरेको छ ।

उक्त समर सोइरीमा संयुक्त अधिराज्य (यूके) र नेपाल दुवै देशका राजदूत, व्यापारिक नेताहरु र लगानीकर्ता सहभागी थिए । उक्त इभेन्टमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार र सुदृढ पार्न महत्वपूर्ण छलफल भयो ।

सो कार्यक्रम नेपाल–यूके टेक फोरम २०२५ को पूर्वसन्ध्यामा गरिएको थियो जुन नेपाली दूतावासले प्रविधि क्षेत्रमा डिजिटल नवप्रवर्तन, लगानी र सीमापार सहकार्य प्रवर्धन गर्न आयोजना गरेको एक प्रमुख द्विपक्षीय पहल हो ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेन, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, आईएमई समूहका सह–संस्थापक प्रवन्ध निर्देशक हेम राज ढकाल, बीएनसीसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ बक्ले लगायत हाइप्रोफाइल व्यक्तित्वहरुको उपस्थिति थियो ।

आफ्नो सम्बोधनका क्रममा बेलायती राजदूत फेनले विभिन्न सहायता योजनामार्फत नेपालको विकासप्रति बेलायत सरकारको निरन्तर प्रतिवद्धता पुनः दोहोरयाए ।

उनले दोहोरो कर उन्मुक्ति सम्झौता अन्तिम चरणमा रहेको र आफ्नै कार्यकालमा यसले अन्तिम रूप पाउने आशा व्यक्त गरे । नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय आएको पनि फेनले बताए ।

राजदूत चन्द्र कुमार घिमिरेले नेपाल र बेलायतबीचको २१० वर्ष बढीको कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै द्विपक्षीय व्यापार सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । राजदूत घिमिरेले बेलायत–नेपाल व्यापार एवं लगानीलाई बढावा दिन बीएनसीसीले गरेको पहलप्रति आभार समेत व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन, जलविद्युत, ऊर्जा, प्रविधि, डेटा सेन्टर र साइबर सुरक्षा जस्ता क्षेत्रमा नेपालको विशाल लगानी सम्भावनालाई प्रकाश पार्दै विदेशी लगानीलाई सहजीकरण र स्थिर व्यावसायिक वातावरण सिर्जना गर्ने महासंघको भूमिका प्रष्टयाए ।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको वर्तमान ढाँचा र विदेशी लगानीकर्तालाई सहयोग गर्ने भूमिका प्रकाश गरे। उनले नेपालको बढ्दो अर्थतन्त्रमा लगानी गर्न खोज्नेहरुका लागि उपलब्ध सुव्यवस्थित प्रक्रिया र संस्थागत सहयोगको रूपरेखा समेत प्रस्तुत गरेका थिए ।

बीएनसीसी अध्यक्ष तथा बेलायतका एक सफल उद्यमी डा. कपिल रिजालले सबै सहभागीलाई धन्यवाद दिंदै द्विपक्षीय व्यापार र लगानी प्रवर्धन एवं बेलायत नेपालबीच व्यवसायिक सम्बन्धको सहजकर्ताका रुपमा संघको भूमिकामा जोड दिए ।

‘बीएनसीसी चेम्बर मात्र होइन यो एउटा पुल हो’, डा. रिजालले भने ‘हामी लगानीकर्ताहरुलाई अवसर पहिल्याउन, सही साझेदारहरुसँग जोडिन र दुवै देशमा व्यापार परिदृश्य बुझ्न मद्दत गर्छौं।’ संस्थाले सेमिनार, व्यापार प्रतिनिधिमण्डल र यस्तै नेटवर्किङ कार्यक्रममार्फत प्लेटफर्म सिर्जना गर्ने पनि बताए ।

बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले सञ्चालन गरेको उक्त समारोहमा सदस्य कृष्ण भट्टले संस्कृतमा मन्त्रोच्चारण गरेका थिए । उपाध्यक्ष तथा कोषाध्यक्ष इन्द्र गिरीको नेतृत्वमा ‘लोयल टोस्ट’ गरिएको थियो । सो अवसरमा बीएनसीसीले व्यवसायीहरु वीपी खनाल र सुमन श्रेष्ठलाई संस्थाको ‘एक्रिडिटेसन’ पनि प्रदान गरेको छ भने विभिन्न प्रश्नोत्तर समेत भएको थियो ।

उक्त साँझ भएको नेटवर्किङ अवसरले आपसी मित्रता र सहयोगको भावनालाई अझ सुदृढ पारेको सहभागीको प्रतिक्रिया थियो । उक्त डिनरमा ‘एभरेष्ट इन’ रेष्टुरेन्टको स्वादिष्ट खानालाई सबैले तारिफ गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register