प्रेन्सा रेग्मीले औँल्याइन् संविधान संशोधनको बुँदा

काठमाडौं । संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने […]

Apr 4, 2025 - 11:52
 0
प्रेन्सा रेग्मीले औँल्याइन् संविधान संशोधनको बुँदा

काठमाडौं । संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् ।

कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

“संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाका ‘अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा ७ बमोजिम पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ’ भनी उल्लेख गरिएकामा सो उपधारामा त्यसबमोजिमको व्यवस्था नरहेकाले सच्याउन आवश्यक छ”, पत्रकार सम्मेलनमा उनले भनिन् ।

उपधारा ७ मा अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । सो धाराको उपधारा ९ र ७ मा भएको व्यवस्था एकार्कासँग मेल नखाएको रेग्मीको दाबी छ । त्यस्तै संविधानको धारा १०२ मा उल्लेखित ‘अनधिकार उपस्थित भएमा वा मतदान गरेमा’ भन्ने व्यवस्था पनि अस्पष्ट रहेको उनको जिकिर छ ।

राउटे बालबालिकालाई शिक्षाको अधिकार खोइ ?

छात्रा रेग्मीले राउटे समुदायको बालबालिकामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्नसमेत माग गरेकी छिन् । संविधानमा शिक्षा र बालबालिकासम्बन्धी मौलिक हक भए पनि राउटे समुदायका बालबालिका उक्त अधिकारबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै शिक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

“संविधानको धारा १३३ को उपधारा २ बमोजिम तत्काल कानुन बनाएर राउटे समुदायको बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न सम्बन्धित स्थानीय सरकारलाई परामादेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको छु”,उनले भनिन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register