प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न राजदूत पौड्यालले गरे आग्रह

अटवा- क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली बोल्न र लेख्न सिकाउनु निकै महत्वपूर्ण भएको बताएका छन्। शनिबार अटवास्थित नेपाली पाठशालाबाट यो शैक्षिक सत्रको पढाइ पुरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै राजदूत पौड्यालले नेपाली भाषा जगेर्ना गरेर मात्रै नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न सकिने बताए।  उनले क्यानडामा नेपाली भाषा […]

Jun 15, 2025 - 09:25
 0
प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न राजदूत पौड्यालले गरे आग्रह

अटवा- क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली बोल्न र लेख्न सिकाउनु निकै महत्वपूर्ण भएको बताएका छन्।

शनिबार अटवास्थित नेपाली पाठशालाबाट यो शैक्षिक सत्रको पढाइ पुरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै राजदूत पौड्यालले नेपाली भाषा जगेर्ना गरेर मात्रै नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न सकिने बताए। 

उनले क्यानडामा नेपाली भाषा र संस्कृतिको प्रबर्द्धन गर्न नेप्लिज क्यानडा एसोसियसन अफ अटवा (एनसीएओ) र नेपाली हेरिटे सेन्टर अटवाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे।

उनले नेपाली पाठशालाका शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिंदै नेपाली कक्षालाई निरन्तरता दिन आग्रह गरे।  

राजदूत पौड्यालले नेपाली पाठशालालाई नेपाली दूतावासको तर्फबाट पूर्ण सहयोग गर्ने वाचा पनि गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली हेरिटेज सेन्टर अटवाका ट्रष्टी डा अजय बिष्टले सेन्टरले नेपाली संस्कृति, चाडपर्व र खानाको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिए। उनले ‘आफ्नै थलो, हुन्छ हाम्रो भलो’ भन्ने नारा सहित सन् २०२७ भित्र सेन्टरको आफ्नै भवन बनाउन अभियान संचालन गररिरहेको पनि जनाए। 

उनले सेन्टर एनसीएओको अभिन्न अंग रहेको बताउंदै आफ्नै भवन भए पछि नेपाली कक्षा पनि त्यहींबाट संचालन गर्ने योजना सुनाए।


अभिभावकहरुको तर्फबाट बोल्दै एनआरएनए क्यानडाका उपाध्यक्ष दिपक सापकोटाले आफू एटलान्टिक प्रोभिन्सबाट अटवा आएपछि नेपाली भाषा र संस्कृतिको प्रवर्धन गर्न यहाँका संस्थाहरु निकै सक्रिय भएको पाएको बताए। उनले बालबालिकालाई घरमै नेपाली बोल्ने वातावरण बनाउन सबै अभिभावकहरुलाई आग्रह पनि गरे।

आफ्नो स्वागत मन्तव्यमा एनसीएओका एडमिन मोहन बस्नेतले स्थानीय डि रोय केनेडी पब्लिक स्कुलमा हरेक वर्ष सेप्टेम्बरदेखि जुन महिनासम्म दुई समूहमा गरी नेपाली कक्षा संचालन भइरहेको र झन्डै ६० जना बालबालिकाले नेपाली लेख्न, पढ्न र बोल्न सिकिरहेको बताए। 

उनले नेपाली समुदायको आफ्नै सक्रियतामा सन् २००२ देखि नेपाली पाठशाला शुरु गरिएकोमा अहिले अन्टेरियोको प्रान्तीय सरकारले पनि आर्थिक सहयोग गरिरहेको जनाए।

उनले पाठशालाले अभिभावकहरुबीच भेटघाट र सरसल्लाह गर्ने अवसर जुराइदिएको पनि स्मरण गरे।    

कार्यक्रममा गएको नौ वर्षदेखि नेपाली पाठशालामा पढिरहेकी आद्या गौतम, आयाम पराजुली र पूर्व विद्यार्थी मानुष बस्नेतले आफ्नो मन्तव्य दिएका थिए। उनीहरुले नेपाली लेख्न र बोल्न सिक्दा आफूहरुलाई धेरै फाइदा भएको बताउंदै आफ्ना छोराछोरीलाई नेपाली सिकाउन सबै अभिभावकलाई आग्रह पनि गरे।  

बालबालिकाहरुले नेपाल र क्यानडाको राष्ट्रिय गानका साथै ‘फूलको आँखामा फूलै संसार’ गीत गाएर सुनाएका थिए। कार्यक्रममा नेपाल सम्बन्धी विभिन्न प्रश्नहरुसहित हाजिरी जवाफ प्रतियोगिता पनि संचालन गरिएको थियो।

राजदूत पौड्यालले ग्रयाजुएशन गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र दिनुका साथै शिक्षक राजु गौतम तथा शिक्षिकाहरु तारा वाग्ले र बिनु बानियाँलाई उपहार पनि प्रदान गरे।  कार्यक्रम संचालन एनसीएओकी इभेन्ट कोअर्डिनेटर इशा भट्टराईले गरेकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register