डुब्दो भारतीय ‘कम्युनिष्ट नौका’का नयाँ नाविक : गर्लान् कुनै चमत्कार ?

भारतीय राजनीति निरन्तर थप प्रतिस्पर्धी हुँदै गएको छ । सन् २०१४ मा भारतीय जनता पार्टीको उदयपछि वामपन्थी पार्टी, आन्दोलन र विचारमाथि थप दबाब परेको छ । पूर्व कम्युनिष्ट शासित प्रदेश पश्चिम बङ्गाल र त्रिपुरामा भाजपाले बलियो उपस्थिति जनाइसकेको छ ।

Apr 7, 2025 - 11:41
 0
डुब्दो भारतीय ‘कम्युनिष्ट नौका’का नयाँ नाविक : गर्लान् कुनै चमत्कार ?

काठमाडौं केही निर्वाचन यता निरन्तर कमजोर हुँदै गएको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआईएम) ले नयाँ महासचिव छनोट गरेको छ– एमए बेबी । भारतीय स्वतन्त्रतापछिको पहिलो आम निर्वाचनमै भारतीय कम्युनिष्ट पार्टी १६ सिटसहित दोस्रो ठूलो दल बनेको थियो ।

त्यसको ८२ वर्षपछि सन् २०२४ मा भएको पछिल्लो लोकसभा निर्वाचनमा सबै कम्युनिष्ट समूहको जम्मा ९ सिट छ । भारतीय लोकसभामा अहिले ४ वटा कम्युनिष्ट समूहले प्रतिनिधित्व गरेका छन् । सीपीआईएम, सीपीआई, सीपीआईएमएल–लिवरेशन र आरएसपी । यिमध्ये सबैभन्दा ठूलो घटक हो– सीपीआईएम, जसको लोकसभामा ४ सिट छ ।

यो त्यही पार्टी हो जसले पश्चिम बङ्गालमा ३४ वर्ष र त्रिपुरामा २६ वर्ष लामो शासन गरेको थियो । सन् २०१२ पछि यी दुवै प्रदेशमा मार्क्सवादी कम्युनिष्ट पार्टीले निराशाजनक ओरालो यात्राको समाना गर्नु परेको छ । यो पार्टी केरलामा भने अहिले पनि सत्तामा छ । पार्टीका पोलिटब्युरो सदस्य पिनाराई विजयन सन् २०१६ यता निरन्तर केरलाको मुख्यमन्त्री छन् ।

कम्युनिष्ट समूह कुनै बेला भारतीय लोकसभामा ६८ सिटसम्म पुगेका थिए । सन् २००४–२०१४ बीचको डा. मनमोहन सिंह नेतृत्वको यूपिए गठबन्धनको अवधिमा कम्युनिष्ट समूहको राज्यसत्तामा बलियो दबाब रहन्थ्यो ।

सन् १९९६ मा पार्टी नेता ज्योति बसुले गठबन्धन दलबाट प्रधानमन्त्री पदको प्रस्ताव पाएका थिए । तर, पार्टी पोलिटब्युरोले बसुलाई प्रधानमन्त्री बन्नबाट रोकेको थियो ।

भारतमा कम्युनिष्ट पार्टी स्थापना भएको शताब्दीभन्दा बढी भयो । चिनियाँ कम्युनिष्ट पार्टी भन्दा अघि सन् १९१९ मा भारतीय कम्युनिष्ट पार्टी (तासकन्द समूह) बनेको थियो । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा बनेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी सन् १९४९ यता ७५ वर्षदेखि निरन्तर सत्तामा छ । यहाँसम्मकी धेरैपछि सन् १९४९ मा गठन भएको नेपालको कम्युनिष्ट पार्टीले नै ६ जना प्रधानमन्त्री बनाइसकेको छ । तर, भारतीय कम्युनिष्ट पार्टीले शताब्दी लामो राजनीतिक सङ्घर्षमा त्यस्तो अवसर सृजना गर्न सकेको छैन ।

सीपीआईएम सन् १९६४ मा सीपीआईबाट विभाजित समूह र दशकौंदेखि देशको सबैभन्दा ठूलो कम्युनिष्ट घटक हो । सन् १९६४ को विभाजन यता यो पार्टीका ५ महासचिव भइसकेका थिए-पी. सुन्दरैया, इएमएस नम्बुदरीपाद, हरकिशन सिंह सुरजित, प्रकाश करात र सीताराम यचुरी ।

पदमा रहँदै सन् २०२४ सेप्टेम्बर १२ मा सीताराम यचुरीको निधन भयो । यचुरीको निधनपछि यो पद रिक्त थियो । पूर्वमहासचिव प्रकाश करातले तदर्थ संयोजकको भूमिका गर्दै आएका थिए ।

आइतबार सम्पन्न पार्टीको २४ औं महाधिवेशनले एमए बेबीलाई पार्टीको छैटौँ महासचिव छनोट गरेको हो । सन् १९५४ मा केरलाको कोलाममा जन्मिएका बेबी ६७ वर्षका छन् ।

२४ औं महाधिवेशन तमिलनाडु राज्यको मदुराइमा भएको थियो । यसले बेबीसहितको १८ सदस्यीय पोलिटब्युरो समेत निर्वाचित गरेको छ । पोलिटब्युरो सदस्यमा केरलाका मुख्यमन्त्री पिनारयी विजयन दोहोरिएका छन् । ७५ वर्षपछि सक्रिय पार्टी राजनीतिबाट बिदा लिने प्रचलनका बाबजुद विजयनलाई पार्टीले मुख्यमन्त्री र पोलिटब्युरोको बाँकी कार्यकाल पुरा गर्ने अनुमति दिएको छ । विजयन ७९ वर्षका भइसकेका छन् ।

पश्चिम बङ्गाल, केरला र त्रिपुरा राज्य सरकारको नेतृत्व गरेको अवधिमा यो पार्टी निक्कै बलियो थियो । लोकसभामा पनि उल्लेखनीय सङ्ख्या जित्ने गर्दथ्यो । पार्टीले सरकारको नेतृत्व गर्ने अवसर अहिले केरलामा मात्र सीमित भएको छ । तर, राज्य सरकारको नेतृत्व गरेको अवस्थामा पनि गत आम निर्वाचनमा पार्टीले केरलाबाट २० मध्ये १ सिटमा मात्र जित हात पार्न सक्यो । अहिले महासचिव निर्वाचित भएका बेबी पनि लोकसभा निर्वाचनमा केरलाबाटै पराजित भएका थिए ।

सिङ्गो देशमा जस्तै केरलामा पार्टीको राजनीतिक भविष्यलाई लिएर चिन्ता उत्पन्न भइरहेको छ । यस्तो बेला बेबी नयाँ पार्टी नेता बनेका छन् । बेबीले पार्टीको भविष्य पुनर्स्थापित गर्न कुनै चमत्कार गर्लान् भन्ने विश्वास कमैमा छ ।

इएमएस नम्बुदरीपादहरकिशन सिंह सुरजितले पार्टीको सर्वाधिक सफल अवधिको नेतृत्व गरेका थिए । यस अवधिमा पश्चिम बङ्गालमा ज्योति बसु र त्रिपुरामा मानिक सरकार लोकप्रिय मुख्यमन्त्री थिए । प्रकाश करातको नेतृत्वकालमा पार्टी कमजोर हुन थालेको थियो ।

सीताराम यचुरी एक लोकप्रिय नेता थिए । तर, उनको नेतृत्वकालमा पनि पार्टीको पुनरोदय हुन सकेन । अब त्यो जिम्मेवारी बेबीको काँधमा आएको छ । बेबी कलेज जीवनदेखि कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनमा सक्रिय थिए । यसका साथै उनले युवा सङ्गठनका लागि समेत काम गरे ।

उनी १९८६–९८ बीच राज्यसभा र सन् २००६–२०१६ बीच केरला विधानसभा सदस्य निर्वाचित भएका थिए । उनले केरला सरकारको शिक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका छन् । बेबी सन २०१२ देखि पार्टी पोलिटब्युरो सदस्य रहँदै आएका थिए ।

अखिल भारतीय किसान सभाका अध्यक्ष तथा पार्टी पोलिटब्युरो सदस्य अशोक धवाले उनका मुख्य प्रतिस्पर्धी मानिएका थिए । तर, पार्टी पोलिटब्युरोका अत्यधिक सदस्यले एमए बेबीलाई महासचिव चुने ।

कम्युनिष्ट पार्टी र परम्परामा महासचिव सर्वाधिक शक्तिशाली पद मानिन्छ । नेपालका कम्युनिष्ट समूहले अध्यक्षात्मक प्रणाली अवलम्बन गर्नुअघि महासचिव प्रणाली नै थियो । रुसी कम्युनिष्ट पार्टीमा लेनिनको पालादेखि स्थापित यो प्रचलन भारतीय कम्युनिष्ट पार्टीमा यद्यपि कायमै छ । कम्युनिष्ट पार्टीमा एकातिर सामूहिक नेतृत्वको सिद्धान्त हुन्छ, अर्कोतिर महासचिव वा मूल नेतालाई विचार, सङ्गठन र आन्दोलनको प्राधिकार मानिन्छ ।

पश्चिम बङ्गालमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले गुमाएको राजनीतिक प्रभावको चर्चा यदाकदा नेपालमा पनि हुने गर्छ । नेपालमा पनि कम्युनिष्ट पार्टीहरूको हालत कुनै दिन पश्चिम बङ्गालको जस्तो हुने त हैन भन्ने प्रश्न उठ्ने गर्छ । पश्चिम बङ्गाल विश्व कम्युनिष्ट आन्दोलनका लागि एक खराब उदाहरण बन्न पुगेको छ ।

भारतीय कम्युनिष्ट आन्दोलनको अवनतिबारे अनेक विश्लेषण हुँदै आएका छन् । सोभियत सङ्घ र पूर्वी युरोपको पतनले सृजना गरेको नकारात्मक आम मनोविज्ञान चिर्न नसक्नु, शास्त्रीय चिन्तन र कार्यशैलीको आधिक्यता, कम्युनिष्ट शासित प्रदेश आर्थिक विकासमा अन्यभन्दा पछि पर्नु, वर्णवादी र विविधतायुक्त समाजमा वर्गवादी राजनीतिको एकाङ्कीपन, युवापुस्तामा नेतृत्व हस्तान्तरण नहुनु जस्ता मुख्य कमजोरीका कारण यो पार्टी ओरालो लागेको मानिन्छ ।

अर्कोतिर भारतीय राजनीति निरन्तर थप प्रतिस्पर्धी हुँदै गएको छ । सन् २०१४ मा भारतीय जनता पार्टीको उदयपछि वामपन्थी पार्टी, आन्दोलन र विचारमाथि थप दबाब परेको छ । पूर्व कम्युनिष्ट शासित प्रदेश पश्चिम बङ्गाल र त्रिपुरामा भाजपाले बलियो उपस्थिति जनाइसकेको छ ।

केरलामा समेत भाजपाले गत आम निर्वाचनमा इतिहासमै पहिलो जित हासिल गरेको थियो । थ्रिसुर निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार तथा सिने कलाकार सुरेश गोपी निर्वाचित भएका छन् । यसअघि केरलामा काङ्ग्रेस र कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो ।

बेबी केरलाबाट पार्टीको सर्वोच्च नेतृत्व हासिल गर्ने तेस्रो नेता हुन् । यस अघिका इएमएस नम्बुदरीपाद र प्रकाश करात केरलाका थिए । बेबीले आफ्नो नेतृत्वकालमा पार्टीको प्रतिष्ठा र प्रभाव जोगाउलान्, पुनर्स्थापित गर्लान् वा अझ अवनतितिर लैजालान् ? सायद उनको राजनीतिक उचाइ र भविष्य पनि यही प्रश्नले निर्धारित गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register