सांसद र मन्त्रीप्रति असन्तुष्टि जनाउँदै ओलीको निर्देशन : संसदीय गतिविधिलाई महत्व दिनू

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद र मन्त्रीहरूले संसदीय गतिविधिलाई महत्व नदिएको भन्दै असन्तुष्टि पोखेका छन् । एमाले संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै उनले सांसद र मन्त्रीहरूप्रति असन्तुष्टि पोखेका हुन् । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा […]

Jun 2, 2025 - 10:26
 0
सांसद र मन्त्रीप्रति असन्तुष्टि जनाउँदै ओलीको निर्देशन : संसदीय गतिविधिलाई महत्व दिनू

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद र मन्त्रीहरूले संसदीय गतिविधिलाई महत्व नदिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

एमाले संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै उनले सांसद र मन्त्रीहरूप्रति असन्तुष्टि पोखेका हुन् ।

खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए ।

उनले सांसदहरूको भूमिका प्रभावकारी नभएको भन्दै बजेटमाथि छलफलमा हमला हुने भएकाले बुँदागत रुपमा दमदार तर्क राख्न निर्देशन दिएका हुन् ।
सो अवसरमा उनले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए ।

‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । मंगलबारदेखि सदन चल्छ ।’

उनले मंगलबारदेखि नियमित संसद् चलाउँ भनेर आफूले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजे तर उनी जानीजानी सम्पर्कमा नआएको बताए ।
‘मंगलबारदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन् बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद् यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन,’ उनले थपे ।

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यसता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरूले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै होइन भने ।

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ,’ उनले थपे, ‘समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए । ‘सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ, जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ,’ उनले थपे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register