इरान युद्धबाट के प्राप्त गर्न चाहन्छ इजरायल ?

काठमाडौं । जुन १३ बाट भड्किएको इरान–इजरायल आक्रमण–प्रतिआक्रमणले अब ‘समग्र युद्ध’ को रूप लिएको छ । पाँचौँ दिन यो विश्लेषण तयार गर्दासम्म युद्ध झनै चर्किने सम्भावना छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच पनि छिट्टै युद्धविराम गराउन सफल हुने आशा व्यक्त गरेका छन् । तर, त्यसको आधारभूत सर्त इरानले आणविक हतियार कार्यक्रम स्थगन […]

Jun 17, 2025 - 08:46
 0
इरान युद्धबाट के प्राप्त गर्न चाहन्छ इजरायल ?

काठमाडौं । जुन १३ बाट भड्किएको इरान–इजरायल आक्रमण–प्रतिआक्रमणले अब ‘समग्र युद्ध’ को रूप लिएको छ । पाँचौँ दिन यो विश्लेषण तयार गर्दासम्म युद्ध झनै चर्किने सम्भावना छ ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच पनि छिट्टै युद्धविराम गराउन सफल हुने आशा व्यक्त गरेका छन् । तर, त्यसको आधारभूत सर्त इरानले आणविक हतियार कार्यक्रम स्थगन गर्नुपर्ने भनेका छन् । जुन सहज छैन । उता ट्रम्प तेहरान मामिलाको जटिलताकै कारण जी–७ शिखर सम्मेलनबाट हतार गरेर क्यानडाबाट निस्किएका छन् ।

वर्षौं लामो युक्रेन र गाजा युद्ध व्यहोरिरहेको र भर्खरै भारत–पाकिस्तानबीच छोटो युद्धको व्यापक क्षति देखेको विश्व मानव समुदायका लागि मध्यपूर्वमा चर्किन थालेको नयाँ युद्ध थप चिन्ताको विषय बनेको छ । यद्यपि, यो युद्धको पृष्ठभूमि भने नयाँ होइन ।

इरानले आणविक हतियार बनाउन लागेको आरोप इजरायलले लगाए पनि युद्धको वास्तविक कारण यति मात्रै होइन । इरानको आणविक हतियार कार्यक्रम वर्षौंदेखि चलिरहेको थियो । कम्तीमा सन् २००९ यता इरान यस कार्यमा लागेको छ । इरानले यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय दबाबको कारण खुलेर बताएको छैन, तर अस्वीकार पनि कहिल्यै गरेको छैन ।

यस विषयमा अन्तर्राष्ट्रिय चासो मुख्यतः अमेरिका, संयुक्त राष्ट्र संघ र आणविक हतियार निशस्त्रीकरण तथा कटौती सम्झौतासँग सम्बद्ध निकायको हुने गर्दथ्यो । इरानी भनाइमा उसको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीकै निगरानीमा थियो ।

अहिले इजरायल एक कदम अघि बढेर यो सवाललाई चर्काइरहेको छ । यसैलाई इरानी आणविक हतियार कार्यक्रमलाई युद्धको मुख्य कारण सिद्ध गर्न खोज्दै छ ।

यसबाट इजरायल युद्धको वास्तविक मनसायलाई विश्व समुदायसामु फरक तरिकाले पुष्टि गर्न खोज्दै छ भन्ने प्रष्ट हुन्छ । इरानमाथि आक्रमण गर्नुको मुख्य उद्देश्य भने इजरायल विरोधी ‘तेहरान धुरी’ लाई ध्वस्त वा कमजोर पार्नु हो ।

यो क्रमको सुरुवात सन् २०२४ अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसस्थित इरानी कन्सुलर कार्यालय भवनमा आक्रमण गर्दा नै भइसकेका थियो । त्यो आक्रमणमा केही इरानी कुटनीतिज्ञ तथा अधिकारी मारिएका थिए ।

बदलामा इरानले सन् २०२४ को अक्टोबरमा इजरायलमाथि २०० भन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमण गर्‍यो । त्यसअघि सोही वर्षको अप्रिल १३ मा इरानले ‘समर्थक–शक्तिसमूह’ लाई समेत संलग्न गराई इजरायलमाथि व्यापक हमाल गरेको थियो । तिनले ब्यालेस्टिक र क्रुज दुवै प्रकारका क्षेप्यास्त्र प्रहार गरेका थिए ।

जुन १३ मा इरानमाथि इजरायली आक्रमणले सन् २०२३ अक्टोबार ७ मा सुरु भएको गाजा युद्धयता मध्यपूर्वको शक्ति सन्तुलनमा उल्लेखनीय फेरबदल आएको संकेत गरेको छ । यो गाजा युद्धयताको इजरायली सैन्य अभियानको निर्णायक कदम साबित हुन सक्ने देखिन्छ ।

यसलाई बुझ्न यसको पृष्ठभूमिमा जान आवश्यक छ ।

इस्लामिक’ र ‘जियोनिष्ट’ बीच अस्तित्वको दीर्घकालीन संघर्ष

इजरायली राज्यको स्थापना आफैँमा एक त्यस्तो ऐतिहासिक परिघटना थियो, जसले मध्यपूर्वको शक्ति सन्तुलनलाई प्रभावित गर्ने मात्र होइन, सधैँ नाजुक बनाइरहन्थ्यो । इस्लामिक अरब जगतले इजरायलको अस्तित्वलाई भित्रैदेखि कहिल्यै स्वीकार गरेको छैन ।

दोस्रो विश्वयुद्धपछि पूर्वअटोमान साम्राज्यको भूभागबाट निश्चित हिस्सा लिई यहुदी राज्य इजरायल स्थापना गर्ने संयुक्त राष्ट्र संघको निर्णयलाई इस्लामिक अरब जगतले पश्चिमाहरूले आफ्नो क्षेत्रमा जबरजस्त थोपरेको एक समस्याका रूपमा लिए ।

भलै यहुदीहरूको आँखाबाट यसको कथा भिन्नै र दर्दनाक छ । यहुदी विश्व इतिहासमा सर्वाधिक पीडा, अपमान, युद्ध विभिषिका र दमन भोगेको अल्पसंख्यक समुदाय मानिन्छ ।

संसारभरि छरिएका यहुदीका लागि भिन्नै राज्य स्थापनाको माग गर्ने ‘जियोनिष्ट आन्दोलन’ १९औँ शताब्दीमै बलशाली हुन थालेको थियो । पहिलो विश्वयुद्धपछि सन् १९१७ को वालफोर घोषणाले यसलाई स्वीकार गरे पनि इजरायलको स्थापना त्यसको ३१ वर्षपछि सन् १९४८ को मे १४ मा मात्र हुन सक्यो ।

संसारको एक मात्र यहुदी राज्य, त्यो पनि सानो क्षेत्रफलमा स्थापित, तुलनात्मक रूपमा थोरै जनसंख्या तर, विज्ञान, प्रविधि, आर्थिक र सैन्य क्षेत्रमा गरेको चामत्कारिक प्रगतिले न कसैले इजरायलको अस्तित्व मेट्न सक्छन् न सहजै स्वीकार गर्न ।

उता सन् १९७९ को इस्लामिक क्रान्तिबाट स्थापित इरानी सत्ता आफूलाई विश्वभरिका सिया मुस्लिमको इस्लामिक शक्ति केन्द्र मान्दछ । तसर्थ, इरान–इजरायल युद्धको कारण तात्कालीनभन्दा बढी दीर्घकालीन र मनोवैज्ञानिक छ । बाहिरबाट हेर्दा यो दुई आधुनिक राष्ट्रिय–राज्यको युद्धजस्तो देखिए पनि खासमा ‘इस्लामिक’ र ‘जियोनिष्ट’ विचारबीचको अस्तित्वको दीर्घकालीन संघर्ष  शृंखलाको पछिल्लो कडी हो ।

यो युद्धको अन्त्य त्यतिखेर मात्र सम्भव हुन्छ जब दुवैले एकअर्काको अस्तित्वलाई स्वीकार गर्नेछन् । अन्यथा युद्ध लम्बिने, अस्थायी युद्धविराम र अस्थायी शान्ति कायम हुने सम्भावना मात्र बाँकी रहन्छ ।

प्यालेस्टाइनी हमास, लेबनानी हिज्जबुल्लाह, बाथ शासनकालीन सिरिया, यमनी हुथी विद्रोही र केही इराकी इस्लामिक समूह ‘तेहरान केन्द्र’ का मुख्य उपग्रह हुन ।

गाजामा हमास–इजरायल युद्ध चलिरहेकै बेला करिब १३ वर्ष लामो गृहयुद्धपछि सन् २०२४ को डिसेम्बरमा दमास्कासमा बाथ शासनको आन्तरिक पतन भयो । बाथ नेता तथा राष्ट्रपति बसर–अल असद देश छोडेर मस्को भागे । सिरियामा बाथ शासनको अन्त्य मध्यपूर्वमा इरानको शक्ति कमजोर हुनुको एउटा कारण बन्यो । सिरियाको नयाँ शासनले अमेरिकासँग निकटता बढाउँदै लगेको छ ।

अर्कोतिर गाजा युद्धमा इजरायलले हमास र हिज्जबुल्लाहमाथि असीमित क्षति पुर्‍यायो । हमासका ४ शीर्ष नेता इस्माइल हानिया, याह्या सिनवर, मोहम्मद देइफ र मोहम्मद सिनवर यसबीच मारिए ।

गाजा युद्धको विस्तार हुँदै गर्दा लेबनानी इस्लामिक समूह हिज्जबुल्लाह पनि इजरायलमाथि खनिन आयो । सन् २०२४ को सेप्टेम्बर २७ को एक हवाई आक्रमणमा हिज्जबुल्लाह नेता हसन नसरल्लाह मारिए । त्यसपछि हिज्जबुल्लाहले युद्धविरामको बाटो रोज्यो । इरानसँगको सम्बन्ध तोड्न नसके पनि इजरायलप्रति आक्रमक नहुने नीति लियो ।

यी सबै घटनाक्रमले इरानलाई कमजोर र इजरायललाई बलियो बनाउँदै लगे । यमनी हुथी विद्रोही इजरायलसँग सिधै जोडिन आउँदैनथे । सिरियाले भने हिज्जबुल्लाहलाई भित्रभित्रै सहयोग गर्थ्यो  । दमास्कसको पतन र हिज्जबुल्लाहसँग युद्धविरामपछि गाजा युद्धमा हमास एक्लो पर्‍यो । इरानी सहयोगका बाबजुद हमास र हिज्जबुल्लाह इजरायली सैन्य बलसँग टिक्न सकेनन् ।

इरानको हतियार तथा आर्थिक सहयोग बिना यी कुनै पनि समूह वा शक्ति इजरायलसँग भिड्ने ताकत राख्दैनथे । इजरायलले यो कुरा राम्ररी बुझेको थियो ।

यही कारण थियो कि हमास नेता इस्माइल हानियालाई इजरायली सैन्य बलले तेहरानको पाहुना भएको समयमा रहस्यमय ड्रोन आक्रमण गरी सन् २०२४ को जुलाईमा इरानी सरकारी आवासमै हत्या गरेको थियो ।

त्यतिखेरै यो विश्लेषण हुँदै आएको थियो कि हमास र हिज्जबुल्लाहलाई तह लगाएपछि इजरायल इरानमाथि केन्द्रित हुनेछ । जुन १३ को आक्रमणले यो अनुमानलाई सही साबित गरेको छ ।

तसर्थ, आणविक हतियारको प्रश्नभन्दा बढी तेहरानकेन्द्रित प्रतिरोध अभियान ‘अप्रेसन ट्रुथ प्रोमाइज’ लाई नष्ट गर्नु इजरायलको मुख्य उद्देश्य हो । इजरायलले यो अभियानको नाम ‘अप्रेसन राइजिङ लायन’ राखेको छ । अहिलेसम्म इजरायल आफ्नो उद्देश्यमा सफल देखिएको छ ।

तर, इरानसँगको युद्ध निर्णायक हुने हुँदा यसलाई हमास र हिज्जुबुल्लाहसँगको युद्धजस्तो कम आँक्न भने मिल्दैन ।

विश्वमा अहिले ९ वटा मात्र आणविक हतियार शक्ति सम्पन्न राष्ट्र छन्– रुस, अमेरिका, बेलायत, फ्रान्स, चीन, उत्तर कोरिया, भारत, पाकिस्तान र इजरायल (अघोषित) । इरान यसभित्र थपिन चाहन्छ । यस उद्देश्यले इरानले आणविक हतियार कार्यक्रम सुरु गरेको वर्षौं  भइसक्यो । इरानसँग अमेरिकालगायत धेरै देशको टाउको दुखाइको मुख्य विषय नै यही हो ।

आणविक हतियार सम्पन्न राष्ट्रहरूबीचको तनाव अनेक कारणले निक्कै जटिल र बहुआयामिक हुन्छन् । यो जटिलता इरान–इजरायल युद्धमा पनि देखिने छ ।

इजरायली प्रहारको लक्ष्यमा अहिलेसम्म इरानी युरेनियम प्रशोधन केन्द्र, आणविक हतियार कार्यक्रममा संलग्न वैज्ञानिक, सैन्य, प्रहरी र जासुसी निकायका अधिकारी परेका छन् । युद्धको छोटो अवधिमै इजरायलले पुर्‍योएको क्षति निक्कै ठूलो हो ।

यो विश्लेषण तयार गर्दासम्म इरानमा २२५ जनाभन्दा बढी र इजरायलमा २५ भन्दा बढीको मृत्यु भइसकेको छ । इरानमा घाइतेको संख्या १५०० र इजरायलमा ४०० भन्दा बढी पुगेको छ । तर, जतिसुकै धेरै धनजनको क्षति पुर्‍याए पनि, युद्धलाई जति लम्ब्याए पनि यो हार–जितमा पुग्ने युद्ध भने होइन ।

युक्रेन वा गाजा युद्धभन्दा इरान–इजरायल युद्धको चरित्र फरक छ । युक्रेन युद्धमा रुसी मनसाय किभको पतन र भूभाग गाभ्नु हो । गाजामा इजरायलको उद्देश्य हमासलाई निशस्त्रीकरण गरी सबै प्यालेस्टिाइनी भूभागमा पश्चिम किनाराको सरकारको नियन्त्रण कायम हुन दिनु हो ।

इरान युद्धको उद्देश्य न इरानी भूभाग इजरायलमा गाभ्नु हो न इरानलाई पूर्णतः निशस्त्र गरी शासन प्रतिस्थापन गर्नु हो । यो युद्धको सबैभन्दा ठूलो परिणाम इरानको आणविक हतियार कार्यक्रम स्थगन र इजरायल विरोधी ‘तेहरान धुरी’ को अनौपचारिक विघटनसम्म मात्र हुन सक्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register