गौरी मन्दिर तथा १०८ शिवलिङ्ग निर्माण कार्य अन्तिम चरणमा
पूर्वको पशुपतिनाथले परिचित एवम् नेपाल सरकारको ‘सय पर्यटकीय गन्तव्य’मा सूचिकृत झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा निर्माण भइरहेको गौरी मन्दिर तथा १०८ शिवलिङ्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत वर्षको महाशिवरात्रि पर्वका दिन शिलान्यास भएको उक्त गौरी मन्दिर तथा १०८ शिवलिङ्ग बिर्तामोड–३ निवासी दाता कमल+झुमा बस्नेतको लगानीमा निर्माण भएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।
उक्त दुवै योजना धाम व्यवस्थापन समितिले तयार पारेको गुरुयोजनामा उल्लेख भए अनुसार नै निर्माण कार्य भइरहेको समितिका सदस्य एवम् योजनाका डिजाइनर शंकर सुवेदीले बताए । अनुमानित डेढ कठ्ठा जमिनमा प्यागोडा शैलीमा निर्माण भइरहेको गौरी मन्दिरको उचाई गजुर बाहेक ३० फिटको हुने र १०८ शिवलिङ्ग रहेको स्थलमा १५० मिटर लामो नागबेली आकारको परिक्रमा मार्ग हुने बताइएको छ ।
विभिन्न शिवालयहरुमध्ये यस धाममा आकर्षक पूर्वाधारसहित निर्माण भइरहेको १०८ शिवलिङ्ग र गौरी मन्दिर प्रदेश नं.१ कै पहिलो हुने सदस्य सुवेदी दावी गर्छन् । हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भई मन्दिरको छानामा ताम्रपत्र लगाउने, टुँडाल राख्ने, शिवलिङ्गको लागि आवश्यक बेस राख्ने आदि कार्य बाँकी रहेको बताइएको छ ।
महावीर कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त योजनाको लागत अनुमानित ७० लाख रुपैयाँ बढी लाग्ने बताइएको छ । चालु आर्थिक वर्ष भित्र दुवै योजना पूर्णरुपमा सम्पन्न गरी आगामी महाशिवरात्रि पर्वका दिन उद्घाटन कार्यक्रम पश्चात् धाम व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने लक्ष्य दाता परिवारको रहेको बताइएको छ ।
What's Your Reaction?






