व्यक्तिले हडपेको चिया बगानको जग्गा ३३ वर्षपछि सरकारी स्वामित्वमा

झापा । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी-स्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्किएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहसहित जग्गा रहेको चिया बगानमा पुगेर बिहीबारदेखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे । नगरप्रमुखसँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको […]

Nov 22, 2024 - 00:11
 0
व्यक्तिले हडपेको चिया बगानको जग्गा ३३ वर्षपछि सरकारी स्वामित्वमा

झापा । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी-स्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्किएको छ ।

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहसहित जग्गा रहेको चिया बगानमा पुगेर बिहीबारदेखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे । नगरप्रमुखसँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अङ्कित साइनबोर्ड राखेका छन् । नगरप्रमुख बुढाथोकीले सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले भोगचलन गरिरहेको हुँदा अबउप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए । ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए । सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो ।

सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसकेपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । चिया बगानले हडपेको ३३ वर्षपछि र सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो ।

नगरपालिकाको संरक्षणमा आएको जग्गामा चियाका बोट र ठूला रुखहरू छन् । लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टी इस्टेटलाई दुईपटक पत्राचार गरेको जनाएको छ ।

‘अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको छ,’ नगप्रमुख बुढाथोकीले भने, ‘सरकारले सँधैभरी उहाँहरू (चिया बगान सञ्चालक)लाई भोग गर्न दिइरहने कुरा आउँदैन । जग्गाको बहुउपयोग कसरी गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल र निर्णय गरेर अघि बढ्नेछौँ ।’

नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए पनि अहिलेसम्म जग्गाको सिमाना यकिन भइसकेको छैन । साविक नकलबन्दाको वडा नं. ७ का कित्ता नम्बरहरू ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा आएको हो ।–रासस–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register