मार्की प्लेयरको प्रशंसा गर्दै ओली भन्छन् – सन्दीप नेपालको ‘ब्राण्ड अम्बासडर’, दीपेन्द्र ‘फेभरेट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का सबै टोली तथा खेलाडीलाई शुभकामना दिएका छन् । सोमबार धरहरा परिसरमा एनपीएलको ट्रफीको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धा गर्ने आठै टिमका मार्की खेलाडीको व्यक्तिगत प्रशंसा गर्दै शुभकामना दिएका हुन् । जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखका बारेमा बोल्दै ओलीले भने, ‘आसिफले स्पोर्ट्सम्यानसिप देखाउँदै आयरल्याण्डका […]

Nov 25, 2024 - 07:29
 0
मार्की प्लेयरको प्रशंसा गर्दै ओली भन्छन् – सन्दीप नेपालको ‘ब्राण्ड अम्बासडर’, दीपेन्द्र ‘फेभरेट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का सबै टोली तथा खेलाडीलाई शुभकामना दिएका छन् ।

सोमबार धरहरा परिसरमा एनपीएलको ट्रफीको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धा गर्ने आठै टिमका मार्की खेलाडीको व्यक्तिगत प्रशंसा गर्दै शुभकामना दिएका हुन् ।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखका बारेमा बोल्दै ओलीले भने, ‘आसिफले स्पोर्ट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडिओ मैले पनि हेरेको थिएँ । जनकपुरझै शान्त स्वभाव उनको कायम रहोस् । आसिफलाई कप्तान कुल, शान्त, भनेर नाम-उपनाम दिए हुन्छ जस्तो पनि लाग्छ ।’

उनले काठमाडौं गुर्खाजका  मार्की खेलाडी करण केसीको चर्चित उपनाम जसरी नै राजधानीको ख्याती चुलिने विश्वास व्यक्त गरे । ‘करण केसीलाई ‘भ्यालेन्टाइन ब्वाई’ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा राखेको छु, ’ ओलीले बताए ।

यस्तै, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलको अद्भूत शैली उनले मात्र नभई विश्वलाई नै छुट्याउन नसकेको प्रधानमन्त्री ओलीले बताए । उनी भन्छन्, ‘कप्तान कुशलको बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ । मैले मात्र नभई विश्वले नै छुट्याउन नसकेको जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना ।’

प्रतियोगितामा चितवन राइनोज भएपनि उनले चितवन गैडाज भन्ने पनि बताए । ‘चितवन राइनोज अथवा गैडाजका कप्तान कुशल मल्ल हेर्दा अलि सानो-सानो जस्तो लाग्छ । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैलीचाँही साह्रै मनपर्छ । अझै बढोस् शुभकामना छ,’ ओलीले बताए ।

लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलको नाम सुन्दा आफूलाई गर्व लाग्ने ओली बताउँछन् । ‘रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देखिने छ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटको कप्तान भएको नाताले उनले जितेकै हुनेछन्,’उनले भने ।

यस्तै, सन्दीप लामिछानेले नेपाललाई विश्वमा चिनाएको विषयलाई उजागर गर्दै प्रधानमन्त्रीले भने, ‘विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटका ब्राण्ड अम्बासडरजस्तै भएका छन् । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो की गर्छ ।’

सोमपाल कामीको बलिङको प्रशंसा गर्दै ओलीले भने, ‘कर्णाली याक्सका सोमपालका ती योर्करहरुलाई कसले भुल्न सक्छ । सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन् । अर्को टी-२० विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।’

दीपेन्द्रसिंह ऐरीलाई हिरो भन्दै उनले भने, ‘अन्तिममा हिरोको पालो आउँछ । मेरो फेभरेटनै जस्तो नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । एनपीएलमा यस्ता थुप्रै कीर्तिमानहरु बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ । ’

विदेशी खेलाडीको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली याक्सले भारतका गब्बर शिखर धवनलाई अनुबन्धन गरेको सुनेको छु । जो आइपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेछन् । यसरी ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपाल आउनु गौरवको विषय हो । ’

विश्वकपमा २३७ रनको रेकर्ड बनाएका मार्टिन गप्तिल पनि विराटनगर किंग्समा अनुबन्धित भएका र थुप्रै देशबाट खेलाडी आउने जानकारी पाउँदा एनपीएलले पर्यटन व्यवसायको प्रवर्द्धन गर्छ भन्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताए ।

त्यसअघि उनले एनपीएलले नेपाली खेलाडीकोे सपना तथा आगामी पुस्ताले प्रेरणा पाउने पनि उनले बताए ।

‘धरहराको काखमा भएको यस ट्रर्फी अनावरणले खेलकुदमा नयाँ जाँगर ल्याएको विश्वास लिएको छु । विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली क्रिकेटको इतिहास बाकेको एनपीएलले हाम्रो अनि खेलाडीहरुको सपना र आगामी पुस्ताहरुको लागि प्रेरणा प्रदान गर्दछ । र त्यसलाई उजागर पनि गर्दछ,’ ओलीले भने ।

‘विश्वभरि छरेर बसेका हाम्रो क्रिकेट प्रेमीहरु मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरुको मेहेन्त र सफलतालाई गौरवका साथ अंगालेका छन्, ’ प्रधानमन्त्री ओलीले भने, ‘ क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो केवल खेल मात्र नभई हाम्रो राष्ट्रिय जागरुक्ता र अनुशासनको प्रतिक पनि बनेको छ ।’

देशको प्रधानमन्त्री भएकोले कुन टोलीको समर्थन गर्ने भन्ने विषयमा दुविधामा रहेको र सबैलाई आफुले शुभकामना दिने र जितेपछि बधाईं दिने उनले बताए । साथै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा लान सहयोग पुर्याउने पनि उनले बताए ।

यस्तै, आगामी दिनमा क्यानले महिला विशेष लिग पनि आयोजना गरोस् भन्ने आफ्नो इच्छा भएको पनि प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा ८ वटै टोलीका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको पनि उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register