उपनिर्वाचनको हिसाब : कांग्रेसलाई क्षति, माओवादी फाइदामा, एमालेमा छैन उत्साह

समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेस यसपटक घाटामा गएको छ । पहिले जितेका केही महत्त्वपुर्ण पद उसले गुमाएको छ । एमालेका लागि धेरै क्षति नदेखिए पनि परिणाम उत्साहप्रद छैन । एक्लै लड्दा पनि पहिलेभन्दा धेरै सिट जितेर माओवादीले भने साख बचाएको छ ।

Dec 2, 2024 - 12:29
 0
उपनिर्वाचनको हिसाब : कांग्रेसलाई क्षति, माओवादी फाइदामा, एमालेमा छैन उत्साह

काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा अन्तिम चरणमा छ । तीन ठाउँ सर्वसम्मत भएपछि ४१ स्थानमा मतदान भएको थियो ।

मतदान भएकामध्ये ३७ स्थानको परिणाम आइसकेको छ । ४ स्थानको बाँकी छ । अहिलेसम्म नतिजा सार्वजनिक भएकामध्ये ओखलढुङ्गा र कैलालीका जिसससहित कांग्रेसले १८ स्थानमा जित हात परेको छ ।

उसले वडाध्यक्ष मात्र १६ स्थानमा जितेको छ । माओवादीले ९ स्थानमा जितेको छ । पालिका अध्यक्ष, उपमेयर र उपाध्यक्षसहित माओवादीले ९ स्थानमा जितेको छ ।

हालसम्मको परिणाम अनुसार एमालेले ७ ठाउँमा जित हात परेको छ । यसले दुई पालिका अध्यक्ष, एक उपाध्यक्ष र चारजना वडाध्यक्ष जितेको छ ।

जनता समाजवादी पार्टी नेपालले दुई वडामा जितेको छ । रास्वपा, नेमकिपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक-एक वडामा जित हात पारेका छन् ।

अब कीर्तिपुर नगरपालिकाको मेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष र बेलका नगरपालिका वडाध्यक्षको मत परिणाम आउन बाँकी छ ।

पछिल्लो नतिजाअनुसार कीर्तिपुरको मेयर र बेलकाको वडाध्यक्षमा कांग्रेसले अग्रता लिइरहेको छ । सर्केगाड र गौरीशंकरमा माओवादी अगाडि छ ।

कांग्रेसलाई घाटा, माओवादी फाइदामा,एमाले उस्तै 

समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेस यसपटक घाटामा गएको छ । पहिले जितेका केही महत्त्वपुर्ण पद उसले गुमाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर बचाउने छ भनेर मान्दा पनि कांग्रेसलाई क्षति नै हुनेछ ।

यो निर्वाचनबाट कांग्रेसले यसअघि जितेका २ गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र एक उपमेयर गुमाएको छ । यस्तै यसअघि उसले जितेका १९ वडाध्यक्षमा चुनाव भएको थियो । त्यो पनि पूर्ति नहुने निश्चित भएको छ ।

माओवादीले २०७९ को चुनावमा जितेकामध्ये ८ स्थान खाली भएर उपचुनाव भएको थियो । अहिलेसम्मको अवस्थामा माओवादी फाइदामा गइसकेको छ । मतगणना भइरहेका दुई ठाउँमा पनि अगाडि छ ।

यसअघि एमालेले जितेका ७ स्थान रिक्त भएका थिए । जुन उसले प्राप्त गरिसकेको छ । गणना भइरहेका स्थानमा पनि उसले टक्कर दिइरहेको छ ।

अघिल्लो पटक स्थानीय तह चुनावमा धेरै ठाउँमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । यसपटक तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका छन् । माओवादीसँग मिल्दा प्राप्त गरेका सिट यसपटक कांग्रेसले गुमाएको छ ।

एक्लै लड्दा पनि पहिलेभन्दा धेरै सिट जितेर माओवादीले भने साख बचाएको छ । यद्यपी, उसले पहिले जितेका केही क्षेत्र गुमाएको छ भने केही नयाँ ठाउँ जितेको छ ।

एमालेका लागि धेरै क्षति नदेखिए पनि परिणाम उत्साहप्रद छैन । किनकि एक्लाएक्लै लड्दा पनि उसले अपेक्षित फाइदा लिन सकेन । एमालेले एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष कांग्रेसबाट खोस्दा केही वडाअध्यक्ष गुमाएको छ ।

अघिल्लो पटक कांग्रेसले जित्दै आएको केही ठाउँ माओवादीले खोसेको छ । तर, आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको चिन्ता भने माओवादीमा पनि छ ।

माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ । गोरखामा पनि एमालेबाट एउटा वडा खोसेको छ ।

अहिलेसम्मको परिणामको अवस्था

राजनीतिक दल उपचुनाव जित संख्या
कांग्रेस १८ स्थान
माओवादी ९ स्थान
एमाले ७ स्थान
रास्वपा १ स्थान
जसपा नेपाल २ स्थान
नेमकिपा १ स्थान
नेकपा एस १ स्थान
स्वतन्त्र उम्मेदवार १ स्थान
नतिजा आउन बाँकी ४ स्थान

पालिका प्रमुख-उपप्रमुख

–काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको लागि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार कांग्रेस अगाडि छ । त्यहाँ अघिल्लो पटक कांग्रेसबाटै मेयर निर्वाचित भएका थिए ।

–जाजरकोटको नलगाड नगरपालिका उपमेयर कांग्रेसबाट माओवादीले खोसेको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । अघिल्लो निर्वाचनमा कांग्रेसकी रसिता सिंह विजयी भएकी थिइन् ।

–मोरङको ग्रामथान अध्यक्ष पनि माओवादीले कांग्रेसबाट खोसेको छ । अहिले माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । यो पालिकामा २०७९ सालमा कांग्रेसले जित्दा माओवादी तेस्रो स्थानमा थियो ।

–दैलेखको महाबु गाउँपालिका कांग्रेसबाट एमालेले हत्याएको छ । नेकपा एमालेका जङ्गबहादुर शाही अध्यक्षमा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ विजयी भएका थिए ।

– यस्तै दोलखाको गौरीशंकरको परिणाम आउन बाँकी छ । गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा अघिल्लो निर्वाचनमा कांग्रेसका श्यामसुन्दर तामाङ ४,७४१ मतसहित विजयी भएका थिए । एमालेका मुना सिवाकोटी केसीले ३,२८१ मत ल्याएकी थिइन् । यहाँ अहिले माओवादी अगाडि छ । कांग्रेस तेस्रो स्थानमा छ ।

–हुम्लाको सर्केगाडमा उपाध्यक्षका लागि चुनावमा मतगणना जारी छ । जहाँ अघिल्लो निर्वाचनमा माओवादीका चन्द्रसिंह कार्की ३,२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेराले १,०६४ मत पाएकी थिइन् । अहिले पनि माओवादीले अग्रता बनाएको  छ।

–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष कांग्रेसबाट एमालेले खोसेको छ । जहाँ सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

–पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष माओवादीले बचाएको छ । यहाँ माओवादीबाट नरपुरा बुढा निर्वाचित भएकी छन्  अघिल्लो पटक यहाँ माओवादी केन्द्रका भूपेन्द्र बुढाले जितेका थिए ।

ओखलढुङ्गाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकै टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएका छन् ।

 

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
काठमाडौं, कीर्तिपुर नगरपालिका (मेयर) कांग्रेस अग्रता
जाजरकोट, नलगाड नगरपालिका (उपमेयर) कांग्रेस माओवादी
मोरङ, ग्रामथान (अध्यक्ष) कांग्रेस माओवादी
दैलेख, महाबु (अध्यक्ष) कांग्रेस एमाले
दोलखा, गौरीशंकर (उपाध्यक्ष) कांग्रेस माओवादीलाई अग्रता
हुम्ला, सर्केगाड (उपमेयर) माओवादी अग्रता
बाजुरा, स्वामीकार्तिक खापर (उपाध्यक्ष) कांग्रेस एमाले
पूर्वी रुकुम, पुथाउत्तरगङ्गा (उपाध्यक्ष) माओवादी माओवादी
ओखलढुङ्गा, जिल्ला समन्वय समिति (प्रमुख) कांग्रेस
कैलाली, जिल्ला समन्वय समिति (प्रमुख) कांग्रेस

३३ वडामा कहाँ को ?

कोशी प्रदेश

– अघिल्लो पटक एमालेले जितेको झापाको कन्काई ६ मा अहिले स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए ।

– तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष कांग्रेसले जोगाएको छ । अघिल्लो पटक कांग्रेसकै नगेन्द्र लिम्बु विजयी बनेका थिए ।

– उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्ष कांग्रेसबाट माओवादीले खोसेको छ । माओवादीका नवीनकुमार वान्तता राई निर्वाचित भए ।

– उदयपुरको बेलका नगरपालिका–९ मतगणना जारी छ । यहाँ यसअघि कांग्रेसले जितेको थियो ।

–सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । जहाँ अघिल्लो पटक एमालेका सदानन्द उराँव झागर विजयी भएका थिए ।

–ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५  कांग्रेसबाट एमालेले खोसेको छ । अहिले एमालेका गङ्गाबहादुर तामाङ विजयी भएका छन् ।

–ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा पनि वडाध्यक्ष कांग्रेसबाट एमालेले खोसेको छ । जहाँ एमालेकी कुमारी साउदेन विजयी भएकी छन् ।

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
झापा, कन्काई-६ एमाले स्वतन्त्र (लक्ष्मीप्रसाद ओली)
तेह्रथुम, लालीगुराँस नगरपालिका-३ कांग्रेस कांग्रेस
उदयपुर, त्रियुगा नगरपालिका-१२ कांग्रेस माओवादी केन्द्र
उदयपुर, बेलका नगरपालिका-९ कांग्रेस मतगणना जारी
सुनसरी, गढी गाउँपालिका-६ एमाले कांग्रेस
ओखलढुङ्गा, मोलुङ गाउँपालिका-५ कांग्रेस एमाले
ताप्लेजुङ, सिरिजंगा गाउँपालिका-३ कांग्रेस एमाले

मधेस प्रदेश

मधेस प्रदेशअन्तर्गत ६ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको नतिजा यस्तो छ ।

–सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ नम्बर वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । अघिल्लो चुनावमा यी दुबै वडा कांग्रेसले जितेको थियो । अहिले १ नम्बरमा जसपाका  धीरेन्द्रकुमार साह र चार नम्बर वडामा देवेन्द्रप्रसाद यादव विजयी भएका छन् ।

–धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष कांग्रेसबाट माओवादीले खोसेको छ । जहाँ अहिले माओवादी केन्द्रका शुनीलकापर केवट निर्वाचित भएका छन् ।

–महोत्तरीको रामगोपालपुर–२ माओवादी केन्द्रले जोगाउन सकेन । जहाँ अहिले एमालेका सकिबुल खाँ विजयी भए ।

– रौतहट ईशनाथ नगरपालिका–७ को अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । जहाँ एमालेले जित जोगाउन सकेन । अघिल्लो पटक यहाँ एमालेका शेख खलीउल्लाह विजयी भएका थिए ।

– धनुषाको राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम विजयी भएका छन् । अघिल्लो पटक पनि कांग्रेसले नै जितेको थियो ।

– रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका समेस अलाम विजयी भए । यहाँ कांग्रेसले जित जोगाएको छ ।

– रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा एकीकृत समाजवादीका बजिरंगप्रसाद यादवले जितेका छन् । जहाँ अघिल्लो पटक जसपा नेपालका रामाज्ञा राय यादवले जितेका थिए ।

 

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ कांग्रेस जसपा नेपाल
सप्तरी, डाक्नेश्वरी नगरपालिका-४ कांग्रेस जसपा नेपाल
धनुषा, धनुषाधाम नगरपालिका-१ कांग्रेस माओवादी केन्द्र
महोत्तरी, रामगोपालपुर-२ माओवादी केन्द्र एमाले
रौतहट, ईशनाथ नगरपालिका-७ एमाले कांग्रेस
धनुषा, राजपुर नगरपालिका-६ कांग्रेस कांग्रेस
रौतहट, गढीमाई नगरपालिका-८ जसपा नेपाल एकीकृत समाजवादी
रौतहट, राजपुर नगरपालिका-६ कांग्रेस कांग्रेस

 

बागमती प्रदेश

– काठमाडौं महानगरपालिका –१६ मा रास्वपाले जित हासिल गरेको छ । अघिल्लो पटक कांग्रेसका मुकुन्द रिजालले जितेको सो ठाउँमा अहिले रास्वपाकी रोजिना श्रेष्ठले जितेकी हुन् ।

– काठमाडौं कीर्तिपुरको वडा नम्बर १ मा कांग्रेसले जितलाई निरन्तरता दिन सफल भएको छ । वडाध्यक्षमा कांग्रेस इच्छाकुमार महर्जन विजयी भए ।

– कीर्तिपुरको वडा नम्बर ४ मा कांग्रेसले जित थपेको छ । अघिल्लो पटक स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले जितेको ठाउँमा यसपटक कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए ।

– हेटौँडा उपमहानगरपालिका–१२ माओवादीबाट कांग्रेसले खोसेको छ । अघिल्लो पटक माओवादीका ललितबहादुर घलानले जितेको सो ठाउँमा अहिले कांग्रेसका अर्जुनप्रसाद तिवारीले जित हात पार्न सफल भए ।

– नुवाकोटको ककनी गाउँपालिका–२ मा अघिल्लो निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा विजयी भएको ठाउँमा अहिले माओवादीले जितेको छ । अहिले माओवादीका कृष्ण घिमिरेले जितेका छन् ।

 

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
काठमाडौं, कीर्तिपुर वडा नम्बर १ कांग्रेस कांग्रेस
काठमाडौं, कीर्तिपुर वडा नम्बर ४ स्वतन्त्र कांग्रेस
काठमाडौं, महानगरपालिका–१६ कांग्रेस रास्वपा
हेटौँडा, उपमहानगरपालिका–१२ माओवादी कांग्रेस
नुवाकोट, ककनी गाउँपालिका–२ कांग्रेस माओवादी

गण्डकी प्रदेश

– गण्डकी प्रदेशमा उपनिर्वाचनको एक मात्र केन्द्र गोरखा नगरपालिका–५ हो । जहाँ अहिले माओवादी उम्मेदवार विष्णुबहादुर मगरले जितेका छन् । अघिल्लो निर्वाचनमा एमालेका खिलबहादुर रानाले जितेका थिए ।

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
गोरखा, नगरपालिका–५ एमाले माओवादी

लुम्बिनी प्रदेश

– –रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाध्यक्ष माओवादी केन्द्रले निर्विरोध जितेको छ । अघिल्लो पटक माओवादीकै उम्मेदवारले जितेका थिए ।

– रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसले नै जितेको छ । कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर विजयी भएका छन् । पहिले पनि कांग्रेसका टंकबहादुर पुनले जितेका थिए ।

–गुल्मीको मुसिकोट नगरपालिका १ मा कांग्रेसले जित जोगाएको छ । अघिल्लो पटक कांग्रेसका मोहन घिमिरेले जितेको सो ठाउँमा अहिले कांग्रेसका आनन्द श्रेष्ठले जित हात परेका छन् ।

–कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका मोहम्मद ताहिर मुसलमान निर्वाचित भएका छन् । जहाँ अघिल्लो पटक कांग्रेस विजयी भएको थियो ।

– बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेसले जित जोगाएको छ । यसअघि कांग्रेसकै अमिन थारू निर्वाचित भएका थिए ।

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–२ माओवादी माओवादी (निर्विरोध)
रोल्पा, रुन्टीगढी गाउँपालिका–४ कांग्रेस कांग्रेस
गुल्मी, मुसिकोट नगरपालिका–१ कांग्रेस कांग्रेस
कपिलवस्तु, शुद्धोधन गाउँपालिका–१ कांग्रेस एमाले
बर्दिया, ठाकुरबाबा नगरपालिका–४ कांग्रेस कांग्रेस

कर्णाली प्रदेश

– दैलेखको दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् । जहाँ अघिल्लो पटक एमाले नै विजयी भएको थियो ।

– कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रका परबहादुर शाही विजयी भएका थिए ।

– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा पार्टीको जित जोगाउँदै कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् ।

– जाजरकोटको कुशे गाउँपालिका– ७ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । जहाँ अघिल्लो पटक माओवादीले जितेको थियो ।

– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् । अघिल्लो पटक यहाँ एमालेले जितेको थियो ।

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
दैलेख, दुल्लु नगरपालिका–१३ एमाले एमाले
कालिकोट, तिलागुफा नगरपालिका–४ माओवादी नेपाल मजदुर किसान पार्टी
रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–५ कांग्रेस कांग्रेस
जाजरकोट, कुशे गाउँपालिका–७ माओवादी कांग्रेस
डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–५ एमाले माओवादी

सुदूरपश्चिम प्रदेश

–कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा कांग्रेस फेरि विजयी भएको छ । कांग्रेसका प्रकाश चन्द विजयी भएका हुन् । अघिल्लो पटक कांग्रेसका महेन्द्र खड्काले जितेका थिए ।

–दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्ष माओवादी केन्द्रबाट कांग्रेसले खोसेको छ । कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । अघिल्लो पटक यहाँ माओवादीका मनोरथ भट्टले जितेका थिए ।

–डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि यहाँ कांग्रेसकै पुष्पराज जोशीले जितेका थिए ।

–बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यहाँ एमालेका सर्जनबहादुर बोहराले जितेका थिए ।

स्थान पहिले जित्ने दल अहिले जित्ने दल
कञ्चनपुर, भीमदत्त नगरपालिका–६ कांग्रेस कांग्रेस
दार्चुला, दुहुँ गाउँपालिका–५ माओवादी कांग्रेस
डोटी, पूर्वीचौकी गाउँपालिका–६ कांग्रेस कांग्रेस
बझाङ, सूर्मा गाउँपालिका–४ एमाले कांग्रेस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register