नेपालमा वैकल्पिक राजनीति : गठन र विघटनको दुश्चक्र

निरन्तरको सामाजिक विभाजन, राजनीतिक अस्थिरता र नयाँ पार्टीको गठन र विघटनले केही समयको अन्तरालपछि निरन्तर सिर्जना गरिरहने ‘नयाँ पार्टी सब–सिस्टम’ले गर्दा नयाँ खोज्ने मतदाताले पनि जति नै भ्रष्ट भए पनि स्थिर दलप्रति झुकाव राख्न थाल्छन् ।

Dec 8, 2024 - 05:30
 0
नेपालमा वैकल्पिक राजनीति : गठन र विघटनको दुश्चक्र

एक : कुनै मुलुकमा एउटा ‘गेम–शो होस्ट’ थियो । उसले एउटा नयाँ पार्टी बनायो । पागल, अपराधी, भूतप्रेत आदिजस्ता अचम्म अचम्मका पोशाक लगाएर उसले आफ्नो राजनीतिक अभियान चलाउँथ्यो । उसले आफ्नो मुलुकको ‘फोहोर’ राजनीति सफा गर्ने कसम खायो, तदनुरूप चुनावमा धेरै भोट पायो र संसद्को अध्यक्ष बन्यो । तर, राजनीति सफा भएन । उल्टो, उसको पार्टी नै विघटन भयो, जब एकजना स्थानीय माफिया डनसँग रक्सी पिएर मस्तीसँग हाँस्दै गरेको उसको फोटो पत्रिकामा सार्वजनिक भयो।

दुई : अर्को देशमा एकजना ‘सुपरमार्केट–चेन’ व्यवस्थापक थियो । ऊ देशको ठूलो शहरको मेयर बन्यो । र, आफ्नै नामको एउटा नयाँ राजनीतिक पार्टी बनायो । उसले आफ्नो मुलुकको ‘फोहोर’ राजनीति सफा गर्ने कसम खायो, तदनुरूप चुनावमा धेरै भोट पायो र मन्त्री बन्यो । तर, राजनीति सफा भएन । उल्टो, उसमाथि भ्रष्टाचारको आरोप लाग्यो । पार्टी निकै कमजोर भयो र अर्को निर्वाचनमा निकै कम भोटसहित पार्टी विघटन भयो ।

तीन : कुनै फरक देशमा एकजना स्थापित पार्टीका नयाँ अनुहारवाला नेता थिए । उक्त पार्टीमा उनले भनेजस्तो पद पाएनन् । त्यसपछि उनले आफ्नै नयाँ पार्टी बनाए, देशको ‘फोहोर’ राजनीति सफा गर्ने कसम खाए र तदनुरूप चुनावमा धेरै भोट पनि पाए । परिणामस्वरूप उनी प्रधानमन्त्री पनि बने । लामो समयसम्म उनको पार्टी शक्तिशाली नै रह्यो । तर, मतदाताले उनी कति भ्रष्ट भए भन्नेमा खासै मतलब राखेनन्, बरु अर्को कुनै राजनेताको खोजी सुरु गरे जसले देशको राजनीति सफा गरोस् ।

***

माथिका एक, दुई र तीनमा उल्लेखित घटनाहरू काल्पनिक होइनन् । मध्य–युरोप तथा अन्यत्र नयाँ नयाँ दलहरूको जन्म र मृत्युको अचम्मलाग्दो चक्रको बारेमा गहन अनुसन्धान गरिएको एउटा चर्चिच पुस्तक ‘नयाँ पार्टी निर्माणका चुनौती’ नामक पुस्तकको आरम्भमा उल्लेख गरिएका केही रोचक घटनामध्येका तीन हुन् । जसलाई मैले आफ्नै भाषामा छोट्याएर उल्लेख गरेको हुँ ।

‘नयाँ पार्टी निर्माणका चूनौती : मध्य–युरोप तथा अन्यत्र पार्टीहरूको जन्म र मृत्युको बदलिँदो चक्र (The new party challenge : changing cycle of party birth and death in central Europe and beyond) नामक पुस्तक सन् २०२१ मा अक्सफोर्ड विश्वविद्यालयले प्रकाशन गरेको थियो । जसका लेखकद्वय थिए, टिम हौटन र केविन डीगन–क्राउज ।

राजनीतिशास्त्रका प्राध्यापक टिम हौटन बेलायतस्थित बर्गिङ्गम युनिभर्सीटीमा अध्यापन गर्छन् भने केविन डीगन–क्राउजचाहिँ अमेरिकाको वेनस्टेट युनिभर्सीटीका प्राध्यापक हुन् । उक्त पुस्तकमा उनीहरूले उत्तर–साम्यवादी युरोपेली लोकतन्त्रमा नयाँ-नयाँ पार्टीहरूको जन्म र मृत्युबारे रोचक अध्ययन गरेका छन् ।

उनीहरूको अध्ययनको मुख्य क्षेत्र युरोप अझ खासगरी मध्य–युरोप भएता पनि ‘देश बनाउनको लागि नयाँ पार्टीको अपरिहार्यता’, ‘वैकल्पिक राजनीतिको आवश्यकता ’ र ‘फरक धारको राजनीतिक विकल्प’का दाबीहरूको नेपाली सन्दर्भमा पनि उनीहरूको निष्कर्ष हुबहु मिल्ने खालको छ ।

यस आलेखमा मैले उक्त पुस्तकको समीक्षा गर्न खोजेको भने होइन । प्रसङ्गवश नयाँ नयाँ पार्टीको जन्म, विवाद र अवशादको नेपाली राजनीतिबारे चर्चा गर्दा एउटा प्रेरक सैद्धान्तिक, राजनीतिक र साङ्गठनिक अनुसन्धानको पृष्ठभूभिलाई सम्झेको मात्र हुँ। र, आवश्यकता अनुसार उक्त पुस्तकका केही समान र सार्वभौम सैद्धान्तिक प्रसङ्गहरू अगाडि आउने नै छन् ।

केही अपवाद र पातलो रूपमा पहिले पनि बहस र व्यवहारमा वैकल्पिक राजनीतिबारे चर्चा हुने गरेको भएता पनि विक्रम संवत्  ७० को दशक यता नेपालमा फरक धारको राजनीतिबारे अलिकति बाक्लो बहस आरम्भ भयो ।

तर, उक्त बहसमा परम्परावादी दलहरूको नेतृत्व, आचरण र क्षमतामाथि मात्र आलोचना केन्द्रित थिए । अपवादबाहेक दलका नीति, कार्यक्रम, संरचना, विचार, सामाजिक परिवेश, मुलुकको आर्थिक नीति जस्ता विषयहरूमा कुनै गहिरा बहस र आलोचना थिएनन् ।

एकातिर, संविधानसभा–२ अन्तर्गत नयाँ संविधानको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको थियो । पहिलो संविधान सभाजस्तो संविधान नबनिकनै विघटन हुने सम्भावना पनि थिएन । किनकि, दोश्रो संविधान सभासम्म आउँदा माओवादी र जातीवादी स्वरहरू उल्लेख्य रूपमा मथ्थर भइसकेका थिए । त्यसकारण संविधानसभा–२ को राजनीतिक शक्ति सन्तुलनले नयाँ संविधान बनेरै छोड्ने लक्षण देखिसकिएको थियो । मुख्य सङ्कट  टरिसकेको थियो ।

अर्कोतिर, व्यावहारिक रूपमा नै फरक धारको राजनीतिक दल निर्माण गर्नको लागि संविधानसभा बाधक थियो । किनकि, इतिहासमा पहिलो पटक संविधानसभामार्फत नयाँ संविधानको रचना आफैँमा एउटा ऐतिहासिक घटना थियो । र, सबैखाले भिन्नभिन्न राजनीतिक विचारधारा संविधानसभामा केन्द्रित भएर आआफ्नो राजनीतिक एजेन्डामा सङ्घर्ष गरिरहेका थिए ।

त्यसकारण फरक धारको राजनीतिक दल निर्माणको लागि जस्तोसुकै भएता पनि एकथान संविधानको निर्माण अपरिहार्य जस्तै थियो । जसले गर्दा नयाँ संविधानको अन्तर्वस्तु अनुरूप उत्पन्न हुने राजनीतिक आधारमा फरक धारको राजनीति अगाडि बढाउने मैदान तयार हुन्थ्यो । भयो पनि त्यस्तै । जनतन समर्थन, आशिंक विरोध र विरोधको बीचबाट नयाँ संविधान बन्यो । यही मौका पर्खिरहेका विभिन्न राजनीतिक तथा गैरराजनीतिक वृत्तबाट नयाँ राजनीतिक दल बनाउने व्यक्ति तथा समूहहरू एकाएक सक्रिय हुन थाले ।

एकातिर, परम्परागत दलहरूमा प्रवेश गरेर नव प्रवेशीहरू दलको प्रभावकारी नेतृत्वमा पुग्न कठिन थियो । कदाचित प्राविधिक रूपले उच्च नेतृत्वमा पुगे पनि पुराना दलमा कुनै नीतिगत प्रभाव पार्न सकिने अवस्था थिएन । दलका संरचना अत्यन्तै जड थिए । जहाँ व्यक्तिको इतिहास, सङ्घर्ष, जेलनेल, वफादारी आदिजस्ता कुराले निर्णायक अर्थ राख्थे ।

अर्कोतिर, राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने हरेकजसो दलमा शीर्ष नेताका ‘कोर टिम’ थिए । यही ‘कोरटिम’ले भूमिगत शैलीमा पार्टी चलाउँथ्यो र चलाउँछ। र, आधिकारिक केन्द्रीय समिति देखाउने एउटा नक्कली माध्यम मात्र थियो र छ ।

यस्तो परिस्थितिमा परम्परागत पार्टीहरूमा सुधार गरेर नयाँ पार्टी बनाउन धेरै सम्भावना थिएन । त्यसकारण संविधान निर्माणपछिको नयाँ राजनीतिक परिवेशमा नयाँ पार्टी बनाएर अघि बढ्न सकिने आत्मविश्वास धेरै व्यक्तिहरूमा पलाएको थियो । र, सामान्य समय अन्तरालमा वैकल्पिक राजनीति गर्ने दाबीसहित नयाँ, झन् नयाँ र अत्यन्त नयाँ पार्टीहरूको घोषणा गर्ने लहर नै चल्यो ।

पार्टी गठन र विघटनको घरेलु दुश्चक्र

एकः सशस्त्र विद्रोह गरेर शान्ति प्रक्रियामा आएको माओवादीबाट अर्थमन्त्री तथा प्रधानमन्त्री भइसकेका एकजना प्रख्यात नेता थिए । उनको पार्टीका प्रमुख नेताले आजीवन मुख्य नेतृत्व नछोड्ने लक्षण देखेपछि उनले पार्टी परित्याग गरे । र, आफ्नै मुख्य नेतृत्वमा ‘नयाँ शक्ति’ नामको नयाँ पार्टी बनाए । उनको व्यक्तित्व र बौद्धिकताको प्रभावले गर्दा स्वतन्त्र व्यक्ति, पूर्व कर्मचारी, कलाकार, व्यवसायी आदिजस्ता अनेक क्षेत्रबाट उनको दलमा जोडिए ।

प्रचारको कोणबाट राम्रै राजनीतिक शक्ति निर्माण हुने प्रारम्भिक लक्षण देखियो । तर, उनले आफूसँगै राजनीतिलाई पेशा बनाएर बाँचेका पूर्ववर्ती माओवादी दलबाट ठूलो समूहलाई पनि सँगसँगै ल्याए । जसले गर्दा उनको नयाँ दल माओवादीकै फोटोकपी अर्थात नक्कली माओवादी बन्न पुग्यो । उनीसँग जोडिएका गैरमाओवादी समूह र व्यक्तिहरू एक एक गरी पार्टीबाट बाहिरिए। र, वर्षदिन पनि नपुग्दै उक्त दल पूर्णतया माओवादी बन्यो ।

एउटा सक्कली माओवादी दल अस्तित्वमा हुँदाहुँदै अर्को नक्कली माओवादीको आवश्यकता हुने कुरै भएन । अन्ततः उनीसहित सानो समूहबाहेक सबै पूर्वमाओवादीहरू पुरानै पार्टीमा फर्के । अन्त्यमा उनको दल अस्तित्व रक्षाका लागि अन्य पुराना दलहरूसँग विलय भयो । उनले दाबी गरेजस्तो विकास र समृद्धि त आएन, तर उनको ‘नयाँ शक्ति’ भने विघटन भयो ।

दुईः विदेशी सञ्चार माध्यममा काम गर्ने एकजना प्रख्यात पत्रकार थिए । राजनीतिको फोहोर सफा गर्ने भनेर नयाँ पार्टी बनाए । उनले पनि विभिन्न गैरराजनीतिक पृष्ठभूमिबाट आएका नाम चलेका व्यक्तिहरू जम्मा पारे र आफ्नै नेतृत्वमा ‘साझा पार्टी’ गठन गरे । र, मुलुक नबनाइकन आफ्नो काल पनि नआउने सार्वजनिक घोषणा गरे ।

कालान्तरमा आफैँलाई वैकल्पिक दाबी गर्ने अर्को सानो समूहसँग एकता गरे । निर्वाचनमार्फत राष्ट्रिय पार्टी बन्न नसके पनि अपेक्षाकृत सन्तोषजनक मत पनि प्राप्त गरे । तर, उक्त पार्टीको चरित्र राजनीतिक नभएको कारणले गर्दा त्यही मतको भारले किचिएर उक्त दल विभाजन भयो ।

विभाजनपछि दलमा भागदौड मच्चियो । पार्टी आफैँ थला परेर थच्चिने स्थिति आएपछि त्यसका मुख्य नेता नै पार्टी छोडेर हिँडे । उनी पुरातन, राजावादी र सबैभन्दा परम्परावादी सानो दलमा प्रवेश गरे । पार्टी बनाउँदा उनले दाबी गरेजस्तो न त देश बन्यो, न राजनीति नै सफा भयो । ‘विवेकशील साझा’ भन्ने पार्टी नै विघटन भयो ।

तीनः एकजना मुलुकको नागरिकता त्यागेर विदेशमा पलायन भएका सामान्य पत्रकार थिए । विदेशबाट फर्केपछि पुन: फरक ढंगको पत्रकारिता गर्ने दाबीसहित एउटा चर्चित टेलिभिजन होस्ट बने । उनले हरेक बेथितिको चर्को, अमर्यादित आलोचना र टिप्पणीसमेत गर्थे ।

यही शैलीले उनलाई प्रख्यात बनायो । र, आफ्नै पहलमा नयाँ टेलिभिजन पनि खोले । टेलिभिजनमा सङ्कटको आभास पाउनेबित्तिकै अकस्मात् एकदिन नयाँ पार्टी खोल्ने घोषणा गरे । उनले पनि अघिल्ला व्यक्तिहरूले जस्तै मुलुकबाट बेथिति हटाउने, भ्रष्टाचार अन्त्य गर्ने र देश बनाउने घोषणासहित आफैँ सभापति बनेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोले ।

पार्टी घोषणाको छ महिनामै भएको चुनावमा उनको पार्टीले मनग्यै भोट पायो । पुराना पार्टी र नेतालाई ‘नो नट अगेन’ भनेर भोट मागिएको थियो । तर, चुनाव सकिनेबित्तिकै उनै पुराना अझ कम्युनिष्ट पार्टीहरूसँग मोलमोलाई गरेर गृहमन्त्री भए ।

यद्यपि, परिस्थिति उनले सोचेजस्तो भएन । उनीसहित खोलिएको टेलिभिजनमा सहकारी ठगेर रकम जुटाइएको कुरा सार्वजनिक भयो । टेलिभिजनका मालिक भनिएका उनका साझेदार विदेशतिर भागे । उनले दाबी गरेजस्तो नयाँ राजनीतिमार्फत मुलुकको बेथिति र भ्रष्टाचारको अन्त्य भएन । बरु उल्टो, करोडौं ठगी र भ्रष्टाचारको आरोपमा उनी आफैँ पक्राउ परे । र, उक्त पार्टीको भविष्य पनि उज्वल हुने कुनै सम्भावना देखिन्न ।

‘वैकल्पिक वा फरक धारको राजनीति गर्ने’ दाबीसहित गरिएका माथिका तीनवटा प्रतिनिधिमूलक घटनाहरूको विवरणमार्फत नेपालमा नयाँ पार्टी निर्माणका चुनौतीहरू अलिकति केलाउने जमर्को गरौँ ।

केही साझा विशेषताहरू

वैकल्पिक अथवा फरक धारको राजनीति गर्ने प्रतिबद्धताका साथ मैले उल्लेख गरेका माथिका प्रतिनिधि पार्टी निर्माणका घटनाहरूमा धेरै समानता देखिन्छन् । पार्टी निर्माणको त्यही समानताको कारणले गर्दा नै प्रायः प्रवृत्ति र घटनाहरू उस्तै उस्तै रूपमा विकसित भइदिन्छन् । र, पार्टी विघटनको कार्य र कारण पनि उस्तै प्रकृतिको पुनरावृत्तिजस्तै देखिन पुग्छन् । मूलतः त्यस्ता साझा विशेषताहरूलाई यसरी औँल्याउन सकिन्छ ।

पहिलो, कुनै पनि नयाँ राजनीतिक पार्टीको आवश्यकता नयाँ सामाजिक आवश्यकताले निर्धारण गर्छ । अमूक व्यक्तिलाई राजनीति गर्ने रहर लाग्यो भन्दैमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि हुँदैन । अथवा, कुनै व्यक्तिलाई पुरानो दलमा समुचित स्थान नपाएर नयाँ दल निर्माण गर्नु भनेको फरक धारको राजनीति होइन ।

तर, नेपालमा अहिलेसम्म अभ्यास भएका कथित वैकल्पिक पार्टीहरूको निर्माण सामाजिक आवश्यकताभन्दा बढी व्यक्तिगत आवश्यकताद्वारा निर्देशित देखिन्छन् । कुनै फरक पृष्ठभूमिमा कमाएको लोकप्रियतालाई राजनीतिमा आरोपित गर्ने मूल प्रवृत्ति रहिआएको छ । अथवा समाजमा अन्य कुनै कारणले बनेको ‘सेलीब्रेटी–इमेज’लाई प्रयोग गरेर राजनीतिक लाभ लिने साझा विशेषता देखिएको छ ।

राजनीतिमा होइन, अन्य क्षेत्रमा बनेको व्यक्तिको लोकप्रियताको वरिपरि आफूजस्तै अराजनीतिक भीड जम्मा पारेर व्यक्तिवादी राजनीति गर्ने रहर अर्को समान विशेषता रहेको छ । पार्टीको संरचनालाई पुरानै दलहरूले अपनाएको फर्मा (Template) मा राखेर बनाएको हुनाले नयाँ पार्टीहरू पनि पुरानै पार्टीका फोटोकपी मात्र देखिए । अझ कतिपय अवस्थामा त पुराना भन्दा पनि भद्दा देखिए । नयाँ पार्टीमा सामूहिकता कतै देखिएन । व्यक्ति नै पार्टी र पार्टी नै व्यक्तिको रूपमा पर्यायवाचीजस्तै देखिए ।

कमसेकम पुराना पार्टीहरू भ्रष्ट, अनुशासनहीन र अराजक भए पनि उनीहरूमा राजनीतिक चरित्र हुन्छ । समाजलाई बुझ्न सक्ने र पार्टीभित्र उत्पन्न हुने विभिन्न समस्या बुझ्न र तदनुऔकुल राजनीतिक समाधान गर्न उनीहरू कुशल हुन्छन् । व्यक्तिगत रूपमा प्रतिशोध लिने मनशाय नै राखे पनि त्यसलाई राजनीतिक आवरण दिन पुराना राजनीतिकर्मी खप्पिस हुन्छन् ।

तर, नयाँ पार्टीका नेता र कार्यकर्ताहरूको न त समाजसँग गहिरो सम्बन्ध हुन्छ, न त उनीहरूले कुनै पनि समस्याको राजनीतिक समाधान पहिल्याउन सक्छन् । समस्यालाई व्यक्तिगत, गुटगत र निजी स्वार्थको आधारमा हेर्छन् । जसको कारणले गर्दा ससाना समस्या पनि जटिल बनेर पार्टीको नियन्त्रणभन्दा बाहिर जान्छन् ।

दोश्रो, नेपालमा नयाँ पार्टी बन्ने चर्चा चल्नेबित्तिकै समाजको एउटा हिस्सा जुनसुकै नयाँ दलमा आबद्ध बन्न आतुर देखिन्छ । तर, विडम्बनाको कुरा, यसरी हतार हतारमा नयाँ पार्टीमा जोडिन आउने पात्रहरू पार्टीलाई चाहिनेभन्दा नचाहिने धेरै हुन्छन् ।

नेता बन्ने रहर भएका, मुख्य सेलीब्रेटी नेतासँग सिधै परिचित बनेर फाइदा उठाउने, स्थापित दलमा स्थान नपाएका, मौकामा चौका हान्ने प्रवुत्ति आदिजस्ता फरक धारको राजनीतिलाई नचाहिने पात्रहरू चाहिने पात्रहरूभन्दा पहिले नै पार्टीमा आइपुग्छन् । र, नयाँ राजनीतिलाई चाहिने पात्रहरू खोजुन्जेलसम्म नचाहिने पात्रहरूले पार्टीका सबै महत्त्वपूर्ण पद ओगटिसकेका हुन्छन् ।

प्रारम्भमा फरक धारको पार्टीमा कार्यकर्ता नहुने हुनाले माथिल्ला ‘नेताहरू’को ‘फेस-भ्यालु’बाट प्रभावित केही स्वत:स्फूर्त सम्पर्कमा आएका व्यक्तिहरूमा भर पर्नुपर्ने बाध्यता हुन्छ । समाजमा गहिरो जरा गाडेका पुराना पार्टीले जस्तो उनीहरूलाई नयाँ पार्टीले चिन्दैन । खराब आचरण भएका, विभिन्न काण्डमा फसेका र अन्य पार्टीमा स्थान नपाएका कमसल व्यक्तिमार्फत सिधै मतदातासँग जोडिनुपर्ने बाध्यता हुन्छ ।

जब राजनीतिलाई चाहिने पात्रहरूले नयाँ पार्टीको बारेमा राजनीतिक विचार, संरचना, कार्यशैली, चरित्र आदिको बारेमा अध्ययन गर्न थाल्छन्, पहिल्यै पार्टीको माथिल्ला पद ओगटेका व्यक्तिहरूको अनुहार देखेर उनीहरू पछि हट्छन्  । अझ पार्टीमा आउने अगुवा आगन्तुकहरूले पार्टीभित्र कुनै न कुनै प्रकारको गडबडी गरिसकेका हुन्छन् । जसले गर्दा राजनीतिलाई गहिरोसँग बुझ्ने व्यक्तिहरूको लागि नयाँ पार्टीहरू पनि पुराना पार्टीजस्तै असान्दर्भिक भइसकेका हुन्छन् ।

तेश्रो, नेपालमा दाबी गरिएको वैकल्पिक वा फरक धारका पार्टी निर्माणको प्रक्रिया समाजको तलबाट माथितिर (Bottom-up) होइन, माथिबाट तलतिर (Top-down) जाने परम्परा छ । जसलाई पार्टी निर्माणको ‘इन्डक्टिभ’ विधि नभएर ‘डिटर्मिनिष्टिक’ विधि पनि भन्न सकिन्छ । लोकतान्त्रिक व्यवस्था अन्तर्गत पार्टी निर्माणको यस्तो विधि यथार्थमा उल्टो र व्यक्तिवादी हो ।

समाजको कुनै एकजना नाम चलेको व्यक्ति वा नेतालाई नयाँ पार्टी बनाउन मन लाग्छ । अझ उसको दाबीअनुसार भन्ने हो भने उसलाई अति ‘बिग्रेको’ देश ‘बनाउन’ मन लाग्छ । किनकि, देश नबनेको देखेर ऊ अति चिन्तित भइरहेको हुन्छ । धेरैजसो यस्ता चिन्तितहरूले विदेशमा रहेको बेलामा त्यहाँको विकास देखेर आफ्नो देश बिग्रेको थाहा पाउँछन् । र, विदेशमै उसले ठहर गर्छ, उसले बाहेक कसैले पनि अब मुलुक बनाउन सक्दैन । यो कुरामा शतप्रतिशत ठहर गरिसकेपछि उ स्वदेश फर्किन्छ ।

त्यसपछि ‘डिटर्मिनिष्टिक’ प्रक्रियानुसार काठमाडौं उपत्यका वरिपरिबाट उसका नजिक र चिनजानका व्यक्तिहरू जम्मा गर्छ । उनीहरूले पनि पहिलेदेखि नै ‘देश बनाउनको लागि एउटा मानिस खोजिरहेका’ हुन्छन् । सोहीअनुसार उसलाई बिना प्रश्न नेता मान्न तयार ‘देश बनाउने’ व्यक्तिहरूको छनोट हुन्छ । र, उसकै नेतृत्वमा एउटा सानो समूहले काठमाडौंबाट पार्टी गठन भएको सार्वजनिक घोषणा हुन्छ । जतिसुकै सक्षम भए पनि उसको भन्दा ठूलो व्यक्तित्व र अधिक क्षमता भएको व्यक्तिचाहिँ उसको पार्टीमा अट्न योग्य भने हुँदैन ।

पुराना दल त्यागेर नयाँ बनाउने नेताले चाहिँ पुरानै दलमा लामो समयदेखि निर्माण गरेको आफ्नै गुटका सदस्यहरू अधिक मात्रामा लिएर आउँछ । पहिले नै उसको समुहका सदस्यहरूसँग विशेष सम्बन्ध भएको हुनाले पार्टीको सम्पूर्ण निर्णय प्रक्रिया पूर्ववर्ती समूहको स्वार्थमा कैद बन्छ । जसले गर्दा पार्टीमा नयाँ जोडिने नेता र कार्यकर्ताहरू पुरानै ‘सिण्डिकेट’को मातहत रहन बाध्य हुन्छन् । क्रमशः नयाँ पार्टी पनि पुराना पार्टी जस्तै अपारदर्शी, गुटवादी र फुटवादी हुँदै जान्छ ।

वैचारिक, राजनीतिक र सामाजिक चुनौतीहरू

राजनीतिशास्त्री, समाजशास्त्री तथा इतिहासकारहरूले एक्काइसौं शताब्दीको पूर्वार्धलाई ‘लोक रिझ्याइँ’ को युग भन्ने गरेका छन् । कसैले यसैलाई ‘लोकप्रियतावाद’ पनि भन्छन् । र, वास्तवमा संसारभरि देखिन्छ पनि यस्तै । त्यसकारण आजको हाम्रो राजनीतिक र सामाजिक अव्यवस्थाको एउटा प्रमुख कारण ‘लोक रिझ्याइँ’ बन्न गएको छ ।

यस शताब्दीको सुरुवाती चरणमा विश्वको मूल प्रवाहबाट आर्थिक, राजनीतिक तथा सामरिक हिसाबले विपन्न र किनारामा रहेका मुलुकहरूमा मात्र नयाँ नयाँ ‘लोक रिझ्याइँ’मा आधारित पार्टीहरू जन्मिन्छन् भन्ने ठानिथ्यो । तर, सनै सनै यो प्रवृत्ति समान रूपले विश्वको मूल प्रवाहमा रहेका उदार लोकतन्त्रका उदाहरणीय खम्बा ठानिने शक्तिशाली राष्ट्रहरूमा समेत उस्तै रूपले प्रकट भइरहेको देखिन्छ ।

सन् ७० को दशकदेखि ९० को दशकसम्म विभिन्न किसिमका सैन्य तानाशाह र अन्य निर्देशित लोकतन्त्रका हिमायतीहरूले विश्वभरि नै धेरै हदसम्म लोकतन्त्रलाई समाप्त पारेका थिए वा साँघुरो बनाएका थिए । सन् ९० को दशकबाट विश्वभर पुनः लोकतन्त्र फैलिन खोजे पनि सन् २०१० यता विश्वव्यापी रूपमा लोकतन्त्र खुम्चिँदै गएको छ । त्यसको बदलामा निर्वाचित अधिनायकवादी, लोकप्रियतावादी र राष्ट्रवादी प्रवृत्ति मौलाउँदै गएको देखिन्छ ।

फरक धारको राजनीतिक पार्टी निर्माणको लागि आजको संसारमा यही राजनीतिक प्रवृत्ति र समाजको बदलिँदो चरित्रले निकै ठूलो चुनौती थपिदिएको छ । एकातिर, परम्परावादी दलहरूको जडता बढ्दै जाने र अर्कोतिर, नयाँ निर्माण भएका पार्टीहरूले परम्परावादी पार्टीप्रतिको प्रतिक्रियामा मात्र आफ्नो भविष्य खोज्ने अराजनीतिक कर्मले नयाँलाई झन् चाँडो विघटनको सङ्घारमा पुर्‍याउने गरेको छ। यसले गर्दा ‘लोक रिझ्याइँ’ को यस समयमा नयाँ पार्टी निर्माणको अराजनीतिक प्रतिस्पर्धाले सामाजिक परिवेशलाई नै तिक्त बनाएको छ ।

यस तथ्यलाई निकै मार्मिक तथा रोचक ढङ्गले एक जना प्रसिद्ध आइरिस राजनीतिशास्त्री र प्राध्यापक पिटर मैरले उनको प्रसिद्ध पुस्तक ‘रुलिङ्ग द भोइडः द हालोविङ्ग अफ वेस्टर्न डेमोक्रेसी’ (Ruling the void: The hollowing of western democracy) मा उच्च शैद्धान्तिक ढङ्गले उजागर गरेका थिए ।

नयाँ पार्टीहरूको कुनै तहगत संरचना र जनाधार बिना नै आफ्ना मतदातासँग जीवन्त सम्बन्ध राख्न सङ्घर्ष गर्ने प्रवृत्तिलाई उनले ‘शून्यमा शासन गर्ने’ प्रवृत्तिको संज्ञा दिएका थिए । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र गृहमन्त्री बनेको उदाहरणलाई ठ्याक्कै पिटर मैरको ‘शून्यमा शासन गर्ने’ प्रवृत्तिसँग जोड्न सकिन्छ ।

त्यति मात्र होइन, पिटरले भनेका छन्, ‘शून्यताको शासन’मा कुनै शान्ति नहुने बरु मतदाताहरू धेरै खण्डित र असन्तुष्ट भएको समयमा जनाधार बिनाका नयाँ नयाँ दलहरूले मतदातासँग जोडिनको लागि सङ्घर्ष गरिरहने भएकोले समाजमा झन् धेरै कोलाहल र अशान्ति हुन्छ ।

उता ‘नयाँ पार्टी चुनौती’मार्फत टिम हौटन र डिगनले पनि मुलुक, नेता र मतदाताको जीवनमा खेलिरहेको अस्थिरतालाई ‘लोक रिझ्याइँ’भन्दा बाहिर ल्याउनुपर्ने आवश्यकता ठान्छन् । उनीहरूको विचारमा केवल भ्रष्टाचारको विरोध र मुख्य नेताको छविबाट मात्र नयाँ पार्टीहरू धेरै दिनसम्म लोकप्रिय र जीवित रहन सक्तैनन् ।

हौटन र डिगन–क्राउजले युरोपका धेरै नयाँ नयाँ पार्टीहरूको अध्ययन गरिसकेपछि ‘प्रायः पहिलो निर्वाचनको सफलतापछि नयाँ पार्टीहरू असफल हुन्छन् र तिनीहरूको अवसान हुन्छ’ भन्ने निष्कर्ष निकालेका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि एउटै निर्वाचनले ‘नयाँ शक्ति’लाई निलेको थियो ।

अर्कोतिर, पहिलो निर्वाचनमा उल्लेख्य मत पाएको विवेकशील साझा अर्को निर्वाचनसम्म आउँदा देशभरिको मत सङ्ख्या ५ हजार पनि नाघेन । यही बीचमा चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी आयो र त्यसले उल्लेख्य मत पायो । तर, अर्को निर्वाचनसम्म उसको अवस्था पनि विघटोउन्मुख देखिन्छ ।

यहाँ कुनै पूर्वाग्रह र आधारहीन रूपमा विघटन उन्मुख भनिएको होइन । किनकि, हौटन र डिगन–क्राउजको अनुसन्धानले के देखाएको छ भने नयाँ पार्टीहरूको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेकै अझ धेरै र अझ नयाँ नयाँ पार्टीहरू उत्पन्न गर्दै जाने हो । अर्थात नयाँ पार्टीको चुनौती भनेकै त्यसपछि जन्मिने अर्को नयाँ पार्टी हो । वास्तवमा यो ज्यादै रोचक कुरा छ।

नेपालकै सन्दर्भमा दाँजेर हेर्दा पनि यसलाई स्पष्ट रूपमा देख्न र बुझ्न सकिन्छ । नयाँ शक्तिको विघटनले विवेकशील साझा जन्मायो र विवेकशील साझाको विघटनले राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टीको विघटनले ? पुराना दलले उत्पन्न गरेको सामाजिक विभाजनको फाइदा लिएर गठन हुने हरेक नयाँ पार्टीले आफू ‘सक्षम र स्वच्छ’ भएको दाबीसहित अस्तित्वमा आइरहन अभिशप्त हुन्छ।

नयाँ पार्टीको लागि अर्को चुनौतीपूर्ण सामाजिक मनोविज्ञान के भइदिन्छ भने मतदाताले एउटा निर्वाचनपछि अर्को निर्वाचनसम्म पुग्दा नपुग्दै अझ नयाँ पार्टीलाई मतदान गर्ने आदत बनाइसकेका हुन्छन् । मतदाताको लागि अघिल्लो निर्वाचनको नयाँ पार्टी चालू निर्वाचनको लागि पुरानो भइसकेको हुन्छ। र, हाम्रो जस्तो सदाबहार भ्रष्टाचार र बेथिति हुने मुलुकमा झन् नयाँ पार्टी गठनको लागि तयार समूह पनि भइरहन्छ । गजब !

निरन्तरको सामाजिक विभाजन, राजनीतिक अस्थिरता र नयाँ पार्टीको गठन र विघटनले केही समयको अन्तरालपछि निरन्तर सिर्जना गरिरहने ‘नयाँ पार्टी सब–सिस्टम’ले गर्दा नयाँ खोज्ने मतदाताले पनि जति नै भ्रष्ट भए पनि स्थिर दलप्रति झुकाव राख्न थाल्छन् ।

एकातिर, संस्थापक नेताको छवि बिग्रनासाथ पार्टीको छवि पनि एकैसाथ स्वाहा हुने र अर्कोतिर, सिधै मतदाताको मत तान्न गरिने एक पटकको नयाँ फण्डा अर्को पटक दोहोरिने र पुरानो हुँदै जाँदा नयाँ पार्टीहरू प्रायः असफल हुन्छन् ।

र अन्त्यमा,

सधैँभरि नयाँ पार्टीहरू असफल भइरहन्छन् भन्ने कुरा सत्य नहोला । तर, अराजनीतिक तरिकाले राजनीति हुँदैन, जो नयाँ दलहरूले गरिरहेका छन् । आवेग, संवेग र प्रतिक्रियामा जन्मेका कुनै नयाँ पार्टीहरूको राजनीतिक चरित्र हुँदैन । त्यसकारण आज मुलुकले खोजेको राजनीतिक दिशा समात्न नसकेपछि नयाँ पार्टीहरू पुरानै पार्टीमा समाहित हुने वा आफैँ दिशाहिन राजनीतिक एजेण्डा समातेर विघटन भइरहेका छन् ।

अतः राजनीतिको वैधता स्थापित हुने र नयाँ पार्टी लामो समयसम्म अस्तित्वमा रहिरहनको लागि आधारभूत सवाल हो– समाजको अन्तर्विरोध र यसको चरित्रलाई पार्टी निर्माणसँग जोड्नु । नयाँ व्यक्ति सिधै सत्ताको संरचनामा जानु अमूक व्यक्तिको सफलता त पक्कै हो तर, नयाँ पार्टीको सफलता भने होइन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register