राप्रपाले उपनिर्वाचनको पराजयको कारण खोज्ने, यी हुन् १० निर्णयहरु

काठमाडौं  । राप्रपाले  स्थानीय तह उपनिर्वाचनमा भएको पराजयको कारण खोज्न एक समिति गठन गरेको छ । राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता […]

Dec 21, 2024 - 15:02
 0
राप्रपाले उपनिर्वाचनको पराजयको कारण खोज्ने, यी हुन् १० निर्णयहरु

काठमाडौं  । राप्रपाले  स्थानीय तह उपनिर्वाचनमा भएको पराजयको कारण खोज्न एक समिति गठन गरेको छ ।

राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ ।

यी हुन् बैठकका १० निर्णयहरु

१. राप्रपाले सधैँको वर्ष जस्तै यस वर्ष पनि पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रूपमा मनाउने निर्णय गरेको छ। पृथ्वी जयन्तीलाई भव्य रूपमा मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ। समितिमा पार्टीका पूर्व अध्यक्षहरू, पूर्व प्रधानमन्त्री, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरू, सबै प्रदेश कार्य समितिका अध्यक्षहरू एवं बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, विभागीय प्रमुखहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरू, पार्टीको उपत्यका भित्रका जिल्ला कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, उपत्यका भित्रका प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र, महानगर र नगर कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, भातृ संगठनका उपत्यका अध्यक्षहरू, उपत्यकाका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सदस्य रहेका छन्। समितिमा मुख्य सचिव केदार बहादुर अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको छ। पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ। साथै सबै जिल्लामा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देश गरिएको छ।

२. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ०८१ माघ ११ र १२ गते काठमाडौँमा बस्ने निर्णय गरिएको छ।

३. पार्टीको नीति, विचार, सिद्धान्त, मूल्य मान्यता, आदर्श र निर्णयहरूलाई जनसमक्ष पुऱ्याउन, व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरूपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न, सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबिच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि केन्द्रीय प्रचार विभागद्वारा प्रस्तुत “सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-०८१” लाई अनुमोदन गरिएको छ।

४. हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समीक्षा गरेको छ। निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन। प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको छ।

५. स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको समिति गठन गरिएको छ।

६. राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षका बारे बौद्धिक वर्ग, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू र आम जनसमुदायसँग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न विज्ञहरूको समूह बनाउने निर्णय गरिएको छ। पार्टीको नीति, अनुसन्धान विभागले यसको संयोजन गर्नेछ।

७. पार्टीको भातृ संगठनलाई व्यवस्थित, प्रभावकारी र परिणाम केन्द्रित बनाउन संयोजित संगठन विभागको कार्यविधि -२०८१ पारित गरिएको छ।

८. कञ्चनपुर र जुम्ला जिल्लामा पार्टी अनुशासन विपरीतका गतिविधि सम्बन्धी परेको उजुरीको टुङ्गो लगाउन केन्द्रीय अनुशासन समितिमा पठाउने र सो विषयको यथाशक्य चाँडो निरूपण गरिने निर्णय भएको छ।

९. अस्वस्थ भई काठमाडौँमा उपचाररत वरिष्ठ नेता मा. दीपक बोहरा र भारतको नयाँ दिल्लीमा उपचाररत महामन्त्री मा.डा. धवल शमशेर राणाको बैठकले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

१०. केन्द्रीय कार्यसम्पादन समितिको यस बैठकका बाँकी एजेन्डाहरूमा छलफल गर्न अर्को बैठक पौष ९ गते, मंगलबार बस्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register