भारत-पाकिस्तान युद्धको ७८ वर्षे इतिहास

काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तानमाथि सैन्य आक्रमण सुरु गरेको छ । अप्रिल ७ को राति भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू कश्मीरका नौ वटा स्थानहरूलाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नाम दिएर आक्रमण सुरु गरेको हो । आणविक हतियारले सम्पन्न भारत र पाकिस्तानबीच सैन्य टकराव भएको यो पहिलोपटक होइन । यी […]

May 7, 2025 - 10:06
 0
भारत-पाकिस्तान युद्धको ७८ वर्षे इतिहास

काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तानमाथि सैन्य आक्रमण सुरु गरेको छ ।

अप्रिल ७ को राति भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू कश्मीरका नौ वटा स्थानहरूलाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नाम दिएर आक्रमण सुरु गरेको हो ।

आणविक हतियारले सम्पन्न भारत र पाकिस्तानबीच सैन्य टकराव भएको यो पहिलोपटक होइन । यी दुई देशहरू कयौँपटक आमनेसामने भइसकेका छन् ।

युद्धको जड कश्मीर

भारत र पाकिस्तानबीच युद्धको सुरुवात सन् १९४७ देखि नै भएको हो । सन् १९४७ मा भारत र पाकिस्तान अङ्ग्रेजहरूबाट स्वतन्त्र भएसँगै यी दुई देशबिच युद्धको सुरुवात भयो ।

सन् १९४७ को विभाजनले मुस्लिम बहुल पाकिस्तान र हिन्दु बहुल भारतको स्थापना गर्‍यो । तर, जम्मू कश्मीरलाई भने भारत र पाकिस्तानमध्ये एक देश रोज्न भनियो ।

कश्मीरका राजा हरिसिंहले कश्मीरलाई भारत र पाकिस्तान दुवै देशबाट छुट्टै राख्ने निर्णय गरे । उनले कश्मीरलाई स्वतन्त्र राख्ने निर्णय गरे । जसै हरिसिंहले कश्मीरलाई स्वतन्त्र राख्ने निर्णय गरे कश्मीरमा पाकिस्तान समर्थित आतङ्कवादी समूहले आक्रमण गर्न सुरु गर्‍यो ।

पाकिस्तानबाट आतङ्ककारी आक्रमण हुन थालेपछि कश्मीरी राजाले भारतसँग सैन्य सहयोग मागेका थिए ।

पहिलो युद्ध : १९४७

कश्मीरी राजालाई सहयोग गर्न भनेर भारतीय सेना पुगेपछि पाकिस्तानले पनि सेना पठायो र दुई देशबीच पहिलो युद्धको सुरुवात भयो । सन् १९४७ मा सुरु भएको यो युद्ध संयुक्त राष्ट्रसङ्घको हस्तक्षेपमा सन् १९४८ मा समाप्त भयो ।

यो युद्धमा भारतीय सेना कश्मीर प्रवेश गरेर पाकिस्तान समर्थित आतङ्कवादीलाई पछाडि धकेल्न सफल भयो ।

यही युद्धपछि लाइन अफ कन्ट्रोल (LOC) स्थापना भयो । जम्मू–कश्मीरको केही भाग पाकिस्तानी नियन्त्रणमा पुग्यो भने ठूलो भू–भाग भारतसँग रह्यो । औपचारिक रूपमा भारतले काश्मीरको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भएका कारण यसलाई भारतको रणनीतिक विजय मानिन्छ । यो युद्धमा ११ सय भारतीय सैनिक र ६ हजार पाकिस्तानी सैनिक मारिएका थिए ।

दोस्रो युद्ध : १९६५

पहिलो पटक कश्मीरमा हार व्यहोरेको पाकिस्तानले फेरि दोस्रो पटक कश्मीरमा आक्रमण गर्न खोज्यो । पाकिस्तानी सेनाले राष्ट्रसङ्घको पहलमा बनाइएको लाइन अफ कन्ट्रोल पार गरेर भारतमाथि आक्रमण गरेको बताइन्छ ।

पाकिस्तानले ‘अप्रेसन जिब्राल्टर’ नाम दिएर कश्मीर क्षेत्रमा हिंसा भड्काउने र भारतबाट कश्मीर खोस्ने प्रयास गरेको आरोप छ । कश्मीरबाट सुरु भएको यो युद्धको बाछिटा पन्जाबसम्मै पुग्यो ।

भारतले पनि जवाफी कारबाही भन्दै आक्रमण गर्‍यो । यो युद्धमा दुवै देशले ठूलो क्षति व्यहोरे, तर निर्णायक जित भने कसैको भएन । यो युद्ध तत्कालीन सोभियत सङ्घको ताशकन्दमा भएको सम्झौताद्वारा टुङ्गियो । यो युद्धमा ३ हजार भारतीय सैनिकको मृत्यु भयो भने ३८ सय पाकिस्तानी सैनिकको मृत्यु भयो ।

तेस्रो युद्ध : १९७१

भारत र पाकिस्तानबीच सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशलाई स्वतन्त्र बनाउने क्रममा तेस्रो पटक युद्ध भयो । तत्कालीन पूर्वी पाकिस्तान (बङ्गलादेश) मा पाकिस्तानले मानव अधिकार उल्लङ्घन गरेको भन्दै भारतले बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्‍यो । भारतले बङ्गलादेशलाई पाकिस्तानबाट छुट्याउनका लागि आफ्ना सैनिक नै बङ्गलादेशमा पठायो ।

र, नतिजा स्वरूप पाकिस्तानले पूर्वी पाकिस्तान गुमायो । भारतीय सहयोगपछि बङ्गलादेश स्वतन्त्र राष्ट्रको रूपमा जन्मियो । यो युद्धमा ९० हजारभन्दा धेरै पाकिस्तानी सैनिकले भारतीय सैनिक समक्ष आत्मसमर्पण गरेका थिए । यसलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य आत्मसमर्पणमध्ये एक मानिन्छ ।

यो युद्धमा भारतले जित हासिल गर्‍यो । करिब ३८ सय भारतीय सैनिक मारिँदा पाकिस्तानका ८ हजार सैनिक यो युद्धमा मारिए ।

चौथो युद्ध : १९९९

भारत र पाकिस्तानबीच सन् १९९९ मा भएको युद्ध कारगिल युद्धका नामले चर्चित छ । पाकिस्तानी सेना र लडाकुहरूले लाइन अफ कन्ट्रोल पार गरेर कारगिल क्षेत्रमा नियन्त्रण जमाउन प्रयास गरेपछि यो युद्धको सुरुवात भएको थियो ।

पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल पार गरेको भन्दै भारतले ‘अप्रेसन विजय’ नाम दिएर आक्रमण सुरु गर्‍यो । यो अप्रेसनमार्फत पाकिस्तानी सेनाले कब्जा गरेका सबै भू–भाग फिर्ता लियो । कारगिल युद्धपछि पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमै आलोचना भोग्नु पर्‍यो । र, यो युद्धमा भारत विजयी भयो ।

कारगिल युद्धमा भारतका करिब ५२७ जना सैनिकको मृत्यु भयो भने पाकिस्तानका करिब १ हजार जना सैनिकको मृत्यु भयो ।

संसद् भवनदेखि पहलगामा हमलासम्म सधैं तनाव

भारत र पाकिस्तानबिच सधैं जसो युद्धको तनाव भइरहन्छ । सीमा क्षेत्रमा भारत पाकिस्तानका सैनिकहरू प्राय: आमनेसामने भइरहन्छन् । भारतले आफ्नो देशमा हुने आतङ्कवादी हमलामा पाकिस्तानी सहयोग रहेको आरोप लगाइरहन्छ । पाकिस्तान यस्ता आरोपको खण्डन गरिरहन्छ ।

१३ डिसेम्बर २००१ मा भारतको राजधानी नयाँ दिल्लीस्थित संसद् भवनमा आतङ्कवादी हमला भयो । यो हमलामा १२ जनाको मृत्यु भयो भने सयौँ घाइते भए । संसद् भवनमा लस्कर–ए–तैयबा (LeT) र जैश–ए–मोहम्मद (JeM) नामको आतङ्कवादी समूहले आक्रमण गरेको थियो ।

ती दुवै आतङ्कवादी समूहको पाकिस्तानको गुप्तचर संस्था इन्टर–सर्भिसेज इन्टेलिजेन्स (ISI) सँग सम्बन्ध रहेको आरोप लगायो भारतले ।

संसद् भवनमा आक्रमण भएपछि भारतले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध घटायो । पाकिस्तानका उच्चायुक्तलाई निष्कासन गर्‍यो र पाकिस्तानमाथि विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन प्रयास गर्‍यो ।

सन् २००८ को नोभेम्बर २६ मा आतङ्ककारीहरूले भारतको राजधानी मुम्बईमा हमला गरे । यो आतङ्कवादी हमलापछि भारत र पाकिस्तान फेरि एक पटक सैन्य टकराबतिर सोझिए । भारत र संयुक्त राज्य अमेरिका दुवैले पाकिस्तानलाई केन्द्र बनाएर सञ्चालित लस्कर–ए–तैयबा (LeT) ले मुम्बईमा आतङ्कवादी हमला गरेको दाबी गरे ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई आफ्नो शपथ ग्रहण समारोहमा उपस्थित हुन आमन्त्रित गरेपछि धेरैले भारतले पाकिस्तानसँग अर्थपूर्ण शान्ति वार्ता अगाडि बढाउने अपेक्षा गरेका थिए । तर, अगस्ट २०१४ मा भारतमा रहेका पाकिस्तानी उच्चायुक्तले कश्मीरी पृथकतावादी नेताहरूसँग भेट गरेपछि भारत-पाकिस्तान सम्बन्ध चिसिन सुरु भयो ।

सेप्टेम्बर २०१६ मा आतङ्ककारीहरूले लाइन आफ कन्ट्रोल नजिकै रहेको भारतीय सैन्य क्याम्प उरीमा आक्रमण गरेपछि भारत पाकिस्तान सम्बन्ध फेरि चिसियो । पाकिस्तानको जैश–ए–मोहम्मद (JeM) ले उरीमा आक्रमण गरेको भारतको आरोप थियो । र, त्यो आक्रमणको जवाफमा भारतले पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतङ्कवादी अखाडामा ‘सर्जिकल स्ट्राइक’ गर्‍यो ।

अक्टोबर २०१७ मा श्रीनगर नजिकैको भारतीय अर्धसैनिक शिविरमा र फेब्रुअरी २०१८ मा जम्मू क्षेत्रमा रहेको भारतीय सेनाको अड्डामाथि आतङ्ककारीहरूले आक्रमण गरे । यी आक्रमण पनि पाकिस्तानी सहयोगमा भएको भारतको आरोप थियो ।

फेब्रुअरी २०१९ मा कश्मीरको पुलवामामा भारतीय अर्धसैनिक बलमाथि भएको आतङ्ककारी आक्रमणमा कम्तीमा ४० सैनिक मारिए । पाकिस्तानको आतङ्कवादी समूह जैश–ए–मोहम्मदले पुलवामा आक्रमणको जिम्मा लियो ।

पुलवामा आक्रमणपछि आक्रोशित भारतले पाकिस्तानी भू–भागभित्र रहेका आतङ्कवादीका तालिम शिविरहरूलाई लक्षित गरी हवाई आक्रमण गर्‍यो । त्यसको जवाफमा पाकिस्तानले पनि कश्मीरमा हवाई आक्रमण गर्‍यो । यो हवाई आक्रमण युद्धमा नै परिणत भयो । यो युद्धमा पाकिस्तानले दुई भारतीय सैन्य विमान खसाल्यो र एक भारतीय पाइलटलाई युद्ध बन्दी बनायो । युद्ध बन्दी बनाइएका पाइलटलाई पाकिस्तानले दुई दिनपछि रिहा गर्‍यो ।

सन् २०२५ को अप्रिल २२ मा आतङ्कवादीले कश्मीरको पहलगाममा २५ भारतीय  र एक नेपाली नागरिकको हत्या गरेपछि भारत आक्रोशित भयो । यो घटना सन् २००८ को मुम्बई आक्रमणपछि भारतीय क्षेत्रमा भएको सबैभन्दा घातक आतङ्कवादी आक्रमण थियो ।

भारतले आक्रमणको लागि जिम्मेवार समूहलाई आश्रय दिएकोमा पाकिस्तानलाई दोष लगाउन सुरु गर्‍यो । पाकिस्तानले भने पहलगाम हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

यो आक्रमणपछि नयाँ दिल्लीले पहिले पाकिस्तानसँगको सम्बन्ध लगभग समाप्त गरेको छ । सिन्धु जल सन्धि रद्द गरेर भारतले पाकिस्तानमाथि ठूलो दबाब सृजना गरेको छ । र, यही आक्रमणको जवाफ भन्दै भारतले पाकिस्तानमाथि ‘अप्रेसन सिन्दुर’को नाममा सैन्य आक्रमण सुरु गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register