पत्रकार महासंघका नवनियुक्त पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन

काठमाडौं । कामना न्युज पब्लिकेसन्स प्रालिले नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई आफ्नै कार्यालयमा बोलाएर बधाई ज्ञापन गर्दै सम्मान गरेको छ। गत मंसिर २८ मा सम्पन्न निर्वाचनमा नेपाल प्रेस युनियन तथा प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट निर्मला शर्मा नेतृत्वको टिम विजयी भएको थियो। नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारीका लागि आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कामना न्युज […]

Dec 22, 2024 - 01:22
 0
पत्रकार महासंघका नवनियुक्त पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन

काठमाडौं ।

कामना न्युज पब्लिकेसन्स प्रालिले नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई आफ्नै कार्यालयमा बोलाएर बधाई ज्ञापन गर्दै सम्मान गरेको छ। गत मंसिर २८ मा सम्पन्न निर्वाचनमा नेपाल प्रेस युनियन तथा प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट निर्मला शर्मा नेतृत्वको टिम विजयी भएको थियो।

नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारीका लागि आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कामना न्युज पब्लिकेसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले पत्रकार महासंघको इतिहासमा पहिलोपटक पत्रकार महिला नेतृत्वमा पुग्नु आफैंमा ऐतिहासिक भएको र यो गौरवलाई आगामी दिनमा काम गरेर स्थापित गर्नुपर्ने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अहिलेको निर्वाचित टिम मिडिया तथा पत्रकारमैत्री भएकाले आफूले शर्मा नेतृत्वको टिमलाई आफ्नै कार्यालयमा सम्मान गर्न पाउँदा गौरव बोध भएको स्पष्ट पार्नुभयो ।

नेपालमा पत्रकार र मिडिया सञ्चालकहरू एक भएर अघि बढ्न नसक्दा सकारबाट पाउने सुविधा लिन वञ्चित हुनुपरेको वास्तविकता औंल्याउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल पत्रकार महासंघ, मिडिया एलाइन्स नेपाल, नेपाल मिडिया सोसाइटीजस्ता संस्था एक भएर अघि बढ्न सके मिडिया हाउस पनि दिगो रहने र पत्रकार तथा कर्मचारीले समयमा तलब मात्र होइन थप सुविधा पनि पाउन सक्ने भएकाले एकआपसमा हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी नवनियुक्त केन्द्रीय अध्यक्ष निर्मला शर्माले आफू पनि श्रमजीवी पत्रकार भएकाले पत्रकार तथा मिडिया हाउसको समस्या बुझेको र आगामी दिनमा दुवै संस्थाबीच हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष शर्माले मिडिया सञ्चालकहरूको सुझावलाई मध्यनजर गरी आगामी दिनमा काम गर्ने र ं श्रमजीवी पत्रकार तथा मिडिया हाउसलाई दिगो बनाउने पक्षमा आफ्ना तीन वर्ष बित्ने बताउनुभयो ।

सो कार्यक्रममा महासंघका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले नेपालको पछिल्लो समयको पत्रकारिता मूलधारबाट बाहिरिएर ‘प्रोप्रोगान्डा’तर्फ लाग्नु मुलुककै लागि खतराको विषय भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउनुपर्ने बेला आइसकेको तर्फ महासंघका पदाधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो । सम्पादक पण्डितले अहिलेको सञ्चार जगत् सामाजिक उत्तरदायित्वको मुख्य सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउँदै आवाजविहीनहरूको वास्तविक आवाजको रूपमा आम सञ्चारकर्मीले आफूलाई स्थापित गर्नुपर्ने र त्यसका लागि पत्रकार महासंघले कुशल नेतृत्व प्रदान गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी नवनिर्वाचित अध्यक्ष भगवती तिमल्सिनालाई निवर्तमान शाखा अध्यक्ष राजु श्रेष्ठले माइन्युट तथा पद हस्तान्तरण गर्नुभयो। सो सम्मान कार्यक्रममा महासंघकी अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय नितु पण्डित, उमिदप्रसाद बागचन, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव रमेश खतिवडा, सोनी शर्मा, लेखा समिति संयोजक केसी लामिछानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले आफूहरूले अहोरात्र खटेर महासंघको निर्वाचन समयमा नै सम्पन्न गराउन सफल भएको र यसका लागि सहयोग पुर्‍याउने देशैभरका पत्रकार साथीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई पब्लिकेसन्सको तर्फबाट खादा टीकाका साथै यमोरी खुवाएर सम्मान गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register