हरियो मरूभूमि र रेगिस्तानका प्रेमकथा

मरूभूमि, नामले नै कस्तो उजाड, उराठलाग्दो लाग्ने । तर, मरूभूमिको पनि आफ्नै सौन्दर्य हुनेरहेछ । र, यसले मानिसलाई त्यसैगरी मोहपासमा बाँधेको हुँदो रहेछ- जसरी पहाडले, फाँटले वा मैदानको कुनै भूखण्डले बाँधेको हुन्छ । मानिसहरू यहाँका बालुवाको कणकणमा आफ्नोपन महशुस गर्छन् ।

Jan 11, 2025 - 07:15
 0
हरियो मरूभूमि र रेगिस्तानका प्रेमकथा

बिहान तीन बजे आइपुग्नुपर्ने रेल दुई घण्टा ढिलो भयो ।

घाम झुल्किनुभन्दा अगाडिको चिसो स्याँठले मुटु जम्ला जस्तो भइसकेको थियो । यताको चिसो कस्तो भने हातखुट्टामा कतै थाहै नहुने, सीधै मुटु गाँठो पार्ने । चिसोसँग जुध्न म एकपछि अर्को चिया पिइरहेको छु । घडीको काँटा पनि यति सुस्तरी चलेजस्तो लाग्छ कि, १० मिनेट बित्दा पनि घण्टौँ कुरेजस्तो भइरहेको छ ।

कुरा वीरगञ्ज पारिपट्टि रहेको रक्सौल जंक्सनको हो ।

चिसो ठीहीमा घण्टौँको कुराइपछि स्टेसनको माइक बोल्यो सहर्षपुर जंक्सन से दरभङ्गा-सीतामरी कि तरफ से आ कर गोरखपुर-बरेली-मोरादावाद के रास्ते आनन्दविहार टर्मिनल नई दिल्ली जानेवाली पाँचपाँचसातसात नम्बरकी ट्रेन प्लेटफर्म नम्बर दो पर आ रही है

यो उद्घोषणसँगै मानिसहरू चलमलाउन थाले । म रेल हेर्न थालेँ । हुन त रेल आधा घण्टा थकाइ मारेर मात्रै कुद्नेवाला थियो । तर, एसीको न्यानोमा लोभिँदै म रेलभित्र हुत्तिएँ । तेस्रो तल्लाको सिटमा पल्टिएर रेल्वेले दिने सुतीको सेतो तन्ना ओछ्याएँ, सुतीकै ओढ्ने ओढेँ । रेल्वेभित्रको न्यानोले शरीरलाई राहत दियो । एकछिनसम्म आवाज गुन्जिरहेको थियो – गरम चाय, गरम चाय ! नास्ता, नास्ता, गरम गरम नास्ता ।

मोबाइल निकालेँ र युट्युब खोलेँ । नेपाली मोबाइलमा इन्टरनेट चल्न सक्ने अवस्था थिएन । डाउनलोडमा नुसरत फतेह अली खानका केही कवाली थिए । बजाएँ – सहर करिब है, तारोंका हाल क्या होगा ?

झोलाबाट हरियो मोटो किताब निकालेँ –पिटर फ्र्याङ्कोपानले बडो मिहिनेतसाथ लेखेको द अर्थ ट्रान्सफर्म्ड : एन अनटोल्ड हिस्ट्री ।

फ्रयाङ्कोपानको यो किताब वातावरणीय परिवर्तनमा आधारित विश्व इतिहासको किताब हो । मैले पढिरहेको थिएँ – प्राचीन महासभ्यताहरूको पतनमा पनि वातावरणीय परिवर्तनको भूमिका छ । मिश्र, ग्रिस, प्यालेस्टाइन लगायतका क्षेत्रका साथै दक्षिण एसियाली महासभ्यताले आफ्नो अवसानकालमा खतरनाक खडेरीहरू झेलेका थिए । इशापूर्व २२०० आसपासबाट यस्ता खडेरी सुरु भएको उनको कथन छ । तर, सिन्धु सभ्यतामा यो क्रम त्यसको तीनसय वर्षपछि आइपुगेको थियो ।

खासमा सिन्धु नदी आसपासको त्यो महासभ्यता कसरी पतन भयो भन्ने कुरा आज पनि ठूलो रहस्यको विषय छ । सुरुमा इतिहासकारहरूले उत्तरपश्चिमबाट आर्यहरूको आगमनलाई जिम्मेवार ठहर्‍याएका थिए । प्रविधिमा भएको विकास र नयाँनयाँ तथ्यहरूको उपलब्धताले वातावरणीय सङ्कट कारण हुनसक्ने प्रशस्त आधार दिएका छन् । सभ्यताको सबैभन्दा ठूलो शहर मोहेनजोदारो सिन्धु नदीमा आएको बाढीले पुरेको थियो । यता सरस्वती नदी आसपास बसेका कालीबङ्गा, राखीगरी, धोलाभिरा, लोथल लगायतका शहरहरू अत्यधिक खडेरीका कारण नदी सुकेपछि मानिसले छोडेर हिँडेका थिए ।

हुन त ऋग्वेदमा वर्णित सरस्वती नदी अफगानिस्तानको हेलमन्ड नदी पनि हुनसक्ने कतिपय इतिहासकारको दाबी छ, जसलाई पर्सियन अवेस्तामा हरावती भनिएको छ । संस्कृतको ‘स’ पर्सियन भाषामा ‘ह’ हुन्छ, यही प्रक्रियाबाट हिन्दु शब्द बनेको थियो । तर, भारतीय इतिहासकार रोमिला थापर हेलमन्ड नै पुरानो सरस्वती रहेको दाबीलाई खारेज मात्रै गर्दिनन्, हरप्पा वा मोहेनजोदारो भनिने यो सिन्धु सभ्यताको नाम परिवर्तन गर्दै सिन्धु-सरस्वती सभ्यता नामकरण गर्नुपर्ने तर्क गर्छिन् ।

ऋग्वेदमा अनेकौँ पटक सरस्वती नदी उल्लेख छ । र, यसकै पछिल्लो समय रचना भएका ऋचाहरूले यो नदी सुकेको कथा पनि बताउँछन् । हिमालयका अरू तीन नदी प्रणाली जस्तै सरस्वती पनि मानसरोवर आसपास उत्पन्न भएर सतलज र यमुना नदीको बीचबाट हरियाणा, पन्जाब हुँदै राजस्थान, पश्चिमी राजस्थानबाट बग्दै कचमा पुगेर समुद्रमा सामेल भएको वर्णन पाइन्छ । वेद, स्मृति, पुराणमा जस्तै किम्वदन्तीमा पनि यो नदीका कथाहरू छन् । राजस्थानका मानिसले आज पनि सरस्वती नदी मरूभूमिबाट बगिरहेको विश्वास गर्ने रहेछन् ।

रेल छुकछुक गर्दै गुडिरहेको थियो । बाटाका अधिकांश स्टेसनमा रोकिँदै सुस्त गतिमा दगुरिरहेको यो रेलले अर्थशास्त्री राधाकृष्णनले सन् १९९० सम्म भारतले हासिल गरिरहेको औसत आर्थिक वृद्धिदरलाई व्यङ्ग्य गर्दै दिएको उपमा ‘द हिन्दु ग्रोथ’लाई सम्झाइरहेको थियो । यो ‘द हिन्दु स्पीड’को गरीब रथ थियो । भारतमा आज पनि रेलको औसत गति ३५ देखि ४० किलोमिटर प्रतिघण्टाको छ । चीनमा साधारण रेलकै गति औसत १४० किलोमिटर प्रतिघण्टा छ भने उच्चगतिका रेलको औसत २५० किलोमिटर भन्दा माथि छ ।

सूर्योदयपछि बाहिर अलि न्यानो भएको छ । घरि रेलको बार्दलीमा निस्किएर बाहिर हेर्नु, घरि चिया पिउनु । अनि एकछिनपछि फेरि पल्टिएर फ्र्याङ्कोपानको किताब पल्टाउनु । अनि पुग्नु इतिहासको प्राचीन कालखण्डमा । थाहा छैन, प्रागइतिहासका मानिसका कथामाथि मेरो रूचि कसरी जाग्यो, तर यस्ता कथाले मलाई पूरै रोमाञ्चित बनाउँछन् । मेरो अझ गहीरो रूचि दक्षिण एसियाको प्राचीन इतिहासमा छ ।

सरस्वती नदी मरूभूमिमुनि लुकेको कथा यही इतिहासको एउटा कथा हो । यो मरूभूमिलाई आज ‘थार’ नामले चिनिन्छ । यही मरूभूमिले भारतको राजस्थानलाई पर्यटकीय राज्य बनाएको छ । थार पन्जाब, गुजरात र राजस्थानको पश्चिम र केही मात्रामा पाकिस्तानको पन्जाब र सिन्धको पूर्वी भूभागमा फैलिएको मरूभूमि हो । भारततर्फ जैसलमेर, जोधपुर र अजमेर लगायतका शहरहरू छन् भने मिथि, मिरपुर खास र उमरकोटजस्ता शहर पाकिस्तानमा पर्छन् । २ लाख वर्गकिलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको यो मरूभूमिको ६० प्रतिशत हिस्सा राजस्थानमा पर्ने रहेछ । २०२२ मा पहिलो पटक यता जाँदा थाहा पाएको थिएँ, यहाँको मरूभूमि मैले कल्पना गरेजस्तो वा सिनेमा र पोस्टरमा देखाएजस्तो विशुद्ध बालुवाको होइन रहेछ । यो मरूभूमिमा प्रशस्तमात्रामा होचा पोथ्रे बुट्यान र सिउँडी पाइने रहेछ । बालुवैबालुवाको पहेँलो थुप्रो त कतै कतै मात्रै देखिने रहेछ ।

वास्तवमा यो भूमि सधैँ यस्तो उराठलाग्दो मरूभूमि रहेनछ । आजभन्दा १० हजार वर्षअघिसम्म यो क्षेत्र जङ्गलामुलुक रहेको हुनसक्ने  भूगर्भ- इतिहासकारको अनुमान छ । १० हजार वर्षअघितिर मनसुनी वर्षाको प्रकृति परिवर्तन हुँदै जाँदा यो क्षेत्र विस्तारै सुक्न थाल्यो । ४००० वर्षअघि, सरस्वती नदी लुकेको समयतिर, यहाँको मरूभूमिकरण उत्कर्षमा पुगेको हो ।

रेलको छुकछुक रातभरि चालु रह्यो । बिहान साढे ६ बज्दा बल्ल नयाँ दिल्लीको आनन्दविहार टर्मिनल ल्याइपुर्‍यायो । रेलबाट ओर्लिएर मेट्रो रेल चढेर म जवाहरलाल नेहरू विश्वविद्यालय पुगेँ । त्यहाँको होस्टलमा राजस्थानका मित्र राकेशको कोठामा आराम गर्नु भन्ने सूचना पहिले नै प्राप्त भइसकेको थियो । मेट्रोबाट ओर्लिएर अटोरिक्साबाट सीधै उसको कोठामा पुगेँ ।

खाना खाने बेलामा कालो र सेतो पाङ्ग्रे ज्याकेट र ज्याकेटजस्तै टोपी लाएर एउटा गोरो गोरो केटो कोठाभित्र छिर्‍यो । निकैबेरसम्म हाम्रो औपचारिक परिचयबाहेक केही कुरा भएन । तर, कुरा गर्दैजाँदा मलाई थाहा भयो – ऊ पनि हामीसँगै राजस्थान जाने रहेछ । यसपछि हामीले फेरि परिचय दोहोर्‍यायौँ । मलाई थाहा भएको कुरा यति नै थियो – अक्षय उसको नाम थियो र लखनउ नजिकैको शहर उन्नाउँबाट आएको थियो ।

हाम्रो यात्राको मुख्य पात्र अझै भेटिएको थिएन । उन्नाउँको अक्षय र इलामको रोहेज जोड्न बीचमा रहेको सुभाष साँझपख बल्ल हामीमाझ आइपुग्यो । नोयडामा रहेको शिव नाडर विश्वविद्यालयमा विद्यावारिधी गरिरहेको सुभाष पोन्डीचेरी विश्वविद्यालयमा मेरो सहकक्षी थियो । कोभिड अगाडि बङ्गालको खाडीको किनारमा हामीले निकै अविस्मरणीय पल बाँचेका थियौं । अक्षयसँग उसको चिनापर्चि त्यसअघि नै भइसकेको थियो सायद ।

भोलिपल्ट बिहानै हामी दिल्लीबाट रेल पक्रेर राजस्थानतिर जाँदै थियौं । आजको हाम्रो गन्तव्य थार मरूभूमिमा बसेको शहर जोधपुर थियो, जसलाई ‘थारको दरबाजा’ भनेर पनि चिनिन्छ । यहाँबाट हाम्रो मरूभूमितिरको यात्रा सुरु हुने थियो । रेलमा चढेसँगै हामी यो मरूभूमिको बारेमा बेलामौकामा कुरा गरिरहेका हुन्छौं । राजस्थान र मरूभूमि भनेपछि म बङ्गाली लेखिका महाश्वेतादेवीको यही शीर्षकको कथामा बनेको कल्पना लाज्मी निर्देशित चलचित्र रुदाली सम्झिन्छु । र, सम्झिन्छु म यही चलिचित्रमा भएका गुलजारको रचना, भूपिन हजारिकाको सङ्गीत र हजारिकाका साथै आशा भोसले र लता मंगेशकरका स्वरमा गुन्जने गीतहरू – दिल हुम् हुम् करे.. समय ओ समय धीरे चलो…! गुलजार, भूपिन हजारिका, आशा भोसले र लता मंगेशकरको संयोजन, अझ त्यसमा सबैभन्दा अगाडि महाश्वेतादेवी । खासमा यो महाश्वतादेवीको कथा हो भन्ने पनि मलाई धेरै पछि मात्रै थाहा भएको हो ।

हामी रेगिस्तानका मानिसहरू, इतिहास, संस्कृति, पर्यावरण आदि विभिन्न आयामबारे गफ गर्दै गइरहेका थियौँ । रेगिस्तानमा मानिस छन्, शहर छन्, गाउँ छन् । यहाँका मानिसको इतिहास छ, आस्था छ, कथा छ, किम्वदन्ती छ । मानिसका संस्कृति, इतिहास, परम्परा, मान्यता, किम्वदन्ती, इतिहास सबै मरूभूमिसँग जोडिएका छन् । यद्यपि पछिल्लो समय राजस्थानमा हिन्दीसँगै पन्जाबी संस्कृतिको प्रभाव बढ्दो रहेछ । यो कुरा म जेएनयुमा भेटिएका राजस्थानीले रुचाउने पन्जाबी गीत तथा भिडिओबाट पनि थाहा पाइरहेको थिएँ । छिमेकी राज्य पन्जाबको सांस्कृतिक प्रभाव यहाँ निकै पुरानो रहेछ । सुभाष हामीलाई सुनाउँदै छ, हिर र राँझाको प्रसिद्ध प्रेमकथा राजस्थानमा पनि निकै लोकप्रिय छ । यो हाम्रो मुनामदनको कथा जस्तै हो ।

सुभाष हामीलाई यो कथाको सङ्क्षेप सुनाइरहेको छ –

सियाल गाउँकी मुखिया कि छोरी हिर अनुपम सुन्दरी थिई । यौवनकालमा प्रवेश गरेसँगै उसको सुन्दरताको बासना परपरका गाउँसम्म फैलिन थालेको थियो । अनेकौँ राजकुमार उसको प्रेममा परेका थिए । यता तख्तहजारा गाउँमा अर्को सुन्दर नवयुवक रांझा हुर्किरहेको थियो, जो उसको सुन्दरतासँगै बाँसुरी बजाउने अदभूत कलाका कारण नवयौवनाहरूको आँखाको नानी बनेको थियो । रांझाको बाँसुरी प्रेमका कारण उसका दाजुहरू उसलाई तिरस्कार गर्थे । यही कारण रांझा आफ्नो गाउँ छोडेर हिड्यो

संयोगले रांझालाई हिरको घरमा नोकर बनाएर पुर्‍यायो । उसको सुन्दरताले हिरको मन जित्यो । उनीहरू एकअर्कालाई सम्पूर्ण हृदयले प्रेम गर्न लागे ।  तर, हिरको परिवारले यो सम्बन्ध स्वीकार्ने कुरा भएन । रांझासँगको सम्बन्ध तोड्न परिवारले उनलाई अनेक दबाब दिन्छन् । हिर साँचो प्रेम तोड्ने पक्षमा थिइन । ऊ रांझाको कल्पनामा हरक्षण हरपल डुबिरहन्छे । रांझा पनि हिरलाई छोड्न सक्दैन । ऊ पनि हिरबिना बाँच्न नसक्ने भइसकेको हुन्छ । हिरलाई घरबाट निक्लन नै प्रतिबन्ध लगाइएको थियो । हिर भने यो प्रतिबन्ध तोड्दै राति घरबाट लुकेर निस्किन्थीरांझालाई भेट्थी

परिवारले जबरजस्ती हिरको विवाह कुनै धनाढ्य युवकसँग गराइदिन्छन् । यो वियोग सहन नसकेर रांझा साधु बनेर गाउँगाउँ भट्किन थाल्छ । यता हिर दिनरात उसकै सम्झनामा आँशु बगाउन थाल्छे । वर्षौंपछि एक दिन रांझा भिक्षा माग्दै एउटा गाउँ पुग्छ, जहाँ उसको मिलन हिरसँग हुन्छ । तर, यो पुनर्मिलनमा कथा सकिँदैन । यसपछि हिररांझा विवाह गर्छन् । तर, हिरको परिवार, खासगरी काका कैदोले उनीहरूको सम्बन्ध छुटाउन अनेक प्रयास गर्छन् । एकपटक त हिरलाई मार्न खानामा विष मिसाएर खुवाउँछन् ।

खुदाको मेहरबानी ! हिर बाँच्छिन् ।

कथा सुन्दै, चिया खाँदै हामी साँझतिर जोधपुर पुग्यौँ । रेल्वे स्टेसन बाहिर सुरेश लगायत सुभाषका मित्रहरू हाम्रो पर्खाइमा थिए । उनीहरूसँग भेट र परिचय भएपछि चिया पिउनु त अनिवार्य नै थियो । राजस्थानमा छाछ भनिने नुनिलो मोही मलाई एकदमै स्वादिलो लाग्छ । मैले चिया छोडेर छाछ रोजेँ । यो रातको बास सुरेशको निवासमा नै भयो ।

लगातार यात्राको थकान र राति अबेरसम्म चलेको गुफ्तगुले अर्को दिनको सुरुवात ढिलो मात्रै भयो । एकदुई पटक चिया पिएर नुहाइधुवाइ गर्दा लगभग १ बजिसकेको थियो । अक्षयलाई राजस्थानी खानाको स्वाद चाख्‍नु थियो । दिल्लीमा बसेको रात सुभाषका मित्र अर्पण दाले सुझाएका थिए – जोधपुरमा जिप्सी भन्ने रेस्टुरेन्ट छ, त्यहाँ स्वादको लोकल खाना पाइन्छ ।

हामी अटो लिएर जिप्सी रेष्टुरेन्ट पुग्यौँ । एकछिन बसेपछि मात्रै थाहा भयो – त्यो रेष्टुरेन्टमा राजस्थानी थाली नपाइने रहेछ । ५०० मिटर अगाडि अर्को शाखामा जानु पर्ने रहेछ । हिँड्दै हामी त्यहाँ पुग्यौँ । पहिलो तल्लामा मिठाइ लगायतका अरू खानेकुरा थिए । थालीका लागि माथिल्लो तला चढ्नु पर्‍यो ।

रेस्टुरेन्टमा पूरै भीडभाड थियो । सात जनाको टोलीका लागि वेटरले ठाउँ बनाए र हामीलाई बस्न आग्रह गरे । साथै उनले चेतावनी पनि दिए- खाना सेयर गर्न मिल्दैन, एक जनाका लागि एक थाली अर्डर गर्नै पर्छ ।

हैट ! कस्तो नियम हो यो ? हामीले किनेको थाली बाँड्न पनि पाइयो, खान पनि पाइयो, झोलामा हालेर लान पनि पाइयो नि हैन र ?

मैले यति भनेपछि अक्षय थप्छ, ‘हस्पिटालिटी के नाम में तो कुछ् भी नाहिँ है यहाँ ।’

हाम्रो जिद्दीले यहाँ केही हुनेवाला थिएन । हामीले अर्डर पक्का गर्‍यौं । त्यसपछि सबैको अगाडि सानोसानो नाङ्लोजत्रो रित्तो थाल आइपुग्यो । त्यसमा थरीथरीका सब्जी, अचार, मिठाइका साथै कडी (सोल्लर), दही, रावडी, राइता आदिइत्यादि थपिँदै थिए । हामीले राजस्थानमा पाइने बाजरा (पर्ल मिलेट) को रोटी रोज्यौ, हाम्रो कोदोजस्तै । सब्जी अचारका परिकारबारे मैले धेरै ज्ञान राख्न सकिनँ । साङ्ग्रीको सब्जी भने मुखमै झुन्डियो ।

रैथाने बाजराको रोटी थपिथपि खाएपछि पो थाहा भयो, पुलाउ, खिचडी, भात जस्ता चामलका परिकार त बाँकी नै रहेछन् । परेन त बित्यास् । तै पनि थोरैथोरै चाख्‍नु त पर्यो । लगभग मेनुमा भएका सबै परिकार थोरैथोरै भए पनि चाखेर सकियो ।

बाटोमा कहिँकतै सुभाष मलाई जिप्सीको कथा सुनाइरहेको थियो । पश्चिमी दुनियाँमा रोमानी वा रोमा नामले प्रसिद्ध जिप्सीहरू फिरन्ते मानिसहरूको समुदाय हो । उनीहरू २०औं शताब्दीको उत्तरार्द्धसम्मै फिरन्ते जीवन बिताइरहेका थिए । अझै पनि सानो सङ्ख्याका जिप्सी फिरन्ते नै रहेको बताइन्छ ।

रोमानी भाषा बोल्ने जिप्सीहरूको उद्गमथलो राजस्थान नै थियो । विभिन्न अध्ययनले रोमानीका पूर्वज राजस्थान क्षेत्रका आदिवासी वा दलित हुनसक्ने देखाएको छ । कतिपयले राजस्थानी ‘डोम’ आजका रोमानीका पूर्वज भएको दाबी पनि गरेका छन् । स्पेनको बार्सिलोनामा रहेको पोम्पेउ फाब्रा विश्वविद्यालयका अनुसन्धानधाता डेविड कोमास र नेदरल्याण्ड्सको इरामस विश्वविद्यालय रोटरडामका म्यानफ्रेड केसर लगायतको टोलीले सन् २०१२ मा गरेको जेनेटिक्स अध्ययनले जिप्सीहरूले १५०० वर्ष अगाडिदेखि राजस्थान छोडेर हिँडेको देखाएको छ ।

राजस्थानबाट पश्चिम यात्रामा लागेका जिप्सीहरूले पश्चिम एसिया र युरोपभर यात्रा गरिरहे । उनीहरू अहिले युरोपमा रूसको पूर्वोत्तरदेखि स्पेनको दक्षिणपश्चिम सम्म फैलिएका छन् । जिप्सीहरूलाई युरोपमा दास बनाएर बिक्री गर्ने गरिएको थियो । उपनिवेशको युग सुरु भएसँगै उनीहरूलाई अमेरिकी महाद्वीपका विभिन्न स्थान पुर्‍याइयो । पछि उनीहरु अष्ट्रेलिया पनि पुर्‍याइए । आज अमेरिकामा जिप्सीका सन्ततिहरूको सङ्ख्या १० लाखभन्दा धेरै छ भने यसपछि सबैभन्दा धेरै ब्राजिलमा ८ लाख जति छ । युरोपमा उनीहरूको जनसङ्ख्या एक करोडदेखि डेढ करोडको बीचमा रहेको अनुमान छ । संसारभरि कम्तीमा पनि साढे २ करोड जिप्सीका सन्तति रहेको बताइन्छ ।

सङ्गीत पारखी जिप्सीका सन्तति खासगरी अभिनय र खेलकुदको दुनियाँमा प्रख्यात छन् । हास्य चलचित्रका शिखरपुरुष चार्ली च्याप्लिन् समेत जिप्सी सन्तति थिए । यो तथ्य उनको मृत्यु भएपछि मात्रै सार्वजनिक भएको बताइन्छ । तर, च्याप्लिन् भने आफ्ना पुर्खाका बारेमा जानकार थिए र उनले आफ्ना सन्तानलाई जिप्सीहरूको इतिहासमा गर्व गर्न सिकाउँथे । यसबारे उनका सन्ततिले अहिले डकुमेन्ट्री पनि बनाइरहेको बताइएको छ ।

बक्सर टाइसन फ्युरीलाई ‘द जिप्सी किङ्ग’को उपमा दिइएको थियो । फुटबलर जलाटन इब्राहिमोभिच पनि जिप्सीकै सन्तान हुन् । प्रसिद्ध कलाकार पाब्लो पिकासोको पुर्खा पनि जिप्सी भएको बताइन्छ ।

सुभाषले मलाई ‘जिप्सीज आर फाउन्ड नियर हेभन’ नामको फिल्म हेर्न सुझाएको थियो । जिप्सी संस्कृतिको झलक दिने यो फिल्म दर्शनीय छ ।

यिनै जिप्सीहरूको नाममा खोलिएको यो रेष्टुरेन्ट निकै प्रख्यात रहेछ । जिप्सीको खाना स्वादिलो थियो । खाना खाएर हामी यहाँको जैविक उद्यान घुम्न निस्कियौँ । भोलिपल्ट जोधपुरको प्रसिद्ध मेहरनगढ किल्ला घुम्ने योजना बनायौँ ।

१२ बजेतिर हामी मेहरनगढ प्रवेश गर्‍यौँ । मेहरनगढ किल्लातिर जाँदै गर्दा सुभाष र सुरेश जोधा रावले मारवाडका रुपमा राज्य गर्न थालेसँगै यो किल्ला निर्माण गरेको इतिहास सुनाइरहेका थिए । सिन्धु सभ्यताको पतनपछि यहाँ मत्य राज्य रहेको महाभारतको वर्णनका आधारमा थाहा पाइन्छ । पश्चिम राजस्थानमा राज गर्नेहरूमा अभिर, शूद्र र सिन्ध थिए । कौरवकी बहिनी दुशलाको विवाह सिन्ध नरेश जयद्रथसँग भएको थियो । यसपछि क्षेत्रप, कुषाणहुणहरुले पनि यहाँ शासन गरे । राजपुतहरू मूलरूपमा यिनै हुणहरूको सन्तान भएको इतिहासकारले दाबी गरेका छन् । भारतको मध्यकालीन र आधुनिककालको प्रारम्भिक इतिहास राजपुत राजाहरूको वीरताका कहानीले भरिएका छन् ।

यिनै राजपुत शासकमध्ये एक राव रनमलका पुत्र राव जोधाले बसाएको हुनाले यो शहरलाई जोधपुर भनिएको हो । १४औं शताब्दीको उत्तरार्धमा यहाँ शासन गरेका जोधाले नै मेहरनगढ किल्ला बनाउन सुरु गरेका थिए । अहिले देखिने अधिकांश संरचना भने उनका उत्तराधिकारीहरूले १७औं शताब्दीतिर बनाएका थिए । सूर्यवंशी राजपुतहरूका देवता सूर्यको नाममा यो दरबारको नाम मिहिरगढ राखिएको थियो जुन पछि मेहेरगढ बन्न पुग्यो । यस्तै राजा जयसिंहले जयपुर, राव बिकाले बिकानेरअजयराजा द्वितियले अजमेर बसाएका रहेछन् भने जैसलसिंहले जैसलमेर

किल्ला घुमेर हामी वायतु जानका लागि रेल चढ्यौँवायतु जोधपुर र जैसलमेरको बीचमा रहेको ठाउँ हो । जोधपुरबाट लगभग चार घण्टाको रेल यात्रामा यहाँ पुगिने रहेछ । हामी राजस्थानको जनजीवन, संस्कृति र इतिहासका अनेक आयामबारे चर्चा परिचर्चा गर्दै यात्रा गरिरहेका थियौँ । यही यात्रामा हामीलाई सुभाषले राजस्थानमा प्रख्यात रहेको ढोलामारूको प्रेम कहानी सुनाएको थियो ।

यो कहानी आठौं-नवौं शताब्दी आसपासको हो भन्ने विश्वास गरिन्छ ।

उहिले-उहिलेको कुरा हो, नरवर राज्यमा एकदमै खडेरी परेको थियो । त्यसैले, यहाँका राजा नल सहायता माग्न छिमेकी राज्य बिकानेरको पुङ्गलु गएका थिए । राजाले आफ्नो तीन वर्षीय छोरा साल्हकुमारको विवाह पुङ्गलुका ठाकुरकी पुत्री मारवणीसँग गराइदिन्छन् । यिनै साल्हमारवणी नै यो कथामा ढोला र मारुको नामले प्रसिद्ध छन् । यहाँ  उनीहरुको प्रेमकथा अमर छ ।

विवाहको केही समयपछि ढोलालाई लिएर नल नरवर फर्किन्छन्, शैशव अवस्थाकी मारू पुङ्गलुमै रहन्छिन् । उमेर बढ्दै जाँदा राजकुमार ढोलाले मारुसँग भएको बाल्यावस्थाको विवाह बिर्सिन्छन् । उनको विवाह अर्की युवतीसँग हुन्छ । मारूको विवाहयोग्य उमेर भएपछि उनका मातापिताले अनेकौँ दूत नरवरको राजधानी पठाउँछन् । ढोलाकी श्रीमतीलाई जब ढोला र मारूको पहिल्यै विवाह भइसकेको कुरा थाहा हुन्छ, उनी सन्देशवाहकलाई ढोलासम्म पुग्न नदिनका लागि अनेक उपाय गर्न थाल्छिन् । थुप्रै दूतहरूलाई ढोलासम्म पुग्नु अगाडि नै मार्न लगाउँछिन् ।

यता मारू ढोलाको प्रतिक्षामा जलिरहेकी थिइन् । उनको अवस्था खराब हुँदै गइरहेको थियो । त्यसैले, अन्त्यमा एकजना ढोली (गन्धर्व)लाई नरवर पठाइन्छ । दोहा बनाएर मारू आफ्नो सन्देश पठाउँछिन् र ढोलीलाई गुप्त रूपमा ढोलाको सम्मुख पुगेर आफ्नो दोहा गाएर सुनाउन लगाउँछिन् ।

महाभारतमा वर्णित नल र दमयन्तीको प्रेम कथामा पनि यस्तै प्रसङ्ग सुन्न पाइन्छ ।

कलीको प्रभावले जुवामा राजपाठ हारेपछि नल श्रीमती दमयन्तीलाई लिएर वन प्रवेश गर्छन् तर, कलीको बहकावमा परेर रानीलाई बीच जङ्गलमै छोडेर भाग्छन् । कसैगरी उनी आफ्नो माइती विदर्भ देशसम्म जान सक्छिन् । यता नल भने अयोध्याका राजा ऋतुपर्णकहाँ सारथी भएर बस्छन् । दमयन्तीले माइतीघर विदर्भबाट अनेक सुतहरूलाई नल-दमयन्तीको प्रेमकथाको गाथा गाउँदै गाउँगाउँ घुम्न पठाउँछिन् । अन्तत: एकजना सुतले उनलाई यसैगरी फेला पार्छन् ।

नलदमयन्तीको प्रेम कथा त धेरैलाई थाहा छ, सप्ताह पुराणमा धेरैले सुनेका छौं । म यहाँ ढोलामरूमैं फर्किन्छु ।

जब ढोली नरवरको दरबारमा गन्धर्व बनेर पुग्छ, ढोलाले सुन्ने गरी ऊ गाउन थाल्छ: ढोला नरवर सेरियाँ, धण पूंगल गळीयांह !

ढोला कान थापेर सुन्न थाल्छन् । ढोली गाइरहन्छ:

आखडिया डंबर भई,नयण गमाया रोय
क्यूँ साजण परदेस में, रह्या बिंडाणा होय
..
केसरिया बालम आओ नि पधारो म्हारे देस

मारू थारे देस में निपूजे तीन रतन
एक ढोलो, दूजी मारवन, तीजो कसूमल रंग

यो लोक कथामा थार मरूभूमिको सुगन्ध छ । हामी यही थार मरूभूमिको भित्रभित्र पस्दै थियौं । यो कथा लगायतका रेगिस्तानसँग जोडिएका अनेकौँ विषयमा चर्चा गर्दै हामी साँझ ७ बजेतिर वायतु पुग्यौं, जहाँ सुभाषका पुराना मित्र देवारामजीले हाम्रो आतिथ्य सत्कार गरे । देवारामजी यहाँ एक निजी स्कुल चलाउँछन् । उनमा शिक्षा क्षेत्रमा केही नयाँ र अर्थपूर्ण काम गर्ने हुटहुटी छ भन्ने कुरा बेलुकी कुरा गर्दा र बिहान विद्यालय घुम्दा तथा विद्यार्थीसँग कुरा गर्दा थाहा भएको थियो ।

भोलिपल्ट दिउँसोको खाना खाएर हामी ओरण घुम्न निस्कियौं । ढोलामारूको कथा बाँकी नै छ, त्योभन्दा पहिले ओरणबारे थोरै कुरा गरिहालौं

ओरणको अर्थ हाम्रो भाषामा जङ्गल भने पनि हुन्छ । तर, मरूस्थलमा जङ्गल ! यो कसरी ?

थार क्षेत्रको जङ्गल हाम्रो यहाँको जस्तो होइन । यहाँ वनस्पति असाध्यै कम हुन्छन् । तर, जेजति भए पनि ओरणमा रूखविरूवा र बुट्यान हुन्छन् । कतैकतै पानीका स्रोत पनि ।

पछिल्ला केही वर्षमा राजस्थानमा ओरण बचाऊ आन्दोलन भइरहेका छन् । ओरणमाथि तीव्र अतिक्रमण हुनथालेपछि स्थानीयले विरोधका अनेकौँ उपाय अपनाइरहेका थिए । यसमा परेको मुद्दा सर्वोच्च अदालत पुगेको थियो । सन् २००१ मा सर्वोच्च अदालतले ओरण अतिक्रमण हुन नदिनु भनेर आदेश गरेको रहेछ । त्यसपछि तुलनात्मक रूपमा संरक्षण भए पनि अहिले पनि ओरणमाथि हस्तक्षेप भइरहेको छ र यसले ओरणको अस्तित्वलाई सङ्कटमा पारिरहेको छ ।

अहिले पनि ओरण बचाऊ आन्दोलन चलिरहेको छ । यसको नेतृत्व स्वतन्त्र रुपमा निर्वाचित विधायक रवीन्द्र सिंह भाटी लगायतले गरिरहेका छन् । सुभाष यो विषयमा अझ गहीरो अनुसन्धान गर्न खोजिरहेको रहेछ । त्यसैले उसले हामीलाई ओरण घुम्ने निम्ता दिएको थियो । संयोगवश, यो अक्षयको पनि रूचिको क्षेत्र रहेछ । ‘बायोडाइभर्सिटी एन्ड कन्जरभेसन’मा मास्टर्स गरेको अक्षयलाई वन्यजन्तु र वनस्पतिको दुनियाँबारे निकै मसिनो ज्ञान पनि रहेछ । अझ फोटोग्राफीमा पनि गहीरो रूचि भएपछि त यात्रा उसकै लागि तय गरेजस्तै हुनेभयो । त्यसैले होला, ऊ क्यामेरामा डेढ हात लामो लेन्स फिट गरेर चरा हेर्दै घुमिरहन्थ्यो ।

हाम्रो पहिलो ओरण भ्रमण एकदरा गाउँमा रहेको सचिया माताको ओरण थियो । सचिया माताको ओरण ?

हो, यहाँ ओरण भन्नु नै देवी वा देवताका नाममा छुट्याइएको क्षेत्र हो । प्रत्येक ओरण कुनै न कुनै देवी वा देवताका नाममा हुने रहेछन् । यो ओरण परिसर हामीलाई देखाइरहेका थिए स्थानीय शिक्षक जलम सिंह शरणले ।

उनले हामीलाई ओरणका विभिन्न स्थान घुमाउँदै यसको इतिहास, सांस्कृतिक-धार्मिक महत्त्व र पर्यावरणमा आइरहेका विभिन्न परिवर्तन पनि बताइरहेका थिए ।

जब यो क्षेत्र मरूस्थल बन्यो, यहाँ वनस्पतिको महत्व अन्यत्र भन्दा बढी हुने नै भयो । तर, प्राचीनकालमा त घर बनाउन, इन्धनका लागि तथा वस्त्र बनाउन वनमा नै निर्भर हुनुपर्थ्यो । हुनसक्छ, सीमित रूपमा रहेको वन्य स्रोत मानिसले उपभोग गर्दै जाँदा मासिने खतरा रहेकाले यसलाई जोगाउन यस्तो दैवी वनक्षेत्र बनाइएको हुनसक्छ ।

जलमसिंह हामीलाई बताउँदै छन्, ‘ओरणबाट केही पनि लैजानु हुँदैन भन्ने विश्वास छ । हामी यहाँको रूख काट्न त कुरै छोडौँ, सुकेका दाउरा पनि लैजाँदैनौँओरणबाट केही लैजानु हुँदैन भन्ने विश्वास छ ।’

यहाँका रूखविरुवा काटेमा दुःख पाइने उनीहरूको विश्वास रहेछ । ‘यस्ता अनेक कथा छन्, ओरणको रूख काटेर वा जमिन मिचेर मान्छेको मृत्यु भएको वा बिरामी भएको,’ सिंह सुनाउँदै थिए ।

यो विश्वासले ओरणको संरक्षणलाई सघाएको रहेछ । ओरणले मानिसको जीवनलाई । कतैकतै भने ओरणको केही क्षेत्र छुट्याएर गौचर पनि बनाएका रहेछन् । तर पनि जनसङ्ख्या तथा मानिसको आवश्यकता बढ्दै गएपछि ओरणमाथि क्रमश: अतिक्रमण बढ्दै गएको उनको भनाइ थियो ।

एकाध घण्टा जलम सिंह शरणसँग ओरण घुमेर हामी वाडमेरतिर लाग्यौँवाडमेरबाट हाम्रो समूहमा थपिए, सुभाषका अर्का रैथाने मित्र प्रविण । पोन्डीचेरीमा हामीले पढेको विभागमा नै उनले दक्षिण एसियाली अध्ययनमा एम ए गरेका रहेछन्, हामी भन्दा एक वर्ष पछाडि ।

रात वाडमेरमा बिताएर हामी वाडमेरजैसलमेरको बीचमा रहेको अर्को ओरणतिर लाग्यौं । यहाँ मन्दिरमा पूजारी हुन्छन् भन्ने जानकारीका आधारमा सुभाषले पूजारीलाई भेटेर कुरा गर्ने योजना बनाएको रहेछ । तर, हामी पुग्दा पूजारी थिएनन् । उनी आफ्नो घर जैसलपुर गएका रहेछन् । दैनिक साँझ आउने, पूजा गर्ने र भोलिपल्ट बिहान पूजा गरेर घर जाने रहेछन् । उनी आइपुग्दा झमक्कै रात परिसकेको थियो ।

पूजारी र उनीसँगै पूजा गर्न आएका गाउँलेसँग केहीबेर भलाकुसारी गरेपछि हामी पनि उनीहरूसँगै सन्ध्या आरतीमा जोडियौं । त्यसपछि प्रसाद खाएर हामी जैसलमेरतिर लाग्यौँ

जैसलमेर जाँदै गर्दा तपाईंलाई अघि बीचमै रोकिएको ढोलामारूको कथा सुनाउनै पर्ने हुन्छ ।

ढोलीको गीत सुनेपछि ढोलालाई आफ्नो बाल्यकाल याद आउँछ, बाल्यकालमा भएको विवाह याद आउँछ । ढोलाका गीतबाट त्यसबेला आफूले विवाह गरेकी बालिका अहिले युवती भइसकेको र उसैको प्रतीक्षामा दिनरात बिताइरहेको थाहा पाउँछ । यस्ती समर्पित प्रेमिकालाई अहिलेसम्म भूलेकोमा ढोलालाई पश्चात्ताप हुन्छ र बिकानेर जाने प्रयास गर्छ । तर, उनकी श्रीमती मालवानीले अनेक बहाना गरेर उनलाई रोकिरहन्छिन् ।

एकरात ढोला सबैभन्दा छिटो हिड्ने ऊँट लिएर मारूलाई लिन घरबाट निस्किन्छ र अनकन्टार मरूस्थलमा यात्रा गर्न थाल्छ । ढोला पुङ्गलु पुगेपछि मारूको खुशीको सीमा रहँदैन । ढोला पनि मारूलाई प्राप्त गरेर आनन्दित हुन्छ । केही महिना पुङ्गलु बसेपछि ढोला मारूलाई लिएर नरवर फर्किन्छ ।

मारूलाई चाहने उमरले बाटोमा ढोलामाथि आक्रमण गर्छ । ढोलाबाट मारूलाई छुटाउन अनेक प्रयास गर्छ । तर, ढोला आफ्नो ऊँटमा चढाएर मारूलाई सकुशल दरबार पुर्‍याउन सफल हुन्छ । कथाको बीचमा मध्यमरूभूमिमा मारूलाई सर्पले टोकेको तर, पार्वतीको आशिर्वादले केही नभएको प्रसङ्ग पनि उल्लेख रहेछ ।

शिव पार्वतीको प्रसँग आउँदा सम्झना भयो, थारमा जाट, जैन र मुसलमानहरूको पनि बसोबास निकै रहेछ । धार्मिक रुपमा विविधतापूर्ण रहेछ । यहाँका आदिवासी भिलहरूको भने आफ्नै रितिथिति र धर्मकर्म रहेछ ।

हामी जैसलमेर पुग्दा रात परिसकेको थियो । खासमा यहाँबाट सम गाउँ जाने योजना थियो । तर, हामीले योजना बदल्यौं र सुभाषको घरतर्फ लाग्यौं । यहाँबाट बसमा ४-५ घण्टामा पुगिने ठाउँ हो- गोडु गाउँ । सुभाषको घरमा रात बिताएर भोलिपल्ट हामी भड्ला सोलार प्लान्ट भएको ठाउँतिर लाग्यौँ

भड्ला सोलार पार्क भारतको सबैभन्दा ठूलो र संसारको ११औं ठूलो सोलार प्लान्ट हो । यहाँबाट अहिले पनि साढे २२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसमध्ये अधिकांश प्लान्ट अडानी समूहका रहेछन् । बाटोमा हामीले ‘विन्डमिल’ पनि हेरिरहेका थियौँ । खुला जमिनमा निष्फिक्री घुमिरहेका अग्लाअग्ला पङ्खा अधिकांश अडानीकै रहेछन् ।

ओरण बचाउ आन्दोलन थार मरूभूमिमा सोलार प्लान्ट राख्ने कदमको पनि विरोधमा रहेछ । सरकारलाई लाग्यो होला, मरूभूमिमा के हुन्छ र ! सोलार प्लान्ट लगाए बिजुली हुन्छ । रूख पनि काट्नु पर्दैन ।

यहाँ एउटा रूखको मूल्य अन्यत्र भन्दा कयौं गुणा बढी छ । यहाँको पर्यावरणीय सन्तुलनका लागि एक-एक रूख महत्वपूर्ण छन् । त्यसैले त यी रूख जोगाउन उनीहरूले ओरण बनाएका छन् । उनीहरूको संस्कृति र मूल्यमान्यता नै वनस्पति र पर्यावरण संरक्षणमा आधारित छ । यही नै मरूभूमिको जीवनमूल्य हो ।

सरकारले यहाँ रूख काटेर सोलार लगाउन निजी क्षेत्रलाई दिइरहेको छ । स्थानीयको गुनासो छ, ‘सोलार राख्दा उनीहरू ओरणको नजिकको जमिन लिन्छन् र मिचेर राख्छन् । हाम्रा जाड  र रोयडा जस्ता अमूल्य चिज काटिन्छन् । प्लान्ट राखेपछि यहाँको तापक्रम बढिरहेको छ ।’

यसकै विरूद्ध सम्पूर्ण थार आन्दोलित छ: ओरण बचाऊ ! भनेर

भड्लाको सोलार पार्क घुमेर हामी फेरि जैसलमेर बास बस्न पुग्यौं । भोलिपल्ट सम गाउँ गयौं ।

जैसलमेरबाट लगभग ४०/५० किलोमिटर दूरीमा रहेको सम मरू-पर्यटनका लागि प्रख्यात छ । यहाँ पर्यटक ऊँट चढ्ने, जीप सफारी तथा बालुवामा चारचक्के मोटरसाइकल कुदाउने जस्ता मरूभूमिका खेलमा रमाइरहेका देखिन्छन् । भारतका पन्जाब, महाराष्ट्र, बङ्गाल लगायत विभिन्न प्रदेशका आन्तरिक पर्यटकसँगै छिटपुट पश्चिमा मुलुकका पर्यटक पनि देखिन्छन् ।

‘डेजर्ट एक्टिभिटिज’ भन्दा पनि हाम्रो प्राथमिकता थियो- डेजर्ट नेसनल पार्क अर्थात मरूद्यान भ्रमण । अक्षयलाई राजस्थानको राज्यपक्षी गोडावनको फोटो लिने रहर थियो । त्यसैले हामी सममा नरोकिइकनै त्यहाँबाट दाहिने लाग्यौँ र मरूद्यानका विभिन्न भागमा भौंतारियौँ । सूर्यास्तको समय हुनै लाग्दा पनि गोडावनले दर्शन दिएन । गोडावन खोज्ने काम भोलिलाई थाँती राख्दै हामी सम फर्कियौँ र स्थायी त्रिपालले बनाइएको एउटा रेस्टुरेन्टमा रात बितायौं ।

सम पुग्नुभन्दा पहिले एउटा गाउँको कथा त मैले तपाईंहरूलाई भन्नै पर्ने थियो, झन्डै बिर्सेँछु । सुभाष र म अघिल्लो जैसलमेर यात्राका बेला कुलधरा गाउँ गएका थियौँ, यसपटक समय अलि अपुग भएकाले बाहिरबाटै हेर्दै बिदा मागेका थियौँ ।

कुलधरा परापूर्वकालमा मानिसले छोडेर हिँडेको उजाड गाउँ हो । दुई कोठे, चार कोठे र कतै त ती भन्दा ठूला पकाइएको इँटाले बनेका घर आज पनि सग्लै उभिएका छन् । कतै आधाउधी भत्किएको अवस्थामा ।

यो गाउँ किन खाली भयो ? यसबारे एउटा किम्वदन्ती रहेछ । १३औं शताब्दीमा पालीवाल ब्राम्हणहरूले यो बस्ती बसाएका थिए । पालीवाल ब्राम्हणको बस्ती भए पनि यो जैसलमेर राज्यको अधीनस्थ थियो । एकपटक जैसलमेरको मन्त्री सलमसिंहले गाउँकी मुखियाकी छोरी मन परायो । उसले पहिले ती युवतीलाई फकाउने अनेक कोशिश गर्‍यो, तर उनले मानिनन् । त्यसपछि उसले ती युवती आफूलाई नसुम्पिए पूरै गाउँ सखाप पारिदिने धम्की दियो । पालीवालहरूले सलमसिंहसँग झुक्न उपयुक्त ठानेनन् । बरू मध्यरातमा गाउँ छोडेर हिँडे ।

त्यसयता त्यो गाउँ पूरै सुनसान छ । त्यसैले यसलाई भूतको गाउँ पनि भनिने रहेछ । तर, इतिहासकारले भने पानीको सङ्कटका कारण कुलधरा लगायतका थारका धेरै गाउँबाट पालीवाल ब्राम्हण बसाईं सरेको दाबी गर्छन् ।

जे भए पनि, जैसलमेर पुगेपछि घुम्नु पर्ने एउटा ठाउँ हो कुलधरा । कुलधराबाट अलि अगाडि पर्छ सम ।

मरूद्यानबाट सम फर्किएपछि हामी ऊँट चढ्यौं । लामा खुट्टा र लामो घाँटी भएको ऊँट चढ्नु घोडा वा हात्ती चढ्नुभन्दा बिल्कुलै फरक हुने रहेछ । ऊँट सवारीपछि हामी बासस्थलतिर लाग्यौं । समको रात रमाइलो हुन्छ । यहाँका लगभग सबै रिसोर्टमा राति नाच्ने गाउने कार्यक्रम हुन्छ ।

हामी कार्यक्रममा सामेल हुनेबित्तिकै उस्तादजीले केही राजस्थानी लोक भाका र केही कवाली सुनाए । कुनैकुनै गीतमा एकजना युवती नृत्य पनि गरिरहेकी थिइन् । किन हो कुन्नि, प्रविण सुरूमै उस्तादजीको नजरमा परे ।

‘ये कवाली भाइ साप के लिए,’ प्रविणलाई इशारा गर्दै उस्तादजीले सुरु गरे, रातमा रौनक थपियो । रिसोर्टका अरू पाहुनाले पनि प्रविणलाई हेरेर ताली बजाए ।

यो कवाली सकिनेबित्तिकै प्रविणले गीत अनुरोध गर्‍यो, ‘ये जो हल्का-हल्का’

उस्तादजीले गाउन त गाए, तर यसअघि आफैँ रोजेर गाएका राजस्थानी लोकभाका वा कवालीमा जस्तो रौनक यसमा ल्याउन सकेनन् । उनले यसको शब्द र लय दुबै सम्झिन सकेका थिएनन् । जे भए पनि उनले हामीलाई लगभग ९ बजेसम्म मनोञ्जन गराए । ‘परदेशी-परदेशी, जाना नहीं…’ भन्दै उनले बिदा लिएपछि ठूलो आवाजमा स्पिकरमा पन्जाबी डान्सिङ नम्बर गुन्जिन थाल्यो । सबै ग्राहक उठेर नाच्न थाले । कोही बिस्तारै खाना खाँदै आ‑आफ्नो त्रिपालभित्र पस्न थाले । हामी पनि खाना खाएर त्रिपालमा पस्यौँ ।

बिहान फेरि एकपटक गोडावन खोज्न निकुञ्ज पस्यौँ । तर, अक्षयको क्यामेराको लेन्सले यसपटक पनि गोडावन देख्न पाएन । हामी निराश भएर फर्कियौँ । समबाट फर्किएर साँझ हामी ‘सुर्तो कि बेरा’ भन्ने गाउँ गयौँ ।

समबाट जैसलमेर आएर बाडमेर हुँदै ‘सुर्तो कि बेरा’ भन्ने गाउँ पुग्दा रात परिसकेको थियो । रातको दश बजे मिश्रारामजीका छोराहरूले बसस्टपबाट बाइकमा घरसम्म लिएर गए । पुग्नासाथ मिश्रारामजीले खानाको निम्तो दिइहाले । पहिले घिउ र सख्खरमा मुछेर बाजराको रोटी, त्यसपछि हल्दीको सब्जीसँग, अनि कडीसँग, अनि साङ्ग्रीको सब्जीसँग…मिश्राजी छेउमै बसेर घिउ थप्दै भन्दै छन्, ‘ये घी से चर्बी नहिँ बढ्ता । ये शुद्ध देशी घी है । हमारा घरका ।’ उनीसँग नाइनाँस्ती गर्न गाह्रो, बाजराको रोटी थपिथपि खाइरहन पनि उस्तै गाह्रो । तर, खाना बहुत स्वादको थियो ।

अचानक मिश्रारामजी यहाँ कसरी आए भन्नुहोला । मिश्रारामजी स्थानीय एक विद्यालयका प्रधानाध्यापक हुन्, जो यहाँको संस्कृति, इतिहास, सामाजिक परिस्थितिबारे निकै राम्रो ज्ञान राख्छन् । भोलिपल्ट बिहान उनले वरपरको वनक्षेत्र देखाए ।

त्यहाँ पनि अरूतिरजस्तै बेलायती बबुलको कुरा भयो । बेलायती बबुलको कुरा सुरू भएको थियो हामीले भ्रमण गरेको पहिलो ओरणमै, जहाँ हामीलाई स्थानीय शिक्षक जमलसिंहजीले यसबारे बताएका थिए ।

भारतमा बेलायती आउँदा उनीहरूको राजनैतिक शक्तिमात्रै आएन, उपनिवेशवादी सोच र संस्कार पनि आयो । बबुल युरोपेली उपनिवेशवाद झल्काउने एउटा बिम्बको रुपमा फैलिरहेको रहेछ । बबुल एउटा वनस्पति हो, जसलाई राजस्थानमा किंकर पनि भनिन्छ । राजस्थानकै देशी किंकर त यहाँ घुलमिल भएरै बसेको हो, उपयोगी पनि थियो । तर, जब बेलायती बबुल मरूभूमिमा आइपुग्यो, यसले आफ्नो उपनिवेश बिस्तार गर्न थाल्यो ।

मिचाहा प्रकृतिको यो वनस्पति अहिले मरूभूमिको जताततै फैलिरहेको रहेछ ।

काँडा हुने र लामालामा लुला हाँगा फैलिने यो वनस्पति ब्रिटिस राजकै समयमा राजस्थान छिरेको रहेछ । त्यसपछि, १९८० को दशकमा इन्दिरा गान्धी नहरमा पानी आउन थाल्यो । यसको वरिपरी यही बबुल लगाइयो । सरकारले नै ‘डीडेजर्टीफिकेसन’ गर्ने अर्थात मरूस्थललाई हरियो बनाउने भन्दै यो मिचाहा वनस्पतिको बिउ छरेको रहेछ ।

सुभाषको घर नजिकै इन्दिरा गान्धी नहरको एउटा हाँगो  छ । यसको आसपास जताततै बेलायती बबुलको झाडी देख्न सकिन्छ ।

‘नहर बनेसँगै यो वनस्पति यहाँ फैलिन थालेको हो, अहिले त जताततै पुगिसकेको छ,’ जलमसिंह हामीलाई बताउँदै थिए, ‘यो झाङ्गिएपछि अरू केही नहुने, सखापै पार्ने रहेछ ।’

मरूभूमिको सिङ्गो पारस्थितिकीय प्रणालीलाई यसले नोक्सान पुर्‍याइरहेको उनी बताइरहेका थिए । ‘बबुलले गर्दा थोर (क्याकटस) सकियो,’ उनी सुनाउँदै थिए, ‘क्याक्टस हराएपछि कतिपय चरा आउनै छोडे । उनीहरूको साइनो के हो कुन्नि ?’

प्रकृतिको सम्बन्ध कति जटिल हुन्छ । मान्छे यसै तह लगाउँछु भनेर अझै फुर्तिफार्ती गरिरहेको छ ।

मिश्रारामजी पनि यही बबुल देखाएर गुनासो गर्दै थिए, ‘कोही भी उपयोगिता नहीं है इसका ।’

पहिलेपहिले कोइला बनाउने भन्दै मानिसहरू आएर काटेर ढडाएर लैजान्थे रे । अहिले त्यो पनि रहेनछ । यसले सारा ओरण, वनक्षेत्र समाप्त पार्ने भयो भन्ने उनको गुनासो थियो ।

दिउँसो १ बजेतिर खाना खाएर हामी चोहटन ओरण हेर्नका लागि विरात्रा माताको मन्दिरतिर लाग्यौं

बाटोमा मिश्रारामजीले भारत-पाकिस्तान युद्धको समयमा भारतीय सेनाले बनाएका बङ्करहरू देखाए । उनले मलाई अघिल्लै दिन भनेका थिए–भारत-पाकिस्तान विभाजनबारे तपाईंले उपन्यासमा पढेका भन्दा जीवन्त पात्रका कथा यहाँ पाउनुहुन्छ । यो सीमान्त प्रदेशका घरघरका आआफ्ना कथा छन् ।

हामी कुरा गरिरहेका थियौँ – यसअघि कहिल्यै भारत नआएको सरकारी वकिलले दिल्लीसम्म आएर त्यहीँ बसेर कागजमा कोरेको रेखाले कसरी यत्रो रक्तपात मच्चायो । कसरी करोडौँ मानिसलाई बसाइ सारेर हिँडायो । सीमा क्षेत्रमा बसोबास गर्नेको त अझ कतिका दाजुभाइ अलगअलग देशमा परे, कतिको माइती अर्को देशमा पर्यो, कतिका चेलीबेटी अर्को देशमा पुगे । हुनसक्छ, कति प्रेमीप्रेमिका अर्कै अर्कै देशमा बाँडिए होलान् ।

यो यात्राबाट फर्किसकेपछि पनि म समाचार देखिरहेको थिएँ – एउटा राजस्थानी युवक पाकिस्तानकी एक युवतीको प्रेममा रहेछ र सीमामा लुकेर भेट्न जाँदो रहेछ । पाकिस्तानी सेनाले उसलाई पक्राउ गरेपछि समाचार बाहिर आएको रहेछ । यो सीमानाले हेर्नुस् त, एउटा प्रेमीलाई कसरी अपराधी बनाइरहेको छ । के प्रेमले नागरिकता हेर्छ र ?

‘यो देवीदेवताका मन्दिरहरू अप्ठ्यारै ठाउँमा हुने,’ विरात्रा माताको मन्दिर पुग्न मजैले उकालो हिँड्नुपर्ने देखेपछि अक्षय भन्दै थियो । उसले क्यामरामा चरा खिच्ने लेन्स नै टाँसिरहेको थियो ।

यो मन्दिर अरावली पहाड शृङ्खलामा रहेछ । पश्चिम राजस्थानमा रहेको अरावली चट्टाने पहाड हो । यसका गर्तमा कतैकतै सिङ्गमरमरका खानी लुकेका छन् ।

खुट्टामा समस्या छ भनेर मिश्रारामजी उकालो चढेनन् । हामी चार जवानलाई मात्रै माथि पठाए । पहाडको मान्छे भनेर जति गफ लगाए पनि उकालो चढ्न त मुस्किलै पर्‍यो । यो पहाडको चुचुरोमा किन हो यो मन्दिर ?

मन्दिर आउँदै गर्दा मिश्रारामजीले कहानी सुनाएका थिए:

उहिल्यैको कुरा हो, उज्जैनीका राजा विक्रमादित्यको पालाको ।

यी तिनै विक्रमादित्य थिए, जसले शकहरूलाई पराजित गरेपछि आफ्नै नाममा संवत चलाएका थिए- विक्रम संवत । यो नेपालमा सरकारी संवतका रुपमा छ । भारतमा आधिकारिक रुपमा इस्वी संवत र सांस्कृतिक रुपमा शक संवत चल्ने भए पनि राजस्थानमा धेरैतिर विक्रम संवत पनि व्यावहारिक प्रयोगमा रहेछ । अधिकांशले आपसमा आफ्नो जन्ममिति बताउँदा विक्रम संवतकै साल बताउने रहेछन् । कुरा यिनै विक्रमादित्यको हो ।

उनी राजा भएकै बेला उज्जैनीमा महामारी फैलिएछ । पुरोहितले अमरकोटको मन्दिरमा गएर पूजा गर्नु भनेछन् । उनी अमरकोट जान तयार भए र देवीलाई साथै चल्न आग्रह गरे । देवीले साथमा चल्ने तर, विक्रमादित्यले मन्दिर पुग्दासम्म एउटै दिशामात्रै हिँडेर जानुपर्ने बताइन् । यसरी उज्जैनीबाट सीधै अमरकोटतिर जाँदा उनी अहिले मन्दिर भएको ठाउँमा पुगेर बास बसे ।

बिहान उठ्दा उनलाई दिशाभ्रम भयो । अनकन्टार मरूभूमिमा नहोस् पनि कसरी ? झुक्किएर उनी आएकै दिशातिर हिँड्न थाले ।

त्यतिबेला देवी जागृत भइन् र राजालाई भनिन्, ‘तिमीले मेरो शर्त पूरा गरेनौ, म यहाँबाट तिमीसँग जान सक्दिनँ । मलाई यहीँ स्थापना गरिदेऊ र तिमी अहिले हिँडिरहेको भन्दा विपरीत बाटोमा हिँड ।’ 

यसपछि विक्रमादित्यले यहाँ देवीको मन्दिर स्थापना गरेका हुन् ।

कथा रोचक रहेछ । कथा जत्तिकै रमाइलो छ ठाउँ पनि । यहाँबाट आँखाले भ्याएसम्म मरूभूमि नै मरूभूमि, थ्रीसिक्स्टी डिग्रीमा । त्यतिबेला अलि तुँवालो बढी भएकाले धेरै टाढासम्म देखिएको थिएन । मौसम सफा हुँदा कति परसम्म देखिँदो हो !

मरूभूमि, नामले नै कस्तो उजाड, उराठलाग्दो लाग्ने । तर, मरूभूमिको पनि आफ्नै सौन्दर्य हुनेरहेछ । र, रेगिस्तानले मानिसहरूलाई त्यसैगरी मोहपासमा बाँधेको हुँदो रहेछ- जसरी पहाडले, फाँटले वा मैदानको कुनै भूखण्डले बाँधेको हुन्छ । मानिसहरू यहाँका बालुवाको कणकणमा आफ्नोपन महशुस गर्छन् । यहाँ हजारौं वर्षदेखि बसोबास गरेर उनीहरूले आफ्नो संस्कृति बनाएका छन् ।

मूमलको कथा यही संस्कृतिको एउटा अंश हो ।

हामी विरात्रा मन्दिरबाट मिश्रारामजीसँग बिदा भयौं  । त्यसपछि बाडमेर पुगेर जयपुर जान रेल चढ्यौं । यो रेल यात्रामा पनि तपाईंलाई एउटा राजस्थानी कहानी त सुनाउनै पर्‍यो । त्यही भएर नै यहाँ मूमलको कुरा गरेको ।

अनि मूमलको कथा पनि राजकुमारीकै, जैसलमेरकी राजकुमारी ।

असाध्यै सुन्दरी राजकुमारी । जसको चर्चा भारतभर मात्रै नभएर अफगानिस्तान, पर्सियासम्म फैलिएको थियो । तर, राजकुमारीले एउटा प्रतिज्ञा लिएकी थिइन्- जो आफू भएको ठाउँसम्म आइपुग्न सक्छ, उसैसँग विवाह गर्ने ।

राजकुमारीसम्म पुग्न सजिलो थिएन, उनलाई सयौं हिंस्रक जङ्गली जनावर भएको घरको माथि राखिएको थियो । सेवकसेविकाहरूका लागि गोप्य बाटो थियो, जुन आगन्तुकलाई थाहा हुँदैन थियो । कति राजकुमार र राजाहरू पराक्रम देखाएर मूमललाई प्राप्त गर्न खोज्दा हिंस्रक वन्यजन्तुको शिकार भएका थिए ।

एकदिनको कुरा हो– अमरकोटका राजा महेन्द्र शिकारमा निस्किएका थिए । एउटा हरिण पछ्याउँदै उनी लोद्रवा राज्यको नजिकै काक नदीको किनारमा पुगे । हरिण त भेट्न सकेनन्, उनले एउटा असाध्यै सुन्दर बगैंचा देखे । बगैंचाको पछाडि एउटा सुन्दर घर ।

मूमलले उनीहरूलाई कौशीबाटै देखिसकेकी थिइन्, आफ्ना सेवकसेविकालाई बोलाएर पाहुना घरमा राख्न लगाइन् । सेवकसेविकाले उनीहरूको सत्कारपछि भने, ‘के तपाईंलाई राजकुमारी मूमलको बारेमा थाहा छैन, जो भारतमा मात्रै नभएर पर्सियासम्म प्रख्यात छिन् ।’

छिमेकी राज्य अमरकोटका राजाले मूमलकोबारेमा नसुन्ने कुरै भएन । तर, उनीहरूले सेविकाहरूबाट मूमलको सुन्दरताको अझै धेरै तारिफ सुने । त्यसपछि महेन्द्र मूमलसम्म पुग्न कस्सिए । सिंह, अजिङ्गर आदिको शिकार गर्दै उनी मूमलसम्म पुग्छन् । यहाँबाट उनीहरूको प्रेम कहानी सुरु हुन्छ ।

यसपछि रामु रायसँग असाध्यै छिटो दौडिने ऊँट लिएर महेन्द्र राति लोद्रवा आउने अनि बिहान फर्किने गर्न थाले । महेन्द्रका यसअघि नै सात रानी थिए । उनीहरूलाई महेन्द्र मूमलको प्रेममा परेको मन पर्ने कुरै भएन । महेन्द्र लोद्रवा जान नपाउन् भनेर उनीहरूले ऊँटको खुट्टामा चोट पुर्‍याए ।

अर्को ऊँटमा जाँदा महेन्द्रलाई लोद्रवा पुग्न समय लाग्यो ।

यता मूमल राजाको प्रतीक्षा गरिरहेकी थिइन् । लामो समय प्रतीक्षा गर्दा पनि प्रेमी नआइपुगेपछि उनी निदाइन् । त्यसरात मूमलकी बहिनी सूमल सँगै सुतेकी थिइन् । उनले लगाएको कपडा पुरूषको जस्तो देखिन्थ्यो ।

जब राजा महेन्द्र मूमलको कोठामा आइपुगे, उनले मूमल कोही पुरूषसँग सुतिरहेको देखे।

यसपछि टुटेको हृदय लिएर उनी अमरकोट फर्किए । उनको उँट लखेट्ने चाबुक मूमलको कोठामा टुटेको थियो । यो देख्नेबित्तिकै मूममलाई थाहा भइहाल्यो-राति राजा आएका थिए र चुपचाप फर्किए ।

यसपछि पनि कयौं दिनसम्म मूमलले महेन्द्रको प्रतीक्षा गरिरहिन् । तर, महेन्द्र फर्किएर लोद्रवा गएनन् । हामीले अघि पढेको ढोलामारूको कथामा जस्तै लामो समय सम्म महेन्द्र नआएपछि मूममले आफ्नो सेवकलाई गन्धर्व बनाएर सन्देश पठाउँछिन् :

तुम्हारे बिना सोढ राण, यह धरती धुंधली, तेरी मुमल राजकुमारी उदास

मूमल के वुलावे पर असल प्रियतम महेन्द्र अब तो घर आव

जब राजाले सेवकले गाइरहेको गीत सुने, उसलाई बोलाएर सबै कुरा बताए र मूममलाई भन्न लगाए । यसपछि मात्रै मुमलले भएको के हो भन्ने थाहा पाइन् । जब राजालाई मूमल निर्दोष छिन् भन्ने थाहा भयो, उनी राजकुमारी भेट्न लोद्रवा गए ।

पुग्ने बेला राजाको मनमा राजकुमारीको प्रेमको परीक्षा लिने विचार आयो । उनले एक सेवकमार्फत खबर पठाए– राजा महेन्द्रलाई सर्पले डस्यो र उनको मृत्यु भयो ।

यो कुरा सुन्ने बित्तिकै राजकुमारीको होस हरायो । उनी बेहोस भएर भूइँमा ढलिन् र महेन्द्र-महेन्द्र भन्दै प्राण त्यागिन् । जब राजाले मूमलले प्राण त्यागेको थाहा पाए, उनी पनि बालुवाको थुप्रोमा मुमल-मुमल भनेर रूँदै कयौँ रात बिताउन थाले । यस्तैमा उनले प्राण त्यागे ।

यो कथा ढोलामारूको जस्तो संयोगात्मक छैन । यो वियोगको कहानी हो । अमरकोट आज पाकिस्तानमा पर्छ । तर, यहाँका धेरै कथामा अमरकोटको गाथा छ । अहिले त मानिसहरूको आवतजावत ठप्प छ । कतिपय जैन मन्दिर पाकिस्तानपट्टि छन्, तर यताका श्रद्धालु दर्शन गर्न समेत जान पाउँदैनन् । कयौँ आफन्त भेटघाट गर्न पाउँदैनन् ।

मध्यरातमा रेल समातेर बिहान हामी जयपुर आइपुग्यौं ।

जयपुरमा हाम्रो भेट भयो, ‘ओरण म्यान’ अर्थात् भूवनेश जैनसँग । उनी नेहरू युवा सङ्गठनका राज्य-निर्देशक रहेछन् । दशकौंअघि देखि उनी ओरणको तथ्याङ्क व्यवस्थापन, अनुसन्धानका साथै ओरण बचाउ आन्दोलनमा लागेका रहेछन् । त्यही भएर उनलाई धेरैले ‘ओरण म्यान’ भनेर चिन्ने रहेछन् ।

उनले ओरणको पहिचान, अतिक्रमण, आधुनिक विकासले पारिरहेका प्रभाव, स्थानीयमा बढिरहेको जागरूकता लगायतबारे बताए ।

‘रेगिस्तानलाई हराभरा बनाउन खोज्नु औपनिवेशिक सोच हो,’ उनको तर्क थियो, ‘बेलायतीहरूले यो काम सुरु गरेका थिए । दुर्भाग्य भन्नुपर्छ, स्वतन्त्रतापछिका सरकार पनि यही सोचमा चलिरहेका छन् ।’

उनको कुरामा सही थाप्दै सुभाष भन्दै थियो, ‘मरूभूमिलाई हराभरा गर्न खोज्नु नै बहुलट्ठीपन हो । मरूभूमिलाई मरूभूमि नै रहन दिनुपर्छ ।’

०००

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register