भीम रावलले ‘कम्युनिष्ट विचार’ परित्याग गर्नुको अर्थ  

कतिपयले रावलले अब खोल्ने पार्टी ‘नेकपा’ नभएर ‘नेखपा (नेपाल खस पार्टी) हुन सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । पार्टीबाट निष्कासनको कारबाहीमा परेलगत्तै ‘राजावादी तत्त्व’सँग हिमचिम बढेको, बढाएको भनेर रावलको आलोचना भइरहेको छ ।

Jan 18, 2025 - 01:44
 0
भीम रावलले ‘कम्युनिष्ट विचार’ परित्याग गर्नुको अर्थ  

काठमाडौं करिब ५ दशक कम्युनिष्ट पार्टी र आन्दोलनमा काम गरेका, यसै पार्टीबाट बारम्बार सांसद, मन्त्री र उपप्रधानमन्त्रीसम्म भएका, एमालेको १० औं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गरेका डा. भीमबहादुर रावल अहिले फरक धारमा छन् । एमालेबाट निष्कासनको कारबाही खेपेपछि उनले ‘कम्युनिष्ट पार्टी’ मात्र हैन, ‘विचार र आन्दोलन’ नै परित्याग गर्ने सङ्केत गरेका छन् ।

उनी २०३० को दशकमा निर्दलीय पञ्चायती व्यवस्थाको निरङ्कुश दबदबा चरम रहेको समयमा भूमिगत कम्युनिष्ट पार्टीमा लागेका थिए । झापा विद्रोहको जगमा बनेको तत्कालीन नेकपा (माले) मा संलग्न हुनु त्यस अवधिमा निक्कै जोखिमपूर्ण मानिन्थ्यो ।

२०४० को दशकमा उनले ‘नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास’ नामक पुस्तक समेत लेखेका थिए । एमाले वृत्तमा उनको पुस्तक प्रशिक्षण सन्दर्भ सामग्रीकै रुपमा व्यापक पढिन्थ्यो, पढाइन्थ्यो । रावललाई वैचारिक तथा बौद्धिक अभ्यास गर्ने युवा नेतामध्ये एक मानिन्थ्यो ।

बिहीबार समाजिक सञ्जालमा सार्वजनिक गरेको रावलको ‘मातृभूमि जागरण अभियान, नेपालको सङ्क्षिप्त चिनारी’ नामक प्रारम्भिक अवधारणापत्रमा कम्युनिष्ट विचार र सिद्धान्तको कुनै गन्ध छैन । ३ पेज लामो अवधारणापत्रमा उनले कहिँकतै ‘कम्युनिष्ट’ शब्द प्रयोग गरेका छैनन् ।

न त ‘मार्क्सवाद – लेनिनवाद – माओवाद’ जस्ता शास्त्रीय साम्यवादी सिद्धान्तको जिकिर नै गरेका छन् ।  उनले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ को पनि उल्लेख छैन ।

यसबाट उनले ‘एमाले हुँदाको वैचारिक पृष्ठभूमि’ लाई बिर्सन वा बिर्साउन चाहेको देखिन्छ । पुरानो राजनीतिक विरासतलाई छोडेर नयाँ मैदानको खोजी गरेको देखिन्छ । रावलले भावी राजनीतिक जीवन गैरकम्युनिष्ट खेमामा बिताउन चाहेको देखिन्छ ।

यसअर्थमा भीम रावलले कम्युनिष्ट विचारको अघोषित परित्याग गरेको अर्थ निकाल्न सकिन्छ ।

रावलको यस्तो निर्णयले एमाले पङ्क्तिलाई भने खुशी र उत्साहित तुल्याएको छ । रावललाई निष्कासनको कारबाही हुँदा अन्तर्पार्टी लोकतन्त्रको सवाललाई लिएर एमाले र अध्यक्ष केपी शर्मा ओलीको व्यापक सार्वजनिक आलोचना भएको थियो । 

तर, कम्युनिष्ट विचार नै परित्याग गर्ने सङ्केत देखाएपछि उनलाई कम्युनिष्ट पार्टीमा राखिरहनुको कुनै अर्थ रहँदैनथ्यो । ‘कम्युनिष्ट पार्टीबाट विचलित र स्खलित भइसकेको मान्छेलाई पार्टीले निष्कासनको कारबाही गरेर ठीक गरेको’ भन्दै एमाले पङ्क्तिले निर्णय प्रतिरक्षा गर्ने अवसर पाएको छ । साथै, पार्टीभित्रका प्रतिस्पर्धीप्रति अध्यक्ष ओली असहिष्णु भएको भन्ने आरोप पनि कमजोर भएको छ ।

एक एमाले नेता भन्छन्, ‘रावलजीलाई कम्युनिष्ट विचारमै विश्वास बाँकी रहेन छ, पार्टीले निष्कासन गरेर ठीक गरेछ । उनलाई  आफ्नो बाटो लाग्न पार्टीले ढोका खोल्दियो, ठीकै भयो । पार्टीले पनि सधैँको झमेला बेहोर्न परेन । उनले पनि आफ्नो इच्छा र रुचिको बाटो पक्रिन पाए ।’

कतिपयले रावलले अब खोल्ने पार्टी ‘नेकपा’ नभएर ‘नेखपा (नेपाल खस पार्टी) हुन सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । पार्टीबाट निष्कासनको कारबाहीमा परेलगत्तै ‘राजावादी तत्त्व’सँग हिमचिम बढेको, बढाएको भनेर रावलको आलोचना भइरहेको छ । उनले यस्तो आरोपको गतिलो खण्डन पनि गरेका छैनन् ।

पूर्वी नेपालतिर रावललाई राप्रपा र दुर्गा प्रसाईं अभियानका कार्यकर्ताले राम्रो ‘रेस्पोन्स’ गरेका थिए । तिनले ‘राष्ट्रवाद र देशभक्ति’को साझा दृष्टिकोणसहित दुर्गा प्रसाईंको अभियानसँग सहकार्य गर्न सुझाब समेत दिएका छन् । रावल पुष २७ गते राप्रपाले आयोजना गरेको पृथ्वी जयन्तीमा भाग लिन गएका थिए ।

रावल निकट स्रोतकाअनुसार उनलाई अहिले मूलतः राजावादी तत्त्वकै धाप छ । दुर्गा प्रसाईंको अभियानलाई उनले सकारात्मक रुपमा लिएको र औपचारिक पार्टी निर्माणको चरणसम्म पुग्दा सहकार्य हुन सक्ने सम्भावना रहेको समेत निकटवर्तीले बताउने गरेका छन् । 

रावलका यस्ता क्रियाकलापबाट नेकपा (एकीकृत समाजवादी) भने चकित भएको छ । रावल दशकौंदेखि माधव नेपाल र झलनाथ खनाल निकट नेता थिए । उनको राजनीतिक उन्नतिमा यी दुई नेताको सहयोग र आशीर्वाद महत्त्वपूर्ण रहेको मानिन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि रावल तत्कालीन अन्तरिम सरकारका कृषि तथा वन मन्त्री झलनाथ खनालको सल्लाहकारका रुपमा राजकीय पदमा देखिएका थिए । त्यसअघि उनी पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सदस्य मात्र थिए ।

पार्टीको छैटौँ महाधिवेशनपछि रावल निरन्तर माधव नेपालको निकट रहे । एमालेमा माधव नेपालको करिब १५ वर्षे नेतृत्वकालमा सबैभन्दा धेरै राजकीय अवसर प्राप्त गर्ने र पार्टी शक्तिको अभ्यास गर्ने नेतामा रावल पनि पर्छन् ।

तर, तिनै रावलले पार्टी विभाजनको निर्णायक क्षणमा भने माधव–झलनाथलाई साथ दिएनन् । माधव नेपाललाई ‘दश बुँदे समूह’ ले दिएको धोका नै एमाले शक्तिसङ्घर्षमा केपी शर्मा ओली हाबी हुनुको मुख्य कारण मानिन्छ ।

एमालेबाट निष्कासनपछि रावल एकीकृत समाजवादीमा प्रवेश गर्लान् भनेर धेरैले लख काटेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले त रावललाई पार्टीमा आउन सार्वजनिक आग्रह नै गरेका थिए ।

तर, आफ्ना पूर्वसहकर्मी र संरक्षक नेताहरू भएको कम्युनिष्ट पार्टी रोज्नुको साटो उनले गैरकम्युनिष्ट समूह पुनर्गठन गर्ने प्रयत्न गर्दैछन् । यसबाट अब रावल एमाले र एकीकृत समाजवादीबाट मात्र हैन, कुनै पनि कम्युनिष्ट समूहबाट टाढा बनाउने छ ।

दशकौं कम्युनिष्ट राजनीति र पार्टीमा बिताएर जीवनको उत्तरार्धमा कम्युनिष्ट पार्टी र विचार परित्याग गर्ने रावल पहिलो नेता भने हैनन् ।

नेकपा (माओवादी केन्द्र) बाट प्रधानमन्त्री भइसकेका र जनयुद्धको ‘आइडोलग’ भनिएका डा. बाबुराम भट्टराईले २०७२ सालमा कम्युनिष्ट पार्टी र विचार परित्याग गरि वैकल्पिक राजनीतिको नाममा नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

भट्टराईको भनाइमा ‘कम्युनिष्ट विचार असान्दर्भिक भइसक्यो, अब पुँजीवाद र साम्यवादबाट माथि उठेको समुन्नत समाजवादी विचार अघि बढाउनु पर्दछ’ भन्ने थियो ।

अक्सर कम्युनिष्ट नेताले पार्टीबाट निष्कासित भएपछि वा राजीखुसी परित्याग वा विभाजित भएपछि पनि कम्युनिष्ट समूह नै गठन गर्छन् । एमाले छोडेका सीपी मैनाली, वामदेव गौतमले कम्युनिष्ट समूह नै चलाई रहेका छन् । माओवादीबाट विभाजित मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतले पनि कम्युनिष्ट समूह नै चलाइरहेका छन् ।

तर, डा.बाबुराम भट्टराई र डा.भीमबहादुर रावल यसका अपवाद भएका छन् । उनीहरूले कम्युनिष्ट पार्टी मात्रै हैन, जीवनको उत्तरार्धमा विचार र आन्दोलन नै परित्याग गरेको देखिन्छ ।

रावलमा वैचारिक परिवर्तन आउन थालेको अहिले भने हैन । एमालेमा हुँदैदेखि उनमा साम्यवादको साटो राष्ट्रवादी विचार प्रबल हुँदै गएको थियो । स्मरणीय कुरा के छ भने साम्यवाद अन्तर्राष्ट्रियतावादी विचारधारा हो, सैद्धान्तिक आधारमा राष्ट्रवादभन्दा विपरित अडान र दृष्टिकोण हो । साम्यवादको मूल दृष्टिकोण ‘वर्गीय पक्षधरता’ हो ।

बिहीबार सार्वजनिक गरेको सङ्क्षिप्त अवधारणामा रावलले ‘वर्गीय पक्षधरता’, ‘वर्ग सङ्घर्ष’ र ‘समाजवादी क्रान्ति’ को कुरा गरेका छैनन् । त्यसको साटो ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिलाई मुख्य नारा बनाएका छन् ।

यो कोणबाट हेर्दा रावलले ‘वामपन्थी’ राजनीतिबाट ‘दक्षिणपन्थ’ तिर कोल्टे फेर्न खोजेको सङ्केत मिल्दछ । त्यसो त एमालेमै हुँदा पनि उनले ‘सङ्घीयता र भारत विरोध’ लाई प्रमुख मुद्दा बनाउने गरेका थिए । पृथ्वीनारायण शाहको गुणगानमा समय खर्चिने, कविता लेख्ने गरेका थिए । एमालेबाट निष्कासित भएपछिको पत्रकार सम्मेलनमा उनले थुप्रै यस्ता मुद्दामा ‘ओलीले राष्ट्रघात’ गरेको भन्दै प्रश्न उठाएका थिए ।

अहिले उनी ‘देशभक्तहरूलाई समेटेर वैकल्पिक शक्ति बनाउने’ कुरा गर्दैछन् । ‘वामपन्थी र क्रान्तिकारीलाई समेटेर समाजवादतिर अघि बढ्ने’ हैन ।
लामो समय कम्युनिष्ट पार्टीमा रहेर विभिन्न राजकीय पदमा पुग्ने अवसर पाएका, पढेलेखेका ‘बौद्धिक’ नेताहरूले पार्टी राजनीतिको आन्तरिक कलह र उतारचढावको कारण विचार नै परित्याग गरेको परिदृष्य भने रोचक छ । 

रावलले ‘युगानुकूल दर्शन र सिद्धान्त’ प्रयोग नगरेको आरोपसमेत एमालेमाथि लगाएका छन् । यसले अब उनी मार्क्सवाद –लेनिनवाद र जनताको बहुदलीय जनवादलाई ‘युगानुकूल दर्शन र सिद्धान्त’ मान्दैनन् भन्ने अर्थ दिन्छ । अबको युगानुकूल दर्शन र विचार के हो ? त्यो भने उनले प्रस्ट्याएका छैनन् ।

रावललाई नजिकबाट चिन्नेहरू उनी अझै ‘राजावादी’ हुन भने गाह्रो हुने ठान्दछन् । लामो समय कम्युनिष्ट पार्टीमा रहेको, पञ्चायतविरुद्ध सङ्घर्ष गरेको र जनान्दोलन २०६२–२०६३ को सहभागी समेत भएको हुँदा उनी ‘गणतन्त्र’को विरोधमा गइहाल्न भने सक्ने छैनन् । तर, गणतन्त्रसँग असन्तुष्ट भएकालाई समेटेर दक्षिणपन्थी धारको शक्ति निर्माण गर्ने उनका विचार र कदमले सङ्केत गर्दछ ।

रावलले देशको राजनीतिमा जुन ‘स्पेस’ लाई लक्षित गरिरहेका छन्, त्यसमा उनी स्वीकार्य नेता हुन त्यति सहज भने हुने छैन । यो स्पेसमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंको अभियानलगायत अहिले नै थुप्रै सानातिना समूह छन् । तिनले राजतन्त्रको मुद्दा स्थगन गरेर रावलको नयाँ पार्टीलाई साथ दिने सम्भावना देखिँदैन । दिए पनि थोरैले देलान् । त्यस्तो छिटफुट समर्थनले वैकल्पिक देशभक्त शक्ति बन्न सम्भव हुँदैन ।

रावलको मुख्य ‘समर्थन आधार’ सुदूरपश्चिम प्रदेशको उनी निकट एमाले पङ्क्ति र जनमत नै हो । गृहजिल्ला अछाम भएबाट पनि उनले एमालेलाई मुख्य क्षति सुदूरपश्चिम प्रदेशबाटै पुर्‍याउने छन् । यही सम्भावनालाई दृष्टिगत गरी सुदूरपश्चिमका एमाले नेता कर्णबहादुर थापाले रावलमाथिको कारबाहीलाई लिएर पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्टि जनाएका थिए ।

तर, रावलमा आएका वैचारिक विचलन, कम्युनिष्ट विचारको परित्याग, दक्षिणपन्थी विचारप्रतिको रुझानले सुदूरपश्चिम प्रदेशका उनका समर्थक पनि दिग्भ्रमित हुने सम्भावना बढेको छ ।

आफ्नो प्रदेशबाट उदाएको एक राष्ट्रिय नेताका रुपमा एमाले कार्यकर्ता र वामपन्थी जनमतले उनीप्रति सहानुभूति राख्ने गरेको थियो । तर, उनमा देखिएको फरक वैचारिक रुझानपछि त्यस्तो जनमतले पुनर्विचार गर्न सक्ने छ । रावललाई वैचारिक रुपमा स्खलित नेता दर्ज गरेर एमालेले आफ्नो ‘समर्थन–आधार’लाई फेरि एकीकृत गर्न सक्ने सम्भावना बढेको छ ।

लामो समय कम्युनिष्ट विचारका प्रवक्ता बनेका, बौद्धिक भनिने नेताहरूले जीवनको उत्तरार्धमा विचार, सिद्धान्तकै परित्याग गर्नु भने अध्ययन गर्नयोग्य रोचक मनोविज्ञान बनेको छ ।

सम्भवत् धेरै कम्युनिष्ट नेताहरू सङ्गठन, शक्ति, अवसर र निर्वाचन परिणामका दृष्टिले पार्टीमा रहेका हुन्छन् । विचार, सिद्धान्तप्रति भने उनीहरूले आत्मविश्वास गुमाएका हुन सक्दछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register