पिँध नभएका वामदेव : एमालेलाई भित्र्याउन छैन हतार तर, भन्छन् – म एमालेको भइसकेँ

राजनीतिक विश्लेषक भन्छन्, ‘उनी पहिलेदेखि नै यस्तै प्रवृत्तिका व्यक्ति हुन् । कहिल्यै स्थिर हुन सकेनन् । कहाँ गएपछि के पाइन्छ भन्दै बार्गेनिङ गर्ने र कुरा मिल्ने दिन नजिक भइहाल्ने, नमिलेका दिन टाढा भइहाल्ने खालका हुन् ।’

Jan 23, 2025 - 10:16
 0
पिँध नभएका वामदेव : एमालेलाई भित्र्याउन छैन हतार तर, भन्छन् – म एमालेको भइसकेँ

काठमाडौं ‘छिटो वामदेवलाई पार्टीमा लेउ’ भनेर आफ्नो पार्टी अध्यक्ष कमरेड केपी ओलीलाई भन्नुहोला – गएको वैशाखमा वामदेव गौतमले एमालेका नेताकार्यकर्तालाई यसैगरी आग्रह गरेका थिए । जुन कार्यक्रममा ओली पनि थिए ।

वामदेवले यति भन्दै गर्दा कार्यक्रममा उपस्थित कार्यकर्ताले हाँसोको फोहोरासहित हुटिङ गरे, ताली बजाए । सायद उनीहरूलाई लाग्यो कि ! उनको आग्रह सत्य पनि हो, ठट्टा पनि हो ।

२०७८ सालमा नेकपाबाट एमाले र माओवादी छुट्टाछुट्टै भएपछि वामदेव गौतमले दुवै रोजेनन् । बरु राष्ट्रिय एकता अभियान लिएर हिँडे, त्यो पनि कम्युनिष्ट पार्टीलाई एक बनाउने भन्दै ।

गौतमको अभियानले चिराचिरा बनेका कम्युनिष्ट पार्टीलाई के एक बनाउँथ्यो र ! आफ्नै अस्तित्वसमेत सङ्कटमा पर्न थालेपछि उनी एमालेदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस), माओवादीदेखि अन्य साना घटकसँग संवादमा रहे । तर, जहाँ गएपनि उनलाई स्वागत गर्ने अवस्था बनेन । यही संवादकै क्रममा उनले एमाले कार्यकर्तालाई भनेका हुन् – छिटो मलाई पार्टीमा भित्र्याउ ।

गाैतमले आग्रह गरेको वर्षदिन पुग्दासमेत एमाले भित्र्याउन तयार नहुँदा उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्ने तरखर गरे । यहीबीच एमालेले फेरि ‘ग्रिनसिग्नल’ दियो । त्यसपछि गौतम बिनाशर्त एमालेमा प्रवेश गर्ने भन्दै हिँडे ।    

यसबीचमा अध्यक्ष ओली र वामदेवबीच पटकपटक छलफल भइसकेको छ । तर, एमाले सचिवालय बैठकले वामदेवलाई भित्र्याउने विषयमा ठोस निर्णय गर्न सकेन । बाहिर वामदेव लगायतसँग सहकार्य गर्दै जाने निर्णय गरेको भनियो तर, भित्र भने सकेसम्म उनी नआए हुन्थ्यो भन्ने धेरैको चाहना देखियो । एमालेमा जान खुट्टा उचालिसकेका वामदेव सचिवालयको निर्णयपछि फेरि थच्चिएका छन् । तर, हरेस खाएका छैनन् ।

‘अहिले सहकार्य गर्दै जाने भन्ने मात्र निर्णय भएको छ । छलफलकै क्रममा रहेकाले कहिले एकता हुने भन्ने टुङ्गो लाग्न सकेको छैन’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने । वामदेवसँग रहेका कसलाई कुन पद दिने भन्नेमा पनि टुङ्गोमा पुग्न नसकेकाले तत्काल राष्ट्रिय एकता अभियानसँग एकता नभएको ज्ञवालीले नेपालभ्युजलाई बताए ।

यसबाट पनि एमालेले तत्कालै वामदेवलाई भित्र्याउन नचाहेको सङ्केत दिन्छ । आएपछि सधैँ बार्गेनिङ गर्ने र गुट बनाएर चर्का कुरा गर्ने प्रवृत्ति रहेकाले वामदेवका विषयमा पार्टी धेरै सकारात्मक हुन नसकेको एमालेका एक नेता बताउँछन् ।  

वामदेवको एकता अभियानको १७–१८ जिल्लामा कमिटी छ । ९१ जनाको केन्द्रीय समिति छ । वामदेवका कतिपय सहयोगी भने वामदेव एमालेमा जाने भएपछि असन्तुष्ट हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

‘उहाँहरू (वामदेव)को जिल्ला कमिटी पनि छ । केन्द्रीय कमिटी पनि छ । यो संरचनागतरूपमा काे-काे साथीहरूलाई कहाँ-कहाँ सेट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ उपमहासचिव ज्ञवाली भन्छन् ।

एमालेले अझै भित्र्याउन नपाए हुन्थ्यो जस्तो गरे पनि वामदेवलाई भने निकै हतारो छ । सचिवालय बैठकले सहकार्य गर्ने निर्णय गरिसकेकाले अब आफू एमाले भइसकेको उनी बताउँछन् । ‘पार्टीमा पोजिसन (पद)लगायतका कारणले अब प्रवेश रोक्ने भन्ने हुँदैन । पार्टी अफिसमा जानेआउने भइरहन्छ’, गाैतमले नेपालभ्युजसँग भने, ‘हामी एक भइसक्याैँ ।’

एमालेमा कुन पद लिने भन्ने टुङ्गो नलागे पनि त्यसले एकतामा कुनै असर नगर्ने गौतमले बताए । ‘कुन पद लिने भन्ने टुङ्गो नलागे पनि हामी एमाले भइसक्याैँ’, उनले भने ।

अस्थिर ‘वामदेव’

राष्ट्रिय सभाका सदस्यसमेत रहेका वामदेवको विगत पनि पार्टी फुट र एकताको समिश्रणसहितको छ । उनले २०५४ सालमा नेकपा एमालेलाई फुटाएका थिए ।

जतिबेला महाकाली सन्धि अनुमोदन गर्ने कि नगर्ने भन्नेमा एमालेभित्र विवाद थियो । माले पार्टीको नेतृत्व गरेर हिँडेका वामदेव धेरै अगाडि बढ्न सकेनन् । र, अन्तत: चार वर्षपछि ०५८ मै गौतमले मालेलाई एमालेमा विलय गराए ।

नेकपामा अन्तरसङ्घर्षका बेला वामदेव प्रचण्ड र माधव नेपालको पक्षमा रहेको जस्तो देखिए । तर, ओलीपक्षसँग पनि बार्गेनिङ गर्न छाडेनन् । नेकपा विभाजनपछि एमालेसँग जाने कि माओवादीसँग भन्ने कुनै निर्क्योल गर्न सकेनन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीमा पनि उनी सामेल हुन चाहेनन् ।

उनी सबै कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियानमा लागे । श्रीमती तुलसा थापासहितलाई अभियानको केन्द्रीय समितिमा राखे । तर, उनको त्यो अभियानले टुक्रा परेका कम्युनिस्टहरूलाई कसरी एक बनाउन सक्थ्यो र, बरु उनी आफैँ एमालेमै फर्किने तयारीमा लागे । 

७६ वर्षीय (जन्म २००५ साल) वामदेव फेरि एमालेमा फर्किएर अब पार्टीलाई बलियाे बनाउन लाग्ने बताइरहेका छन् । गएको वैशाखमै उनले बाचा गरिसकेका छन्, ‘मैले पार्टी फुटाउँदैन ।’

‘नमर्दासम्म मैले पार्टीमा काम गरिरहन पाउनुपर्छ । मरेपछि त्यो हँसिया हथौडाको झण्डा ओढ्न पाउनुपर्छ । यत्ति हो अरु केही छैन मेरो अब । फेरि पार्टी फुटाउँछ कि भन्ने लाग्छ भने मेरो पछिपछि अर्को एक जना लगाउनुहोला । मैले पार्टी फुटाएको पनि छैन । फुटाउने कुरा पनि हुन्न’, उनले भनेका थिए ।

जे भने पनि उनको राजनीतिक जीवन भने स्थिर छैन । जीवनमा हार र जितको अनेकन शृङ्खला भाेगेका गाैतमलाई चिन्नेहरू उनको अस्थिर राजनीतिबारे धेरै चर्चा गर्छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्र तीन पटक जित र तीन पटक हार व्यहोरेका व्यक्ति हुन् उनी ।

उनी सत्ताका लागि जे पनि गर्न  सक्ने नेताका रूपमा समेत चिनिन्छन् । नेकपा हुँदा वामदेवले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग तेर्स्याएका थिए, कहिले ओली र कहिले माधव–प्रचण्डलाई ।

२०७४ सालमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका उनी बार्गेनिङ गरेर २०७७ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भए । आम निर्वाचनमा हारेका व्यक्तिलाई राष्ट्रियसभा सदस्य बनाइएको भन्दै त्यतिबेला नेकपाको आलोचनासमेत भएको थियो ।

‘उनी पहिलेदेखि नै यस्तै प्रवृत्तिका व्यक्ति हुन् । कहिल्यै स्थिर हुन सकेनन् । कहाँ गएपछि के पाइन्छ भन्दै बार्गेनिङ गर्ने र कुरा मिल्ने दिन नजिक भइहाल्ने, नमिलेका दिन टाढा भइहाल्ने खालका हुन्’, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन् ।

२०५४ सालमा पनि महाकाली सन्धी नभएर पदको विषयमा कुरा नमिल्दा वामदेवले एमाले फुटाएको सुवेदीले बताए । ‘बाहिर देखाउनेबेला महाकाली सन्धीलाई देखाएर पार्टी फुटाइएको भनियो । तर, त्यस्तो थिएन । उनको (वामदेव) उपमहासिचव पद खोसिएपछि पार्टी फुटाएका हुन्’, सुवेदीले भने ।

२०७८ सालमा पनि व्यक्तिगत ईगोका कारण उनी कतै नलागेर एकता अभियान लिएर हिँडेको सुवेदीको बुझाइ छ । ‘खासमा सचिवालयमा वामदेव भएपछि बहुमत पुग्थ्यो । त्यसैले उनले कहिले प्रचण्ड त कहिले ओलीसँग बार्गेनिङ गरे’, सुवेदी भन्छन्, ‘पछि व्यक्तिगत ईगो भयो त्यसपछि उनी कतै नलागेर एकता अभियान लिएर हिँडे।’

अहिले वामदेव किन फेरि एमालेमै फर्किए भन्ने विषयमा राजनीतिकवृत्तमा विभिन्न चर्चा हुने गरेको छ । सुवेदी भने बाहिर हुँदा केही नपाउने देखेपछि फेरि एमालेमै फर्किएको बताउँछन् । 

‘बाहिर बसेर पनि केही प्राप्त भएन होला । रहर पनि मर्‍यो होला । बरु एमालेमै गएपछि बार्गेनिङ गर्न पाइन्छ भनेर फेरि फर्किएका हुन्’ सुवेदीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register