सातबुँदे घोषणापत्र जारी गर्दै सकियो स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ। सम्मेलनले दिगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताका लागि सातबुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गरेको हो। नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा […]

Jan 29, 2025 - 02:35
 0
सातबुँदे घोषणापत्र जारी गर्दै सकियो स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन

काठमाडौं ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ। सम्मेलनले दिगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताका लागि सातबुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गरेको हो।

नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा दक्षताको दरलाई दोब्बर वृद्धि गर्ने, जलवायु अनुकूलन र उत्थानशीलतालाई थप बलियो बनाउने, नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय सहायता वृद्धि गर्ने, अनुसन्धान विकास तथा नवीनतम प्रविधिको माध्यमबाट सर्वसाधारणमा जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने र पारदर्शी अनुगमन तथा मूल्यांकनलाई प्रोत्साहन गर्ने भन्दै घोषणापत्र जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने’ उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ का रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा ऊर्जामन्त्री दिपक खड्काले ऊर्जा विकासलाई दिगो र समावेशी बनाई न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकास गर्न सरकार योजनाबद्ध ढंगले अघि बढेको बताए । सम्मेलनले समेटेका विषयवस्तु नेपाल सरकारले हालै मात्र स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले लिएका लक्ष्यहरूसँग मेल खाने रहेको उनले बताए। जलवायु वित्त, ग्रिन बन्डलगायत नवीनतम वित्तीय स्रोत परिचालन गरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ।

ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडीले सरकारको ऊर्जासम्बन्धी नीति, रणनीति र आवधिक योजनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई उच्च प्राथमिकता दिएको बताइन् । जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालले सम्मेलनले क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरूको पहिचान, लगानीयोग्य आयोजनाहरूको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रूपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर सिर्जना गर्ने बताए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सरकारको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा काम गर्ने मुख्य निकायका रूपमा रहेकाले ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

सम्मेलनमा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाहरूबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register