काँक्रोको बीउ बेचेरै ६ करोड आम्दानी 

काठमाडौँ । पर्वतको फलेवास नगरपालिका-११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ […]

Feb 4, 2025 - 02:12
 0
काँक्रोको बीउ बेचेरै ६ करोड आम्दानी 
काठमाडौँ । पर्वतको फलेवास नगरपालिका-११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।
स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।
प्रतिकिलो रु १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिएका छन् । उनका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष रु सात करोड आम्दानी भएको थियो । उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।
समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए । सुरुवातमा आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर रु १० हजारमा बिक्री गर्दै आएका उनले उल्लेख गरेका छन् ।
केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताए । उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।
प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम रु पाँच लाखदेखि रु १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिएका छन् । यसवर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको उनको भनाई छ । पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी हुँदै भने, ‘काँक्राको बीउ नगदे बाली हो । गाउँबाटै बिक्री गर्न पाइएको छ । बीउ उत्पादनसँगै हिउँदे आलुखेती गर्न र पोखरेली जेठो बुढो धान पनि लगाउन पाइएको छ ।’ उनका अनुसार पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका हुन् ।
कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दैै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका-११ पाङ्राङ र जलजला गाउँपालिका-७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिएका छन् । उनले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताए । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register