आप्रवासी फर्काउन किन सैन्य विमान प्रयोग गर्दैछन् ट्रम्प ?

काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय आप्रवासीहरूलाई बोकेको सैन्य विमान बुधबार भारत आइपुगेको छ । विमानमा कति भारतीय सवार थिए भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छैन । यद्यपि, मिडिया रिपोर्टहरूमा उनीहरूको सङ्ख्या १०० भन्दा बढी रहेको भनिएको छ । डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश […]

Feb 6, 2025 - 06:39
 0
आप्रवासी फर्काउन किन सैन्य विमान प्रयोग गर्दैछन् ट्रम्प ?

काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय आप्रवासीहरूलाई बोकेको सैन्य विमान बुधबार भारत आइपुगेको छ ।

विमानमा कति भारतीय सवार थिए भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छैन । यद्यपि, मिडिया रिपोर्टहरूमा उनीहरूको सङ्ख्या १०० भन्दा बढी रहेको भनिएको छ ।

डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।

भारतबाहेक ब्राजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका मानिसहरूलाई पनि सैन्य विमानबाट फिर्ता पठाइएको छ ।

सैन्य विमान प्रयोग गरेर अवैध आप्रवासीहरूलाई उनीहरूको देशमा फिर्ता पठाउने ट्रम्प प्रशासनको निर्णयको चर्को आलोचना भएको छ ।

ट्रम्पले आप्रवासीहरूलाई अमेरिकी सैन्य विमान प्रयोग गरेर उनीहरूको देश फिर्ता पठाइने घोषणा गर्दा कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेड्रोले यसको विरोध गरेका थिए ।

यसअघि ब्राजिलका नागरिकहरूलाई उनीहरूको देश फिर्ता पठाउँदै गरेको अमेरिकी सैन्य विमानका केही तस्वीरहरू पनि सार्वजनिक भएका थिए, जसमा हतकडी र साङ्लाले बाँधिएको थियो ।

यी तस्वीरहरू बाहिर आएपछि ट्रम्प प्रशासनको निन्दा भएको थियो । यसपछि पनि ट्रम्पले उदारता देखाएनन् र अमेरिकी सेनालाई अवैध आप्रवासीहरूलाई उनीहरूको देश फिर्ता पठाउन प्रयोग गरिँदैछ । अब अमेरिकी सैन्य विमानबाट अवैध भारतीय आप्रवासीहरूलाई उनीहरूको देश पठाइएको छ ।

ट्रम्पले किन सेना प्रयोग गर्दैछन् ?

जनवरी २० मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, जसले अमेरिकी सेनालाई देशको सीमानाको रक्षा गर्ने अधिकार दियो ।

यसबाहेक तत्कालीन अमेरिकी कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले एक विज्ञप्तिमा भनेका थिए, “रक्षा मन्त्रालयले देशको गृह सुरक्षा मन्त्रालयलाई ‘सैन्य विमान उपलब्ध गराउनेछ’ ताकि पाँच हजारभन्दा बढी ‘अवैध आप्रवासीहरू’ लाई फिर्ता पठाउन सकियोस् ।”

उनीबाहेक ट्रम्पले पनि अवैध आप्रवासीहरूलाई ‘एलियन’ र ‘अपराधी’ भनेका छन् ।

हालै रिपब्लिकन पार्टीका सांसदहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, “इतिहासमा पहिलो पटक हामी अवैध विदेशीहरूलाई सैन्य विमानमा राख्नेछौं र उनीहरू जहाँबाट आएका थिए त्यहीँ फिर्ता पठाउनेछौँ । हामी फेरि सम्मान चाहन्छौँ, वर्षौंदेखि तिनीहरू हामीमाथि मूर्ख मानिसहरू जस्तै हाँसिरहेका छन् ।”

जनवरी २४ मा ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले क्रिसमसको दिन सैन्य विमानमा हतकडी लगाएका मानिसहरूको तस्वीरहरू साझा गरिन् ।

साथै उनले लेखेकी थिइन्, “निर्वासन उडानहरू सुरु भएको छ । राष्ट्रपति ट्रम्पले सम्पूर्ण विश्वलाई कडा र स्पष्ट सन्देश पठाइरहेका छन् कि यदि तपाईं अवैध रूपमा अमेरिका आउनुभयो भने गम्भीर परिणामहरूको सामना गर्नुपर्नेछ ।”

सैन्य विमान प्रयोग गरेर ट्रम्पले प्रतीकात्मक रूपमा कडा सन्देश दिन चाहन्छन् भन्ने विश्वास गरिन्छ ।

गत डिसेम्बरमा उनले अवैध आप्रवासीहरूलाई हिरासतमा राख्नु र कानुनी पुनरावेदन दर्ता गर्न समय दिनुको सट्टा तुरुन्तै फिर्ता पठाउने पक्षमा रहेको बताएका थिए ।

उनले भनेका थिए, “म उनीहरूलाई अर्को २० वर्षसम्म शिविरमा बस्न चाहन्न । म उनीहरूलाई बाहिर निकाल्न चाहन्छु र ती देशहरूले उनीहरूलाई फिर्ता लैजानुपर्नेछ ।”

सैन्य विमानलाई प्रभुत्वको प्रतीकको रूपमा पनि हेरिन्छ, त्यसैले कोलम्बियाका राष्ट्रपतिले अमेरिकी विमानलाई आफ्नो देशमा अवतरण गर्न दिएनन् । यसपछि कोलम्बियाको विमान अमेरिका गयो र आफ्ना मानिसहरूलाई फिर्ता ल्यायो ।

जबरजस्ती सैन्य विमानमा मानिसहरू चढाउनु र अर्को देशको माटोमा अवतरण गर्नुलाई पनि सार्वभौमसत्तासँग जोडिएको रूपमा हेरिन्छ । यसै कारणले गर्दा मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले यस विषयमा ठूलो बयान दिएका थिए ।

उनले भने, “उनीहरूले आफ्नो सीमाना भित्र यो गर्न सक्छन् । जब मेक्सिकोको कुरा आउँछ, हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्नेछौं र समन्वयको लागि संवादको सम्भावनाहरू खोजी गर्नेछौं ।”

सैन्य विमानको प्रयोग धेरै महङ्गो भएकोले ट्रम्पको यो निर्णयलाई उनको शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ ।

सैन्य र व्यावसायिक उडानको लागतमा भिन्नता

यसअघि अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता पठाउन व्यावसायिक विमानहरूको व्यवस्था गर्दै आएको थियो । साथै, यसको जिम्मेवारी अमेरिकी भन्सार तथा आप्रवासन प्रवर्तन (ICE) मा निहित थियो ।

यी उडानहरूको बारेमा धेरै चर्चा हुँदैनथ्यो किनभने यी साना विमान थिए ।

तर, अहिले ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई फिर्ता पठाउन सेनाको सी-१७ ग्लोबमास्टरजस्ता ठूला विमानहरू प्रयोग गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले दुवै प्रकारका उडानहरूको खर्च गणना गरेको छ ।

रिपोर्टअनुसार गत हप्ता सेनाले ग्वाटेमालाबाट अवैध आप्रवासीहरूलाई फिर्ता पठाएको थियो । प्रत्येक यात्रुको खर्च ४ हजार ६७५ अमेरिकी डलर थियो, अर्थात् लगभग साढे छ लाख रुपैयाँ ।

यो लागत अमेरिकन एअरलाइन्सको ग्वाटेमाला जाने एकतर्फी प्रथम श्रेणीको टिकटको मूल्य ८५३ डलर (लगभग एक लाख २० हजार)भन्दा पाँच गुणा बढी हो ।

रोयटर्सका अनुसार तत्कालीन आईसीईका कार्यवाहक निर्देशक टाई जोनसनले अप्रिल २०२३ मा बजेटमा सांसदहरूलाई बताएका थिए कि १३५ आप्रवासीहरूलाई लगभग पाँच घण्टाको निर्वासन उडानमा पठाउने लागत १७ हजार (लगभग २४ लाख रुपैयाँ) थियो ।

यसको तुलनामा अमेरिकी सेनाको सी-१७ सैन्य विमानको पारवहन लागत धेरै गुणा बढी छ । रोयटर्सको रिपोर्टअनुसार यो विमानको प्रतिघण्टा मूल्य २८ हजार ५०० (लगभग ४० लाख रुपैयाँ) छ ।

हालै सुरु गरिएको निर्वासन प्रक्रियामा अहिलेसम्मकै सबैभन्दा लामो उडान भारतको हो । यसैबीच अमेरिकी सैन्य विमानहरू ग्वाटेमाला, पेरु, होन्डुरस र इक्वेडर गएका छन् ।

द न्यूओर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकाबाट हालसम्म केवल छ वटा सैन्य विमानहरूले उडान भरेका छन् । ट्रम्प प्रशासनले गैर-सैन्य विमानहरू प्रयोग गरेर आप्रवासीहरूलाई पठाउने काम गरिरहेको रिपोर्ट पनि आएको छ ।

-बीबीसीको सहयोगमा

यी हुन् अमेरिकाबाट आप्रवासी निष्कासनको योजना बनाउने ‘मास्टरमाइन्ड’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register