नेपाल बैंकका अध्यक्षमाथि ‘घुस’ खाएको आरोप ! ड्राइभरको खाता प्रयोगबारे अनुसन्धान गर्दै अख्तियार ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । नेपाल बैंकका अध्यक्षमाथि ऋण लिँदा घुस लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि  बढाएको छ । बैंकबाट प्रवाह हुने ऋणमा चर्को कमिसन खाएको दाबीसहित परेको उजुरीमा क्लुहरु भेटिएपछि आयोगले बैंकका अध्यक्ष  डा चन्द्रबहादुर अधिकारीमाथि अनुसन्धान अगाडि बढाएको हो । आफ्ना ड्राइभरको खातामा ऋणीसँग घुस असुल्ने अनि ड्राइभरलाई चेक काट्न लगाएर आफूले […]

Feb 10, 2025 - 03:06
 0
नेपाल बैंकका अध्यक्षमाथि ‘घुस’ खाएको आरोप ! ड्राइभरको खाता प्रयोगबारे अनुसन्धान गर्दै अख्तियार ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । नेपाल बैंकका अध्यक्षमाथि ऋण लिँदा घुस लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि  बढाएको छ । बैंकबाट प्रवाह हुने ऋणमा चर्को कमिसन खाएको दाबीसहित परेको उजुरीमा क्लुहरु भेटिएपछि आयोगले बैंकका अध्यक्ष  डा चन्द्रबहादुर अधिकारीमाथि अनुसन्धान अगाडि बढाएको हो । आफ्ना ड्राइभरको खातामा ऋणीसँग घुस असुल्ने अनि ड्राइभरलाई चेक काट्न लगाएर आफूले सो रकम क्यासमा लिने गरेको आरोप उपर उनीमाथि अनुसन्धान अघि  बढेको हो । नभन्दै अख्तियारले उनका ड्राइभरको खातामा शङ्कास्पद कारोबारसमेत भेटेको छ । सो रकम भेटेपछि अख्तियारले थप अनुसन्धान अगाडि बढाएको छ । 

भएको के हो ? 
केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल बैंकका एक उच्च अधिकारीले एउटा गोप्य उजुरी पठाए । उजुरीको  विषय जति गम्भीर थियो, त्यहाँ उल्लेख गरिएका विवरणहरु त्यति नै दिमाग हल्लाउने थिए । त्यसमाथि उजुरी सानातिना कर्मचारीले  दिएका थिएनन् । बेनामे नै भए पनि बैंकिङ गज्जबले बुझेका व्यक्तिले दिएका थिए । बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उनका सवारी चालक उमेश महर्जनको खातामार्फत घुस लिने गरेको क्लु सो विवरणमा उल्लेख थियो । नभन्दै अख्तियारका अधिकारीहरुले अनुसन्धानका क्रममा महर्जनको खातामा एकैपटक २५ लाख बढीको कारोबार गरेको भेटियो । केही हजारको जागिर खाएर पेट पाल्ने ड्राइभरको खातामा पैसा राखिएको, र उनले भकाभक क्यास विथड्र गरेको देखेपछि अख्तियारले थप अनुसन्धान अगाडि बढाएको हो ।   

यसो त अख्तियारले डाक्टर सापसँग यसअघि नै बयान लिइसकेको छ । अख्तियारका अधिकारीहरुको दाबी छ- ’आफुहरुलाई प्राप्त उजुरीको व्यहोरा र अख्तियारले अनुसन्धानका क्रममा भेटेका तथ्य प्रमाणबीच ठ्याक्कै तालमेल मिल्छ ।’ अख्तियारका अनुसार अख्तियारले सुरुमा सवारी चालक महर्जनको बायाँ लिएको थियो । बयानका क्रममा महर्जनले आफूकहाँ आएको रकम अध्यक्षको भएको स्वीकारेको र बाँकी आफूलाई थाहा नभएको बताएको अख्तियारका अधिकारीहरुको दाबी छ । उजुरीको व्यहोरा र महर्जनको बयान मिलेपछि अख्तियारले डाक्टर अधिकारीको बयान लिन  सुरु गरेको छ । उनले गत बुधबार, बिहीबार र शुक्रबार अख्तियार पुगेर बयान दिइरहेका छन् भने उनको बयान अझै सकिएको छैन । उनको बयान सकिएपछि अख्तियारले सिइओ तिलक राज पाण्डेमाथि पनि अनुसन्धान सुरु गर्ने बुझिएको छ । निकै ठूला फाइलमा घुस खाँदा अध्यक्ष एक्लैले पक्कै खाएनन् होला, यसमा सिइओको पक्का मिलेमतो हुनुपर्छ भन्ने कोणबाट पनि अनुसन्धान सुरु भएको छ ।     

नेपाल बैंकका अध्यक्ष अधिकारीले ठुला कर्जा प्रवाह गर्दा हरेक कर्जामा घुस माग्ने गरेको दाबी अख्तियार पुगेको छ । हरेक ठूला कर्जामा घुस माग्ने, नदिए समयमा निर्णय नगर्ने, अनावश्यक अड्काईदिने, काम नै हुँदैन भन्ने, महिनौंसम्म घुस नआएसम्म झुलाउने गरेको दाबी उनीमाथि छ । यहि केस अख्तियार पुगेपछि अहिले अधिकारीविरुद्ध अनुसन्धान अगाडि बढेको हो ।  अख्तियारका अधिकारीहरुको भनाई अनुसार उनी दोषी देखिने पर्याप्त प्रमाणहरु संकलन गर्ने काम भईरहेको छ । अनुसन्धान पूरा भएपछि अख्तियारले अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा चलाउनेछ । भ्रष्टाचार मुद्धा दर्ता भएकोखण्ड मा उनको अध्यक्ष पद जानेछ र बैंकले अर्को अध्यक्ष पाउनेछ ।  

घुसको आरोप लागेका नेपाल बैंकका अध्यक्ष अधिकारी यसअघि कृषि बिकास बैंककासमेत संचालक थिए । उनले घुस लिने आइडिया र तरिका त्यहीं सिकेको आरोपसमेत छ । विषयको जरो खोतल्दै जाँदा उनले कृषि बिकास बैंकमासमेत त्यसरी घुस असुलेको हुनसक्ने तर्फ पनि अख्तियारको अनुसन्धान अगाडि बढ्नेछ । त्यसमाथि घुसको रकम अध्यक्ष अधिकारी एक्लैले लिए वा नेपाल बैंकका सिइओ तिलक राज पाण्डेसहित अरुलाई पनि बाँडेका छन् भन्ने विषय अख्तियारको अनुसन्धानको विषय बनेको छ । अध्यक्षले सिइओको अनुमति वा मिलेमतो बिना यस्तो काम गरे होलान् र ? यसमा पक्कै सिइओको पनि मिलेमतो हुनुपर्छ भन्ने शंकामा बल पुगेपछि अख्तियारले अनुसन्धानको औँला सिइओ तिलक राज पाण्डेतिर पनि सोझ्याएको छ । अव कसले  कुन फाइलमा कति खाए भन्ने विषय, तथ्य सहित कुनै दिन बाहिर त आउला नै, तर अध्यक्षमाथि लागेको आरोप प्रमाणित भयो भने यसले बैंकभित्र चल्ने मनपरी, र दुर्गा प्रसाईंहरुले लगाएको आरोप पुष्टी हुन्छ । यसले धुमिल हुँदै गएको बैंकिङ क्षेत्रलाई थप धमिलो बनाउने पक्का छ ।        

अधिकारीलाई २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले नियुक्त गरेका थिए । काँग्रेसी नियुक्ति पाएका उनी नेपाली काँग्रेसकै समर्थनमा अहिले सरकार हुँदा र आशन्न सरकारमा त झन् नेपाली कांग्रेसकै प्रधानमन्त्री हुने भएपछि हरेकजसो ठुलो फाइलमा कमिसन उठाउँदै थिए भन्ने चर्चा यस अघि पनि चलेको थियो । अहिले सो चर्चा तथ्यमा बदलिने संकेत देखिएको छ । शंका प्रमाणित हुने बाटोतर्फ लम्किएको देखिन्छ । भलै, यसको अन्तिम छिनोफानो अनुसन्धानले नै दिनेछ ।

के भन्छन् सिइओ ?   
नेपाल बैंकका अध्यक्ष तिलक राज पाण्डेले आफ्ना अध्यक्षमाथि सोधपुछ भएको बुझेको र यस विषयमा आफूलाई थप थाहा नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनले आफूले पनि अध्यक्षमाथि सोधपुछ भएको तर त्यसभन्दा बढी आफूलाई थाहा नभएको दाबी गरेका हुन् । ’सोधपुछ भएको हो । त्यो भन्दा बढी मलाई केही पनि थाहा छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

उनले आफुमाथि भने अख्तियारले अनुसन्धान सुरु गरिनसकेको दाबी गरे । उनको र अध्यक्ष दुबैको कार्यकाल सिल गरी अख्तियारले अनुसन्धान गरेको विषयमा अर्थ सरोकारको जिज्ञासाको जवाफ दिँदै उनले भने, ’मलाई त कुनै पनि पत्र आएको छैन, फोन पनि आएको छैन, सोधपुछ पनि गरिएको छैन । मेरो र अध्यक्षको कार्यकाल सिल गरिएको हल्ला पनि साँचो होइन ।’ 

अहिले नेपाल बैंकका सीइओलाई १ सय करोडसम्मको ऋणको फाइल सदर गर्ने अधिकार छ । अर्थात उनी मातहत रहेको समितिको सिफारिसमा बैंकका सिइओ पाण्डेले १ अर्वसम्मको फाइल सदर गर्न पाउँछन् । त्यहाँभन्दा माथिको फाइल बोर्ड पुग्नुपर्छ । बैंकका अध्यक्षले एक अर्व भन्दा माथिको फाइलमा घुस मागे वा तलकैमा घुस मागे भन्ने भन्ने विषय यकिन भईसकेको छैन । तर पछिल्लो समय नेपाल बैंकमा थोरैमात्र एक अर्व बढीका फाइल बोर्ड पुगेकाले तलकै फाइलमा वा अरु विषयमा उनले घुस खाए भन्ने विषय अनुसन्धानको विषय बनेको छ । पछिल्लो समय नेपाल बैंकमा रिकभरीमा निकै बढी समस्या छ । ऋण तिर्न नसक्नेहरुलाई थप ऋण दिने र सोहि रकमबाट आफ्नो किस्ता तानेर ऋणीलाई थप भार पार्ने काम बैंकभित्र भईरहेको छ । कतै यहि प्रक्रियामा पनि पो भ्रष्टाचार भयो कि भन्ने विषयतर्फ पनि अनुसन्धान छेडिएको छ ।

अव बुझौँ के नेपाल बैंकका अधिकारीले घुस खान्छन् ?
यो प्रश्नको जवाफ खोज्न धेरै सोच्नै पर्दैन । धेरै बैंकका अधिकारीले घुस खान्छन् । अझ सरकारी बैंकका कर्मचारीले त खुलेआम खान्छन् । नेपालको पहिलो बैंक नेपाल बैंकमाकेही भ्रष्ट कर्मचारीहरु कसैले केही गर्न नसक्ने भन्दै छाती पिटेर घुस खान्छन् । यो हामीले लगाएको आरोप होइन । बरु बैंकको आन्तरिक लेखा परिक्षणका क्रममा केही समय अघि मात्र भेटिएको तथ्य हो । यो केसमा अध्यक्षले कति घुस खाए, कहाँ कहाँ खाए, कसरी खाए भन्ने विषय अनुसन्धानमै छ, तर नेपाल बैंकका धेरै कर्मचारीले घुस खान्छन् भन्ने विषय सहि साँचो हो भन्ने विषयमा अव कुनै दुईमत रहेन । अझ नेपाल बैंकमा त तथ्य यस्ता पनि देखिएका छन्, बैंकका साना साना लोन अधिकृत देखि ठूला ठूला बरिष्ट अधिकृतहरुले पनि ऋणको फाइलमा घुस खान्छन् । केही फाइलहरु घुस खाएको तथ्य त यस अघि प्रमाणितसमेत भईसकेको छ । केही समय अगाडि विशेषअदालतले नेपाल बैंक र कृषि बिकास बैंकका अधिकारीहरुले घुस खाएको प्रमाणित भएपछि जेल नेल र जरिवानाको सजायसमेत सुनाएको थियो । यसले पनि बैंकका कर्मचारीले घुस खान्छन् र भन्ने प्रश्न प्रश्न नै भएन । प्रष्ट छ, कतै मिलाएर, कतै मिलाउन लगाएर, बैंकका कर्मचारीले घुस खान्छन् ।

नेपाल बैंकका सबै कर्मचारी घुसिया छन् भन्ने हुँदै होइन , बैंकभित्र केही राम्रा कर्मचारी पनि छन् । तर बैंकमा अधिकांश चोर कर्मचारीहरु यस्ता छन्, जो फाइलैपिच्छे मात्र होइन, पाइलैपिच्छे घुस खान माहिर छन् । हुँदै नभएको काम गर्ने घुस खाईहाल्ने, पहिला कागज मिलाउनुपर्छ भन्ने, नक्कली कागज बनाउने घुस खाईहाल्ने । नक्कली कागजउपर ऋण निकाल्ने, ऋणको रकम डीस्पर्स हुने बेला पनि खल्ती तताईहाल्ने । अर्को बर्ष सो नमिलेको फाइलको ऋण नवीकरण गर्दा फेरी घुस खाईहाल्ने । बैंकबाट तलव लिने, क्लाइण्टबाट कमिसन र घुस लिने । यतिसम्मकि नेपाल बैंकका कर्मचारीहरुले त नक्कली कम्पनी बनाउने, नक्कली कागज बनाउने, सोहि नक्कली कागज उपर ऋण दिलाईदिने रसके सम्म सो रकम आफैं चलाउने, नसके कमिसन लिईहाल्ने गरेको तथ्य स्वयम् बैंकको आन्तरिक लेखा परिक्षणले यसअघि नै भेट्टाईसकेको छ । अव तल्लो तहका कर्मचारी नै यो हदसम्मको घुसिया रहेको बैंकका अध्यक्षले घुस लिएनन् र त्यसमा सिइओको मिलेमतो रहेन होला भन्ने स्थिति पक्कै छैन । अव दुधको दुध पानीको पानी छुट्याउने जिम्मा अनुसन्धानकै भयो । बिगतमा थुप्रै पटक नेपाल बैंकका कर्मचारीहरु भ्रष्ट ठहर भईसकेका छन् । नेपाल बैंकमा कुन हदसम्मको घुसखोरी चल्छ भन्ने विषय पछिल्ला केही उदाहरणहरु बाट प्रष्ट हुन्छ । यसपाली पनि न त्यस्तै भएको छ कि, कसैको प्रभावमा नपरी छानविन होस् । हुन त बैंकका सिइओ पाण्डेले आफूले घुस खाने काम नगरेको दाबी गरेका छन् । तर चोरले कहाँ म चोर हुँ भन्छ त ? १०० करोडसम्मका कति फाइलहरु सदर भए, सो समय वरपर सिइओ र अध्यक्षका ड्राइभर, साला, सालीहरुका खाताका कारोबार के छन् ? यस विषयमा निष्पक्ष अनुसन्धान होस् ।      

कुरो सिधा छ, अध्यक्षले घुस खाएको भए उनलाई जेल कोचिनुपर्छ । त्यसमा सिइओको मिलेमतो देखिए उनलाई पनि थुन्नुपर्छ । घुस खाने तलका कर्मचारीहरुलाई बेलैमा कारवाही अध्यक्ष र सीइओले किन गरेनन् भन्ने विषयसँग सिइओ र अध्यक्षकै मिलेमतोमा ठुला फाइलमा घुस खोरी हुन्छ भन्ने आरोपमाथि प्रष्ट छानविन हुनुपर्छ । फेरी सँगै, कसैमाथि गलत आरोप लगाएर काममा डिस्टर्ब गर्ने नियत हो भने त्यस्ता फटाहाहरुलाई पनि कानुनी कठघरामा उभ्याईनुपर्छ । अहिले नेपाल बैंक गाह्रोअवस्थामा छ । बाहिर जति झलमल देखिए पनि भित्र अलमल छ । रिकभरीमा बिजोग छ, निष्क्रिय कर्जाको झन् हरिबिजोग छ । यस्तो बेलामा बैंकलाई घुस खाने कमान्डर होइन, बैंक बलियो वनाउने लिडर चाहिएको छ । 

बिगतमा पनि यस्ता घुस काण्डहरु नआएका होइनन् । तर, अहिले राष्ट्र बैंकसँग सेटिङ्ग मिलाएर, कहिले नेताको पावर लगाएर, ती घुस काण्डहरु तुहाईएका थिए । यसपाली त्यस्तो नहोस् । (भिडियो) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register