पेरिसमा एआई एक्शन समिट सम्पन्न, वैश्विक शासन र मानक निर्धारण गर्न सामूहिक प्रयासको आवश्यकतामा मोदीको जोड

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एआई एक्शन समिट मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको (AI) विकास, यसको प्रयोग तथा सम्भावित जोखिमबारे आफ्नो धारणा राख्दै एआईको विश्वव्यापी शासन र मानक निर्धारणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। समिटमा फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंसँग सह-अध्यक्षका रूपमा सहभागी भएका मोदीले एआई प्रविधिले विभिन्न क्षेत्रहरूमा ठूलो रूपान्तरण […]

Feb 16, 2025 - 09:39
 0
पेरिसमा एआई एक्शन समिट सम्पन्न, वैश्विक शासन र मानक निर्धारण गर्न सामूहिक प्रयासको आवश्यकतामा मोदीको जोड

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एआई एक्शन समिट मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको (AI) विकास, यसको प्रयोग तथा सम्भावित जोखिमबारे आफ्नो धारणा राख्दै एआईको विश्वव्यापी शासन र मानक निर्धारणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

समिटमा फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंसँग सह-अध्यक्षका रूपमा सहभागी भएका मोदीले एआई प्रविधिले विभिन्न क्षेत्रहरूमा ठूलो रूपान्तरण ल्याउन सक्ने भए पनि यसले ल्याउन सक्ने पूर्वाग्रह, सुरक्षाका चुनौतीहरू र समाजमा पार्न सक्ने प्रभावलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । एआई प्रविधि द्रुत रूपमा विकास भई संसारभर छिटोभन्दा छिटो अपनाइँदै गएको उल्लेख गर्दै उनले यसका सम्भावित जोखिमहरूलाई न्यूनीकरण गर्न जिम्मेवार नीति निर्माण अपरिहार्य रहेको बताए ।

समिटको समापनमा ‘लीडर्स स्टेटमेन्ट’ पारित गरिएको छ, जसमा समावेशी एआई विकास, जिम्मेवार प्रयोग, सार्वजनिक हितमा प्रविधिको उपयोग, विविधता र दिगोपन सुनिश्चित गर्ने उपायहरू तथा सुरक्षित तथा विश्वासिलो एआई शासन स्थापनाका लागि रणनीति तय गरिएको छ। मोदीले एआईका फाइदाहरूलाई अधिकतम बनाउँदै यसको सम्भावित नकारात्मक असर न्यूनीकरण गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्थान र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

भारतले आगामी एआई समिट आयोजना गर्ने प्रस्ताव राख्दै एआई क्षेत्रको दिगो तथा समावेशी विकास सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेको छ। मोदीले भारतले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर निर्माणमा पुर्‍याएको योगदान उल्लेख गर्दै एआई क्षेत्रलाई सुरक्षित र पारदर्शी बनाउन खुला स्रोत प्रविधिहरू, पूर्वाग्रहरहित गुणस्तरीय डाटासेट र साइबर सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले एआईको विकासले रोजगारी क्षेत्रमा ल्याउने प्रभावबारे बोल्दै प्रविधिले काम गर्ने तरिकामा रूपान्तरण ल्याउने भए पनि इतिहासले देखाएअनुसार प्रविधिको विकासले रोजगार अवसरहरू हराउने होइन, नयाँ स्वरूपमा बदल्ने बताए। उनले एआईसँग सम्बन्धित ऊर्जा खपतलाई न्यूनीकरण गर्न हरित ऊर्जाको प्रयोग आवश्यक रहेको भन्दै भारत र फ्रान्सबीचको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance) जस्ता पहलहरूलाई प्रविधि विकाससँग जोड्नुपर्ने धारणा व्यक्त गरे।

समिटका क्रममा एआईको जिम्मेवार उपयोग, डाटा सुरक्षाका चुनौतीहरू, साइबर सुरक्षासम्बन्धी चिन्ताहरू, गलत सूचना तथा ‘डीप फेक’ जस्ता प्रविधिहरूको दुरुपयोग रोक्न आवश्यक उपायहरूमाथि छलफल भएको थियो । प्रधानमन्त्री मोदीले एआईको भविष्यमैत्री उपयोगका लागि प्रविधिको लोकतन्त्रीकरण गर्नुपर्ने, विशेषगरी ग्लोबल साउथका मुलुकहरूलाई प्रविधिमा पहुँच अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

समिटमा सहभागी नेताहरूले ‘एआई फाउन्डेसन’ तथा ‘काउन्सिल फर सस्टेनेबल एआई’ स्थापना गर्ने निर्णय गरेका छन्, जसलाई भारतले स्वागत गरेको छ। मोदीले समिटका क्रममा एआईको विश्वव्यापी शासनलाई अझ समावेशी बनाउनुपर्ने र ग्लोबल साउथका प्राथमिकताहरूलाई ध्यानमा राख्नुपर्ने बताए ।

फ्रान्सका राष्ट्रपति माक्रोंले मोदीलाई समिटको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा आमन्त्रण गरेका थिए । उच्चस्तरीय छलफल तथा नीतिगत निर्णयहरूपछि समिटको अन्त्यमा एक विशेष भोजसमेत आयोजना गरिएको थियो, जसमा विभिन्न मुलुकका सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू तथा एआई प्रविधिमा कार्यरत प्रतिष्ठित उद्योगपतिहरू सहभागी भएका थिए ।

मोदीले समिटपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै एआई प्रविधिसम्बन्धी छलफललाई उद्देश्यपूर्ण बनाएकोमा आयोजक राष्ट्र फ्रान्सको प्रशंसा गरेका छन्। उनले विश्वका नेताहरू, नीति निर्माताहरू, नवप्रवर्तकहरू तथा युवा प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याएर ‘एआईको भविष्यबारे गहिरो छलफल गर्ने यो पहल सराहनीय रहेको’ उल्लेख गरे ।

फेब्रुअरी ६ देखि ७ सम्म विज्ञानसम्बन्धी गतिविधिहरू, फेब्रुअरी ८ र ९ मा सांस्कृतिक कार्यक्रमहरू तथा फेब्रुअरी १० र ११ मा उच्चस्तरीय बैठकहरू गरी सात दिनसम्म चलेको यो समिटमा विश्वभरका नेताहरू, नीति निर्माता, अनुसन्धानकर्ता तथा एआई विशेषज्ञहरूबीच गहन छलफल भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register