कहाँ चुक्यो युक्रेन ?

ट्रम्प युक्रेनलाई बलि चढाएर दुई उपलब्धि हासिल गर्ने दाउमा देखिन्छन् । पहिलो, रुस रिझाएर गाजा समस्या समाधान गर्दै इजरायललाई खुशी बनाउने । दोस्रो, रुससँग सम्बन्ध सुधार गरी चीनसँगको रुसी दूरी बढाउने ।

Mar 2, 2025 - 11:37
 0
कहाँ चुक्यो युक्रेन ?

काठमाडौं हास्य प्रहसनको विधाबाट राजनीतिमा फड्को मारेका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अहिले अर्को प्रहसनको केन्द्रीय भूमिकामा छन्- युक्रेनी युद्धको दुखदायी र कारुणिक प्रहसन । जब्बर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले ह्वाइटहाउसको ओभल अफिसमा बोलाएर थर्काएपछि उनले संसारभरबाट सहानुभूति पाइरहेका छन् । उनी सहानुभूतिका हकदार हुन् पनि ।

ट्रम्प-भान्सको डुओले ओभल अफिसमा, त्यो पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा, जे गर्‍यो, त्यो कूटनीतिक मर्यादामा नसुहाउने कुरा हो । त्यो दादागिरीको भर्त्सना गरिनुपर्छ ।

दुखको कुरा, यो कूटनीतिक दुर्घटनाको परिणाम अमेरिका वा अमेरिकीले होइन, युक्रेन र युक्रेनीले भोग्नु पर्छ । संसारभरबाट जेलेन्स्कीले बटुलेको सहानुभूति अथवा उनको कालो टिसर्ट, प्यान्टले वा बहादुर जेलेन्स्की भन्दै आएका प्रशंसाले उनको कूटनीतिक असफलता ढाक्न सक्दैन । यसको परिणाम जेलेन्स्कीले त भोग्नु नै पर्छ, युक्रेन र युक्रेनीले पनि भोग्नु पर्छ ।

जेलेन्स्कीसँग कूटनैतिक कौशलता हुन्थ्यो भने ओभल अफिसमा ट्रम्प बोलिसकेपछि विनम्र भाषामा असहमति राख्न सक्थे, जसले संवादको ढोकालाई बन्द गर्दैन थियो । त्यतिमात्रै होइन, उनी अपमानित रुपमा ह्वाइटहाउसको ढोकाबाट निस्किनु पर्ने थिएन । अझै, ट्रम्प र भान्ससँग प्रत्यक्ष प्रसारणमा बस्नु अगाडि उनीहरूको धारणा के हुन्छ र त्यसमा कसरी प्रतिक्रिया जनाउने भन्ने पर्याप्त तयारी भएको भए अमेरिकी ‘बुलिङ’ को सामना गर्नु नपर्ने हुन सक्थ्यो ।

युक्रेनी नेतृत्वको कूटनीतिक असफलताको बिल्कुलै नयाँ घटना भने होइन यो । विगत दुई शताब्दीदेखि युक्रेन रुस, अमेरिका र युरोपको भूराजनीतिको चाकाचुली बन्नुको कारण उसको कूटनीतिक विफलता नै हो । भूराजनीतिक रूपमा संवेदनशील अवस्थिति भएको र सामरिक रुपमा कमजोर राष्ट्रले कूटनीतिलाई बलियो र प्रभावशाली बनाउन सकेन भने उसले देशलाई जेलेन्स्कीको जिम्मा लगाउनु पर्छ । जसले मुलुकलाई युद्धको सुरुङमा धकेल्न सक्छ, तर त्यहाँबाट निकाल्न सक्दैन ।

युक्रेन युद्धका लागि रुस र अमेरिकामध्ये को जिम्मेवार भन्ने आरोपप्रत्यारोप संसारभरि छ । मेरो विश्लेषणमा अमेरिका र युरोपेली उदारवादीहरूले रुसलाई उक्साउने र रुसी सीमामा अस्थिरता सिर्जना गर्नु यसको तात्कालीक कारण हो । युद्धको पृष्ठभूमि सन २०१४ को युरोमैदान आन्दोलनले बनाएको थियो । यो आन्दोलन र भिक्टर यानुकोभिचमाथि ‘कू’का लागि अमेरिकी र युरोपेली उदारवादीहरूले लामो समयदेखि मेहनत गरेका थिए भन्ने स्पष्ट प्रमाणहरू छन् । 

उनीहरूले सन् २०१० मा यानुकोभिच सत्तामा आएलगत्तै एनजीओ र मिडियामार्फत आक्रमण मात्रै सुरु गरेका थिएनन्, अमेरिकी अनुदानमै चलेको ‘क्लिन दी पार्लियामेन्ट’ मुभमेन्ट नै युरोमैदान आन्दोलनका रूपमा विकास भएको थियो । यसबाहेक अमेरिकाले विभिन्न माध्यमबाट युक्रेनको नवनाजी सङ्गठनलाई सहयोग गरेको र पूर्वी युक्रेनका रुसी भाषीमाथि आक्रमण गर्न उक्साएको पनि आरोप छ । जसले पूर्वी युक्रेनमा रूसी सेना प्रवेशको बाटो खोलेको थियो ।

सन् २०१४ को युरो मैदानले जेलेन्स्की जन्मायो । उनले कुटनीतितिर कहिल्यै फर्केर पनि हेरेनन्, न त अमेरिकाले युक्रेनको काँधमा राखेर किन बन्दुक पड्काउन चाहन्छ भन्ने नै हेरे । रसियाको सामरिक सामर्थ्यबारे ध्यान दिएनन् । उनलाई युद्ध यति लामो समयसम्म जान्छ र अमेरिकाले बाटो बदल्न सक्छ भन्ने कुनै कल्पनै थिएन । उनी ओबामा प्रशासन र उनका युरोपेली सहयोगीको उक्साहटमा अमेरिकी बन्दुकलाई काँध दिन मात्रै आएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका पूर्व कर्मचारी जे. मिचेल स्प्रिङम्यान जेलेन्स्की ‘पश्चिमा जासुसी निकायहरूले योजनाबद्ध रूपमा ध्यानपूर्वक तयार गरिएका एजेन्ट’ भएको बताउँछन् । संयुक्त राष्ट्रसङ्घमा हतियार निरीक्षकका रूपमा काम गरिसकेका स्कट रिटरले ‘एजेन्ट जेलेन्स्की’ नामक डकुमेन्ट्री नै बनाएका थिए । स्प्रिङम्यानले यही डकुमेन्ट्रीमा जेलेन्स्कीबारे यस्तो दाबी गरेका थिए । पश्चिमा उदारवादीहरूप्रति बफादार जेलेन्स्कीले युद्धको विकल्प खोजेनन् । उनी यस्तो युद्धको नेतृत्व गरिरहेका छन्, जसमा युक्रेनले जित्ने केही छैन । यसमा कि त अमेरिका विजयी हुन्छ, कि त रुस । युक्रेनले भोग्ने भनेको युद्धको पीडा र विध्वंश मात्रै हो ।

युद्ध सुरु भएपछि ५० लाख युक्रेनी जनता देश छोडेर अन्यत्र शरण लिइरहेका छन् । युक्रेनमा लगभग ८० हजार सैनिक र झन्डै २० हजार सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । १७६ बिलियन डलर बराबरको संरचना ध्वस्त भएको छ र यसको पुननिर्माणका लागि ५२४ बिलियन डलर लाग्ने अनुमान छ । अर्थात, यो युद्धले युक्रेनलाई ध्वस्त बनाएको छ ।

रुस र अमेरिका दुवै यो युद्ध लम्ब्याउने रणनीतिमा थिए, जसले युरोपलाई थप सङ्कटमा धकेलिरहेको थियो । अमेरिकी उदारवादीहरू युद्ध लम्ब्याएर पुटिनलाई क्रेमलिनको शक्तिकेन्द्रबाट विस्थापित गर्ने प्रतीक्षामा थिए । लामो युद्ध रसियाले थेग्न सक्दैन भन्ने अमेरिकी बुझाइ थियो । जति युद्ध लम्बिँदै जान्छ, ‘रुसले आफ्नो स्रोतसाधन युद्धमा खन्याउँदै जानुपर्ने हुन्छ । यसले रुसी नागरिकलाई दैनिक जीवन, विकास गतिविधि प्रभावित तुल्याउँछ । विस्तारै पुटिनप्रति मानिसको असन्तुष्टि बढ्दै जान्छ । अन्तत यसले युक्रेनमा जस्तै रसियामा सत्ता बदल्ने अवसर प्राप्त हुन्छ भन्ने उनीहरूको आकलन थियो ।

अझ इतिहासकार रोजर भान ज्वानवर्ग यो युद्धमा पराजित रुसलाई ससाना राज्यमा विभाजन गर्न सकिने अपेक्षामा रहेको दाबी गर्छन् ।  सन् २०२३ मै ‘युक्रेन, विश्वशक्ति र साम्राज्यवाद’ शीर्षकको लेखमा उनले लेखेका थिए, ‘अमेरिकी दृष्टिकोणबाट हेर्दा यो युद्धमा रसिया पराजित हुन्छ र व्यवस्थापन गर्न सजिलो हुने ससाना राज्यहरूमा विभाजन हुन्छ भन्ने अपेक्षा रहेको देखिन्छ ।’

नयाँ राष्ट्रपति ट्रम्पले यो बाटो रोजेनन् र अमेरिकाले युक्रेनलाई अनाथ बनायो । ट्रम्प हिँड्न खोजेको बाटोबारे पछाडि चर्चा गरिने छ । त्यो भन्दा अघि रुस किन युद्ध लम्ब्याउन चाहन्थ्यो भन्ने हेरौँ । सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढेको थियो । पश्चिमा मुलुकले विभिन्न आर्थिक नाकाबन्दी थोपरेका थिए । 

यो युद्ध लम्बिँदै जाँदा युक्रेनलाई हतियार र आर्थिक सहायता गर्ने युरोप र अमेरिकाबीच दरार बढ्दै जान्छ, जसले गर्दा उनीहरू युद्धलाई निरन्तरता दिने अवस्थामा रहँदैनन् भन्ने रुसको बुझाइ थियो । यस्तो अवस्थामा पश्चिमा राष्ट्रहरूले शान्तिपूर्ण समाधानको बाटो रोज्नु पर्थ्यो, जसमा रुसको हात माथि हुन्थ्यो । कम्तिमा, थप भूभाग प्राप्त नगरे पनि क्रिमिया अतिक्रमणको अनुमोदन र सन् २०१४ यताका नाकाबन्दी अन्त्य गर्न उनीहरू बाध्य हुनेछन् भन्ने रुसी अपेक्षा थियो । अहिलेको अवस्था हेर्दा रुस अपेक्षा गरेभन्दा धेरै सफल देखिन्छ । यो बाजी पुटिनले जितिरहेका छन् भन्ने देखिन्छ ।

ट्रम्प भने युक्रेनलाई बलि चढाएर दुई उपलब्धि हासिल गर्ने दाउमा देखिन्छन् । पहिलो, रुस रिझाएर गाजा समस्या समाधान गर्दै इजरायललाई खुशी बनाउने । दोस्रो, रुससँग सम्बन्ध सुधार गरी चीनसँगको रुसी दूरी बढाउने । दोस्रो योजनामा उनी कति सफल हुन्छन् भन्ने समयले देखाउला तर, पहिलो योजनामा उनी सफल भइरहेको देखिन्छ ।

ट्रम्पले गाजा खाली गर्ने उद्घोष गरिसकेका छन् । गाजामा युद्धविराम चलिरहेको बेला वेस्ट बैङ्कमा पनि इजरायली अतिक्रमण चलिरहेको छ । यसले, इजरायल पूर्णरूपमा प्यालेस्टाइन कब्जा गर्ने रणनीतिमा रहेको प्रष्ट पार्छ । रसियालाई युक्रेनमा जित किस्तिमा राखेर दिएबापत आफ्नो प्यालेस्टाइन नीतिमा उनी पुटिनको समर्थन चाहन्छन् । पुटिनको समर्थन भनेको इरानको मौनता पनि हुनेछ भन्ने अर्थमा उनले लिएका छन् । यसले, इरानबाट सहयोग लिइरहेका हिजबुल्लाह र हुथी जस्ता मिलिसिया समूहको प्रतिरोधबिना नै इजरायलले प्यालेस्टाइनलाई सधैँका लागि विश्वमानचित्रबाट मेटाउनु हुनेछ ।

अर्थात्, युक्रेनले आफ्नो सामर्थ्य र कमजोरी पहिचान गर्न नसकेर अथवा पश्चिमा उदारवादीहरूप्रति बफादार हुन खोज्दा आज आफूलाई मात्रै बर्बाद पारिरहेको छैन् । कहिल्यै नमेटिने दुश्मनीको बिजारोपण गर्दै रुसलाई थप शक्तिशाली बनाएको छ । अर्कातिर, स्वतन्त्र राष्ट्र प्यालेस्टाइनको अस्तित्व नामेट पार्न ट्रम्पले उनीहरूले थालेको युद्धलाई उपयोग गरिरहेका छन् । यदि, युक्रेनले युद्धको बदला रुस र पश्चिमाहरूसँग समदूरीको मित्रता रोजेर बफर राज्यका रूपमा सुरक्षित रहने बाटो रोजेको भए आज यो परिस्थिति सिर्जना नहुन सक्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register