बुद्ध एअरको १४ वर्ष पुरानो जहाजको पाङ्ग्रा किन खस्यो ?

काठमाडौं । बिहीबार अपरान्ह बुद्ध एअरको एक जहाज एउटा पाङ्ग्रा जनकपुरमै छाडेर काठमाडौं आयो । नोज ह्विल (अगाडिको पाङ्ग्रा)मा हुने दुई वटामध्ये एउटा पाङ्ग्रा जनकपुर विमानस्थलको रनवे (धावनमार्ग)मै खस्यो । एउटा पाङ्ग्रा रनवे मै छाडेपनि काठमाडौंमा भने विमानले सुरक्षित अवतरण गर्‍यो । 9N-ANH कल साईन भएको ATR 72–500 मोडलको  उक्त विमान १४ वर्ष ४ महिना […]

Mar 7, 2025 - 09:42
 0
बुद्ध एअरको १४ वर्ष पुरानो जहाजको पाङ्ग्रा किन खस्यो ?

काठमाडौं । बिहीबार अपरान्ह बुद्ध एअरको एक जहाज एउटा पाङ्ग्रा जनकपुरमै छाडेर काठमाडौं आयो । नोज ह्विल (अगाडिको पाङ्ग्रा)मा हुने दुई वटामध्ये एउटा पाङ्ग्रा जनकपुर विमानस्थलको रनवे (धावनमार्ग)मै खस्यो ।

एउटा पाङ्ग्रा रनवे मै छाडेपनि काठमाडौंमा भने विमानले सुरक्षित अवतरण गर्‍यो । 9N-ANH कल साईन भएको ATR 72–500 मोडलको  उक्त विमान १४ वर्ष ४ महिना पुरानो हो । यो विमान सन् २०१० देखि २०१९ को अप्रिल १८ सम्म भारतको जेट एअरवेजले चलाउँथ्यो । अप्रिल २०१९ मा जेट एअरवेज बन्द भयो ।

त्यसपछि सन् २०२१ मा बुद्ध एअरले उक्त विमान ल्यायो । बुद्ध एअरको विवरणअनुसार यो विमानले ८ फेब्रुअरी २०२१ देखि नेपालमा उडान भर्न थालेको हो ।

जनकपुरमा पाङ्ग्रा खसेको विमान एटीआर कम्पनीको हो । बुद्ध एअर दक्षिण एसियाकै सबैभन्दा धेरै एटीआर जहाज उडाउने एअरलाइन्स हो । यो कम्पनीका विमानमा पाङ्ग्रा खस्ने घटना नौलो होइन ।

कहाँ-कहाँ खस्यो पाङ्ग्रा ?

२२ जनवरी २०२५ मा क्यारबियन एअरलाइन्सको एटीआर विमान बारबाडोसको ग्रान्टली अन्तर्राष्ट्रिय विमानस्थलबाट टोबागोका लागि उड्यो । टोबागोको विमानस्थलमा ल्याण्ड गरेपछि थाहा भयो हवाईजहाजको अगाडिको एउटा पाङ्ग्रा नै छैन ।

२४ जुलाई २०२४ मा नाइजेरियाको ग्रीन अफ्रिका एअरवेजको एटीआर जहाजको पनि यसैगरी अगाडिको एउटा पाङग्रा खसेको थियो । अबुजा विमानस्थलमा अवतरण गरेर पार्किङ गरेपछि ग्राउण्ड स्टाफले विमानको अगाडिको एउटा पाङ्ग्रा देखेनन् ।

त्यसपछि पाङ्ग्रा कहाँ हरायो भनेर खोजि सुरु भयो । खोजी गर्दा पाङ्ग्रा त उडान भरेको रनवेमै भेटियो । यो घटनाको छानबिन रिपोटअनुसार १७ जुलाईमा उक्त जहाजको नोज ह्विल एसेम्बली फेरिएको थियो । नोज ह्विल एसेम्बली फेर्दा पाङ्ग्रा अड्याउनका लागि राखिएको नट बोल्ट खुकुलो भएपछि पाङ्ग्रा खसेको अनुसन्धानमा देखियो । यही अनुसन्धानअनुसार त्यसक्रममा प्रयोग भएको नट बोल्टको उत्पादन मै समस्या देखिएको छ । यो सिरिजका नट बोल्ट र तिनको प्रयोगमाथि विमान निर्माता कम्पनी एटीआरले नै अनुसन्धान गरिरहेको छ ।

इटालीको मिस्टरल एअरवेजको २४ जना यात्रु बोकेको हवाईजहाजको ११ सेप्टेम्बर २०१५ अगाडिको पाङ्ग्रा खस्यो । उडान भर्ने बेलामा पाङ्ग्रा खसेको देखेपछि एअर ट्राफिक कन्ट्रोलरले पाइलटलाई जानकारी गराए । यद्यपि, यो हवाईजहाज पनि सुरक्षित अवतरण गर्न सफल भयो ।

४१ जना यात्रु बोकेको भियतनाम एअरलाइन्सको विमानको पनि अगाडिको पाङ्ग्रा खसेको थियो । भियतनामको हाईपागङ्बाट उडान भरेको यो विमानको पाङ्ग्रा खसेको कुरा पनि ल्याण्ड गरिसकेपछि मात्र थाहा भएको थियो ।

४८ जना यात्रु बोकेर १२ जुन २०१२ मा एअर इण्डियाको विमान सिलचारबाट गुहाटी जाँदै थियो । उडान भर्ने बित्तिकै यो विमानको अगाडिको पाङ्ग्रा खस्यो । यो विमानले पनि अगाडिका एक पाङ्ग्राकै भरमा गुहाटीमा सुरक्षित अवतरण गर्‍यो ।

२७ अगष्ट २०१० मा ट्रान्स एसियाको विमानले ताइवानको किनमेन विमानस्थलमा ल्याण्ड गरेपछि मात्र थाहा भयो, विमानको अगाडिको एउटा पाङ्ग्रा हराएको कुरा । ६५ जना यात्रु र ४ जना क्रु भएको यो विमानले पनि एक पाङ्ग्राको भरमा सुरक्षित अवतरण गर्‍यो ।

किन खस्छ पाङ्ग्रा ?

विमानको पाङ्ग्रा किन खस्छ भन्ने यकिन कारण छैन । एउटा पाङ्ग्रा नहुँदा पनि सुरक्षित अवतरण गर्न सकियोस् भनेरै अधिकांश यात्रुवाहक विमानमा दुईवटा पाङ्ग्रा राखिने बताउँछन्, ग्रीन अफ्रिका एअरमा एटीआरका प्रशिक्षक पाईटल रहेका म्याग्नर नोर्डल । उनी भन्छन्, “सामान्यत एउटा पाङ्ग्राको भरमा पनि विमानले सुरक्षित अवतरण गर्न सक्छ ।”

उनकाअनुसार एटीआर कम्पनीको मात्र होइन, अरु कम्पनी बोइङ, एअरबसजस्ता ठूला विमान निर्माता कम्पनीका विमानको पनि पाङ्ग्रा खसेका उदाहरण छन् । उनी भन्छन्, “यही कारण पाङ्ग्रा खस्छ भनेर भन्न सकिँदैन । तर, यसबाट जोगिन एउटा सरल उदाहरण हो पाइलटले मिहिन तरिकाले वाक अराउण्ड गर्ने । आफ्ना सबै इन्स्ट्रुमेण्ट हेर्ने ।”

विमान उडाउनु अगाडि पाइलटले विमानको वरीपरी घुमेर विमानको चेक जाँच गर्ने प्रक्रियालाई वाक अराउण्ड भन्ने गरिन्छ ।

बुद्ध एअरको जहाजको पाङ्ग्रा खसेको विषयमा अनुसन्धान सुरु भइसकेको नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डे बताउँछन् । उनले नेपालभ्युजसँग भने, “जहाज ग्राउण्डेड गरेर, एसओपी-स्ट्याण्डर्ड अपरेसन प्रोसिजर) सुरु गरिएको छ । यसपछि जहाज उडान भर्न योग्य छ कि छैन र के कारणले पाङ्ग्रा खस्यो भनेर अनुसन्धान हुन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register