महाकुम्भका थप कथा : १२ दिनमै तोडियो अघिल्लो रेकर्ड

सन् २०१३ को कुम्भ मेलामा १२ करोड मानिस सहभागी भएका थिए । उत्तर प्रदेश सरकारका अनुसार यसपटकको १२ औं दिनमै १२ करोडभन्दा बढी मानिस महाकुम्भमा सहभागी भइसकेका छन् ।

Jan 24, 2025 - 09:34
 0
महाकुम्भका थप कथा  : १२ दिनमै तोडियो अघिल्लो रेकर्ड

काठमाडौं महाकुम्भ मेलाप्रतिको आकर्षण र उत्सुकताको जादु अहिले संसारभरि नै चलिरहेको छ । संसारकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक जमघट प्रयागराजको कुम्भ मेलाबारे हामीले विभिन्न जानकारी दिँदै आएका छौँ । 

यति ठूलो र भव्य मेलाको यति व्यवस्थित व्यवस्थापन भएको भन्दै भारत सरकारको प्रशंसा समेत भइरहेको छ । विगत १० दिन यता महाकुम्भ मेला सामाजिक सञ्जाल र गुगल सर्चको प्रमुख ट्रेन्डिङ विषय बनिरहेको छ ।

महाकुम्भ मेलाबारे जानकारी दिने लाखौं भिडिओ युट्युबमा अपलोड भएका छन् । इन्टाग्राममा ३० लाख, फेसबुकमा ३१ लाख र ‘एक्स’ मा ७ करोडभन्दा बढी पोष्ट भएका छन् ।

१२ दिनमै तोडियो अघिल्लो रेकर्ड 

सन् २०१३ को कुम्भ मेला संसारमै सबैभन्दा धेरै मानिस जम्मा भएको र स्नान गरेको धार्मिक मेलाका रुपमा अभिलिखित थियो । यसपटकको महाकुम्भको १२ औं दिनमा सन् २०१३ को रेकर्ड तोडिएको छ । सन् २०२५ को महाकुम्भ संसारकै सबैभन्दा धेरै मानिस सहभागी भएको मेलाका रुपमा अभिलिखित हुने भएको छ ।

सन् २०१३ को कुम्भ मेलामा १२ करोड मानिस सहभागी भएका थिए । उत्तर प्रदेश सरकारका अनुसार यसपटकको १२ औं दिनमै १२ करोडभन्दा बढी मानिस महाकुम्भमा सहभागी भइसकेका छन् ।

मेला पौष पूर्णिमादेखि महाशिवरात्रि अर्थात जनवरी १३ देखि फेब्रुअरी २६ सम्म ४५ दिन चल्ने छ । मेलाको पहिलो दिन डेढ करोड र दोस्रो दिन माघे सङ्क्रान्तिको अमृत स्नानमा २ करोड मानिस सहभागी भएको बताइएको थियो । 

कुम्भमेला अवधिमा हिन्दु धर्मावलम्बीका ४ महत्त्वपूर्ण तिथि माघे सङ्क्रान्ति, मौनी औंसी, वसन्त पञ्चमी र महाशिवरात्रि पर्ने छन् । यी ४ दिनको विशेष स्नान समारोहलाई ‘शाही स्नान’ भनिन्थ्यो । यसपटकबाट ‘अमृत स्नान’ नामकरण गरिएको छ । 

माघे सङ्क्रान्तिको पहिलो ‘अमृत स्नान’ सम्पन्न भइसकेको छ । मौन औंसीको अमृत स्नानको तयारी व्यापक चलिरहेको छ । मौनी औंसी जनवरी २९ का दिन पर्ने छ ।

यस्तो छ महाकुम्भको तयारी

प्रयागराज त्रिवेणी सङ्गममा महाकुम्भको तयारी गर्न डेड वर्ष लागेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफैँ प्रत्यक्ष संलग्न भएर मेलाको तयारी, सुरक्षा र व्यवस्थापनको अनुगमन, नियमन र निर्देशन गर्ने गरेका छन् ।

महाकुम्भ मेला व्यवस्थापनमा ६ हजार ३८२ करोड खर्च र २ लाख करोडको आम्दानी हुने अपेक्षा छ । मेलामा ४५ हजार परिवारले रोजगारी पाएका छन् ।

मेला स्थल ३२ वर्गकिमि क्षेत्रमा फैलिएको छ । सुरक्षाका लागि ४० हजारभन्दा बढी प्रहरी र १५ हजारभन्दा बढी स्वयंसेवक परिचालित छन् ।

मेलाका लागि १ लाख ५० हजार टेन्ट, १ लाख ४५ हजार शौचालय, ३ हजार भान्सा घर र ९९ पार्किङस्थल बनाइएको छ । मेला स्थलमा प्रतिरात १० लाख मानिसले यस्ता सुविधा प्रयोग गर्न सक्छन् । स्नान क्षेत्रमा ३०० गोताखोर परिचालन गरिएको छ ।

१४४ वर्षपछिको महाकुम्भ

१२ वर्षको चक्रमा आउने कुम्भ मेलालाई ‘पूर्ण कुम्भ’ भनिन्छ । १२ वटा ‘पूर्ण कुम्भ’ को चक्रलाई ‘महाकुम्भ’ भनिन्छ । अर्थात् महाकुम्भ प्रत्येक १४४ वर्षपछि दुई शताब्दीलाई छोएर आउँछ । यसपटकको महाकुम्भ मेला हो ।

यस अघिको महाकुम्भ मेला सन् १८८१ मा आयोजना भएको थियो । अब यो सन् २१६९ मा आयोजना हुनेछ । यस अघिको महाकुम्भ मेला हुँदा भारतमा अङ्ग्रेज शासन थियो । रेल, मोटर गाडी, हवाईजहाजको प्रचलन भारतमा आइसकेको थिएन । मानिसहरू घोडा, रथ, हात्ती, बयलगाडा, उँट चढेर वा पैदल महिनौँ हिँडेर महाकुम्भ मेलामा सहभागी भएका थिए ।

यसपटक ३५ सयभन्दा धेरै थप रेल रुट व्यवस्थापन गरिएको छ । सवारी साधनको भीड र ट्राफिक जाम सबैभन्दा ठूलो समस्या बनेको छ ।

प्रयागराज 

प्रयागराज उत्तर प्रदेशको एक शहर हो, जो गङ्गा, यमुना र सरस्वती ३ नदीको सङ्गम मानिन्छ । संसारकै सबैभन्दा प्राचीन यज्ञ भएको स्थानका रुपमा यसलाई प्रयागराज भनिएको हो । ‘प्र’ को अर्थ सर्वप्राचीन ‘याग’ को अर्थ ‘यज्ञ’ र ‘राज’ को अर्थ तीर्थहरूमध्येको सर्वश्रेष्ठ हो ।

यहाँ सृष्‍टिकर्ता ब्रह्माजीले धर्तीको पहिलो यज्ञ गरेको हिन्दु विश्वास छ । धार्मिक ग्रन्थका अनुसार उक्त यज्ञ १ सय वर्ष लामो थियो ।

सन् १५७५ मा यसलाई ‘इलाहावाद’ भन्न थालिएको थियो । सन् २०१८ यता पुनश्च: प्रयागराज नामकरण गरिएको छ । प्रयागराज करिब १६ लाख बासिन्दा भएको नगर हो ।

यो नगर नयाँ दिल्लीबाट करिब ५८६, लखनउबाट १८३, गोरखपुरबाट २१२, अयोध्याबाट १५६, बनारसबाट ११२, पटनाबाट ३३०, मथुराबाट ४७६, हरिद्वारबाट ६२१, कोलकाताबाट ७३२, मुम्बईबाट ११६३ र चेन्नईबाट १३८५ किमि दूरीमा छ ।

जनवरी २९ को मौनी औंसी अमृत स्नानका लागि यी लगायतका स्थानबाट दिनमा १५० रेल सेवा थपिएका छन् । नेपाली तीर्थयात्रीका लागि पूर्वबाट पटना, मध्यबाट गोरखपुर र पश्चिमबाट लखनउ हुँदै प्रयागराज नजिक पर्न सक्दछ ।

यसका लागि जोगबनी, रक्सौल, सुनौली र रुपैडिया नाका प्रयोग गर्न उचित हुन्छ ।

इसरोले खिच्यो अन्तरिक्षबाट फोटो

भारतीय अन्तरिक्ष संस्था इसरोले सन् २०१३ मा पहिलोपटक अन्तरिक्षबाट कुम्भ मेलाको फोटो खिचेको थियो । यसपटक पनि अन्तरिक्षबाट खिचिएको महाकुम्भ मेलाको फोटो सार्वजनिक गरेको छ । कुम्भ मेला अन्तरिक्षबाट देखिन्छ ।

कुम्भ मेलामै प्रदेश सरकारको क्याबिनेट 

बुधबार मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको क्याबिनेट बैठक महाकुम्भ मेला स्थल प्रयागराजमा बस्यो । बैठकले प्रयागराजलाई जोडेर धार्मिक सर्किट बनाउने, रेलमार्ग थप्ने लगायत महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकपछि मुख्यमन्त्री योगी आदित्य नाथले आफ्ना ५४ मन्त्रीसहित एक साथ कुम्भ स्नान गरे । प्रदेश मन्त्रिमण्डलले मुख्यमन्त्रीलाई घेरा हालेर एकैपटक डुबुल्की लगाएको थियो । मन्त्रीहरूले ध्यानमुद्रामा गङ्गास्तुति पश्चात सूर्यलाई अर्घ्य दिए । मन्त्रिमण्डलका सदस्यले मेलाको पण्डालमा भुईँमा बसेर खाना खाए ।

न जात न धर्म न राष्ट्रियता

महाकुम्भ मेलामा सहभागी हुन वा कुम्भ स्नान गर्न जात, धर्म वा राष्ट्रियता कुनै पनि अवरोध वा बन्देज हुँदैन । यहाँ जुनसुकै जातिजाति, धर्म, समुदाय, सम्प्रदाय र राष्ट्रियताका मानिसले भाग लिन सक्छन् । मुसलमान समुदायको उल्लेखनीय जनसङ्ख्याले पनि महाकुम्भ मेलामा भाग लिएका छन् । विश्वका ४० भन्दा बढी देशबाट भक्तजन तथा तीर्थयात्री महाकुम्भ पुगेका छन् ।

परित्यक्त वस्त्रबाट २ लाखभन्दा बढी झोला

मेलामा ग्रीन आर्मी नामक एक वातावरणवादी सङ्गठनले तीर्थयात्रीले स्नानपश्चात नदी किनारमा छोड्ने गरेका वस्त्र सङ्कलन गरेर झोला निर्माण गर्ने र निःशुल्क बाँड्ने गरिरहेको छ । यस्ता कपडाबाट अहिलेसम्म अढाई लाख झोला तयार गरेको ग्रीन आर्मीको दाबी छ ।

साधुसन्तका अनेक चमत्कार

मेलामा साधुसन्त, महन्तहरूको ठूलो भीड लागेको छ । ४० लाखभन्दा बढी विभिन्न सम्प्रदायका साधु, सन्त मेलामा आएको अनुमान छ । सन्तहरूको वस्त्र र अर्धनग्नताले मेलालाई अर्कै रङ्ग दिएको छ । तिनले अनेक प्रकारका चमत्कार र साधना प्रदर्शन गरिरहेका छन । 

मेलामा गेरु र पीताम्बर वस्त्र रङ्गको बाहुल्यता देखिन्छ । धार्मिक मान्यता अनुरूप सजिएका झाँकी र रथहरूले मेलालाई रोचक र रोमाञ्चक बनाएको छ ।

१५ लाख भक्त कल्पवासमा

महाकुम्भ मेलामा १५ लाख मानिसले करिब १ लाख पण्डालमा बसेर कल्पवास गरिरहेका छन् । त्रिवेणी सङ्गममा गरिने १ महिना लामो माघे साधना, तपस्या वा व्रतलाई कल्पवास भनिन्छ ।

यो विधिमा २४ घन्टामा एक छाक मात्र भोजन गरेर, दिनमा दुईपटक स्नान गरी बाहिर तुलसीको मठ र भित्र जौं–जमरा गृह स्थापना गरी पण्डाल वा कुटीमा १ महिना बिताइन्छ । भक्ति, भजन गान, साधना र ध्यान गरिन्छ ।

कल्पवासबाट ‘प्रवृत्ति निवृत्त’ र आत्मशुद्धि भई आध्यात्मिक आनन्दको अनुभूति, दिव्यज्ञान र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस :

कुम्भ मेलाको इतिवृतान्त : के हो महाकुम्भ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register