दलहरूको ‘ज्ञानेन्द्रिय’लाई बिझाएको ज्ञानेन्द्रको चहलपहल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह कहिले नाचेर त कहिले बोलेर बेला बखत सन्देश दिइरहन्छन् । यसपटक पनि फागुन ७ गते प्रजातन्त्र दिवसको छेकोमा वजनदार लवजमा भिडियो सन्देश दिए । सन्देशमा प्रजातन्त्र दिवसको शुभकामना मात्र थिएन । ०६२÷०६३ को जनआन्दोलन दबाएका ज्ञानेन्द्रले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका राजनीतिक दलहरूको रवैयामा प्रश्न उठाए । व्यवस्था बदलेका राजनीतिक […]

Mar 7, 2025 - 13:30
 0
दलहरूको ‘ज्ञानेन्द्रिय’लाई बिझाएको ज्ञानेन्द्रको चहलपहल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह कहिले नाचेर त कहिले बोलेर बेला बखत सन्देश दिइरहन्छन् । यसपटक पनि फागुन ७ गते प्रजातन्त्र दिवसको छेकोमा वजनदार लवजमा भिडियो सन्देश दिए ।

सन्देशमा प्रजातन्त्र दिवसको शुभकामना मात्र थिएन । ०६२÷०६३ को जनआन्दोलन दबाएका ज्ञानेन्द्रले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका राजनीतिक दलहरूको रवैयामा प्रश्न उठाए । व्यवस्था बदलेका राजनीतिक दलले जनताको अवस्था नबदलेको उनले गुनासो गरे । उनको  गुनासोको सार थियो, ‘अब म अवस्था बदल्छु । मलाई साथ दिनुहोस्’

ज्ञानेन्द्रले सन्देशमा भनेका थिए, ‘प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्किन्छ भन्ने भावना जागरण गर्ने हुनुपर्छ । तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आमजनताको मुहारमा मुस्कान ल्याउने जनतालाई खुसी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।’

जनआन्दोलनको तागतले ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्‍याएको थियो । जनताको नासो जनतामै सुम्पिएको भन्दै नारायणहिटी छोडेका उनले आफ्नो त्यागलाई कमजोरी नठान्न पनि चुनौती दिए । सन्देशमा उनले भनेका थिए, ‘हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख सुविधा त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन ।’

उनले आफुलाई साथ दिन पनि अपिल गरेका थिए । ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ,’ उनको आग्रह थियो ।

हौसिए राजावादी तरंगित गणतन्त्रवादी

पूर्व राजाको सन्देशबाट राजावादीहरू हौसिए, राप्रपा इतरका दलहरू तरंगित भए । प्रजातन्त्रको शुभकामना भनेपनि पूर्व राजा ज्ञानेन्द्रको सन्देश राजनीतिक दलहरुका लागि चुनौती थियो । त्यसैले त ज्ञानेन्द्रको सन्देशले राजनीतिक दलका नेतृत्वको ज्ञानेन्द्रिय बिझाएको छ ।

‘राजा आउ देश बचाउ’को नाराले दलका नेताहरुको कान घोचेको छ । सडकमा राजावादीहरुको जुलुसले उनीहरुको आँखा बिझाएको छ । ज्ञानेन्द्रको सन्देश विरुद्ध दलका नेताहरुको जिब्रो छुरा छ ।

७ फागुन यता देखिएको पूर्वराजाको सक्रियताले दलका नेताहरुलाई कति झस्काएको कुरा उनीहरूको हालैका अभिव्यक्तिबाट थाहा हुन्छ । अरु बेला दन्तबजानमा सक्रिय नेताहरू एकैपटक राजावादीहरुको अभियानको प्रतिवादमा उत्रिएका छन् ।

पूर्व राजाको सन्देशपछि हौसिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ठूलै र्‍याली गर्‍यो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि विभिन्न अभियानका कार्यक्रम घोषणा गरिसकेको छ । अभियानका दौरान उनीहरूले व्यवस्था र  दलहरूप्रति विविध प्रश्न उठाएका छन् ।

प्रश्नप्रति असहिष्णु कम्युनिष्टलाई ज्ञानेन्द्रका प्रश्न पाच्य हुने कुरै भएन । ज्ञानेन्द्र धेरै बोले नागार्जुनबाट पनि लखेट्ने चेतावनी दिइरहेका छन् कम्युनिष्ट नेता । राजा फर्काउने अभियानप्रति काङ्ग्रेस पनि असन्तुष्ट नै छ । ज्ञानेन्द्रले व्यवस्था र दलमाथि प्रश्न गर्दैमा मुखै थुन्ने पक्षमा छैन काङ्ग्रेस ।

विराटनगरमा केही साताअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै काङ्ग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘पूर्व राजाको अभिव्यक्ति चर्चा योग्य विषय नै होइन । लोकतन्त्रप्रति जनताका असन्तुष्टी छन् । तर कसैले पनि लोकतन्त्रको विकल्प खोजेको छैन । राजाले बोल्दैमा उनको मुख बन्द गर्न जाँदैनौ ।’

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले फागुन २२ मा भने, ‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् । यो व्यवस्थामा उनको कुनै स्थान छैन ।’

फागुन २३ मा सरकारका प्रवक्ता समेत रहेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्ले अन्यत्र भएको भए ज्ञानेन्द्र जेलमा हुने दाबी गरे । उदार लोकतन्त्रका कारण उनी नागार्जुनमा बस्न पाएको भन्दै हैसियत नभुल्न ज्ञानेन्द्रलाई चेतावनी दिए । ‘यो मुलुकमा उदार लोकतन्त्र भएर हो, अरू मुलुकमा भए जनतालाई दुःख दिने (राजा)को परिवार नयाँ व्यवस्था आएपछि जेलमा बस्नु पर्ने हो, सम्पत्ति हरण हुनुपर्ने हो’ मन्त्री गुरुङले भने, ‘व्यवस्थाप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भन्ने हर्कत गरेको छ ।’

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने षडयन्त्रमा नलाग्न पूर्व राजा र राजवादीलाई चेतावनी दिएका छन् । फागुन २२ मा महोत्तरीबाट उनले भने, ‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर ल्याउने हो ?’

ओलीले चेतावनी दिदै भने, ‘व्यवस्थामा धावा बोलेर बेकारमा तनाव बढाउने काम  नगर्नुस् ।’

एमाले महासचिव शंकर पोखरेलले फागुन २२ मा बागलुङ पुगेर राजाको पालामा रजगज गरेकाहरूले नागरिकलाई भ्रममा पार्न ‘राजा आउ देश बचाउ’को नारा लगाएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पूर्व राजा र राजावादी दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्न खोजेको भन्दै आक्रोश पोखे ।

गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने मुर्खता नगर्न चेतावनी दिदै प्रचण्डले भने, ‘कसैले दुस्साहस गर्दैमा इतिहासको चक्का पछाडी फर्किँदैन । ज्ञानेन्द्रले पहिले पनि विभिन्न मुर्खता गरेका छन् । अहिले पनि व्यवस्थामा प्रहारको मुर्खता गरे उनले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

राजावादी दलको अभियान र राजाको अभिव्यक्तिमाथि गणतन्त्रवादी दलका नेता निकै आक्रोशित छन् । माओवादीको आक्रोशलाई राप्रपाले सहज मानेको छ भने राजासँग विभिन्न कालखण्डमा सहकार्य गरेका काङ्ग्रेस र एमालेको आक्रोशको उसले संसदमा विरोध गरेको छ ।

‘राजा आउ देश बचाउ’को नाराले दलका नेताहरुको कान घोचेको छ । सडकमा राजावादीहरुको जुलुसले उनीहरुको आँखा बिझाएको छ । ज्ञानेन्द्रको सन्देश विरुद्ध दलका नेताहरुको जिब्रो छुरा छ ।

फागुन ११को संसद बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले काङ्ग्रेसलाई विपीको विचार स्मरण गर्न सुझाए । ‘आज यो संसदमा राजाको विरोध भयो । कमसेकम विपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो,’ उनले भने । तर, विपीको सिद्धान्त के थियो उनले सुनाएनन् ।

एमालेलाई उनले मदन भण्डारी पढाउन खोजे । सामन्तवादको अवशेष रहिरह्यो भने राजा हुनु र नहुनुमा कुनै फरक नपर्ने मदन भण्डारी भनाई सम्झाउँदै शाहीले भने, ‘मदन भण्डारीको विचार पनि बेचेर खाए । यिनीहरु मदन भण्डारीका कार्यकर्ता हुन कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो ।’

राजतन्त्रको विरोध गर्ने नैतिक अधिकार माओवादीसँग मात्र रहेको सुनाउँदै शाहीले भने, ‘माओवादीले राजाको विरोध गर्दा सुहाउँछ । काङ्ग्रेस र एमालेलाई सुहाउँदैन ।’

राजनीतिक दलका रजगजले राजावादीलाई मलजल

भन्न त गणतन्त्रवादी दलहरू ‘राजाका पालामा रजगज गरेकाहरूले राजतन्त्रको वकालत गरे’ भन्दछन्  । यो व्यवस्थामा पनि न्यायालयसँगै संवैधानिक निकायमा उनीहरूले दलीयकरणमार्फत रजगज गरेकै छन् । स्थिर सरकारको वकालत गरेपनि सरकारले पूर्ण कार्यकाल काम गर्न पाइरहेको छैन ।

भ्रष्टाचार सूचकाङ्कमा १० वर्ष यता नेपाल निरन्तर ओरालो लागिरहेको छ । सुशासन र सेवाप्रवाहमा बलियो नहुँदा नागरिकमा वितृष्णा बढ्दो छ । पूर्व राजा ज्ञानेन्द्रले यीनै सवाल आफ्नो अभिव्यक्तिमार्फत उजागर गरेका हुन् । ‘प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो,’ उनले आफ्नो सन्देशमा भनेका छन् ।

आफ्नो शासनकालमा निरंकुश बनेका पूर्वराजा ज्ञानेन्द्रले लोकतन्त्रको सौन्दर्यबारे बाँडेको ज्ञान अशोभनीय हुनसक्छ । तर, दलहरूकै रवैया इतिहासका निरंकुश राजाले लोकतन्त्रको सुन्दरताको पाठ पढाउनुपर्ने स्थिति सिर्जना भएको हो ।

लोकतन्त्रको अधिकतम लाभ आम मान्छेको सट्टा नेताले मात्रै प्राप्त गरेको अनुभूति उनीहरूकै गतिविधिका कारण बढिरहेको छ । राजनीति शास्त्रका प्राध्यापक डा. कृष्ण पोखरेल भन्छन्, ‘लोकतन्त्रको नाफा राजनीतिक दलले मात्रै पाएको अनुभूति जनताले गरिरहेका छन् । दलहरुका गतिविधिले यो भावना झन् झन् बढ्दो छ । सुशासन र शासन पद्धतिमा सुधार गरेर उनीहरूले जनतालाई लाभको अधिकतम अनुभूति दिलाउन सक्नुपर्छ ।’

लोकतन्त्र नै सुन्दर व्यवस्था हो भन्ने अनुभूति शासन पद्धतिको कुशल व्यवस्थापनबाट जनतालाई अनुभूत गराउन सक्नुपर्ने मत राख्छन्, त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागका  प्रमुख ईश्वरी प्रसाद कँडेल । ‘संवैधानिक निकायमा राजनीतिक भागबण्डाका नियुक्ति हुँदा, न्यायपालिकामा राजनीतिकरण हाबी हुँदा जनता निकै प्रताडित छन् । व्यवस्थाको विकल्प खोज्नेमा जनता पनि सहमत छैनन् । यो व्यवस्थाभित्र कुशल व्यवस्थापन भने जनताले खोजिरहेका छन्,’ कँडेल भन्छन् ।

 पूर्व राजालाई कारबाहीको मागदेखि चुनाव लड्न चुनौती

ज्ञानेन्द्रले संवैधानिक दायरा मिचेर अभिव्यक्ति दिएकाले कारबाही गर्नुपर्ने मत समेत राखिरहेका छन्, गणतन्त्रवादी राजनीतिक दलका नेताहरू ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले भनेकाछन्, ‘पूर्व राजाको अभिव्यक्तिले सीमा नाघ्दै गइरहेको छ । उनका अभिव्यक्ति संविधान अनुसार दण्डनीय छ । यस विषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

यता, एमाले र माओवादी केन्द्रका नेतृत्वले पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लड्न चुनौती दिइरहेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले लोकप्रियता बढेको लाग्छ भने संवैधानिक र लोकतान्त्रिक बाटो समातेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्रलाई चुनौती दिएका छन् ।‘आउनुस् चुनाव लड्नुस्, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्दा निकाल्दा जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने,’ओलीले ज्ञानेन्द्रलाई हाँक दिदै भने, ‘हाम्रो संविधानले राजतन्त्र चिन्दैन । म स्पष्ट भन्न चाहन्छु, संविधानको बाटो, लोकतन्त्रको बाटोमा आउनुस् ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चुनाव लड्न ज्ञानेन्द्रलाई चुनौती दिएका छन् । ‘नागरिकको रूपमा पार्टी खोलेर राजनीतिमा आए हुन्छ,’ प्रचण्डको चुनौति छ ।

व्यवस्था होइन व्यक्ति परिवर्तन

प्राध्यापक कँडेलका अनुसार दलहरु र तिनको नेतृत्वले गरिरहेका गतिविधिले निरासा बढाइरहेको छ । उनका अनुसार जनता व्यवस्था नभई व्यक्ति परिवर्तन गर्न खोजिरहेका छन् ।

उनी भन्छन्, ‘मुलुकको नेतृत्व गरिरहेकाहरूको कमसल व्यवस्थापकीय क्षमताले निराशालाई मलजल गरेको छ । जनता व्यवस्थाको विकल्प खोज्ने वा यसलाई विस्थापित गर्ने मनसायमा छैनन् । उनीहरूले नयाँ पात्र भने खोजेकोप्रति स्थिति छ ।’

०७९ मा भएको चुनावमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र धनगढीदेखि धरानसम्म उदाएका स्वतन्त्र मेयर जनताको यही इच्छाको प्रतिबिम्ब हुन् ।

गणतन्त्रवादी दलहरूले मनन गरून्, कसैको मौसमी अभिव्यक्तिले गणतन्त्रको जग हल्लाउने ल्याकत राख्दैन । पूर्व राजा ज्ञानेन्द्र र राजावादी दलहरूले पनि बुझून् सम्प्रभु जनतालाई शासनका लागि कुनै प्रभु चाहिएको छैन ।

यो व्यवस्थाको सुन्दर पक्ष के हो भने यसमा आफ्ना अभिमत राख्न सबै स्वतन्त्र छन् । ज्ञानेन्द्रको शासनकालमा राजतन्त्रविरुद्ध बोल्न पाइँदैनथ्यो । अहिले  राजावादीहरुलाई निर्भिक रूपमा राजतन्त्रको वकालतको वातावरण यही व्यवस्थाले संभव भएको हो । अर्कोतर्फ जनता स्वयंम व्यवस्थाको विकल्प खोज्ने मनसायमा छैनन् । मुलुकको कुशल व्यवस्थापकको पात्र खोज्ने अभिमत  जनतामा बढिरहेको छ । अर्कोतर्फ, राजावादी अभियान र ज्ञानेन्द्रको अभिव्यक्ति गणतन्त्रको जग हल्लाउने प्रयत्नमा रूपमा दलहरूले लिएका छन् ।

गणतन्त्रवादी दलहरूले मनन गरून्, कसैको मौसमी अभिव्यक्तिले गणतन्त्रको जग हल्लाउने ल्याकत राख्दैन । यदि कसैको बोलीले नै गणतन्त्रको जग हल्लिएझैँ लाग्छ भने एकपटक आफैँले ल्याएको व्यवस्थाको सुदृढीकरणमा उनीहरू अघि बढून् ।

ज्ञानेन्द्रले  अवस्था परिवर्तनका लागि सन्देशमार्फत जनताको साथ खोजेपछि राजावादीहरुले निकै हौसिएका छन् । यदि, आफ्नो लोकप्रियता बढेको लाग्छ भने त्यसको परीक्षण चुनावबाट गर्ने हो । नागरिकको हैसियतमा दल खोलेर चुनाव लड्ने सुविधा पूर्व राजा ज्ञानेन्द्रलाई पनि छ। उनले यो सुविधाको उपभोग गरून् । पूर्व राजा ज्ञानेन्द्र र राजावादी दलहरूले पनि बुझून् सम्प्रभु जनतालाई शासनका लागि कुनै प्रभु चाहिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register