डीपफेक पोर्न तस्वीरको शिकार बनेका शिक्षिकाको कथा

काठमाडौं । ई गा-युन प्रायः घरमा बसेर रुन्छिन् । आठ वर्षको छोराले उनको हेरचाह गर्छ । एक दशकसम्म उनले दक्षिण कोरियाली शहर बुसानमा खुशी साथ शिक्षकको रूपमा काम गरिन् । तर, गत वर्ष मार्चमा एक विद्यार्थीले नग्न शरीरमा उनको अनुहार राखेर तस्वीर सेयर गरेपछि उनको संसार फेरियो । यो सबै डीपफेक प्रविधि प्रयोग गरेर गरिएको […]

Mar 8, 2025 - 07:21
 0
डीपफेक पोर्न तस्वीरको शिकार बनेका शिक्षिकाको कथा

काठमाडौं । ई गा-युन प्रायः घरमा बसेर रुन्छिन् । आठ वर्षको छोराले उनको हेरचाह गर्छ ।

एक दशकसम्म उनले दक्षिण कोरियाली शहर बुसानमा खुशी साथ शिक्षकको रूपमा काम गरिन् ।

तर, गत वर्ष मार्चमा एक विद्यार्थीले नग्न शरीरमा उनको अनुहार राखेर तस्वीर सेयर गरेपछि उनको संसार फेरियो । यो सबै डीपफेक प्रविधि प्रयोग गरेर गरिएको थियो ।

यो तस्वीर टेलिग्राम च्यानलमा अपलोड गरिएको थियो । गा-युन (परिवर्तित नाम) विश्वास गर्छिन् उनका धेरै विद्यार्थीले त्यो तस्वीर देखेका थिए ।

उनी भन्छिन्, “जब मेरा विद्यार्थीले मलाई हेर्छन्, मलाई लाग्छ कि उनीहरूले त्यो तस्वीर देखेका छन् र त्यही जाँच गर्न मलाई हेरिरहेका छन् । म उनीहरूको आँखामा हेर्न सक्दिनँ र अहिले उनीहरूलाई राम्रोसँग सिकाउन सक्दिनँ ।”

गा-युन सात महिनादेखि मेडिकल बिदामा छिन् ।

उनी भन्छिन्, “म सानैदेखि शिक्षिका बन्न चाहन्थें र मेरो सपना कहिल्यै बदलिएन । तर, अब डिप्रेसन र चिन्ताको कारण मैले दिनको पाँचवटा चक्की खानुपर्छ । म अझै पनि कमजोर महसुस गर्छु र मलाई लाग्छ यो निको हुन केही समय लाग्नेछ ।”

लगभग एक वर्षअघि ग्योङजियान प्रान्तको एक अङ्ग्रेजी माध्यमिक विद्यालय शिक्षक, जसलाई हामी यहाँ पाक सेहीको रूपमा नाम दिइरहेका छौं, जसको तस्वीरसँग छेडछाड गरिएको थियो । उनको डीपफेक फोटो डीसी इनसाइड नामक वेबसाइटमा पोस्ट गरिएको थियो ।

पाक सेहीको तस्वीर एउटा मेसेजिङ एपबाट खिचिएको थियो, जुन उनले आफ्ना विद्यार्थीहरूसँग कुराकानी गर्न मात्र प्रयोग गर्थिन् । यौन क्रियाकलापमा संलग्न दुई बाँदरहरूको शरीरमा पाक सेहीको अनुहारको तस्वीर र एक अज्ञात पुरुषको तस्वीर टाँसिएको थियो ।

तस्वीरको क्याप्सनमा लेखिएको थियो, “पाक सेही आफ्नो छोरासँग यौनसम्पर्क गर्दै ।”

उनी भन्छिन्, “म यति स्तब्ध भएँ कि राम्रोसँग सास फेर्न पनि सकिनँ । म मध्यरातमा रिसले उठ्थें । म आफ्नो रिस नियन्त्रण गर्न सकिनँ । म धेरै असहाय महसुस गर्थें । उनीहरूले मेरो छोरालाई पनि यसमा संलग्न गराएको मलाई असह्य भयो ।”

“म यी विद्यार्थीहरूसँग उनीहरूको पहिलो वर्षदेखि नै थिएँ र हामीले तीन वर्ष सँगै बितायौं । म उनीहरूको ख्याल राख्थें र उनीहरूले मलाई धेरै मन पराउँथे । हाम्रो सम्बन्ध राम्रो थियो । उनीहरू राम्रा विद्यार्थीहरू थिए, त्यसैले यो ठूलो धक्का थियो ।”

उनले आफ्ना विद्यार्थीहरूलाई भनिन्, “यदि जसले यो गरेको छ, उसले आफ्नो गल्ती स्वीकार गर्छ भने म प्रहरीलाई रिपोर्ट गर्दिनँ ।” तर, कोही पनि अगाडि आएनन् । अन्ततः पाक सेही प्रहरीकहाँ गइन्, तर प्रहरीले कुनै प्रमाण फेला नपरेको बताए ।

पाक सेहीकाअनुसार प्रहरीले उनलाई सोधपुछ नगरी मुद्दा बन्द गर्‍यो । यसपछि पाक सेहीले यसको लागि जिम्मेवार को हो भनेर पत्ता लगाउने प्रयास गर्न छोडिन् ।

दक्षिण कोरियामा डीपफेक पोर्न सङ्कट

हालै स्कूलहरूमा डीपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल मच्चाएको छ । बीबीसीले सेप्टेम्बरमा ५००भन्दा बढी विद्यालय र विश्वविद्यालयहरू प्रभावित भएको रिपोर्ट गरेको छ ।

अगस्ट २०२४ मा कोरियाली शिक्षक तथा शिक्षा श्रमिक सङ्घ (KTU) ले एक सर्वेक्षण गरेको थियो । यसमा शिक्षक र विद्यार्थीहरू कहिल्यै उनीहरूको तस्वीरसँग छेडछाडको शिकार भएका छन् कि छैनन् भनेर सोधिएको थियो, जसमा २,४९२ घटना भेटिए ।

पीडितमा माध्यमिक, प्राथमिक र विशेष विद्यालयहरू र किन्डरगार्टेनका विद्यार्थी पनि थिए । कुल ५१७ जना प्रभावित भए, जसमध्ये २०४ जना शिक्षक, ३०४ जना विद्यार्थी र बाँकी विद्यालय कर्मचारी थिए ।

धेरै पीडित कहिल्यै प्रहरीकहाँ जाँदैनन्, तर रिपोर्ट हुने घटनाहरूको सङ्ख्या बढ्दै गएको छ । दक्षिण कोरियामा प्रहरीमा रिपोर्ट गरिएका डीपफेक यौन अपराधहरूको सङ्ख्या बढेको छ । यो सङ्ख्या सन् २०२१ मा १५६ थियो, जुन सन् २०२४ मा बढेर १,२०२ पुगेको छ ।

गत वर्षको अन्त्यतिर जारी गरिएको प्रहरी तथ्याङ्कले पक्राउ परेका ६८२ जनामध्ये ५४८ जना नाबालिग रहेको देखाएको छ । यीमध्ये १०० भन्दा बढी १० देखि १४ वर्ष उमेरका बालबालिका थिए, जसलाई उनीहरूको उमेरका कारण अपराधीको रूपमा मुद्दा चलाउन वा सजाय दिन सकिँदैन ।

तर, मानिस डीपफेक पोर्न सङ्कटको बारेमा सचेत हुँदै गएपनि शिक्षकहरूले प्रहरीबाट निराश महसुस गरेका छन् ।

इन्चोनको एउटा हाई स्कूलका एक शिक्षक, जसलाई हामी यहाँ जिही भनेर बोलाउनेछौं, उनलाई एक्समा एउटा पोस्ट देखाइयो । पोस्टमा ‘शिक्षक अपमान’ ह्यासट्यागको साथ उनको शरीरका अङ्गहरूको क्लोज-अपहरू देखाइएको थियो । उनले तस्वीरहरु प्रहरीलाई रिपोर्ट गरिनन्, तर कुनै कारबाही नभएपछि निराश भएको बताइन् । यसपछि उनले यो मामिला आफ्नै हातमा लिइन् ।

उनले थाहा पाइन् कि ती तस्वीरहरु एउटा विशेष कक्षाकोठाबाट खिचिएका थिए । तस्वीर कसले खिचेको हो भनेर पत्ता लगाउन उनले तस्वीरमा कोठामा रहेका कुर्सीहरूको हरेक कोणलाई ध्यानपूर्वक विश्लेषण गरिन् । अन्ततः उनले तेस्रो वर्षको एक विद्यार्थीमाथि शङ्का गरिन् ।

“पीडित भएपनि जानकारी सङ्कलन गर्न यस्ता तस्वीरहरू हेर्नु निराशाजनक थियो,” जिही भन्छिन् ।

१० पृष्ठको प्रतिवेदन बुझाएपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो, तर मुद्दामा पर्याप्त प्रमाण नभएको पाए । यद्यपि, जिहीले शङ्का गरेको विद्यार्थीलाई अर्को मुद्दामा अभियोग लगाइएको छ । यो मामिला जिहीका एक सहकर्मीसँग सम्बन्धित छ ।

पीडित शिक्षकका लागि थप चुनौती

पीडित भएपछि शङ्कास्पद विद्यार्थी अझै पनि कक्षामा भएपनि शिक्षकले प्रायः आफ्नो काम जारी राख्ने अपेक्षा गरिन्छ । साथै, यदि कुनै विद्यार्थीले डीपफेकको शिकार भएको रिपोर्ट गर्छ भने उसलाई तुरुन्तै कक्षाबाट निष्कासन गर्न सकिन्छ ।

गा-युनजस्ता केहीले बिरामी बिदा लिएका छन् । तर, यदि यो बिदा एक हप्ताभन्दा बढी भयो भने शिक्षकले स्कूल समितिद्वारा समीक्षा गर्नुपर्नेछ । कहिलेकाहीँ बिदाको अपिल अस्वीकृत हुन्छ । यसको अर्थ पीडित शिक्षकले आफ्नो वार्षिक बिदा लिनुपर्नेछ ।

मार्च महिनाबाहेक वर्षको अन्य कुनै पनि महिनामा अर्को विद्यालयमा स्थानान्तरण सम्भव छैन ।

“मलाई थाहा छैन कि मलाई डीपफेकले सताइरहको छ वा शिक्षा अधिकारीहरूसँगको झगडाले सताइरहको छ,” गा-युन भन्छिन् ।

“कुनै पनि कानुन वा निर्देशिका छैन, जसले शिक्षकहरूले अपराधी विद्यार्थीहरूलाई कति चाँडो छुट्याउनुपर्छ वा कति समयसम्म उनीहरूलाई टाढा राख्नुपर्छ भनेर निर्दिष्ट गर्दछ,” बुसान शिक्षा कार्यालयका स्कूल सुपरिवेक्षक किम सुन-मीले भने ।

यसमा एउटै कुरा के भनिएको छ भने यदि कुनै विद्यार्थीको कार्यले “अरूको सिकाइ अधिकारमा नकारात्मक असर पार्छ” भने उसलाई कक्षामा फिर्ता पठाउन सकिन्छ ।

त्यो विद्यार्थीका अभिभावकलाई घरमै पढाउन अपिल गर्न सकिन्छ, तर यदि उनीहरूले अस्वीकार गरे भने यो कार्यान्वयन गर्न सकिँदैन ।

गा-युनले यो पनि विश्वास गर्छन् कि विद्यार्थीहरूलाई डीपफेक पोर्नको गम्भीरताबारे शिक्षित गर्न अझै धेरै बाँकी छ ।

गत वर्ष डिसेम्बरमा शिक्षा मन्त्रालयले २,००० भन्दा बढी माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमाझ एक सर्वेक्षण गरेको थियो । यसले विद्यार्थीहरूमा डीपफेकसँग सम्बन्धित अपराधहरूको बारेमा चेतनाको कमी रहेको देखाएको छ । डीपफेक यौन अपराधको कारण सोध्दा, ५४ प्रतिशत विद्यार्थीहरूले ‘केवल मनोरञ्जन’ लाई सबैभन्दा ठूलो कारणको रूपमा उल्लेख गरेका थिए ।

गा-युन भन्छिन्, “उत्पीडनले अन्य रूपहरू पनि लिन सक्छ ।” उनी गत वर्षको एउटा घटना सुनाउँछिन्, जब एक विद्यार्थीले महिला शिक्षिकाको शौचालयमा क्यामेरा जडान गरेका थिए । उनी थप भन्छिन्, “कक्षामा केही विद्यार्थीहरूले प्रायः यौन टिप्पणी गर्छन् । उनीहरू आफ्ना सहपाठीहरूलाई महिला शिक्षकहरूतर्फ धकेल्छन् ।”

गा-युनकाअनुसार जब उनी त्यस्ता विद्यार्थीहरूको सामना गर्छिन्, यो व्यवहारलाई ‘ठट्टा’ भनेर बेवास्ता गर्छिन् । धेरै बालबालिकाहरूले परिस्थितिको गम्भीरता बुझ्दैनन् । “तिनीहरू भन्छन्, ‘मलाई थाहा थिएन कि यो वास्तवमा अपराध हो’,” उनी भन्छिन् ।

१६ वर्षीया यु जी-वू (परिवर्तित नाम) ले भनिन्, “मेरा एक सहपाठी डीपफेक पोर्नको शिकार भएका थिए । म यस विषयमा राष्ट्रव्यापी शिक्षा किन नभएकोमा छक्क पर्छु ।”

उनी भन्छिन्, “हामीलाई आशा थियो कि देशभरका विद्यालयहरूमा शिक्षा हुनेछ, कुनै घटना घटोस् वा नहोस्, तर त्यस्तो केही भएन ।”

शिक्षा मन्त्रालयको लैङ्गिक समानता नीति विभागका निर्देशक चुङ इल-सुन भन्छन्, “मन्त्रालयले डीपफेक यौन अपराधलाई “धेरै गम्भीर विषय” मान्दछ ।”

उनी भन्छन्, “हामीले अपराधीहरूसँग व्यवहार गर्दा कुनै उदारता नहोस् र कडा कारबाही होस् भनेर विद्यालय र समितिहरूलाई सूचना पठाएका छौं ।”

उनले भने, “मन्त्रालयको मुख्य ध्यान शिक्षा, जागरूकता अभियान र अन्य प्रयासहरू मार्फत मानिसहरूले यो मजाक होइन तर अपराध हो भनेर बुझून् भन्ने कुरा सुनिश्चित गर्नु हो । शिक्षा मन्त्रालयलगायत सरकारले यसमा कडा परिश्रम गरेको छ र विद्यार्थीहरूले अब सामान्यतया बुझेका छन् कि डीपफेक सामग्री अपराध हो ।”

कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका वरिष्ठ निरीक्षक ई योङ-सेले क्षेत्रीय प्रहरी बलहरूसँग साइबर यौन हिंसा अनुसन्धान टोलीहरू रहेको बताए । अधिकारीहरूलाई गुप्तचर र साइबर अपराध अनुसन्धानमा पनि तालिम दिइँदैछ । प्रहरीले आफ्नो कारबाहीका कारण यस्ता घटनाको सङ्ख्या घट्दै गएको पनि बताएको छ ।

जिही आफ्नो पुरानो जीवन फिर्ता चाहन्छिन्, जुन उनको विकृत तस्वीर खिचिनुभन्दा केही दिनअघिको हो ।

उनी भन्छिन्, “यदि कसैले मलाई यो घटना हुनुभन्दा पहिलेको समयमा फर्कन के गर्न सक्छु भनेर सोध्यो भने म यसको लागि कुनै पनि मूल्य तिर्न तयार छु । म चाहन्छु कि ती सम्झनाहरू मेटाइयोस् र चीजहरू पहिले जस्तै होस् ।”

उनी आफूलाई साहस दिने विद्यार्थीहरूलाई पनि सम्झन्छिन् ।

गा-युन भन्छिन्, “उनी दोषी विद्यार्थीहरूले माफी माग्ने दिनको प्रतिक्षामा छिन् । एक शिक्षिकाको रूपमा यो कर्तव्य हो कि उनीहरूले आफ्नो कार्यको गम्भीरता बुझून् ।”

बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register